रुखहरूको बिदाइ वार्ता [सप्ताहान्त साहित्य]
राजवको कविता
![रुखहरूको बिदाइ वार्ता [सप्ताहान्त साहित्य] रुखहरूको बिदाइ वार्ता [सप्ताहान्त साहित्य]](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2020/Literature/satako-sahitya.jpg&w=900&height=601)
उनीहरू रुख थिए
एक दुई तीन असंख्य बलिरहेका थिए
बस्तीमा हाहाकार थियो
जंगल बलिरहेको थियो
बिदाइ वार्तामा थिए रुखहरू
भन्दै थिए
अब चराहरू कहाँ बस्ने हुन्
तिनका ससाना पँखेटाहरू,
मसिना खुट्टाहरूको कुन्नि के हाल भयो ?
ती कतै सुरक्षित उड्न पाए कि पाएनन्
रुखहरू ढाडसम्म डढिसकेका थिए
चराहरूको चिन्ता गर्दै
भन्दै थिए,
तिनले गुँड कहाँ लाउने हुन्,
चारो कहाँ खोज्ने हुन्
कतै सुस्ताउने ठाउँ
र पानीको कुवा भेटे, भेटेनन्
आकाश मास्तिर
वायुबीच फैलिएका
तिनका हाँगाहरूमा
बसेका सब चराहरू
जंगलमा बल्न थालेका
एक एक रुखहरू छोडेर
उडेको घन्टौं भयो, तर
रुखहरू अझै चराहरूको,
तिनका बचेराहरूको चिन्तामा
बल्दै थिए
रूखहरू, सायद
घरभित्र चुलोमा आगो फुकिरहेकी
आमाका अवतार हुन्
वा कुनै देवी
रूखहरू बल्दै भन्दै थिए
हाम्रो खरानीबाट
अब अक्सिजन निस्कन सक्दैन
चराहरू अब कहाँ, कस्तो सास फेर्ने हुन्
अब हामी फूलको लागि जिउँदो हुँदैनौं
माहुरीहरू
मह केबाट पार्ने हुन्
यो आगोमा
हाम्रा जराहरूमात्र जोगिए
हामी फेरि धर्ती चिरेर उठ्ने थियौँ
जोगिने थियो, माटोको रस
वायुको श्रोत
फेरि जन्म लिने थिए हरिणहरू
सुनिने थियो खरायोका सर्याक सुरुक
देखिने थियो
पुतलीहरूको वायु नृत्य
फेद फेद ,हाँगा हाँगा, पात पातमा
तिनका गर्भनाल
रंगीन झुसिल किराहरुको परेड
हेर्न पाइने थियो
कटुस छोडाइरहेका चनाखा लोखर्केहरू
फेरि तयार हुने थियो
धर्तीको बंगैचा
रुखहरू
वायु, पानी र आफ्नो दहनमा लागेको
अग्निको पनि चिन्ता गर्दै थिए
भन्दै थिए,
हामी नहुँदा यी केबाट प्रज्वलित होलान र ?
शत्रु, पीडक
सबको अस्तित्व चिन्ता गर्ने
साधुको आत्मा हुनुपर्छ रूख
जमीनमा जरा गाड्नेहरू
संकटको धर्ती छोडेर
उड्न पाउँदैनन् ।