राजनीतिक उपन्यास
दसवर्षे द्वन्द्वकालका पक्ष-विपक्षमा अहिलेसम्म अनगिन्ती विचार-विमर्श भइसकेका छन् । यसकै सेरोफेरोमा थुप्रै लेखरचना, डायरी र संस्मरणको खात लागिसकेको छ ।
अन्य द्वन्द्वकालीन उपन्यासभन्दा फरक के भने यसकी प्रमुख पात्रले त्यो दशकलाई भोगेकी मात्र छैन, त्यो महत्त्वपूर्ण दशकले उसलाई आफू अनुरूप ढालेको पनि छ । राजनीतिक घटनाक्रम र उतारचढावले एक आमनागरिकको जीवनमा ल्याउने फेरबदललाई उपन्यासले मिहिन रूपमा चित्रण गरेको छ ।
सशस्त्र युद्धको गाइँगुइँ चल्दा उपन्यासकी नायिका मायामा भर्खर राजनीतिक चेतना पलाउन थालेको हुन्छ । जब दोस्रो जनआन्दोलनसम्म पुगेर उपन्यासको अन्त्य हुन्छ, उसको जिन्दगीले अकल्पनीय फड्को मारिसक्छ । एक हिसाबले यो एउटी बालिका महिलामा परिणत भएको कथा पनि हो । अंग्रेजीमा 'कमिङ अफ एज' वा 'बिल्डिङ्स रोमन'का रूपमा चर्चित विधाको छनक मान्छेको रङमा पनि पाइन्छ । तर, नायिकाको परिपक्वताको आकलनभन्दा बढी उपन्यासकारले उसलाई माध्यम बनाएर देशको रङ बदल्ने वर्षहरूलाई आख्यानमा उतारेकी छन् ।
उपन्यासको कथा भन्नु नै त्यही केटी, उसको परिवार अनि साथीहरूको दसवर्षे जीवनकालको चित्रण हो । अस्ट्रेलियाको भिसा लागिसकेको पवन दोस्रो जनआन्दोलनमा पहिलोपटक मायालाई देखेपछि विदेश जाने सपना लत्याउँदै उसको घरमै पुग्छ । विचित्र व्यवहार गरेर प्रायः बेवास्ता गर्ने माया एक रात उसलाई आफ्नो जीवनकथा सुनाउन थाल्छे । मायाको इतिहासमार्फत एउटी अध्ययनशील र बुद्धिमान केटीको राजनीतिप्रतिको क्रमिक लगाव र संलग्नता अनि त्यसले उसका पि्रयजनलाई पार्ने प्रभावलाई विविध कोणबाट केलाइएको छ । मायाको क्रान्तिकारी बन्ने सपनामा पिताले नै पार्टी त्यागेपछि ठेस लाग्छ । तर, क्रान्तिकारीको प्रेम र आदर्शमा चुर्लुम्म डुबेकाले सजिलै यसबाट बाहिर निस्किन्न । बरू बहिनी, आमा र सबैभन्दा मिल्ने साथीलाई त्याग्न तयार हुन्छे तर कठिन बाटो हिँडिरहन्छे । समयसँग उपन्यासकारले मजाले खेलेकी छन्, पाठकलाई कहिले पात्रको बाल्यकाल त कहिले किशोरावस्थामा पुर्याउँछिन् । विविध पात्रका माध्यमबाट उनीहरूका विभिन्न उमेरमा घुसेर पाठकले देशकै इतिहासबारे जान्न सक्छन् ।
मायाको चरित्रचित्रण चित्तबुझ्दो नै छ । केटी दह्री र चलाख छे, स्पष्टवक्ता र स्वच्छन्द छे । सुरुमा लहैलहैमा राजनीतिक झुकाव देखाउन थाल्ने माया पछि यसका हरेक पक्षको विश्लेषण गर्न थाल्छे । मायाको व्यवहार र बोली उमेर नसुहाउँदो पनि देखिन्छ । कहिले ऊ साह्रै केटाकेटी भइटोपल्छे भने कहिले हजुरआमाभन्दा बुझक्की । उसभित्र चलिरहेको द्वन्द्वलाई ध्यानमा राखेर पढ्दा यो उसको मनोवैज्ञानिक स्थितिकै उपज भएको पत्ता लाग्छ । समाजमा परिवर्तन ल्याउने चाहनाका साथै उसको मस्तिष्कमा उब्जेका अन्योल अनि द्विविधालाई उपन्यासमा राम्रोसँग प्रस्तुत गरिएको छ ।
