तिमीलाई रोग लाग्दा म थला परेको दिन
मलाई शंका छ – लकडाउन त भोलि खुल्छ होला । तर लकडाउन खुलेर पनि देश खुलेन भने के होला ? कविता

सहरमा ठूलै रोग आएको छ रे !
तर कति ठूलो
त्यो मैले अझै जानेको छैन ।
हो,
मैले अझै जानेको छैन –
खोकी लाग्नु/रुघा चल्नु/ज्वरो बढ्नु
यो कहिलेदेखि रोगको सूची बन्यो ?
तिमी नै भन,
‘सास फेर्न गाह्रो हुनु’ कुनै रोग हो भने
सासै फेर्न नपाउनु के हो त ?
एकाएक जब पाइरहेको काम बन्द भयो
एकाएक जब खाइरहेको माम बन्द भयो
तब मात्रै मलाई थाहा भयो
रोग साँच्चै ठूलो आएको रहेछ !
आउँदा आउँदै जब हावाको शितल झोंका बन्द भयो
आउँदा आउँदै जब आफ्नै देशको ढोका बन्द भयो
हो, तब मात्रै मलाई थाहा भयो
रोग साँच्चै ठूलो रहेछ !
सायद ठूलै भएर होला
रोग अर्कालाई लागेको भए पनि
औषधी खान म बाध्य भएको छु,
मरेको कुनै अर्कै भए पनि
घाट जान म बाध्य भएको छु ।
हो,
धनीहरूलाई रोग लाग्दा
गरिबहरू कसरी थला पर्छन्
त्यो आज मलाई थाहा भयो,
धनीहरूले खान नपाए
गरिबहरू कसरी भोका पर्छन्
त्यो आज मलाई थाहा भयो ।
त्यसैले मलाई शंका छ –
लकडाउन त भोलि खुल्छ होला
तर लकडाउन खुलेर पनि
देश खुलेन भने के होला ?
आज रोगबाट बच्न
बाक्लो मास्क लगाइरहेका हाम्रा शासकहरूले
भोलि लाजबाट बच्न
मास्क फुकाउनै मिलेन भने के होला ?