नोथ्र दाम जलाउने आगो
सधैँ जीवन्त र आकर्षक देखिने यो सुन्दर नोथ्र दाम कोरोना भाइरसका कारण अचेल पेरिसहरूवासीझैँ बन्दाबन्दीमा एक्लै छ ।
१५ अप्रिल २०१९ को घमाइलो साँझ । पेरिसले भर्खरै हिमपातयुक्त ठिहिर्याउने ठन्डी काटेको थियो । धरतीमा अलिक धेरै घामका किरण खसेका थिए । मुना टुसाइरहेका बिरुवा हावाको झोक्कामा यताउता हल्लिँदा गल्लीमा सौन्दर्य थपिएको थियो । १४ डिग्री आसपासको तापक्रममा मानिसहरू स्वीटर पहिरिएर पेरिस घुम्दै थिए ।
पेरिसको सबैभन्दा पुरानो ल्याटिन गल्लीछेउ ठिङ्ग उभिएको नोथ्र दाम गिर्जाघरमा पर्यटकको चहलपहल उस्तै थियो । भित्र सभाहलमा साँझ ६ बजेको प्रार्थना चलिरहेको थियो । गिर्जाघरबाहिर निगालाको झ्याङमा हुल बाँधेर उड्ने भँगेराहरू चिरबिराइरहेका थिए । सधैँझैँ आँगनमा पेरवा र कागहरू थिए नै, आकाशमा गौथलीले समेत कावा खाँदै थिए । गिर्जाघरछेवैको सेन नदीमा पर्यटक बोकेर डुंगाहरू ओहोरदोहोर गरिरहेका थिए ।
ठीक यति नै बेला गिर्जाघरमा आपतकालीन घन्टी बज्यो ।
सुरक्षाकर्मीले दायाँ–बायाँ नजर दौडाए । तल–माथि हेरे, केही देखेनन् । आपतकालीन घन्टीमै खराबी हुनुपर्छ भन्ने सोचेर उनले सबैसामु ‘कुनै डर मान्नु पर्दैन, घुमिराख्नू’ भन्ने सूचना जारी गरे ।
८ सय ५७ वर्ष पुरानो यो गिर्जाघरका अधिकांश भाग पुन:निर्माण गर्नुपर्ने अवस्थामा थिए । यसका वरपर फलामे डाँडाभाटा ठड्याएर मचानहरू बनाइएका थिए । मचानका कारण केही भाग ओझेल परेको थियो, जसले गर्दा सुरक्षाकर्मीले राम्रोसँग देख्न पाउँदैनथे ।
आपतकालीन घन्टी बजेको ३० मिनेटपछि अर्को आपतकालीन घन्टीले हुइँहुइँ गर्न थाल्यो । घन्टीले वरपरको बस्ती पनि ब्युँताउन थाल्यो । यो पटक भने सुरक्षाकर्मीले गिर्जाघरको छतमा तीरबाट बिस्तारै आगो सल्किरहेको मेसो पाए र सबैलाई बाहिर निस्कन अनुरोध गरे ।
बाँकी संयन्त्रलाई पनि खबर गरीवरी उनी स्वयं बाहिर निस्कँदा थप ३५ मिनेट गइसकेको थियो । यतिबेला बल्ल दमकललाई खबर गयो ।
गिर्जाघरका मानिस मात्र होइन, गल्ली र बस्तीका थप मानिसहरू पनि नोथ्र दामबाट धुवाँ निस्कन थालेपछि गल्लीमा ठेलमठेल जम्मा भइसकेका थिए । संख्या हेर्दाहेर्दै सयबाट हजारौँ पुग्यो ।
यसपछि एकै छिनमा गल्लीको दृश्यमा आश्चयर्जनक परिवर्तन आयो । अनि सुरु भयो, फ्रान्सदेखि अन्तर्राष्ट्रिय टेलिभिजनहरूमा प्रत्यक्ष प्रसारण, तस्बिर, समाचार, आलेख, आगोका लप्का, खरानी, धुवाँ, विध्वंस, विलाप, प्रार्थना, बचावट दान र पुन:निर्माणका लागि अर्थ संकलनको कथा ।
यो कथा यस्तो बन्दै छ, जसले अब ८ सय ५७ वर्ष पुरानो नोथ्र दाम गिर्जाघरको इतिहास नै बदल्नेछ । पुरानो नोथ्र दाम हेर्नेहरूले अबको नोथ्र दाम फरक देख्नेछन् तर कति वर्षमा ?
