एउटा प्रवासीको संघर्ष कथा
दुईथरी पाठकका लागि यो उपन्यास अत्यावश्यक छ, जुनसुकै तरिकाबाट पनि विदेश पुग्ने र कुस्त पैसा कमाउने सपना देख्ने युवाहरू र आफ्ना सन्तानलाई जतिसक्दो चाँडो विदेशी भूमिमा पाइला टेकाउन आतुर अभिभावकहरू ।
युवा लेखक सञ्जीव साहोटाको जीवनको एउटा घटना निकै चर्चित छ । उनले १८ वर्षको हुँदा मात्र पहिलो उपन्यास पढे । विमानस्थलमा समय काट्न सलमान रुस्दीको मिडनाइट्स चिल्ड्रेनबाट औपन्यासिक पठनको थालनी गरेका साहोटालाई त्यो कृतिले बेग्लै संसारमा यात्रा गराएझैँ लाग्यो । त्यसपछि उनी पनि आफ्नै दुनियाँको परिकल्पना गर्न तम्सिए ।
किशोरावस्था बित्नै लाग्दा मात्र उपन्याससँग साक्षात्कार भए पनि साहोटा वास्तवमै प्रतिभाशाली रहेछन्, त्यो घटनाको १६ वर्ष पनि नबित्दै उनका तिनै प्रिय सलमान रुस्दीले उनको दोस्रो उपन्यास द इयर अफ द रनअवेजमा आफ्नो सहीछाप लगाइसकेका छन् । त्यति मात्र होइन, साहोटाको उपन्यास २०१५ को म्यान बुकर प्राइजको अन्तिम ६ को छनोटमा पनि परेको थियो । सन् २०११ मा प्रकाशित उनको पहिलो उपन्यास आवर्स आर द स्ट्रिट्सले उनलाई उत्कृष्ट नवलेखकका रूपमा परिचित गरायो भने भर्खरै प्रकाशित उपन्यासले चाहिँ साहित्यका घाघडानहरूसँगै स्थापित गरिदियो ।
यो सफलताका पछाडि एउटै मात्र कारण छ, साहोटाको अद्वितीय लेखनी । उनका हजुरबुबा–आमा पन्जाबबाट बसाइ सरी बेलायत पुगेपछि उतै जन्मिएका साहोटा द हाउस अफ द रनअवेजमा त्यो देशमा भारतीयहरूले बाँच्न खोज्दाका अन्योल र दुर्गतिलाई बडो सुन्दर र मन छुने शैलीमा प्रस्तुत गर्छन् । उनले त्यस्ता तीन प्रतिनिधि पात्रको छनोट गरेका छन्, बाबुलाई मानसिक समस्याले गाँजेपछि कमाउने बाटो पहिल्याउँदै घर छाडेको रणदीप, उसकै टोलमा बस्ने र पढाइका लागि जोहो गर्न बसमा काम गर्ने अवतार अनि अत्यन्त विषम परिस्थितिमा हुर्केर एक क्षणका लागि नर्कै भोगेको टोची । यी तीन पात्रको जीवन बेलायतको सेफिल्डमा पुगेर जेलिन्छ र यहीँ अल्झिन आइपुग्छे, बेलायतकै बासिन्दा नरिन्दर ।
त्यसपछिको एक वर्षका चार मौसमभरि उनीहरूकै भोगाइ समेटिएका छन् । यी पीडादायी भोगाइ पढ्दा पनि मुटु ढक्क फुल्छ । किनभने, यी सबै अहिले वास्तविक घटना हुन् । साहोटाले त केवल कसैको जीवनबाट टप्प टिपेर कागजमा छताछुल्ल पारिदिएका न हुन् !
