अखबारमा कार्टुनकारिता
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन पाइँदैनथ्यो ।
बम्बईको जेजे स्कुल अफ आर्ट्स नजिकै थियो, द टाइम्स अफ इन्डियाको मुख्यालय । पत्रिकाका सम्पादक हाम्रो स्कुलको आयोजनामा हुने कला प्रदर्शनी अवलोकन गर्न नियमित आउँथे । द टाइम्स अफ इन्डिया व्यवस्थापनले हिन्दी संस्करण धर्मयुग पनि प्रकाशित गर्थ्यो । उक्त अखबारका सम्पादक धर्मवीर भारतीले मेरो प्रतिभा देखेरै धर्मयुगमा कार्टुन बनाउने अवसर जुटाइदिए, सन् १९६४ मा ।
जेजे स्कुलको अध्ययन सकेर आएपछि पनि मलाई दुई–तीन वर्षसम्म कार्टुन बनाउने अवसर मिल्यो । धर्मयुगमा ७ वर्षजतिको कार्टुनकारिता गर्दा सयदेखि १ सय ७० भारुसम्म मिल्थ्यो । पछि पत्रिका बन्द हुन पुग्यो ।
मैले भारत, नयाँदिल्लीबाट प्रकाशित हुने दिनमानमा पनि कार्टुन नाएँ । दिनमानलाई हिन्दी साप्ताहिक पत्रिकामध्ये पहिलोमा गणना गरिन्छ, भारतमा । सच्चिदानन्द हिरानन्द वात्स्यायनले यो पत्रिका सुरु गरेका थिए । यो पत्रिकामा मैले नियमित रुपमा कार्टुन भने बनाइनँ ।
बम्बई छाडेपछि मेरा दाजु गोवद्र्धनविक्रम शाह (कूटनीतिक कर्मचारी, राजदूत) ले ०१३–१४ सालतिर डा केआई सिंह (संयुक्त प्रजा पार्टी) ले चलाएको पत्रिका संयुक्त प्रयासमा व्यंग्यचित्र बनाउँथे । संयुक्त प्रयास चलिरहेका बेला राजा महेन्द्रले सिंहलाई प्रधानमन्त्रीमा नियुक्त गरे । यस पत्रिकाका सम्पादक शिवहरिसिंह प्रधान ‘पागल’ थिए । केआई सिंहका मुख्य सल्लाहकार केबी शाही नै पत्रिकाका पनि मुख्य सल्लाहकार थिए । उनी पञ्चायतका मन्त्रीसमेत बने ।
राजा महेन्द्रले संसदीय चुनाव घोषणा गरेर चुनावी सरकारको नेतृत्व सुवर्णशमशेर राणालाई सुम्पिए । संयुक्त प्रयासले कांग्रेसको उछित्तो काड्थ्यो भने राजा महेन्द्रको गुणगान गाउँथ्यो । संयुक्त प्रयासले २२ जेठ ०१५ मा वर्ष ३, अंक ११ मा ५० पृष्ठको पत्रिकाको मुखपृष्ठ र अन्तिम आवरणमा कांग्रेसलाई साँढेसँग तुलना गरेर प्रजातन्त्रको जगमा प्रहार गरेको कार्टुन छापेको थियो ।
चुनावपछि २०१६ मा बीपी कोइराला नेतृत्वको सरकार बन्यो । कांग्रेस सरकारले संयुक्त प्रयास बन्द गरिदियो । त्यसपछि संयुक्त जनप्रयास नाम दिएर पत्रिका निक्लन थाल्यो । यसको व्यवस्थापन र सम्पादन समूह भने पुरानै थियो ।
मैले संयुक्त प्रयास र समीक्षामा पनि बिनापारिश्रमिक कार्टुन बनाएँ । समीक्षाका लागि कहिले मदनमणि दीक्षित आउँथे त कहिले विनोद दीक्षित, लौ न कार्टुन बनाइनुपर्यो भनेर । संयुक्त जनप्रयासमा नियमित रुपमै कार्टुन बनाएँ । कार्टुनिस्टहरुले ‘निक नेम’ राखेर व्यंग्यचित्र बनाउने प्रचलन थियो । मैले भने ०२६ सम्म चलेको त्यस पत्रिकामा शशि शाहकै नामबाट कार्टुन बनाएँ ।
०३० पछि मात्र विभिन्न अखबारका निम्ति कार्टुनमा रैथाने शशिविक्रम शाह नाम राख्न थालेँ । त्यतिबेलै वात्स्यायन (दुर्गा बराल), जुँगेमुठे (शरद रञ्जित), बलु (बलराम थापा), डिकेड (धीरेशकुमार दाहाल), तिखे (कुलमान सिंह) इत्यादि लेख्थे ।
कार्टुनकारिताका क्रममा म थुप्रै अखबारसँग जोडिएँ । मदनमणि दीक्षितको समीक्षा, श्रीधर खनाल ‘फाइँफुट्टीराज’ को रमिता, पदम ठकुराठीको साप्ताहिक मञ्च, गाईजात्रे भाँडभैलोलगायत पत्रिकामा कार्टुन बनाएँ ।
जनमतसंग्रहका समय १ असार ०३६ सालमा मैले रैथानेको नामबाट बनाएको व्यंग्यचित्रले उबेला तहल्का मच्चाएको थियो । सूर्यबहादुर थापा त्यतिबेला प्रधानमन्त्री थिए । पञ्चायत व्यवस्थालाई थोत्रो मोटर बनाएर त्यसका पार्टपुर्जा, पांग्रा भुइँमा खसेको व्यंग्य समावेश गरेको थिएँ । उक्त मोटरका बिग्रे–भत्केका पार्टपुर्जा बनाउन थालेका थापाले व्यवस्थामा ‘क्रमिक सुधार’ गरिने भनेर हातमा लिएको पेचकस देखाएर यो कुन पञ्चायत हो, तिमी कहाँ छौ भनेर कार्टुन बनाएको थिएँ । यो कार्टुनलाई त्यतिबेला खुबै रुचाइयो ।
समीक्षामा ‘गधा धोएर गाई हुँदैन’ शीर्षकमा पञ्चायतलाई गाली गरेर बलराम थापा ‘बलु’ ले बनाएको कार्टुनका कारण मदनमणिले सरकारी सजायको भागीदार हुनु परेको थियो । सम्पादककै जिम्मामा पत्रिका प्रकाशन हुँदा कार्टुनिस्टले पञ्चायतकालमा पनि कारबाही
भोग्नु पर्दैनथ्यो ।
सरकारी स्वामित्वको गोरखापत्रमा भने मागे मात्र कार्टुन बनाउँथेँ । त्यसको पारिश्रमिक पनि दिन्थ्यो । सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर व्यंग्यचित्र बनाउन पाइँदैनथ्यो । आफ्नो मूल पेसा त छँदै थियो । २०१६ देखि ०४० सालसम्म कार्टुनकारिता गरियो, विभिन्न पत्रिकामा । पछिल्लो समय आफ्नै कला सिर्जनामा व्यस्त भएँ । २०१८ देखि द्वैमासिक रुपमा प्रकाशित साहित्यिक पत्रिका रचनामा आक्कलझुक्कल कार्टुन कोर्थें । नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ (०५१) भएपछि भने नियमित रुपमा बनाउँदै छु ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...