फेरि ठाकुर गल्र्स
गम्भीर र यथार्थपरक साहित्यको खोजीमा रहेका पाठकका लागि यो उपन्यास हुँदै होइन ।
महिला पाठकलाई लक्षित गरी महिलाद्वारै लेखिने विधा ‘चिक्लिट’ (केटी साहित्य)मा भारतीय लेखिका अनुजा चौहानको नाम अग्रपंक्तिमा आउँछ । समकालीन पुस्तामा चर्चित आख्यानकारका रूपमा चिनिएकी चौहानको लेखनीलाई ‘सस्तो,’ ‘लोकप्रिय’ वा ‘साधारण’ मानेर भाउ नदिने साहित्यिक जमात पनि उत्तिकै छ । तर, उनको शैली सामान्य चिक्लिटजस्तो भने छैन । चौहान आफैँ पनि चिक्लिट लेखिकाका रूपमा चिनिन चाहन्नन् । उनको भनाइ छ, ‘खानकै लागि उत्पादन गरिने साना, कमजोर, मूर्ख जन्तु हुन् चिक् (कुखुराका चल्ला) । म चल्ला होइन र चल्लाका लागि लेख्दिनँ ।’
भारतीय विज्ञापन क्षेत्रमा लगभग दुई दशक काम गरेर ‘ये दिल माँगे मोर’, ‘टेढा है पर मेरा है’ र ‘डर के आगे जित है’ जस्ता लोकप्रिय विज्ञापनका बोलहरूको सिर्जना गरेकी चौहानले उपन्यास पनि उस्तै लेखेकी छन् । मिहिन चरित्र चित्रण, रहस्यमय घटना र चाखलाग्दो वर्णनले उनका उपन्यास निश्चित वर्गका लागि पठनयोग्य र स्मरणयोग्य पनि भएका छन् । भर्खरै प्रकाशित द हाउस द्याट बिजे बिल्ट (बिजेले बनाएको घर) चौहानको ऊर्जावान लेखनीको एउटा झलक हो ।
‘दोज् प्राइसी ठाकुर गल्र्स’ (भाऊ खाने ठाकुर केटीहरू)बाट चौहानले पाठकसँग चिनापर्ची गराएकी ठाकुरका छोरीहरूलाई यो उपन्यासमा फेरि ब्यूँताएकी छन् । वर्णानुक्रम अनुसार नाम जुराइएका पाँच दिदी–बहिनीमध्ये एउटीको मृत्यु भइसकेको छ भने बाँकी चार जना अधबैँसे उमेरमा आ–आफ्ना जीवनमा व्यस्त छन् । उनीहरूको सट्टा नायिका बन्न आइपुगेकी छे, ठाकुरकी माहिली छोरीकी छोरी, उसकी नातिनी बोनिता ।
आमाबाबुको मृत्युपछि हजुरबुबासँगै पुख्र्यौली घरमा बस्न आएकी बोनु राम्री छे, घमन्डी छे, चतुर छे र यो उपन्यासको प्रमुख पात्र हुन साह्रै उपयुक्त छे । अरू उपन्यासका केटीझैँ माया प्रेममा डुबी बस्ने वा सपनाको राजकुमार कुरी बस्ने उसको चाख छैन । चलचित्रका कलाकारले लगाउने लुगाको दुरुस्तै नक्कल गरी सस्तो मूल्यमा बेच्ने कम्पनी खोलेर बसेकी बोनुलाई हजुरबुबाबाहेक कसैको वास्तै छैन ।
त्यही घरमा बोनुकी ठूलीआमाको झड्केलो छोरो चलचित्र निर्देशक समरवीर सिंहको प्रवेश भएपछि कथाले गति लिन्छ । आफूले खुब मिहिनेत गरेर छोरीहरूका लागि बनाइदिएको घर बेचेर पाँचै जनालाई भागबन्डा लगाइदिने कसम नातिलाई खुवाएर उनीहरूका हजुरबुबाले प्राण त्याग्छन् । अब समर घर बेचेर आफ्ना आमा, सानिमा र बहिनीलाई पैसा बाँड्न लागि पर्छ । तर, यो काम उसले सोचेभन्दा सयौँ गुणा गाह्रो हुन्छ । कहिले उनीहरूका भाडावाल निस्किन मान्दैनन्, फेरि उनीहरूको काकाले नै घरमाथि हकदाबी गर्छ अनि अन्त्यमा त बोनिताले नै आफ्नो भाग बेच्न मान्दिन । उता जिजुबुबाको जीवनीमाथि बनिरहेको समरको चलचित्र लथालिंग हुन्छ, यता ऊ बिस्तारै बोनुलाई मन पराउन थाल्छ ।
