बौद्धिक जबरा अर्थात् इबरा
इबराको पूर्वाद्धको आयामेली लेखनले सापेक्षतालाई हेर्छ भने लीलालेखनले प्रमात्रा भौतिकीलाई समेत हेर्छ ।
लेखपढको संसारमा इन्द्रबहादुर राई (इबरा)को परिचय जरुरी छैन तर औपचारिकतावश केही त लेखौँ नै । इबरा अहिले ९० वर्षका भए । भारतको दार्जीलिङमै बस्छन् । पति–पत्नी बिरामी भएको खबर सुनिन्छ यता बेलाबेला, बस् । नागरिकताले उनी भारतीय भए पनि कर्मले नेपाली हुन् । राष्ट्र उनको नेपाल हो अनि राज्यचाहिँ भारत । भारतमा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन लागिपरेका अभियन्ता र यसबापत महँगो घरेलु क्षति भोग्नुपरेका लेखक, समालोचक र दार्शनिक समेत हुन् । अंग्रेजी साहित्यमा उच्च अध्ययन पूरा गरेका यी जटिल बौद्धिक इबरा पौरत्य र पाश्चात्य दुवै दर्शनका साथै वैज्ञानिक (आइन्स्टाइन) सिद्धान्तका आलोकमा हाम्रो समाज र संस्कृतिलाई साहित्यिक दर्शन गर्न रुचि राख्छन् ।
साहित्यमा उनका आज रमिता छ (२०२१) उपन्यास तथा विपना कतिपय, कथास्था, कठपुतलीको मन कथासंग्रह चर्चित छन् । उनको पहिलो कथा ‘रातभरि हुरी चल्यो’देखि ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’, ‘खीर’जस्ता कथा त नेपाली कथाविधाकै मास्टरपिस नै भइहाले ।
०३१ मा बनारसबाट छापिएको पुस्तक नेपाली उपन्यासका आधारहरू सैद्धान्तिक र प्रायोगिक दुवै दृष्टिले अहिलेसम्म पनि प्रमुख सन्दर्भ पुस्तक भएबाट पनि बुझिन्छ, यो पुस्तक समालोचनाको मानक कृति हो । यसमा १२ जना लेखकका एक–एक उपन्यासलाई विविध अवधारणा र सिद्धान्तका आधारमा विवेचन र मूल्य निरूपण गरिएको छ । गिरीशबल्लभ जोशीको १ सय १३ वर्ष पुरानो उपन्यास–पहिलो नेपाली उपन्यास पनि मानिएको छ–वीरचरित्रमा आद्भुतिकता, पहिलो आधुनिक उपन्यास मानिएको रुद्रराज पाण्डेको रूपमतीमा आदर्शवाद, रूपनारायण सिंहको भ्रमरमा स्वच्छन्दतावाद, लैनसिंह बाङ्देलको मुलुकबाहिरमा यथार्थवाद, डायमनशमशेरको वसन्तीमा ऐतिहासिकता, हृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छेमा प्रगतिशीलता, गोविन्दबहादुर मल्ल ‘गोठाले’को पल्लो घरको झ्यालमा प्राकृतिकवाद, शंकर कोइरालाको खैरिनीघाटमा आञ्चलिकता, विजय मल्लको अनुराधामा फ्रायडीयवाद, पारिजातको शिरीषको फूलमा विसंगतिवाद, डीपी अधिकारीको आशमायामा माक्र्सवाद र विश्वेश्वरप्रसाद कोइरालाको तीनघुम्तीमा अस्तित्ववादी वरणको खोजी गरिएको इबराको यो पुस्तक सिद्धान्तका आधारमा नेपाली उपन्यासका जरा र फूलपात केलाउन केन्द्रित र सफल छ ।