आफ्नै मर्जीकी मालिक मायाजस्ता पात्र वास्तविक समाजमा थोरै हुन्छन् । त्यसैले त उपन्यासमा पनि उसले अलि विशिष्ट स्थान ओगटेकी छ । यस्ती प्रेरणादायी केटी सस्ता भाषणकै कारण क्रान्तिको परिभाषा नै पत्ता नलगाई बहकिएको देख्दा पाठकलाई नरमाइलो लाग्छ । मनमा आउँछन् ती असंख्य मायाहरू, ज्ासले आलोकाँचो उमेरमै यस्ता अन्टसन्ट आश्वासन सुनेर अनि मीठा कल्पना बुनेर उज्ज्वल भविष्यको रेखा नै बदलिदिए । उपन्यासमा अर्की रोचक पात्र हो, मायाकी आमा । छोरीलाई सुरक्षित राख्न खोज्ने तर नजानिँदो पाराले उसको राजनीतिक चेतनालाई गोडमेल गर्ने यो विरोधाभासी आमाप्रति पाठकको सहानुभूति रहन्छ ।
उपन्यासमा यथेष्ट पृथकता हुँदाहुँदै पनि यसले सुरुआतमा देखाएको सम्भावनालाई अन्त्यसम्म टिकाउन सकेको छैन । उपन्यासको भाषा सरल र सहज छ तर साहित्यिक लय र मिठास कमै भेटिन्छ । गिरीका कथामा प्रशस्तै पाइने शक्तिशाली भाव र वाक्यहरू उपन्यासमा खोज्न हम्मेहम्मे पर्छ । प्रायः नीरस र सपाट शै लीमा एकोहोरो भाव समेटिएको डायरीजस्तो छ उपन्यास । कतिपय अनुच्छेद त राजनीतिक भाषण, पर्चा एवं कार्यक्रमबाट हुबहु टिपोट गरेजस्ता छन् । उपन्यासले कैयौँ नेपालीको वास्तविक जीवनलाई आख्यानका रूपमा प्रस्तुत गरेकाले यी विचारहरू दोहोर्याइनु अनौठो पनि भएन । तर, यसले गर्दा पाठकको ध्यान भने भंग हुन्छ, थुप्रैचोटि सुनेर कण्ठस्त भइसकेका मन्तव्य पढ्न सायदै कसैलाई जाँगर चल्ला । त्यसै गरी 'आँखा र नाकको पानी,' 'सुक्खा आँखा' र 'अमिलो पानी'जस्ता वाक्यांशको अति प्रयोग भएको छ, मानौँ वर्णनका अरू उपाय नै छैनन् ।
उपन्यास अनुसार शीर्षक सटीक भए पनि उपन्यासमा पटकपटक रङको विम्ब प्रयोग गरी शीर्षकको सार्थकता औँल्याउनु आवश्यक देखिँदैन । उपन्यास गतिशील भए पनि कतिपय ठाउँमा दिशाहीन छ । केही प्रसंग बिनाऔचित्य देखा पर्छन्, अनि कथामा केही योगदान नगरीकन उसै गरी बिलाइ जान्छन् । मायाले प्रेम गर्ने र उसको परिवर्तनको कारण बन्ने पात्र शिखरले पाठकलाई बलियोसँग तान्नुपर्ने हो तर उसको चरित्रलाई खासै ध्यान दिएर विकास गरिएको छैन ।
राजनीतिक व्याख्या र वर्णन धेरै तन्किएर अनि उही पुराना सिद्धान्त बारम्बार दोहोरिएर कथाको मूल स्वरूप कतै अल्भिmएको छ । कुनै पनि उपन्यासका लागि राजनीति अत्यन्त समयसापेक्ष विषय, पृष्ठभूमि र सार हो । तर, उपन्यासको पूर्णतः राजनीतीकरणले यो आंशिक रूपमा एउटा दस्तावेजजस्तो बन्न पुगेको छ, जुन आख्यानका पाठकलाई भन्दा समाजशास्त्री र राजनीतिज्ञहरूलाई रुचिपूर्ण लाग्छ । आन्विकाका अघिल्ला सिर्जनाले जन्माएका अपेक्षालाई यस उपन्यासले न्याय गर्न सकेको छैन ।
मान्छेको रङ
लेखक : आन्विका गिरी
प्रकाशक : सांगि्रला बुक्स
पृष्ठ : ३७८
मूल्य : ३७५ रुपियाँ
सिद्धान्तकारभित्रका स्रष्टा
- सरोज जीसी