एकपछि अर्को गर्दै झाँगिएर आउने समस्याले कथालाई रोचक बनाउँदै लान्छन् । यसबीच पाठक कहिले दिल्लीका साँघुरा गल्लीमा हिँड्छन्, तुरुन्तै मुम्बईको पार्टीमा पुग्छन्, एकैछिनमा भुटानको स्याँठले चिसिन्छन् । स्थान र पात्रलाई राम्रोसँग परिचय गराउने खुबी चौहानमा छ ।
कयौँपटक अपत्यारिला र नाटकीय घटनाक्रममा पनि पाठकलाई साथै डोर्याउँदै चौहानले अन्त्यतिर पाठकलाई फनफनी घुमाइदिन्छिन् । शैली वा विषयवस्तुमा कुनै नयाँपन नभए पनि उनको लेखनीमा एउटा चमक छ । उपन्यासका वाक्यहरूलाई रसिला र ताजा बनाउन उनले निकै प्रयास गरेकी छन्, जसका कारण यही विधाका अन्य लेखनमा भन्दा उनको उपन्यासमा परिपक्वता देखिन्छ । यस्तो लाग्छ, चौहानलाई आफ्ना पात्र र तिनका परिस्थितिप्रति प्रेम छ र घटनाक्रम खुलाउँदै लाने शब्दहरूप्रति उनको आत्मविश्वास पनि छ । उनलाई आफ्ना पाठक, तिनको रुचि र आफ्नो प्रतिभाको सीमाको हेक्का छ । लेखकले नै रमाइ रमाइ स्वच्छन्द भई शब्द बुनेपछि पाठकलाई त्यही रमाइलो बाटो पछ्याउन करै लाग्छ । ठाउँ ठाउँमा त उनले यति मन लगाएर पारिवारिक लहरो तान्छिन् र पूर्वघटना सुनाउँछिन्, विक्रम सेठको अ सुटेबल बोइको आधुनिक प्रस्तुतिझैँ लाग्छ ।
उपन्यासमा चित्त नबुझ्ने पाटा पनि निकै छन् । धेरैजसो संवादमा प्रयोग हुने हिन्दी शब्द र लबजले यसको मजा घटाइदिन्छन् । वर्णनमा हिन्दी शब्द हुनु र तिनको व्याख्या हुनु त राम्रै हो तर संवादमै प्रयुक्त भएपछि हिन्दी नबुझ्ने पाठकले यो अंग्रेजी उपन्यास पढ्नुको कुनै तुक रहँदैन । यी संवादको बारम्बार प्रयोगले उपन्यासलाई नै झर्कोलाग्दो बनाउँछन् ।
त्यस्तै उपन्यास चाहिनेभन्दा लामो छ । अनेक उपकथा सिर्जना गर्ने र त्यसै अनुसार पात्र पनि उभ्याइदिने प्रयासका कारण मुख्य घटनाक्रमबाट बेलाबेला ध्यान पनि हट्छ । उपन्यासमा उमेरले साना पात्रहरूले पनि ठूलो मान्छेले जस्तो बोल्नु र द्विअर्थी कुरा गर्नु पनि नपच्ने नै छ । ठूला मानिसबीचकै कति संवाद पनि असामाजिक लाग्छन् । आमा–छोरा वा भर्खरै चिनेका दुई व्यक्तिबीच अलि अश्लील लाग्ने कुराकानी यति सजिलै हुन्छन् भन्ने प्रश्न पक्कै उब्जिन्छ । लोकप्रिय आख्यानलाई बात लाग्ने गरेको क्लिसे (अति प्रयोगले अर्थहीन बनेका कथन वा घटना) पनि चौहानले बेलाबेला दोहोर्याउँछिन्, जसले उपन्यासको मौलिकता घटाउँछ ।
गम्भीर र यथार्थपरक साहित्यको खोजीमा रहेका पाठकका लागि यो उपन्यास हुँदै होइन । यस्ता किसिमका उपन्यासले साहित्यको असली मर्म नबुझेको आरोप लगाउने पनि थुप्रै भेटिन्छन् । तर, आफूजस्तै मान्छे भएका र आफ्नै भाषा बोल्ने आख्यान पढ्न रुचाउने विशेष गरी युवा पुस्ता यो उपन्यासमा पक्कै रम्नेछन् । आफूले लक्ष्य गरेको पाठक वर्गमा पुग्ने र उनीहरूलाई किताबमै टाँसेर राख्ने शक्ति चौहानले पहिलो उपन्यासदेखि नै प्रदर्शन गरेकी छन्, जुन यसमा पनि प्रशस्तै भेटिन्छ । उनले लेखनलाई पढिने विधामा सीमित नराखेर झलझली आँखैअगाडि चलायमान हुने नाटककै रूप दिएकी छन् ।
—-
द हाउस द्याट बिजे बिल्ट
स्रष्टा : अनुजा चौहान
प्रकाशक : वेस्टल्यान्ड
पृष्ठ : ४१०
मूल्य : ५६० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...