सीमान्तकृतको बोली
'ओहो । पख पख पख पख, यी सबै ठूला शब्दले मेरो टाउको दुखिराख्या छ,' नील मुखर्जीको उपन्यास द लाइभ्स अफ अदर्स (नेपालीमा अनुवाद गर्दा 'अरूको जीवन')मा
उपन्यासको सुरुआत एउटा भयावह घटनाबाट हुन्छ- दुर्गम गाउँमा बस्ने गरिब किसानले जमिनदारको अत्याचार सहन नसकी आफ्ना परिवारजनको हत्या गर्छ अनि आफू पनि विष खाएर लम्पसार पर्छ । पाठकलाई अत्यास लगाएर लेखकले भने परिवेश नै बदलिदिन्छन् । त्यो कसरी भने कथा आजभन्दा लगभग ५० वषर् अगाडिको समृद्ध बंगाली परिवारको दिनचर्यातर्फ मोडिन्छ । व्यापार व्यवसायमा लागेर धनी भएका प्रफुल्लनाथ घोष र उनको संयुक्त परिवारको चिनारी धेरै अध्यायसम्म चलिरहन्छ । पाठक त्यही सेरोफेरोमा अलमलिन थालेपछि भने लेखकले एउटा रोमाञ्चक पात्रलाई अघि सार्छन्, घोष परिवारको नाति सुरञ्जन ।
कलेजमा पढ्दै गर्दा कम्युनिस्ट सिद्धान्तबाट आकषिर्त सुरञ्जन आफ्नो वैभवशाली परिवारलाई चटक्कै बिर्सेर गाउँका बासिन्दालाई उनीहरूका अधिकार दिलाउने कार्यमा होमिन्छ । यता उसकी आमा सन्ध्या पिरले मर्नै आँट्दा उता छोराचाहिँ गाउँका ठूलाबडा र प्रहरीहरूलाई मार्ने योजनामा संलग्न हुन्छ । प्रत्येक रात, लामखुट्टेले टोकेर र भोको पेट कराएर निदाउन नसकेका बेला, ऊ आफ्नो दैनिकीको टिपोट गर्छ, आफ्नो प्रेमिकालाई चिट्ठी लेखेजसरी । अलि पछि पो थाहा हुन्छ, उसले प्रेम त आफ्नै काकीलाई गर्दो रहेछ, श्रीमान्को मृत्युपछि घोष परिवारबाट परित्यक्त उसकी सुन्दर र सहनशील 'छोटु माँ' । यिनै दुई धारमा कथा अघि बढ्छ, एकातर्फ व्यापारिक खानदानको जीवनशैलीमा आउने उतारचढाव र अर्कोतिर महिनौँसम्म कष्ट सहेर गाउँलेहरूलाई चेतनशील बनाउन उद्धत एउटा क्रान्तिकारी । उपन्यासको अन्त्यमा सुरञ्जन घर फर्किन्छ र उसका ती लामा-लामा पत्रहरू पनि देखा पर्न छोड्छन् । यसरी दुइटा परिवेशलाई एउटैमा गाभेर लेखकले उपन्यासको अन्त्य रचेका छन् ।
म्यान बुकर प्राइज-२०१४ को अन्तिम चरणसम्म छनोट भएको यो उपन्यासलाई एकै शब्दमा व्याख्या गर्नु पर्दा यो एउटा 'दुःखी उपन्यास' हो । त्यो पनि सामान्य दुःख होइन, प्रायः मानिसले कल्पना पनि गर्न नसक्ने पीडाको गहिराइमा यसका पात्रहरू डुबेका छन् । शारीरिक कष्ट, मानसिक विचलन, आर्थिक भार, मनो वैज्ञानिक क्षति- यसका विभिन्न पात्रले यी सबै भोगेका छन् । र, मुखर्जीले हरेक शब्द यसरी छानेर ती सबै दुःख-पीडाको बेलिविस्तार लगाएका छन्, मानौँ ती सबै पाठककै अगाडि भइरहेका छन् । जस्तै कठोर पाठक पनि यी पात्रको विवश जीवन देखेर मन पगाल्न बाध्य हुन्छ, यो उपन्यासकारकै कलाको कमाल हो ।
