[स्मरण] मल्लेरुकालीन जचौरी कुलो
मल्लेरुकालीन त्यो कुलोको सञ्चालन व्यवस्थाबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । सरकारी नीति निर्माणका क्रममा पनि धेरै कुरा प्रयोगमा ल्याउन पाएँ ।
कर्णालीको लोक संस्कृति अध्ययन–अनुसन्धानका क्रममा जुम्लाको हाडसिंजा गाउँमा बस्दाको कुरा हो । वैशाख महिनाको एक बिहान गाउँलेहरू गाउँको बीच भागमा जम्मा भएका थिए । अनौठो लाग्यो । नजिकै गएर कारण सोधेँ । जवाफ पाएँ, अब जौ खेती सकियो, धान लाउने बेला भएकाले कुलोमा पानी ल्याउन हिँडेका रे !
त्यतिबेला म स्थानीय विकास विभागको शाखा अधिकृत थिएँ । त्यसैले आफ्नै विभागको पैसाले यो कुलो बनाएका होलान् भन्ठानेर फूर्तिसाथ सोधेँ, ‘कहिले बनेको यो कुलो ?’ जवाफ आयो, ‘मल्लेरु राजाको पालामा ।’ तर, त्यसको तिथिमिति भने उनीहरूलाई पनि थाहा रहेनछ ।
मेरा लागि कहिल्यै नसुनेको नाम थियो त्यो । कुराको सत्यतामाथि शंका लाग्यो । विस्तृत जान्न मन लागेर स्थानीय हीरालाल हमालको घर गएँ । ७५ वर्षीय हमाल गाउँका गन्यमान्य थिए । भरपर्दो सूचनादाताका रूपमा हामीले पनि उनलाई प्रयोग गरिरहेका थियौँ । सोधेँ, ‘त्यो जचौरी कुलो कहिले बनेको ?’
जचौरी भनेर चिनिने ठकुरीहरूले बनाएकाले तिनकै नामबाट कुलोको नामकरण भएको रहेछ । तर, उनले पनि उही मल्लेरु राजाको नाम लिए । मलाई कुनै न कुनै किसिमको तथ्य र समयसीमा चाहिएकाले फेरि सोधेँ, ‘ तपाईं १० वर्षको हुँदा यो कुलो थियो त ?’ उनले भने, ‘म १० वर्षको हुँदा होइन, मेरा बाजे (हजुरबुबा) १० वर्षका हुँदा पनि यो कुलो थियो ।’ त्यो जवाफले कम्तीमा पनि दुई सय वर्षअघिदेखि कुलो अस्तित्वमा रहेको संकेत गथ्र्यो ।
कुलोबारे थप उत्सुकता पलायो । मन्त्रीले उद्घाटन गर्न पाएको हुँदैन कुलो भत्किसकेका घटना धेरैपटक देखेभोगे को थिएँ । तर, विकट जुम्लाको त्यो गाउँमा कम्तीमा दुई सय वर्षअघि निर्माण भएको कुलो अझै अस्तित्वमा रहेको र त्यस कुलोको सहायताले त्यहाँका गाउँलेले निर्बाध सिँचाइ सुविधा प्राप्त गरिरहेको देख्दा अपत्यारिलो मात्र होइन, अनौठो पनि लाग्यो ।
झन्डै दुई किलोमिटर टाढाबाट ल्याएको त्यो कुलोको सञ्चालन अति नै व्यवस्थित थियो । पहाडी भागबाट ल्याइएको कुलो बीचबीचमा खोल्सो र पहरोमा सल्लाको काठे डुँड बनाएर पानी बगाइएको थियो । कुलाको सञ्चालनार्थ गाउँलेहरूले आफ्नै किसिमको संगठन निर्माण गरेका रहेछन् । जसलाई कुमटी भनिन्थ्यो र त्यसका सदस्यलाई कुमटेल । गाउँका खेत, जसलाई जुम्लामा ज्युला भनिन्छ र त्यसका मालिक ज्युलेली । तिनै ज्युलेलीहरूले नियुक्त गर्ने उक्त कुमटीमा त्यतिबेला तीन सदस्य थिए । र, तिनीहरूले नै पानी वितरणको सम्पूर्ण व्यवस्था गर्थे ।
खेत रोप्नु दुई दिनअघि मात्रै गरामा पानी उपलब्ध गराउने निर्णय हुन्थ्यो । तर, कुमटेलहरूलाई कसले कुन दिन रोपाइँ गर्ने भन्ने कण्ठै हुन्थ्यो । आफ्नो खेतको माया ठूलो हुनु स्वाभाविक थियो । गाउँलेले मौका पर्दा कुलोको पानी चोरेर पालोभन्दा पहिल्यै आफ्ना गरा भिजाउँदा रहेछन् । त्यसरी पानी चोरी गर्नेलाई दण्ड–सजायको पनि मौलिक व्यवस्था थियो । तर, चोरीको दोषबाट उम्किन अनेकखाले उपाय पहिले नै लगाएका हुँदा रहेछन् ।
हामीले प्रमुख सूचनादाताका रूपमा उपयोग गरेका हीरालाल हमाललाई नै एकपटक चोरीको अभियोगमा स्थानीयले समाएर ‘कुमटेल अदालत’मा उपस्थित गराए । खेतीको काममा प्राय: महिला र दलित समुदायका व्यक्तिलाई प्रयोग गरिएको हुन्थ्यो । ठूलाठालूहरू खाली गरामा बसेर गफिरहेका हुन्थे । पानी चोर्ने मान्छे फेला परेपछि उनीहरू नै कुमटेल अदालतको काम गर्थे । हीरालालले घरमा काम गर्ने कामदारलाई पठाएर राती कुलोको पानी चोरेर आफ्नो खेत भिजाएका रहेछन् । बिहान उनको खेत भिजेको देखेर कुमटेलले केरकार गरे । हीरालालले आफूले चोरेको होइन भनेर भएभरको कसम खाए र सो अदालतबाट उम्किए ।
मल्लेरुकालीन त्यो कुलोको सञ्चालन व्यवस्थाबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । सरकारी नीति निर्माणका क्रममा पनि धेरै कुरा प्रयोगमा ल्याउन पाएँ । ०३२ तिर राजा वीरेन्द्रका पालामा उपसचिव भएर विश्वबैंकको सहायतामा सञ्चालित नेपालको पहिलो ठूलो ग्रामीण विकास परियोजनामा काम गरेँ । रसुवा–नुवाकोट ग्रामीण विकास परियोजनामा उपयोगकर्ताको समूह भनी नामकरण गरियो, जुन उपभोक्ता समूहको अवधारणा थियो । त्यही बेला यसलाई सरकारको नीतिमा समावेश गर्न भने सकिनँ ।
वास्तवमा मुलुकभरि फैलिएको उपभोक्ता समूहहरूको जालो र उक्त जचौरी कुलोको साइनोले के देखाउँछ भने हाम्रो मुलुकको विकासका लागि नेपालकै सांस्कृतिक धरोहरबाट सिक्ने कुरा धेरै छन् । त्यसका निम्ति विकास गर्ने राजनीतिक व्यक्ति, कर्मचारी, विशेषज्ञ आदिले आफ्नै समाजतिर फर्केर हेर्ने बानी बसाले कसो होला ?
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...