विदेशी बुहारीको बयान
मानवशास्त्री एलिजाबेथ एन्स्लिनको जीवनकथा बडो रोचक छ। अमेरिकामा जन्मी हुर्केर आफ्नो रुचि अनुसार विश्वविद्यालयमा अध्ययन गरिरहेकी यी बौद्धिक लेखकको भेट एक नेपाली युवकसँग हुन्छ।
आफ्नो देशमा जस्तो कुनै भौतिक सुख सुविधा नभएको चितवनको सानो गाउँमा एउटा संयुक्त परिवारमा बस्ने उनले कल्पना पनि गरेकी हुन्नन्।
जीवनमा नसोचेका कुरा भइदिन्छन्। परिस्थितिवश एन्स्लिन आफ्ना पतिसँगै नेपाल फर्किन्छिन् र गुन्जनगर बस्तीको बाहुन परिवारको ग्वालीको माथिल्लो तल्लामा आएर बस्छिन्। उनलाई पायक पर्ने शौचालय पनि नभएको ठाउँमा बस्न आउनुमा उनको एउटा स्वार्थ हुन्छ, मानवशास्त्री भएको हैसियतले उनी त्यहाँका रीतिथिति बुझ्न चाहन्छिन् अनि त्यसै मेलोमा एउटा विषयवस्तुको छनोट गरी शोधपत्र पनि पूरा गर्न चाहन्छिन्। यसलाई रचनाकारको बहादुरी नै मान्नुपर्छ, आजभन्दा तीन दशकअघि धुलाम्मे सडक भएको गाउँमा पुग्छिन्, आफूभन्दा पूरै फरक परिवारसँग भिज्ने कोसिस गर्छिन् र आफ्नो सन्तानलाई घरमै जन्म दिने आँट पनि देखाउँछिन्।
यहीँ रहँदा बस्दा उनी समाजका विभेदलाई नजिकैबाट छाम्छिन्, पिछडिएका महिलाका दु:खबारे थाहा पाएर तिनलाई आड दिने प्रयास गर्छिन्, आफ्नी सासूले भाका मिलाएर गाउने गीतमा जीवनको लय भेट्छिन्। यिनै भोगाइका कोलाजलाई जतनसाथ समेटेर पुस्तक नै तयार पार्छिन्, ह्वाइल द गड्स वेर स्लिपिङ : अ जर्नी थु्र लभ एन्ड रिबेलियन इन नेपाल। आफूलाई घेरेको परिवार र समाजका सदस्यको बदलिँदो गतिविधिसँग एन्स्लिनले नेपालमा विभिन्न समयमा भएका राजनीतिक, सामाजिक एवं आर्थिक परिवर्तनलाई जोडेकी छिन्। यसर्थ नितान्त व्यक्तिगत अनुभव भए पनि पुस्तकले विस्तृत पृष्ठभूमि अँगालेको छ।
एन्स्लिनको लेखनीको सबैभन्दा सशक्त पाटो उनको इमानदारी हो। अप्ठ्यारा कुरा ढाकछोप गर्ने वा आफूलाई चित्त नबुझेका कुरालाई लिपपोत गरी प्रस्तुत गर्ने प्रयास उनले गरेकी छैनन्। परिवारका सदस्यसँग रिस पोखेकै छिन्, रूढीवादी संस्कारविरुद्ध असहमति जनाएकै छिन् र आफ्ना मनमा उब्जेका असन्तोष अनि असुरक्षाका भावनालाई पनि स्पष्ट पारेकी छन्। उनले मन यतिसम्म उदांग पारेकी छन् कि आफैँलाई प्रश्न र प्रतिप्रश्न गर्छिन्। आफ्नो हेराइ र लेखाइले गलत सन्देश नजाओस् र नेपाली चालचलनको मर्म नमरोस् भनेर उनी सजग छिन्।
गाउँले जीवनका सुन्दर पक्षलाई सूक्ष्म ढंगले उतारिएको छ, पुस्तकमा। गाउँघरका चाडबाड, अर्मपर्म, सामाजिक बनावट, महिलाका समस्या र दैनिक जनजीवनलाई सरल तर सरस भाषामा प्रस्तुत गरिएको छ। विशेष गरी सासू पार्वती पराजुलीको चरित्र चित्रण साह्रै निष्ठापूर्वक गरेकी छन्। प्राय: विदेशी लेखकले जतिसुकै शोध र अनुसन्धान गरे पनि कतिपयको बुझाइ सतही मात्र हुन्छ अनि सामान्य घटनालाई पनि अतिरञ्जित गर्ने र नेपाललाई कुनै अर्कै ग्रहको अलौकिक देशका रूपमा देखाउने होडबाजी