मुखर्जीले उपन्यासमा समाजका सीमान्तकृत र उपेक्षित पात्रको भावनालाई अघि सारेका छन्, उनीहरूका लागि बोलिदिएका छन्, उनीहरूको दुर्दशा बुझाउन खोजेका छन् । यी निमुखाका पक्षधर भएकैले मुखर्जीको लेखनीलाई मुल्कराज आनन्द र प्रेम चन्दसँग पनि तुलना गरिएको छ । उसो त यो कृतिले झुम्पा लाहिरीको उपन्यास द लो ल्यान्डको पनि झझल्को दिन्छ । परिवेश उही छ र प्रमुख पात्र पनि नक्सलवादको सिद्धान्तलाई पछ्याउने दुई युवा । तर, मुखर्जीको उपन्यासमा भने यो क्रान्तिको इतिहासको सचित्र वर्णन छ, लेख्नकै लागि उनले प्रशस्त शोध र अनुसन्धान गरेको पनि प्रस्टै देखिन्छ ।
ऐतिहासिक खान-तलासीसँगसँगै मुखर्जीको चरित्रचित्रण पनि बेजोड छ । लगभग पाँच सय पृष्ठ मोटो उपन्यासमा अनगिन्ती पात्र छन् तर पाठकलाई उनीहरूलाई सम्भिmन केही गाह्रो पर्दैन । लेखकले हरेक पात्रलाई बानीबेहोरा र हाउभाउले चिनाएका छन्, उनीहरूको विगतबारे रोचक कथा बुनेका छन्, पात्रलाई हरेक को णबाट चिनाउन र पाठकलाई उसप्रति उत्सुक तुल्याउन पटक्कै अल्छी गरेका छैनन् । कथालाई सजीव तुल्याउन पनि उत्तिकै जाँगर देखाएका छन् । यस्ता सैद्धान्तिक पृष्ठभूमिमा आधारित धेरै कृति दर्शन र आदर्शमै रुमलिरहेका हुन्छन् । तर, द लाइभ्स अफ अदर्स भने त्यस्तो छैन । मुखर्जी आफ्ना पात्रलाई गतिशील बनाइराख्छन् तर कसैको पनि पक्ष लिँदैनन्, तिनका बारे प्रतिक्रिया दिने काम पाठकलाई नै छोडिदिन्छन् ।
बंगाली परिवारहरूको वर्णन गरेर थुप्रै लेखकले करोडौँ पाना भरिदिएका छन्, नक्सलवाद र यसले कोलकाता अनि बिहारमा ल्याएको परिवर्तनका बारेमा । अनि, आत्मविश्वासका साथ लेख्ने पनि उत्तिकै छन् । तर, यिनै विषयलाई रोजेर पनि मुखर्जीले आफ्नो उपन्यासलाई पृथक बनाएका छन्, आफ्नो अब्बल भाषाशील्प र सटीक शब्द छनोटले । उनका पात्रलाई देख्न सकिन्छ, तिनका जीवन भोग्न सकिन्छ, हात बढाएर आँसु पुछ्न सकिन्छ, उनीहरू बस्ने घरमै आफू घुसि्रन सकिन्छ । सामान्य वाक्य संरचनामा पनि मुखर्जीको कौश्ाल कुनै कविको भन्दा कम छैन । जस्तो ः एउटा उदाहरण 'क्षितिजतर्फ घसि्रँदै गएको अर्ध-चन्द्रले आफ्ना अगाडिका रूखहरू कालो बनाउँदै लग्यो' (पृष्ठ: २८२) । यस्ता सुन्दर अभिव्यक्तिहरू उपन्यासभरि छरपस्ट छन् ।
धेरै प्रशंसायोग्य भए पनि उपन्यास कमजोरीरहित भने छैन । जस्तो ः कुनै घटनालाई अति तन्काइएको छ र पछि तिनको कुनै उपयोगिता र प्रसंग नै छैन । यसरी प्रमुख विषयवस्तुबाट बिनाकारण रुमल्लिँदा र पछि त्यसको कुनै तुक नभेटिँदा पाठक असन्तुष्ट हुन सक्छन् । त्यसै गरी नयाँ विषय वा विचार प्राप्त गर्ने हिसाबले उपन्यास पढ्ने पाठक पनि निराश हुनेछन् किनभने यसमा खासै नौलो भन्नु नै केही छैन । यही र यस्तै कथा त अनेकपटक लेखियो तर यति प्रभावशाली ढंगमा भने सायदै रचियो । यही लेखनीको शक्तिलाई जाँच्न भए पनि एकचोटि पढ्नैपर्ने कृति हो यो ।
द लाइभ्स अफ अदर्स
लेखक : नील मुखर्जी
प्रकाशक : र्यान्डम हाउस, इन्डिया
पृष्ठ : ५२८
मूल्य : ९८० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...