इबरा दार्शनिक पनि हुन् । प्राचीन पौरस्त्य र आधुनिक पाश्चात्य दर्शनका छेलोखेलोबीच हाम्रो यो युगमा गायत्री चक्रवर्ती स्पिभाकहरूको सबल्टर्न स्टडिज र इबराको लीलालेखनलाई ‘आफ्नै बारीका’ सिद्धान्त मान्न सकिन्छ । उनी आयामेली र लीलालेखनजस्ता दर्शनका भाष्यकार र टीकाकार दुवै हुन् । ‘रातभरि हुरी चल्यो’ (०१६) ताका यथार्थवादी रहेका इबरा आज रमिता छ (०२१) मा पूरापूर आयामेली रूपमा प्रस्तुत भएका छन् । वैरागी काइँला र ईश्वर बल्लभसँगको सहकार्यमा सुरु भएको तेस्रो आयाम लेखनान्दोलनमा इबरा वैचारिक खम्बा थिए । कठपुतलीको मन (०४५) लाई उनले लीलालेखनको नमुना रचनाका रूपमा प्रस्तुत गरे । गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथालाई विनिर्माण गरिएको (लीलावादलाई ज्याक डेरिडाको विनिर्माणवादको नेपाली संस्करण पनि भन्छन् कोही) यसमा विधामिश्रण र विधाभञ्जनको पराकाष्ठा छ । इबराको पूर्वाद्धको आयामेली लेखनले सापेक्षतालाई हेर्छ भने लीलालेखनले प्रमात्रा भौतिकीलाई समेत हेर्छ ।
इबराका थुप्रै पुस्तकका बीच उनको साहित्यको अपहरण : माक्र्सवादिक प्रतिबद्धता (सन् १९९४) आलोच्य–विवेच्य लेखोट हो । कुनै एक विचार पूर्णत: सत्य र अन्तिम तथ्य हो भन्नेमा पूर्णत: असहमत इबराको वैचारिकीले माक्र्सवादको कटु आलोचना मात्र गरेको छैन, साहित्य अपहरणको बातसमेत लगाइदिएको छ । इबराका थुप्रै बौद्धिक कर्मबारे यति नै भनौँ र अब प्रवेश गरौँ समीक्ष्य पुस्तक सम्पूरकमा ।
सम्पूरक इबराको अद्यतन समीक्षा/समालोचना कृति हो । यसमा ११ परिच्छेद छन् । भारतीय नेपाली लेखक रूपनारायण सिंहको शतवार्षिकी जन्मजयन्तीका सन्दर्भमा सन् २००४ मा उत्तर बंगाल विश्वविद्यालयमा आयोजित समारोहमा दिइएको संवार्ताको सारांश हो पहिलो परिच्छेद । नेपाली उपन्यासका आधारहरूमा पनि इबराले रूपको भ्रमरबारे विवेचना गरेकै छन् तर यसमा स्वच्छन्दतावादप्रति बढी व्याख्या छ । हामी कवि देवकोटालाई रोमान्टिक लेखक भन्छौँ, इबरा भन्छन्, ‘निकटप्रति कुण्ठात्मक चैतन्य र दूरप्रति मोहात्मक कल्पना दुवै सँगै नरही रोमान्टिसिज्म हुँदैन ।’ यसै हो भने रोमान्टिसिज्मको यो युटोपियन पहिचानले छलफल माग गर्ने सामथ्र्य राख्दैन र ?
खड्गसिंह राई ‘काँढा’ गजबका कवि रहेछन् । सन् १९८८ मा दिवंगत भएका उनका ७७ वटा चोटिला कविताको सँगालो मेरो नामले पुगेन मलाई छापियो सन् १९९३ मा । आजका उपेन्द्र सुब्बाको ‘खोलाको गीत’ सम्झिने हामीले उनको उहिल्यैको ‘खोलाको गीत’ शीर्षकको दमदार कविता भुल्यौँ कि ?