आम पाठकबीच डोरबहादुर विष्ट स्रष्टाभन्दा सिद्धान्तकारका रूपमा चिनिन्छन् । यद्यपि, उनका सोतलाजस्ता साहित्यिक कृतिमा पोखिएका भावनात्मक गहिराइले एउटा सपाट सिद्धान्तकारभित्र लुकेको 'लिटेररी सेन्सिबिलिटी'लाई देखाउँछ । अनुसन्धाता विजयराज पौड्यालद्वारा संकलित कथासंग्रह डोरबहादुर विष्टका कथाहरू सिद्धान्तकारभित्र स्रष्टा खोज्ने एउटा गतिलो प्रयास हो । विष्टका कथाहरू सामाजिक यथार्थको धरातलमा उत्रेका छन्, यिनमा स्थानीय स्वर छ । सांस्कृतिक विविधता र संकट, सीमान्तकृत आवाज, रीति-कुरीति, प्रेमजस्ता मौलिक विशेषता कथामा भेटिन्छन् ।
०१५ सालतिर पञ्च्यातकालरूपी घोडाबिनाको लगाम खुब उर्लिएको थियो । सरकारी थानेदार र पञ्चेले आममानिसको जीवनमा कोर्रा हानी आफ्नो घोडा भने खुब दौडाए । पञ्चायतकालको यो सामाजिक स्थितिलाई कथाकारले नजिकबाट निहालेका छन्, 'ता कर्बू'मा । सरकारी थानेदारले मनोमानी घोडा लिएपछि ग्याबुकी आमा भन्छिन्, 'मरिहालेस् तै औलिया, सरकारी मान्छेजति सबै मरून् । गरिबलाई दुःख मात्र दिन आउने यो सरकारी मान्छेजति सबैलाई महारोग लागोस् ।' किनारका मानिसलाई गोर्खाली औलियाले राजाको धाक लगाएर त्यतिबेला सरकारी कर्मचारी र पञ्चहरूले दिने दुःखको एउटा झलक हो यो । सरकारी रवाफले निमुखा जनतालाई दिने दुःख ।
विष्टका केही कथाले नेपालको सामाजिक इतिहासबोध गराउँछन् । 'कीर्तिपुरको काइकाल महर्जन'मा काइकाल आत्माको भेषमा कीर्तिपुरको दुःख-दुःखैको इतिहास खुट्याउँछ । काइकाल उर्फ कंकाल भन्छ, 'इतिहासकारहरूको भनाइ अनुसार आठौँ शताब्दीदेखि नै भारतबाट हुने व्यापारिक बाटो ओगटेर बसेको यो कीर्तिपुर सपन्न र सुन्दर बन्दै आएको हो ।'
चौधौँ शताब्दीतिर पुगेपछि टेकुको बाटो गरी आउने त्यही व्यापारले कीर्तिपुरलाई छलेर सोझै वाग्मतीको डोलबाट काठमाडौँ र त्यहाँबाट भोट जाने बाटोले कीर्तिपुरलाई अलग्यायो । काइकालले कीर्तिपुरको फेहरिस्त सुनाउँछ । काठमाडौँ र भोटको ऐतिहासिक व्यापारिक साँठगाँठलाई विष्ट 'त्यो खप्पर' कथामा देखाउँछन् । ल्हासा जाने प्रत्येक मान्छेले समृद्धिको एउटा सपना देखेको हुन्छ तर त्यो सपना साकार हुने खप्पर अर्थात् भाग्य सबैको बलियो हुँदैन । त्यो सपना उठाउन भोग्नुपर्ने मानसिक कठिनाइलाई किसिलाल पात्रमार्फत उजागर गरिएको छ । ल्हासामा धन कमाउनु किसिलालका लागि व्यक्तिगत स्वतन्त्रता र पारिवारिक खाँचो हो भने जसको देनमाथि मान्छेको भाग्य अडिएको मान्छ, त्यही देउताको मूर्ति बेचेर धनी बन्नु अधार्मिक र अनैतिक तथा सामाजिक पाखण्ड हो । अर्काे कुरा, मान्छे ल्हासा धार्मिक बन्न होइन धनी बन्न जान्छन् । धर्म गर्नेहरू त कि काशी कि हरिद्वार जाँदा हुन् । यस्तै मानसिक अटेसमटेसले किसिलालको ज्यान लिन्छ ।