चल्छ। तर, एन्स्लिनले वर्षौं नेपालकै रहनसहनमा डुबेर होला, यसको प्रस्तुतिमा पनि न्याय गर्न सकेकी छन्। त्यति मात्र होइन, एन्स्लिनले आफूले देखेका र भोगेका कुरालाई विभिन्न दृष्टिकोणबाट केलाएर, उदाहरण दिएर, त्यसमाथि शोध गरेर सामान्य घटनालाई पनि नौलो पारामा पाठकसामु प्रस्तुत गरेकी छन्। उनको गहन विश्लेषण पढिसकेर यस्तो फरक तरिकाले पनि सोच्न सकिन्छ भनेर पाठ नै मिल्छ।
उसो त संस्मरणको विषयवस्तु आकर्षक हुँदाहुँदै पनि यो एउटै गति र सारमा अघि बढ्न सकेको छैन। बाटो हराएको यात्रीझैँ बेलाबेलामा यसका घटनाक्रम बरालिन्छन्। कहिले लेखक आफ्नै विचार राख्न थाल्छिन् त कहिले कुनै असम्बन्धित घटनातर्फ फड्को मार्छिन्। अनेक टुक्राटाक्री ल्याएर कथामा जोडिएको छ। यसो गर्दा एकसुरमा पढिरहेको पाठकको ध्यान खलबलिन्छ र घटनाहरूबीचको सम्बन्ध अनि समय खुट्याउन पनि गाह्रो पर्छ। अझ संस्मरणमै रमाइरहेका पाठकलाई प्राविधिक शब्द र सिद्धान्तले झिँझो नै लगाउन सक्छ। समाजशास्त्र वा इतिहासमा रुचि भए त पुस्तक उपयोगी हुन्छ तर यसलाई वैयक्तिक अभिव्यक्ति मानेर रस लिइरहेका पाठकले भने कैयौँ पृष्ठ नपढी पल्टाउने डर हुन्छ।
तीन खण्डमा बाँडिएको पुस्तकमा पहिलो र दोस्रो खण्डको बनोट राम्रो छ : तिनमा कथा सहजै अघि बढ्छन्। तर, अन्त्यतिर आइपुग्दा लेखकलाई हतारो भएजस्तो लाग्छ। उनी घटनाहरूलाई समेट्न छाडेर लेखनी टुंग्याउन हतारिन्छिन्। यसले गर्दा केही प्रश्नको उत्तर खोजिरहेका र संस्मरण एउटा निष्कर्ष वा निचोड पर्खिरहेका पाठक निराश हुन पुग्छन्। अर्को महत्त्वपूर्ण कुरा, पुस्तक र यसको शीर्षकबीच कुनै तालमेल छैन।
अलि अगाडिको समयमा हाम्रो देशलाई नयाँ आँखाले हेर्ने रहर जागेका पाठकलाई यो पुस्तक उपयुक्त छ। भाषा, संस्कृति र धर्मका भिन्नतालाई चिर्दै यहाँ आएर आफ्नो घरगृहस्थी सम्हालेकी महिलाको कथा र उनका गहकिला विचार पढेर निकै कुरा सिकिन्छ। एन्स्लिनको मिहिनेत र लगन हरेक पृष्ठमा प्रयुक्त संवादमा भेटिन्छ, उनले संकलन गरेका मौलिक नेपाली गीतमा झल्किन्छ, उनले ध्यानपूर्वक बुनेको नयाँ संसारमा देखिन्छ। नेपाली समाजको नालीबेलीबारे जान्न पनि पुस्तक पढिनु र यसबारे विचार विमर्श गरिनु आवश्यक छ।
ह्वाइल द गड्स वेर स्लिपिङ : अ जर्नी थु्र लभ एन्ड रिबेलियन इन नेपाल
लेखक : एलिजाबेथ एन्स्लिन
प्रकाशक : सिल प्रेस
पृष्ठ : २९८
मूल्य : ५०० रुपियाँ
——————————————-
प्रेमको भोक
प्रेमको ढाई अक्षरमा कुनै जादु हुन्छ, जसले प्रेमी हृदयलाई सम्मोहित तुल्याइदिन्छ। हरेकलाई आफ्नो प्रेम बढी सुन्दर लाग्छ। बुझ्नेलाई प्रेमका ढाई अक्षर पढ्नु नै ज्ञानी हुनु हो। यस्तै सम्मोहित प्रेमीहरूको भोगाइ हो, जुकरबर्ग क्याफे। यसमा पत्रकार अश्विनी कोइरालाले २४ थरी ज्ञानीहरूको सुखान्त र दुखान्त पस्केका छन्।