सम्पूरकको तेस्रो परिच्छेद ‘डा लक्खीदेवी सुन्दास : नेपाली साहित्यमा’ विशेष पठनीय छ । विसं १९९० मा दार्जीलिङमा जन्मेकी सुन्दासको प्राध्यापक, लेखक, समालोचक, सम्पादक एवं सक्रिय पब्लिक इन्टेलेक्चुअल अवतारबारे सविस्तार चर्चा गर्दै इबराले लेखेका छन्, ‘भारतमा नेपाली भाषाको संवैधानिक मान्यताको आन्दोलनकालका एक अग्रणी वीरांगना । सारमा हाम्रो समय र समाजका श्रेष्ठतायुक्त उपज ।’ सन् २००२ मा भारतीय साहित्य अकादेमी पुरस्कारसमेत प्राप्त गरेकी सुन्दासको सुवास सुँघ्न यो स–निबन्ध नपढी सुखै छैन ।
कथा, लेख, एकांकी, शब्दचित्रसमेत गरी पाँच पुस्तकका कर्ता सूर्यकुमार सुब्बाका कथाको विश्लेषण गरिएको छ, चौथो पाठमा । पाँचौँ पाठमा उनले आफ्ना आयामेली सारथि वैरागी काइँला र उनको ‘निर्वासन’ थिमबारे टिप्पणी गरेका छन् । काइँलासँगको भेट तथा कवितापत्रिका फूल पात पत्कर तथा तेस्रो आयाम पत्रिकाको प्रकाशन–गर्भबारे लेखकको फस्ट ह्यान्ड बयान उल्लेख्य छ । झन्डै भूतपूर्व कविको सम्मान पाएका काइँलाको ०६४ मंसिरमा शारदामा प्रकाशित मालिगाउँमा चितुवाबारेको छोटो टिप्पणी छ शरणार्थी विचारसहित । वैरागी काइँलाका कविताहरू तथा अन्धा मान्छेहरू र हात्ती पढेको हुँ, नबुझेर केही लिखितम–बकितम व्याख्यान पनि पढेसुनेकै हुँ । उनी खतरनाक कवि हुन् किनभने मेरो लघुदृष्टिले उनका कविताको आयाम नै देख्न सक्दैन ।
संग्रहको छैटौँ पाठ ‘सापेक्षता : आयामिक र लीलालेखन’ सैद्धान्तिक तहको अवधारणात्मक वैचारिक लेखोट हो । स्वर्ण र रजतभन्दा पुराना समयका आफ्ना दुई अवधारणाबारे अनेकले अनेक टिप्पणी गरेका बारे घुमाउरो असहमतिसहित ‘खास कुरा बुझाउन’ तुलनात्मक रूपले अघि सरेका छन्, इबरा । लेखको आरम्भ नै उनी यसरी गर्छन्, ‘आयामिक लेखन आउँदा नै नेपाली कवितामा खासमा आधुनिकतावाद आयो मन्तव्यका समालोचक पनि छन् । लीलालेखनले नेपाली साहित्यिक लेखनमा उत्तरआधुनिकतावाद ल्यायो वक्तव्यका समालोचक पनि छन् । फेरि यी दुई लेखनको निन्दा गर्ने समालोचकहरू पनि छन् ।’ आफैँ भाष्यकार र आफैँ टीकाकार भएका उनको निष्कर्ष छ : भोग र योग दुवै लेखौँ । दुईको संगतिले लेखौँ । अझ भोगलाई योगमा पुर्याएर लेखौँ ।
‘कविता र अनिधार्यता’ लेखमा उनले वर्नर कार्ल हाइजनबर्क (सन् १९०१–१९७६) लाई केन्द्रविन्दुमा राखी कवितामा अनिश्चयता र बहुलताको वकालत गरेका छन् । इबरा धार्मिक, जातीय र अझ वैचारिक लगायत सबैखाले कट्टरताको विरोधी छन् । उनले यसमार्फत कवितामा नयाँ डिस्कोर्सको बहस छिराएका छन् ।
‘खेलिबस्छु खेल कति : एक पठन’ मा इबराले लीलालेखनकै अवधारणा उठाएका छन्, प्रवीण राई ‘जुमेली’को कथा ऋतुखेल तथा यस संग्रहको कथा ‘खेलिबस्छु खेल कति’मार्फत । इबरा ठान्छन् : कुनै पनि समीक्षकले कृतिको समीक्षा गर्दैन । ऊ कृति जस्तो बुझ्छ, त्यसको समीक्षा गर्छ । ‘खास’ (खास नै अस्वीकार गर्छन् उनी) कृतिको हैन, आफूले पढेको–बुझेको कृतिको समालोचना गरिन्छ भन्नुको तात्पर्य हो, सत्य अनेक हुन्छ र यो सदैव सापेक्षित हुन्छ । इबरा बहुअर्थी उत्तराधुनिकताका पक्षपाती त हुँदै हुन् र उनी केसम्म भन्छन् भने, ‘कथा (साहित्य) कहिल्यै नपत्याउनू, त्यो केवल एक खेल हो । सत्य मायिक (भ्रमित) हुन्छन् ।’
