थैले काण्डमा पक्राउ पुर्जी
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, नेपाली रुपैयाँको थैलो बोकेर हिँड्थे । त्यसैले उनलाई थैले भनिन्थ्यो ।

८ कक्षा पढ्दा नै म प्रगतिशील विचारको समर्थक बनिसकेको थिएँ । धरानबाट भोजपुर पुगेका कम्युनिस्ट पार्टीका नेता दिव्यप्रसाद आचार्यको अग्रसरतामा विद्योदय स्कुलको हातामा प्रगतिशील विद्यार्थी छात्र संघ टाउन कमिटी स्थापना भयो, ००९ मा । ५ सदस्यीय कमिटीमा भोजपुर, टक्सारका केदारनाथ श्रेष्ठ सचिव, देवराज शाक्य, दानबहादुर शाक्य, मलगायत सदस्य थियौँ । दानबहादुर कांग्रेस समर्थक भए पनि कम्युनिस्ट पार्टीमा लागेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी त्यतिबेला प्रतिबन्धित थियो । सुरुमा पार्टीबारे केही थाहा नभए पनि मलाई सदस्यमा राखिएको थियो । कलकत्ता पढेका भोजपुर टक्सारकै लक्ष्मीबहादुर हलुवाईले कम्युनिस्ट संगठन विस्तारमा ठूलो योगदान दिएका थिए । हलुवाईले केशवप्रसाद शर्मा (बीए), शुभद्रा सुब्बा, सरस्वती सुब्बा आदि दार्जिलिङका वामपन्थी पृष्ठभूमिका शिक्षक ल्याएका थिए ।
शुभद्रा हामीलाई विद्योदयमा पढाउँथिन् भने सरस्वतीले टक्सारको अर्को विद्यालयमा । पछि शुभद्रासँग वल्लभमणि दाहालले बिहे गरे । शुभद्राले त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान पढाइन् । भोजपुर कब्जापछि नारदमुनि थुलुङहरूले विद्योदय मिडिल स्कुलको नाम फेरेर प्रजातन्त्र शिक्षा भवन राखेका थिए ।
टाउन कमिटीमा कांग्रेस समर्थकलाई राखेको भन्दै विरोध भएपछि सेक्रेटेरियट दानबहादुरलाई हटाएर मलाई राखियो । त्यस समय माउ पार्टीका नेता पुष्पलाल संगठन विस्तारका लागि भोजपुर गएर हाम्रो घरमा केही दिन बास बसेका थिए । पुष्पलालसँग म पनि खटिएँ । पछि मनमोहन अधिकारीसँग पनि भोजपुरमै संगठन विस्तारमा हिँडियो । सेक्रेटेरियट हुँदा म जिल्लाको विद्यार्थी फाँटका गतिविधि हेर्थें ।
प्रगतिशील छात्र संघ नै पछि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा परिणत भएको हो । हामीले भोजपुरमा छात्र संघ खोलेर पदाधिकारी चयन गरेको समाचार त्यतिबेला गोरखापत्रले समेत छापेको थियो । अखिल बनेपछि पहिलो अध्यक्ष वासुदेव ढुंगाना चुनिए । यिनै ढुंगाना पछि स्नातक सभाका सदस्य, मन्त्री र राजदूतसमेत भए ।
जिल्ला सेक्रेटेरियट भएकै बेला म ललितपुरमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो सम्मेलनमा भोजपुरबाट एकल प्रतिनिधित्व गरेर आएको थिएँ । सम्मेलनले मनमोहनलाई महासचिवमा निर्वाचित गरेको थियो । पार्टी काम गुपचुप गरिए पनि मान्छे भूमिगत हुनु पर्दैनथ्यो ।
भोजपुरको चम्फेमा थैले काण्ड घट्यो, ००९ अन्त्यतिर । थैले काण्डका मुख्य नरबहादुर क्षत्री र अर्का एक जना थिए । नरबहादुरले चम्फेस्थित ससुराली घरमै नेपाल कम्युनिस्ट पार्टीको झन्डा गाडेर ‘कम्युनिस्ट भनेको यस्तो हो, उस्तो हो, हामी सबै दाजुभाइ हौँ, शासकले हामीलाई शोषण गर्छन्’ भनेर माइकमा फुक्दै हिँड्थे । बन्दुकसमेत ल्याएका उनीहरू निशानेबाज र बलिष्ठ थिए ।
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, नेपाली रुपैयाँको थैलो बोकेर हिँड्थे । त्यसैले उनलाई थैले भनिन्थ्यो । उनलाई पक्राउ गर्न त्यतिबेला भोजपुरमा रहेको १ सय २५ जनाको पल्टनलाई समेत हम्मे परेको थियो । पछि सेनाले नरबहादुरकी सासूलाई भित्रभित्रै मिलाएछ । खाना खान आएको समय घरको माथिल्लो तलामा राखेको बन्दुक सेनाले बाहिर फालिदियो । र, पक्राउका क्रममा भाग्न खोज्दा नरबहादुरका साथीलाई सेनाले गोली हानेर मारे ।
पक्राउपछि सेनाले नरबहादुरका हात ढुंगामाथि राखेर क्षतविक्षत पारेको र आँखामा चक्कु रोपेको दृश्य हामीले देख्यौँ । उनलाई पछि नख्खु जेल पठाइयो । नख्खु जेलमा रहँदा थुनिएका कम्युनिस्ट नेताहरूको खुब सेवा गर्थे रे नरबहादुर । उनको साहस देखेर राजा महेन्द्रसमेत प्रभावित थिए ।
०१८ माघमा जनकपुर भ्रमणमा गएका महेन्द्रमाथि बम प्रहार भयो । उक्त काण्डमा पक्राउ पर्ने परिहाले, नपरेकालाई खोजेर मार्न राजाले नरबहादुरलाई जेलमुक्त गरेका थिए रे । जेलमुक्त भएको केही समयपछि उनको पनि मृत्यु भयो ।
००९ मा मैले किसान संगठनको अञ्चल हेर्ने नेता हर्कबहादुर श्रेष्ठ भोजपुर आउँदै छन् भनेर बजारमा माइकबाट प्रचार गरेको थिएँ । थैले नै यिनीहरूको ठूलो नेता हो भनेर प्रचार गरेको भन्दै मलाई प्रशासनले वारेन्ट जारी गर्यो । डेढ महिनासम्म भूमिगत भएँ । बाबु कानुन जान्ने भएकाले पछि वारेन्ट फिर्ता लिन प्रशासन सहमत भयो । थैले काण्डपछि कम्युनिस्ट विद्यार्थी संगठनमा निरन्तरता दिन सकिनँ ।
प्रस्तुतिः गोकुल अर्याल