नोथ्र दाम पुन:निर्माणको काम कहिले सकिन्छ, थाहा छैन । कति पैसा लाग्छ, पूरै अन्योल छ । पैसा जुटाउने अभियान जारी थियो र यतिबेला पुन:निर्माण कोषमा २२ करोड ७८ लाख जम्मा भएको छ । पुन:निर्माण फाउन्डेसनका महानिर्देशक ख्रिस्तोफ चार्ल रुसेलोले कोरोनाको समय भएकोले अहिले भने अर्थ संकलन बन्द गरिएको जनाएका छन् ।
८ सय वर्षको इतिहासमा नोथ्र दामलाई यति सुन्दर र आकर्षक बनाउनमा हजारौँ कलाकर्मी, डकर्मी, सिकर्मी, लेखक तथा राजनीतिज्ञको योगदान छ । विश्वका एकल र अनुपम कलाकृतिमध्ये यो त्यस्तो गिर्जाघर हो, जुन विश्वसम्पदामा पनि सूचीकृत छ । आगलागीका रात नै फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले भनेका थिए, ‘नोथ्र दामबिनाको पेरिसको कुनै कल्पना हुन सक्दैन । हामी पुन: उठ्नेछौँ र यसको पुन: निर्माण गर्नेछौँ ।’
फ्रान्सको पहिलो राज्यक्रान्तिमा आन्दोलनकारीहरूले यस गिर्जाघरको तोडफोड गरे । त्यो बेलासम्म गिर्जाघरहरू राज्यभन्दा शक्तिशाली थिए । यिनीहरूका हातमा शिक्षा, जन्म तथा मृत्युको तथ्यांक राख्ने र सामाजिक काममा केही योगदान गर्ने अधिकार थियो । राज्यलाई गाह्रो–साह्रो पर्दा राजाहरूले यिनीहरूको कोष परिचालन चाहे पनि पाउँदैनथे । एक खालको द्वैध शासन भेटिन्थ्यो । त्यसैले आन्दोलनकारीका निसानामा गिर्जाघरहरू परे र नोथ्र दाम पनि अछुतो रहन सकेन । राज्यक्रान्तिपछि सत्तासीन सम्राट नेपालोयिन बोनापार्टले यसको पुन:निर्माणमा ध्यान दिए ।
नागरिकको मनोदशा खिच्न यिनले यही गिर्जाघरमा मुख्य पादरीकै सामुन्ने शिरमा आफैँले श्रीपेच पहिरिएर आफैँलाई सम्राट घोषाणा गरे र आफ्नी श्रीमती जोजेफिनलाई साम्राज्ञी घोषणा गरे । यो क्षणको अनमोल भित्ते पेन्टिङ अहिले पनि भेर्साइको दरबारमा देख्न सकिन्छ ।
राज्यक्रान्तिअघि फ्रान्सका राजाहरूको राज्याभिषेक रान्स सहरको गिर्जाघरमा हुन्थ्यो ।
नेपोलियन बोनापार्टपछि फ्रान्सका प्रसिद्ध लेखक तथा दार्शनिक भिक्टर ह्युगोले नोथ्र दाम द पेरिस शीर्षकको त्रिकोणात्मक प्रेम सम्बन्धले भरिएको विश्व प्रसिद्ध उपन्यास लेखे । यही गिर्जाघरको आँगनलाई सेरोफेरो बनाइएको यो उपन्यास एक सुन्दर महिला र उनलाई पाउन लालायित तीन पुरुषको प्रेमकथामा आधारित छ । यो विश्वका धेरै भाषामा अनूदित छ ।
पेरिसवासीका निम्ति नोथ्र दाम धार्मिक केन्द्र मात्रै नभई सामाजिक सद्भावको बिन्दु र पुर्खाहरूको चिनो हो । सन् २०१८ मा मात्र एक करोड ४० लाख पर्यटकले यो गिर्जाघरको भिजिट गरेका थिए । आईफल टावर र नोथ्र दाम पेरिसमा सर्वाधिक हेरिने ऐतिहासिक स्थल हुन् । फ्रान्सेलीहरू नोथ्र दामलाई फ्रान्सको एक जिउँदो इतिहासको प्रतीक मान्छन् र गर्व गर्छन् ।
सरकारी तवरबाट पनि बेलाबेलामा राष्ट्रिय महत्त्वका कामहरू हुन्छन् । जस्तो, सन् १९४६ तत्कालीन राष्ट्रपति सार्ल द गोलले यही गिर्जाघरबाट जर्मनहरूको हातबाट पेरिस सहर मुक्त भएको घोषणा गरेका थिए । नेपाल पुग्ने फ्रान्सका अहिलेसम्मका एक मात्र फ्रान्सेली राष्ट्रपति फ्रन्स्वा मितेराँको अन्तिम संस्कारअघिको प्रार्थना पनि यहीँ भएको थियो । फ्रान्समा हुने आतंककारी हमलादेखि ठूला–ठूला दुर्घटनामा मर्नेहरूको सम्झनामा यो गिर्जाघरमा प्रार्थना हुने गर्छ, जहाँ राज्य राष्ट्रपतिदेखि प्रधानमन्त्रीहरूसमेत संलग्न हुन्छन् ।