दुईथरी पाठकका लागि यो उपन्यास अत्यावश्यक छ, जुनसुकै तरिकाबाट पनि विदेश पुग्ने र कुस्त पैसा कमाउने सपना देख्ने युवाहरू र आफ्ना सन्तानलाई जतिसक्दो चाँडो विदेशी भूमिमा पाइला टेकाउन आतुर अभिभावकहरू । भिसा लाग्नेबित्तिकै वा विमानस्थलको जाँच कक्षबाट उम्किएर विकसित देशमा छिर्नेबित्तिकै जीवनमा समृद्धि र सफलताको वर्षा हुने आमधारणालाई साहोटाले चकनाचुर पारिदिएका छन् । आफ्नो माटो छोडेर आएपछि खेप्नुपर्ने एक–एक संघर्षलाई उनले पात्रका परिस्थिति र प्रतिक्रियामार्फत सविस्तार वर्णन गरेका छन् । पानीका थोपा–थोपा घाँटीबाट चुहाउँदै गुजार्नुपरेको रात, पैसाको अभावमा साथीहरूबीच उब्जने मन मुटाव र हिंसा, जोखिमपूर्ण काम गर्दा जीवन र मृत्युको दोसाँधमा अडिएको सास र हतास भएपछि पापी बन्ने मन, उपन्यासकारले प्रवासी दु:खलाई सबैतिरबाट केलाएका छन् ।
अर्थपूर्ण र शक्तिशाली तरिकाले पीडा देखाउन मात्र होइन, ती घटना र तीसँग जोडिएका पात्रहरूलाई असाध्यै पत्यारिलो बनाउन पनि साहोटा खप्पिस छन् । हरेक पात्रको पूर्वकथा पत्रपत्र बनी खुल्दै जान्छ । उसका बाध्यता बुझिन्छ, उसको हिम्मतप्रति गर्व लाग्छ । फेरि, रमाइलो के छ भने साहोटाका सबै पात्र नायक हुन् अनि सबै खलनायक । हरेक चरित्रमा असली जीवनमा जस्तै प्रशस्त गुण र अवगुण छन् । त्यसैले, एउटा पात्रले अर्कोलाई छुरा धसे पनि उसको मनस्थिति अनुसार जायज नै लाग्छ भने दोस्रो पात्रले कसैलाई आफ्नो जीवन नै सुम्पिए पनि ऊ नीच र कायर देखिन्छ ।
साहोटाका पात्रजस्तै उपन्यासमा प्रयुक्त वर्णन र संवाद उत्तिकै जीवन्त छन् । सधैँ स्वाभाविक, सबै पत्यारिला । यत्रो मोटो कृतिमा कहीँ पनि क्लिसे (साहित्यमा दोहोरिरहने शब्द, विम्ब वा घटना) देखा पर्दैनन् । उपन्यास नै यति फरक ढंगको छ कि अन्त्य पनि सोचेजस्तो हुँदैन । लेखकको यही बेग्लै प्रवृत्तिले नै उनलाई अरू हजारौँ उस्तै प्रतिभाशाली सर्जकभन्दा भिन्न बनाएको छ ।
उपन्यासमा भय, प्रेम र वैरागजस्ता भावनाको बखुबी चित्रण गरिएको छ । हरेक पात्रको भावनात्मक दृष्टिकोणलाई यति मानवीय ढंगले केलाइएको छ, पाठकलाई ती हरेकको मनमै पुगेजस्तो लाग्छ । एउटा आख्यानले कसरी राजनीति, भूगोल, इतिहास, अर्थतन्त्र, समाजशास्त्र र मनोविज्ञानलाई आफूभित्र अनुपम र रोचक शैलीमा समेट्न सक्छ भनेर बुझ्न यो कृति पठनयोग्य छ ।
साहोटाले आफ्नो दलित पात्र टोचीलाई जुन आँट र स्नेहले चित्रण गरेका छन्, वर्तमान परिप्रेक्ष्यमा यो खुलापन र निर्भीकता भेट्न गाह्रै हुन्छ । तर, यहाँनिर उनले दलित पात्रलाई अझ ‘स्टेरियोटाइप’ गरेको आरोप पनि लाग्न सक्छ । यद्यपि, जसरी बुझे पनि उनको पात्र टोची उपन्यासकै सबैभन्दा उत्कृष्ट चित्रण गरिएको र बहादुर पात्र हो । यसका पात्रहरू एकदमै चञ्चल छन्, यी बढ्छन्, फैलिन्छन् र अन्त्यसम्म पुग्दा पूर्ण परिवर्तित भइसक्छन्, ठ्याक्कै हामी सबै हुर्किएजस्तै ।
उपन्यासमा सुधार गर्न सकिने चाहिँ यसको लम्बाइ हो । दुई–तीन ठाउँमा उस्तै प्रकारका परिस्थिति दोहोर्याइएका छन्, पात्रहरूको मानसिक विचलन पनि ठ्याक्कै उस्तै । त्यसै गरी, धर्मात्मा नरिन्दरले पनि बारम्बार उस्तै कुरा सोचिरहेकी र भनिरहेकी हुन्छे, जसलाई मजैले छोट्याउन सकिन्थ्यो । तर, यी एक–दुई प्रसंग छाडी उपन्यासमा मन नपराइने खोट केही छैनन् । उत्कृष्ट भाषा, कथावस्तु, लेखन शैली र चरित्र चित्रणको सम्मिश्रण भएको यस्तो अद्भुत उपन्यास कमै पढ्न पाइन्छ ।
द इयर अफ द रनअवेज
स्रष्टा : सञ्जीव साहोटा
प्रकाशक : पिकाडोर इन्डिया
पृष्ठ : ४६८
मूल्य : १,०४३ भारु
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...