यसअघि सार्थक जीवन जिउन चाहने नारी पात्रको संघर्षशील जीवनकथा उनी प्रकाशन गरेका थिए। ती पात्रहरू जीविकोपार्जन या सामाजिक परिचय बनाउनमा तल्लीन थिए। नवनीत पुस्तकमा केवल प्रेम गर्न वा पाउन आतुर मनहरूले ठाउँ पाएका छन्।
जुकरबर्ग क्याफे पढ्न थाल्दा झ्यालको चौकोसमा एउटा लभ बर्ड आएर बस्यो। पहिलो कथा पढ्दा नजिकै देखिएको त्यो कीरा दोस्रो कथा पढ्दासम्म अलिक पर सरिसकेको थियो। हरियो रंगको लभ बर्डका शरीरभरि खैरा थोपाहरू थिए र ती नयाँ कथानकसँगै प्रकट हुन्थे या हराएर जान्थे। यता कथामा प्रेम पात्रहरूका चरित्र बदलिन्थे। उता असमयमै खैरा थोप्लाहरू राता या पहेँला देखिन्थे। थोप्लाहरूको रंग बाहिरबाट परेको प्रकाशको कारण बदलिएको हुनुपर्छ। पात्रहरूको स्वभाव समयको कारण। जे भए पनि यो एउटा विशुद्ध संयोग थियो।
कथानक फरक फरक भए पनि सबैमा प्रेम, यौन या बिहे मुख्य विषय रहन्छ। जीवनका यी तीन पक्षलाई बुझन् नसक्दा कतिपय पात्रको प्रेम दुखान्तमा समाप्त भएको छ। अंग्रेजी साहित्यकी पढन्ते इला मिस यी विषयमा पश्चिमाहरूको विचार समेत पढेकी थिइन्। तर, आफ्नै जीवनमा आइपर्दा त्यो ज्ञान काम लागेन। पढन्ते हुनु र जीवनमा प्रभाव पार्ने प्रश्नहरूलाई गहन रूपमा विचार गर्नु फरक कुरा हो। सिद्धान्त बकवेदान्तमा सीमित रहन्छ र जीवन त्यसलाई वास्तै नगरी अगाडि बढिरहन्छ। दुखान्तको चोटले मर्माहत बनाएपछि भने उनले कुरा बुझ्न थाल्छिन् : प्रेम आत्मिक भावना हो। बिहे सामाजिक संस्कार हो। यौन शारीरिक आवश्यकता हो। हृदयमा प्रेम, समाजमा विवाह र शरीरमा सेक्स। इला मिस स्वीकार गर्छिन्, ‘मैले यी तीनबीच तारतम्य मिलाउन सकिनछु।’
अपूरो कथामा केटा फेर्दै प्रेम गर्ने पात्रको चर्चा छ। प्रेम त एक जनासँग हुनुपर्छ होइन र भन्ने प्रश्नमा बडो अत्याधुनिक देखिने रोजी भन्छिन्, ‘क्या ओल्ड कुरा गर्नुहुन्छ यार तपाईं पनि। बजारमा यति धेरै ड्रेस छन्, तपाईं एउटै लगाएर जीवन बिताउँछु भन्नुहुन्छ? एउटा ड्रेस लगाउने राम्रो, चेन्ज गरेर लगाउने खराब? म जुन ड्रेस लगाउँछु, मन परेर लगाउँछु। मिलाएर लगाउँछु। उसलाई कहिल्यै हर्ट गर्दिनँ।’
कथाकारले सबै स्वादका प्रेम कथा पस्कने धुनमा रोजीलाई समेटेका हुन् सायद। कथामा रोजीले बुझेको प्रेमको परिभाषा खुलेको छैन। प्रेमको वास्तविक बुझाइ अन्य पात्रका मुखबाट पनि प्रकट हुँदैन। प्रेमको सर्वसम्मत बुझाइ हुनु पनि असम्भवप्राय: छ। रोजीको प्रेमलाई कसरी बुझ्ने? पाठक अलमलमा पर्छ। र, यो अलमल हामी समस्त पूर्वीयहरूको साझा हो।
पूर्वीयहरूको जीवन र जगत्को बुझाइ अध्ययन गर्न आएका पश्चिमा विद्वान् एडबर्ड सइद आफ्नो पुस्तक ओरिएन्टालिजममा लेख्छन्, ‘एक्युरेसी इज एब्होरेन्ट टु द ओरिएन्टल माइन्ड, विषयवस्तुको ठीक ठीक समझ पूर्वीय मस्तिष्कका लागि झिँजो लाग्ने कुरा हो। हामीमध्ये अधिकांश प्रेम, यौन र विवाहलाई ठीकठीक बुझ्ने चेष्टा गर्दैनौँ र छ्यासमिसे बुझाइले गर्दा दु:ख पाउँछौँ क्यारे !’