सधैँ जीवन्त र आकर्षक देखिने यो सुन्दर नोथ्र दाम कोरोना भाइरसका कारण अचेल पेरिसहरूवासीझैँ बन्दाबन्दीमा एक्लै छ । यसका वरपर टिनको अग्लो पर्खाल छ । टिनको पर्खालमा इतिहास झल्काउने मार्मिक तस्बिरहरू छन् । परबाट तस्बिर खिच्दा भने नोथ्र दामको अग्रभागमा ठिङ्ग ठडिएका दुई संरचना स्पष्ट देखिन्छन् तर पछाडिको भाग क्षतविक्षत छ । छानामा ह्वाङ्ग दुई प्वाल छन्, जसलाई झलक्क हेर्दा ज्वालामुखी विस्फोटपछि बनेका खाडलहरूजस्तो लाग्छ । प्रार्थना हलमा ढलेका बेन्च, करिव दुई सय टन जलेका अग्राखका टुक्रा, मचानका जलेर झरेका र झुन्डेका करिब तीन सय टन फलामे डन्डी र प्लोम्ब नामक धातुका थुप्रो यत्रतत्र देखिन्छन् । यिनै थुप्रोका कुनोमा भने जिसस क्राइस्टकी कन्या आमा मेरीको सुन्दर प्रतिमा सुरक्षित उभिएको छ, जहाँ उनले जिससलाई काखमा लिइहेकी छिन् ।
हरेक दिन बिहान मेरीलाई नमस्कार भन्न आइपुग्छन्, नोथ्र दामका पादरी पाथ्रिक शोभे । उनी भन्छन्, ‘म मेरी अर्थात् हाम्री आमासँग हरेक दिन बात मार्छु । धन्न, यिनलाई केही भएको छैन ।’
आगलागी किन, कसरी र के गल्तीले भयो, आजसम्म अन्योल छ । अनुसन्धान अहिले प्रहरीको हातमा र नतिजा प्रतीक्षा गरिएको छ । अनुमान के गरिन्छ भने सम्भवत: त्यहाँ मुसाहरू थिए र तिनले तार काटे । त्यहाँ कामदारहरूले खाना खान्थे र केही हिस्सा त्यतिकै छाड्थे तर आगेले सबै भस्म पारेकोले कुनै जवाफ छैन । के मात्र पाइएको छ भने जहाँबाट आगो सुरु भएको थियो, त्यहाँ प्रज्वलनशील पदार्थहरू राखिएको थियो, जुन गिर्जाघरको पुन:निर्माणमा प्रयोग भइरहेको थियो ।
यही भद्रगोल र गन्जागोलकै बीच पादरी पाथ्रिकले आगलागीका भोलिपल्ट पेरिस महानगरपालिका प्रमुखसामुन्ने भनेका थिए, ‘सायद म मरेपछि आगलागीबारे सही जवाफ आउला । अहिलेलाई म थाकेको छु र म आफैँले प्रश्न गरेको छु, यो आगलागी किन ?’
उनैको प्रयासमा गएको क्रिसमस डेदेखि नोथ्र दाममा बेलुका बत्ती बल्छ ।
पेरिस आइपुग्ने जो पनि पर्यटक नोथ्र दाम हेर्न पुग्छ । कमसेकम पर्यटकहरूलाई मेरीको दर्शन गराउन चाहन्छन्, पादरी । यतिबेला उनको एक लक्ष्य छ– नोथ्र दाम चर्चभित्रकी जिसस क्राइस्टकी कन्या माता मेरी र जिससको नक्कल प्रतिमा बनाएर नोथ्र दामको आँगनमा राख्नु र त्यहाँ आउने मानिसहरूलाई नोथ्र दामको महत्त्व देखाइरहनु ।
बचेखुचेका र जलेका नोथ्र दामका प्रत्येक टुक्रा यतिबेला एउटा कक्षमा राखिएको छ । काम गर्ने कामदारहरूलाई विश्वास छ, पुन:निर्माण गर्न सकिने चीजहरू पुन: प्रयोगमा ल्याइनेछ । छतमा परेका भ्वाङ छोप्ने बाक्ला टेन्टहरूको अस्थायी छानो राखिएको । स्वास्थ्यका लागि प्लोम्ब धातुको धुलो र पहेँलो धुवाँ अत्यन्तै हानिकारक हुने भएकोले प्लोम्ब हाउन रोबर्ट प्रयोग गरिएको छ । पेरिस नगरपालिकाले तथा श्रम विभागले त्यहाँका कामदारहरूलाई सुरक्षा व्यवस्था अपनाएर मात्रै काम गर्न कडा निर्देश जारी गरेको छ ।
अहिलेलाई यति नै भनौँ– लाखौँलाई दर्शन दिने नोथ्र दाम यतिबेला चुपचाप छ । उनको दर्शन कहिलेदेखि मिल्छ, अन्योल छ । कोरोना भाइरसका कारण काम पनि ठप्प छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...