बलिया लेखकको कमजोर कृति
नवीन विषयवस्तु, कथ्य शैली र प्रस्तुतिमा मिहिनेत भईकन पनि राम्रोसँग अवतरण गर्न नपाएको उपन्यास हो, यल्लो लाइट्स अफ डेथ ।
भारतका सशक्त युवा लेखकमध्ये एक मानिएका बेन्यामिनको भर्खरै प्रकाशित उपन्यास यल्लो लाइट्स अफ डेथ (नेपाली रूपान्तरण : मृत्युको पहेँलो बत्ती)ले उनको कल्पनाशीलता र सिर्जनात्मकतालाई थप प्रमाणित गरेको छ । उपन्यासभित्रै अर्को उपन्यास अर्थात् ‘मेटानोभेल’को रोचक प्रयोग भएको यो कृतिमा समेटिएका विषयवस्तु, रहस्य, प्रेम र अन्धविश्वास सधैँ लोकप्रिय र सान्दर्भिक रहने खालका छन् । तर, यो नौलो प्रयोगलाई जबर्जस्ती जासुसी उपन्यासको आवरणमा समेट्न खोज्नाले कृतिको अन्त्य कमजोर भइदिएको छ ।
यसअघि आधुजीवितम (गोट डेज, नेपालीमा खबुज) उपन्यासमा मानवीय संवेदना, दैनिक जनजीवनका पीडादायी अनुभूति र निम्नवर्गीय चेतनाको उत्कृष्ट चित्रण गरेर बेन्यामिनले प्रशंसा र ख्याति कमाएका थिए । थुप्रै भाषामा अनूदित भएर पुरस्कार पनि जितेको उक्त उपन्यासको अरबी अनुवादको किनबेच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा वर्जित नै छ । यस्तो यथार्थवादी लेखनको प्रतापले चिनिएका बेन्यामिनको नयाँ उपन्यासले भने अपत्यारिला पात्र र तिलस्मी घटनामाथि बढी जोड दिएको छ । उपन्यासका सूत्रधारका रूपमा बेन्यामिनले आफैँलाई उभ्याएका छन् । उनलाई अकस्मात् एकदिन एउटा पाण्डुलिपिको अंश आइलाग्छ र त्यही पाण्डुलिपिको बाँकी भाग खोज्दा–खोज्दै उपन्यास तयार हुन पुग्छ । फेरि, उपन्यासभित्रको उपन्यास रच्ने प्रमुख पात्र बेन्यामिनकै प्रतिमूर्तिझैँ लाग्छ । फरक यत्ति, बेन्यामिन १७ वटा प्रकाशित पुस्तकका मालिक, क्रिस्टी एउटा उपन्यास लेख्न नसकेर भौँतारिरहेको बेसुरे युवा । लेखक बन्ने उत्कट रहर पालेको क्रिस्टीले आफ्नो लेखनीको विषयवस्तु पनि सोचिसकेको हुन्छ ।
तर, अचानक एक दिन आनन्दले पुरानी सहपाठीसँग गफगाफ गरेर बसिरहेको बेला क्रिस्टीकै सामुन्ने एक जना मानिसको हत्या हुन्छ । त्यो अकल्पनीय दृश्यले मर्माहत भएको क्रिस्टीलाई अलि पछि थाहा हुन्छ, मारिने त उसकै अर्को सहपाठी सेन्थिल रहेछ । त्यसपछि हत्याराको पहिचान र कारणको खोजीमा जुटेको क्रिस्टीले चाँडै नै चाल पाउँछ, यो असाध्यै जटिल कार्य हो । सेन्थिलको मृत्युका सबै पहिचान एक दिनमै मेटिन्छन् । र, क्रिस्टीले आफ्नो अनुसन्धानलाई जतातिर मोडे पनि ठक्कर मात्र खान्छ ।
क्रिस्टीको बसोवास मनोरम र शान्त ठाउँमा हुन्छ– एउटा टापु डिएगो गार्सियामा । उसले स्वर्गझैँ बयान गर्ने यो देशमा उसको परिवार यान्डर्यापर एकताका शासक नै हुन्छन् । त्यसयता उसको परिवारले सो हैसियत गुमाए पनि उनीहरूको थरलाई देशभरि नै श्रद्धा गरिन्छ । यो प्रभावशाली वंशजको प्रतिनिधि क्रिस्टीले आफ्नो सुरक्षित र सुन्दर मातृभूमिको महिमा खलबलिएको सहनै सक्दैन । त्यसैले ऊ कस्सिएर यसको रहस्य खोतल्नतिर लाग्छ । जति भित्र पस्छ, अनौठा घटनाहरूमा त्यति धेरै फस्छ र मात्रै उसले यसको फैलिएको जञ्जालबारे बुझ्छ ।