कथामा केही धर्म, संस्कृति र परम्परामाथि विशेष चासो देखिन्छ । राउटे र भोटेदेखि नेवार तथा अन्य सम्प्रदाय विष्टका कथाका विषयवस्तु र पात्र बनेका छन् । त्यहाँभित्रको सामाजिक, साम्प्रदायिक तथा साम्प्रदायिक-मनोवैज्ञानिक अवस्थालाई आम पाठकबीच ल्याउनु नै विष्टको मुख्य उद्देश्य देखिन्छ । विष्ट 'डावाङ साङमु' कथामा गुम्बाभित्रबाट बाहिरी भौतिक जीवनको सपना देख्ने दुई युवक-युवतीको मानसपटलभित्र छिर्छन् र डावाङ साङ्मुको यौन कौतूहलको विवरण पेस गर्छन् । केही समुदाय विशेष परम्परालाई नजिकैबाट चियो गर्छन्, राउटे समुदायमा गोलो परम्परा तथा बाँदर मार्ने मान्यता र यी परम्परासँग जोडिएको सामुदायिक तथा सामाजिक मनोवैज्ञानिक अवस्थालाई उजागर गर्छन् । त्यसै गरी, 'कालीगण्डकीको हुरी'मा लामा समुदायमा प्रचलित बहुपति प्रथा, र त्यहाँ खटि्कने पारस्परिक तथा आपसी सम्बन्धको जटिलतालाई दर्साएका छन् । यी कथामा मानवशास्त्रीय दृष्टि देखिन्छ तर यी कथाकै भरमा उनलाई मानवशास्त्री भन्न भने गाह्रो छ । पछि मानवशास्त्री भए पनि उनी पहिलेका कथाकार हुन् ।
र, 'राधा जिल्ल परी' आजभन्दा केही दशकअघि नेपाली समाजमा हुने महिला स्वतन्त्रतामाथिको बन्देजसँग सम्बन्धित छ । राधाको निजी जीवन सामाजिक अतिवाद तथा मूल्य-मान्यताले निर्धारण गर्छ । उसले के बोल्छे र के गर्छे सत्य होइन, उसका बारे समाजले के बोल्छ र गर्छ, त्यो सत्य हो । त्यसै गरी समाजको प्र भावमा माइलीको दुच्छरता र कुनै पुरुषबाट पर बस्नुपर्ने सोच अशिक्षित समाजले सिकाएको नारी यस्तो हुनुपर्छ भन्ने लैंगिक भूमिकाको परिणाम हो ।
पछिल्लो समय आख्यानमा भएको परिवर्तन, विकास र प्रयागको कसी लगाउँदा विष्टका कथा केही हदसम्म कमसल देखिएलान् । तर, उनका कथा सरल र स्पष्ट छन् । एउटा सीधा गल्ती साहित्यिक विमर्शमा के हुने गर्छ भने जुनसुकै काल, परिवेश र परिस्थतिमा लेखिएका कृतिलाई अहिले उम्रेका वादहरूको पाइनमा डुबाउने । उक्त वादको पाइन बस्यो भने मात्र कृति खरो । विष्टका कथालाई वादहरूको भुंग्रोमा खन्याउनु अत्युक्ति हुँदैन । किनभने, प्रत्येक कृतिको आफ्नै वाद र परिवेश हुन्छ । नवइतिहासकार अनि उत्तरआधुनिक चिन्तकहरूले भनेजस्तो कुनै कृतिको न्यायिक समालोचनाका लागि 'सेल्फ पोजिसनिङ' आवश्यक छ । विष्ट एउटा सामाजिक पक्षलाई आफ्नो सिर्जनशील कलाको शक्तिले सिञ्चित गरेर कथाको रूपरेखा तयार पार्छन् । यसो भन्नेबित्तिकै कथाले सामाजिक यथार्थलाई ऐनामा जस्तै छर्लंग देखाउँछ भन्ने होइन । कुनै पनि साहित्यिक कृति धेरथोर मानवीय कल्पनाले पोतिएको हुन्छ । समाजको जड यथार्थलाई जस्ताको तस्तै उतार्ने हठले पाठक हृदय रिझाउन नसक्ने जोखिमलाई स्रष्टाले सिर्जनशील कल्पनाशक्तिको प्रयोगले कम गर्छ ।
डोरबहादुर विष्टका कथाहरू
लेखक : डोरबहादुर विष्ट
प्रकाशक : हिमाल किताब
पृष्ठ : १३२
मूल्य : ३२५ रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...