निबन्ध र कविता विधामा सक्रिय रहेकी शारदा शर्माले लगालग दुई उपन्यास जन्माइसकेकी छन् हालसालै । तर, इबराले एक खण्डमा शर्माको सुन्दर र पठनीय कवितासँगालो स्वर्णसूत्रको महिमामण्डन गरेका छन् ।
जगदीशशमशेर राणाको सेतो ख्याकको आख्यानको बनोट र बुनोट केलाएका छन्, फरक एक अध्यायमा । कान्तिपुरका आखिरी मल्ल राजा जयप्रकाश मल्लका अन्तिम वर्षको आख्यानका रूपमा छापिएको यो नवीनतम मिथकको वैचारिक संरचना अर्थात् बनोट र साहित्यिक संरचना अर्थात् बुनोटबारे इबराको घोत्ल्याइँ स्वयं आख्यानभन्दा कम दुरुह छैन । लाग्छ, क्लिष्ट र दुरुह लेख्नमा जशरा र इबरालाई
कसैले भेट्दैन ।
सम्पूरकको अन्तिम परिच्छेद ‘साहित्य विषय हिउँदे कुराकानी’ खिचडीका रूपमा आएको छ । यसमा लेखक जगदीश घिमिरेलाई भावुक श्रद्धाञ्जली मात्र छैन, गोविन्दराज भट्टराई, राजन मुकारुड, रोशन थापा ‘नीरव’का उपन्यास क्रमश: सुकरातको डायरी, दमिनी भीर, स्वप्नसहर ‘पुस्तक प्राप्ति’को खबर–अनुच्छेद छ ।
‘नारीवादी साहित्यिक लेखन’ उपशीर्षकमा इबराले नेपालमा माक्र्सवादबाट प्रभावित अंग्रेजी नारीवादको मात्र बढी होहल्ला भएको लेखेका छन् । उनले लेखेका छन् : लकानको नवफ्रायडवाद, डेरिडाको विनिर्माण, फुकोको संकथन प्रभावको फ्रान्सी नारीवाद पनि आउनुपर्छ नेपालमा ।
पाकिस्तानको लाहोरमा आयोजित एक चित्रप्रदर्शनीमा बंगलादेशी नारीवादीले भनेजस्तो ‘हामीले गरेको नारी सौन्दर्यको चित्रण पुरुषवर्गको भोगको निम्ति हुन्छ; अब यसो नगरौँ,’ अँगाल्ने कि त्यहीँ पाकिस्तानी नारीवादीले भनेजस्तो ‘हामीलाई अन्त:पुरमै थुनेर हाम्रो सौन्दर्य हाम्रो लोग्नेले मात्र भोग गर्न चाहन्छ । लोग्नेहरूको एकाधिकार तोड्नुपर्छ । सार्वजनिक भोगको नारीसौन्दर्य चित्रण पो गर्ने हो कि ?’ वा अरू केही ?
भन्नै परेन, सम्पूरकमा इबराले आफनो जटिल र क्लिष्ट सिग्नेचरलाई झनै गाढा मसीले लत्पत्याएका छन् । भाषाको बेढंगको खेती गर्न सिपालु शब्दकोशका मलामीहरूले हेरून्, सम्पूरकमा भएका पचासदेखि सय नेपाली शब्दको प्रविष्टि हाम्रा कुनै शब्दकोशमा छैन । दिनानुदिन नयाँ नयाँ प्रविधि आविष्कार भएझैँ भाषाको जीवन्तता र व्यापकताका लागि नयाँ नयाँ शब्द पनि आविष्कार हुन जरुरी छ र शब्द निर्माण व्यवसायी भनेका आमप्रयोक्ता र यस्तै लेखकहरू नै हुन्, न कि कोठे र लहडी भाषाविद् ।
अन्त्यमा, इबराकै मूल वैचारिकीलाई नै अघि सारौँ र समीक्षा पुस्तकको समीक्षा गर्ने यो धृष्टतालाई पनि यही रूपमा बुझौँ : यथार्थका अनेक पक्ष हुन्छन् । सत्यका अनेक रूप हुन्छन् । कुनै एक दृष्टिले सम्पूर्ण सत्य देखिँदैन तर जुनसुकै एक दृष्टिले आंशिक सत्य भने अवश्य देखिन्छ । सबै दृष्टि र दृष्ट (दृश्य)लाई उदारता र सहनले सम्पूरकता (कम्प्लिमेन्टारिटी)मा ग्रहण गर्नुपर्छ ।
सम्पूरक
लेखक : इन्द्रबहादुर राई
प्रकाशक : उपमा प्रकाशन, कालेबुङ, भारत
पृष्ठ : १८६
मूल्य : ३०० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...