त्यसपछि उसले यसका बारे लेख्न थाल्छ तर क्रिस्टीलाई थाहा छ, यो लेखनी गलत व्यक्तिको हातमा परे उसको ज्यानै जान सक्छ । पाण्डुलिपिलाई टुक्रा–टुक्रामा विभाजित गरेर उसले विभिन्न व्यक्तिलाई बाँडिदिन्छ । त्यसपछि, उपन्यासका विभिन्न भागका बारेमा लेखकलाई जानकारी दिँदै ऊ अलप हुन्छ । अनि, तिनलाई पछ्याउँदै जाने काम बेन्यामिन र उनका साथीहरूको थाप्लोमा आइपर्छ । उनीहरू बडो जोसका साथ यो काममा लाग्छन् तर उपन्यासले उनीहरूलाई फनफनी रिँगाइदिन्छ, यसको रहस्य पत्ता लगाउन खोज्दा उनीहरू आफैँ पनि उपन्यासकै पात्रमा परिणत हुन्छन् ।
उपन्यासभित्र अर्को उपन्यास खोज्दै जोड्दै गर्नुुपर्ने शैली बडो रोचक छ, पुस्तकको सान पनि यही हो । पात्र बेन्यामिनले दिमाग लगाउँदै पाण्डुलिपिका पत्रहरू उत्खनन गर्दै जाँदा पाठकको कौतूहल बढ्दै जान्छ । उपन्यासका प्रसंग र घटनाहरू पनि उस्तै जासुसी किसिमले खुल्दै जान्छन् । यही क्रममा लेखकले हामीलाई कहिले केरला पुर्याउँछन् त कहिले अस्ट्रेलिया लान खोज्छन् । यो घनचक्करको अन्तिम गन्तव्यमा पुगेपछि मात्र पाठकले चाल पाउँछन्, कसले कसलाई मूर्ख बनाइरहेको रहेछ, दोषी को रहेछ अनि कसरी सबैको आँखामा सजिलै छारो हालिएको रहेछ भनेर ।
उपन्यासको भाषा असाध्यै सादा छ, लगभग सपाट नै । कुनै लेखकीय चिनारी वा विशेषता यसबाट खुट्याउन सकिँदैन । यो लेखककै कारण हुन सक्छ वा अनुवादका क्रममा यसले आफ्नो स्वरूप गुमाएको हुन सक्छ । जे होस्, कृतिमा साहित्यिक सौन्दर्य नगण्य मात्रामा मात्र छ । यसले कथावस्तुलाई नै पाठक तान्ने प्रमुख हतियार बनाएको छ ।
लगभग तीन–चौथाइसम्म मजासँग बग्ने उपन्यासको गति त्यसपछि भने अलि उराठलाग्दो बन्छ । उपन्यासका घटनाको तार्किक र यथार्थपरक कारणहरू पेस गरिराखेको क्रिस्टीले अचानक अन्धविश्वास र धर्मको सागरमा पाठकलाई चोपल्न खोज्छ । अन्तिममा पुगेपछि धेरै पाठकलाई रिस नै उठ्न सक्छ, यत्रो यात्रा पार गरेर आएर अन्त्यमा केटाकेटीको खेलाजस्तो भुमरीमा पुग्दा । हुन त लेखकले यो अन्धविश्वास मान्नुका पछाडि प्रशस्त कारणहरू दिएका छन्, यसलाई पत्यारिलो बनाउने सक्दो कोसिस गरेका छन् र यसलाई गाम्भीर्यको खोल पनि ओढाएका छन् । तर पनि ठोस निष्कर्षमा पुग्ने चाहना बोकेका जासुसी उपन्यासका प्रेमीलाई यस्ता झिनामसिना व्याख्याले चित्त बुझाउन मुस्किल नै पर्छ । त्यसमाथि लेखकले उपन्यासलाई पुष्टि गर्न अन्तिम भागतिर धार्मिक प्रवचन दिएका छन्, जसले कृतिलाई बल पुर्याउनुको सट्टा कमजोर बनाएको छ ।
समग्रमा नवीन विषयवस्तु, कथ्य शैली र प्रस्तुतिमा मिहिनेत भईकन पनि राम्रोसँग अवतरण गर्न नपाएको उपन्यास हो, यल्लो लाइट्स अफ डेथ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...