पुरुषप्रधान परिभाषा
संसार बदल्नुुअघि पुरुष एकाधिकार बुझ्नु आवश्यक छ । संसारलाई जित्नुभन्दा बचाउनु आजको परम प्राथमिकता हो ।
प्रत्येक कृति आफ्नै समयमा बाँचेको हुन्छ । ७० वर्षअगाडिको समाजमाथि लेखिएकाले कति कुरा अहिले अपूरो र असान्दर्भिक लागे पनि मेरा निम्ति पहिलो नारीवादी घोषणापत्र हो, द सेकेन्ड सेक्स । इन्जिनियरिङकी विद्यार्थी मलाई लाग्थ्यो, विश्व बौद्धिक–इतिहासमा महिला कहाँ छन् ? केही नामबाहेक संसार प्रसिद्ध प्रतिभाशाली महिला भेट्न मुस्किल समयमा यो किताबले एउटा अद्वितीय बौद्धिक महिलासँग चिनापर्ची गराइदियो । आफ्नै पहिचान खोजिरहेका बेला मेरा शंका र भ्रम नामेट पार्न सहयोग गर्यो, सिमोन दि बुभाएरको किताबले । यसले मनो–सामाजिक आयाम बुझ्न दार्शनिक र सैद्धान्तिक ढाँचा दिनुका साथै उच्च बौद्धिक महिलालाई समेत विश्वमञ्चमा उक्लिन नदिने तगारा नजिकबाट देखाइदियो ।
अस्तित्ववादलाई नारीवादसँग विस्तारित गर्दै बुभाएर भन्छन्, ‘पुरुषद्वारा परिभाषित यो मानव–समाज पुरुषप्रधान हो भने महिला अन्य पात्र मात्रै हुन् ।’ जबसम्म महिला पुरुषको परिभाषामा कैद हुन्छन्, तबसम्म अन्य नै हुन्छन् । र, आफ्नो पहिचानको अनुभवपरक प्रधानता स्थापित नगर्दासम्म उनीहरु केवल दोयमका लागि संघर्ष गरिरहेका हुन्छन् । ‘अन्य’ को अवधारणाले लैंगिक मुद्दा मात्रै होइन, उत्पीडनका अरु सम्बन्ध बुझ्न पनि मद्दत गर्यो । सिनेमाहरुमा चित्रित आदिवासी समुदायको छवि मलाई निकै असहज लाग्नुको कारण पनि बुझेँ ।
मानव उपलब्धिलाई केन्द्रमा राखुन्जेल पुँजीवादी भौतिक उपलब्धि या अस्तित्ववादीहरुको श्रेष्ठताको खोजीमा हाम्रो दार्शनिक बुझाइ अपूरो हुन्छ । नारीवादी दर्शन सिमोनसम्म आइपुग्दा पनि पूर्ण भएको छैन । संसार बदल्नुुअघि पुरुष एकाधिकार बुझ्नु आवश्यक छ । संसारलाई जित्नुभन्दा बचाउनु आजको परम प्राथमिकता हो । साँचो क्रान्तिका लागि संसारलाई पुन: परिभाषित गर्नुपर्छ भन्ने सिमोनको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ ।
विवेकको पहुँचभन्दा बाहिर दिमाग छ भन्ने स्थापित गरिदिए, सिग्मन्ड फ्रायडले । तर अवचेतनमा गढिएका कुरुप र अनियन्त्रित विचारबाहेक दैनिक निर्णयमा एकदम विवेकी र तर्कसंगत ठान्छौँ । बजारमुखी नवउदारवादी मान्यतालाई वैज्ञानिक सत्यजस्तै अघि सारिएपछि समाजवादी, पर्यावरणवादी, नारीवादीलाई निराधार आदर्शकृत भावनामा बहकिएका अज्ञानीको संज्ञा दिइयो । नवउदारवादको श्रेष्ठता स्थापित गर्न मानव विवेकशील निर्णयकर्ता हो भन्ने पूर्वधारणालाई आधारभूत सत्यको रुपमा स्थापित गरियो । यही स्थापनालाई भत्काइदिएको छ, डेनियल कनेम्यानको थिङ्किङ फास्ट एन्ड स्लोले । लामो समाजविज्ञानी अध्ययनका आधारमा यो किताबले भन्छ, ‘मान्छे विवेकरहित प्राणी हो ।’ विवेक प्रयोग गर्ने क्षमता भएर पनि संज्ञानात्मक पूर्वाग्रहको चेपुवामा परी हामी विपरीत निर्णय लिइरहेका हुन्छौँ । साधारण जनता मात्र होइन, विज्ञहरु पनि प्रणालीगत रुपमै निर्णयात्मक त्रुटि गर्छन् । वरपरको परिवेशबाट प्रभावित भएर सजिलै कसैको कठपुतली भइसकेको हामीलाई हेक्कै हुँदैन । यो कुरा थुप्रै विद्वानले भन्दै आए पनि थिङ्किङ फास्ट एन्ड स्लोले लामो वैधानिक अध्ययनबाट पुष्टि नै गरिदियो । हाम्रो सेरोफेरोलाई परिवर्तन गर्ने अनेक उपाय बजारसँग छन् । हाम्रो वैचारिक स्वतन्त्रताबारे सचेतनाको सुरुआत आफ्नै मस्तिष्कको कमजोरी र सीमितताको महसुसबाट हुनुपर्छ । मानव मस्तिष्क र पुँजीवादी बजारलाई अनावश्यक विश्वास गर्दा आज यो स्थितिमा आएका छौँ । जलवायु परिवर्तनले हाम्रो अस्तित्व संकटग्रस्त भएपछि पछिल्ला इतिहासकारले बारम्बार चेतावनी दिएका छन्, ‘बजार र कृत्रिम विद्वतायुक्त मेसिनले तथ्य–तथ्यांक लिएर मानिसले भन्दा अझै प्रभावकारी निर्णय लिनेछ ।’ हाम्रो निर्णयाधिकार बजारका मेसिनलाई दियौँ भने कालान्तरमा मानव पहिचानमै गम्भीर प्रश्नचिह्न उठ्न सक्छ ।
मलाई नेपाली भाषाको स्वादिलो लेखनसँग अविस्मरणीय परिचय गराउने पहिलो पुस्तक हो, विम्ब–प्रतिविम्ब । शंकर लामिछानेलिखित यो किताबमा दिग्गज लेखक, कलाकार, संगीतकार, राजनीतिज्ञहरुबारे अनौपचारिक शैलीमा मौलिक, रंगीन र सजीव चित्रण गरिएको छ । यसलाई जीवनीपरकभन्दा पनि मनोवैज्ञानिक अन्वेषण र असाधारण व्यक्तित्वको प्रशंसनीय तस्बिर भन्नु उपयुक्त होला । अनेक जीवनीमा लक्ष्मीप्रसाद देवकोटा महिमासँग जम्काभेट भए पनि उनको विलक्षणतालाई भित्रैदेखि महसुस गर्ने मौका यही किताबबाट पाएँ । लामिछाने आफैँ पनि विम्ब–प्रतिविम्ब युगका एक विम्ब हुन् । त्यस युगमा आधुनिकता र अस्तित्ववाद सँगसँगै आए ।
नेपालको पहिलो आधुनिक युवा पुस्ताको मानसिकता, आधुनिकीकरणको प्रतिक्रिया, अस्तित्ववादसँगै उठेका विरोधाभास र सन्दिग्धतासँग खेल्दाको चिन्तन र त्यसका जटिलताले लेखाइमा अनौठो सौन्दर्य प्रदान गर्यो, सायद । एकातिर संसार जित्ने महत्त्वाकांक्षा उदीयमान छ, अर्काेतिर मानवीय आत्मसमर्पण र निरीहताको गहिरो बुझाइ । त्यसबीच कलात्मक तरंगसहित बगेको छ, वैचारिक चञ्चलता । यसमा लेखन शिल्प मात्र होइन, मानव जगतलाई हेर्ने दृष्टि र स्वबोधतामा आनन्दित हुने नयाँ क्षितिज देखेँ ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...