प्रेमलाई कसरी ठीक ठीक बुझ्नू? यो सोचेजति सहज विषय होइन। उही प्रेम गर्दा, लाग्दा र बस्दा सूक्ष्म भएर जान्छ। हामी सबैलाई प्रेम गर्न सक्छौँ, केही निकटस्थ व्यक्तिको बढी माया लाग्छ र कसैसँग माया नै बस्छ। कसैप्रति आकर्षित हुनु, भावुक हुनु वा कसैको सुखदुखको ध्यान राख्नु प्रेमका फरक फरक चरण हुन्।
‘मुद्दा’ शीर्षक कथा बान्कीका हिसाबले उत्कृष्ट छ। यसमा श्रीमान्ले शृंगार गर्न नदिएको आरोपमा श्रीमतीले मुद्दा हालेकी छिन्। श्रीमान् सफाइ दिन्छन्, मैले श्रीमतीलाई माया गरेको छु, उनलाई मन पर्ने खान दिएको छु र ख्याल राखेको छु। शृंगार मैले रोकेकै हुँ, किनभने म उनलाई प्राकृतिक माया गर्छु। जस्तो : भाले आकर्षक हुन्छ, कुखुरी साधारण हुन्छे। भाले मयूर रंगीन हुन्छ, पोथी साधारण हुन्छे। साँढेको गर्दनमा जुरो हुन्छ, गाईको हुँदैन। भाले कोइलीले मीठो गाएर पोथीलाई फकाउँछे। पोथी साधारण हुनाले पशुपन्छीमा सेक्स संयमित छ। मान्छे सेक्समा आतुर छ किनभने महिलाले भड्किलो शृंगार गरेर पुरुषलाई असंयमित बनाइरहेका छन्।
उसको बयानको भोलिपल्ट फैसलाका दिन सधैँ झकिझकाउ भएर आउने महिला न्यायाधीश सादा पहिरनमा उपस्थित हुन्छिन्। विपरीतलिंगीबीच संयमित यौन जीवनका लागि महिला सहज रूपमा भइदिनुको कत्रो महत्त्व छ भन्ने वास्तविकता यो कथाले देखाएको छ।
पत्रकार अश्विनी जुकरबर्ग क्याफेमा कथाकार भएर आएका छन्। तैपनि, कथामा रिपोर्टिङको छनक बारम्बार पाइन्छ। यद्यपि, यसले अरू मीठा प्रेमकथा बाहिर आउने ढोका खोलिदिएको छ। प्रेमलाई बुझेको मानिसले प्रेम नै गर्छ, आलोचना गर्दैन। आलोचना गर्ने हक उसैलाई हुन्छ, जसले त्यसभन्दा सुन्दर कृति सिर्जना गर्न सक्छ।
नित्से भन्छन्, ‘हामी प्रेमका भोका छौँ र भोकमा काँचो भात पनि मीठो हुन्छ।’ अश्विनीले प्रेमका भोकाहरूलाई काँचै भात भए पनि पस्किदिएका छन्। यति कुरा विश्वासपूर्वक भन्न सकिन्छ, भान्छा सबैलाई मीठो लाग्नेछ। कसैलाई मीठो लागेन भने बुझ्नुपर्छ, उसलाई भोकै थिएन ।
- नेत्र आचार्य
जुकरबर्ग क्याफे
स्रष्टा : अश्विनी कोइराला
प्रकाशक : बुक हिल पब्लिकेसन्स
पृष्ठ : २२४
मूल्य : ३०० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...