राजाले दिएको टिकटमा अमेरिका
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पैसाले अमेरिका जान हवाईटिकट काटेँ ।
नेपाली कलाकारका सिर्जना एसियाका भारत,चीन, बंगलादेश, जापानमा पटक–पटक र रसिया, केही युरोपेली मुलुकमा प्रदर्शनी भए पनि अमेरिकामा नाफाबाट हालसम्म पुग्न सकेका छैनन् । मैले व्यक्तिगत/एकल प्रदर्शनी गर्नुअघि त्यही बसेका नेपालीबाट अमेरिकाका विभिन्न म्युजियममा नेपाली कला भने पुगिसकेका थिए । अमेरिकामा मलाई संयोगले नै कला प्रदर्शनी अवसर जुटेको थियो ।
काठमाडौँको सिर्जना आर्ट ग्यालरीमा नेपाली कलाकारका चित्र आगन्तुकका लागि प्रदर्शनीमा राखिएका हुन्थे । पेसाले चिकित्सक भए पनि कला सोखिन इजरायली मूलका अमेरिकी डाक्टर जेरोम बी ब्लक दम्पती सन् १९९३ मा नेपाल घुम्न आएका बेला सिर्जना ग्यालरीमा राखिएका मेरा घोडा चित्र देखेर प्रभावित भए । ग्यालरीमा अन्य कलाकारका सिर्जना छँदै थिए । तर मेरै केही घोडा चित्र किनेर पनि लगे, डाक्टर दम्पतीले ।
उनै डाक्टरले मलाई अमेरिकामा कला प्रदर्शनी गर्न निम्त्याए । अमेरिकाको लसएन्जलस घरको ठेगाना र ग्यालरीको नाम पनि टिपाए । चित्रकला प्रदर्शनी अवधिभर अमेरिका बसाइको खर्च व्यवस्थापन र नेपालस्थित अमेरिकी दूतावासमा भिसा ग्यारेन्टी बसिदिने बताएर डा बी ब्लक आफ्नो देश फर्किए ।
अमेरिकामा कला प्रदर्शनीको सबै खर्च जुटाइदिने आश्वासन दिए पनि थप रकम चाहिन्थ्यो । राजा वीरेन्द्रसँग सन् १९९३ को दसैँ टीका थाप्न जाँदा र नाफामै आएका बेला यसबारे बिन्ती बिसाएँ । राजाले हुन्छ, हुन्छ जानू, केही नभए पनि अमेरिकाका म्युजियम हेरेर आउनू भने । राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पैसाले अमेरिका जान हवाईटिकट काटेँ ।
डाक्टरको निम्तो, अमेरिकामै बसेर चित्रकलालाई पेसा बनाएका परमेश अधिकारी, बम्बईको जेजे स्कुलमै सँगै आर्किटेक्ट अध्ययन गरेका न्युयोर्कस्थित नेपाली मिसनमा कार्यरत कीर्तिनिधि विष्टका छोरा विनोदले सहयोगको वचन दिएपछि काठमाडौँबाट आफ्ना सिर्जना बोकेर एकल कला प्रदर्शनी गर्न अमेरिका उडेँ, सन् १९९३ डिसेम्बरमा ।
अमेरिका पुगेपछि डा बी ब्लकको साउथ वे प्यासिफिक ग्यालरीमा २२ देखि २९ डिसेम्बरसम्म एकल कला प्रदर्शनी गरेँ । साउथ वे प्यासिफिकमा विभिन्न देशका कला सिर्जना रहेकाले स्थान अभावका कारण केही त्यही र बाँकी कला ठूलो क्षेत्रफल ओगटेको डाक्टरकै घरमै प्रदर्शनी चलाइयो । अमेरिका पुगेका नेपालीले मेरा चित्रकला प्रदर्शनीलाईनिकै सघाए ।
कला क्षेत्रमा रुचि राख्ने धरणीधर कोइरालाका नाति ज्योति दुवाडी, क्यालिफोर्नियाकै क्लेरे माउन्ट युनिभर्सिटीमा कला विषय पढाउने दीपक सिम्खडाहरु मिलेर खोलेको हिमालयन आर्ट काउन्सिल, प्यासिफिक एसिया म्युजियम, बनारस अध्ययन गरेका र काठमाडौँबाट अमेरिका पुगेर कला व्यवसाय अँगाल्दै आएका परमेश अधिकारीहरुले खोलेको गोल्डक्रस कन्टेम्पोररी ग्यालरीलगायतमा मेरा कला प्रदर्शनी तथा डिस्प्लेमा राखिदिए । गोल्डक्रस ग्यालरी भव्य रहेछ । उक्त ग्यालरीमा आर्ट हस्पिटल (कला बिग्रिए बनाउने), आर्ट स्कुल अथेन्टिक ट्रान्सलेसन सर्भिस, आर्ट फेयर एन्ड एक्जिविसनलगायत कला अध्ययनका सम्पूर्ण पूर्वाधार थिए ।
प्रदर्शनीका क्रममा क्यालिफोर्नियाबाहेक न्युयोर्क, लसएन्जलस, वासिङ्टन डिसीलगायतमा रहेका म्युजियम अवलोकन भ्रमण गर्ने अवसर पनि पाइयो । कलानुरागी भारतीय प्रतिमादित्य पाल लसएन्जलस काउन्टी म्युजियमका क्युरेटर थिए । उक्त म्युजियममा नेपाली कलाको ठूलो संग्रह रहेछ, जुन देखेर म आफैँ अचम्मित भएँ । न्युयोर्कमा रहेको न्युयोर्क मेट्रोपोलिटियन म्युजियम र अमेरिकाकै सबैभन्दा ठूलो गगेनहाइम म्युजियम पनि अवलोकन गर्ने अवसर मिल्यो । ती म्युजियममा विश्वविख्यात सिर्जना र नेपाली कला संग्रह पनि समेटिएको रहेछ । राजधानी वासिङ्टन डिसीमा रहेका प्रख्यात म्युजियमहरु पनि घुमियो ।
नेपाली नियोगमा काम गर्ने हुँदा विष्टसँगै संयुक्त राष्ट्रसंघको मुख्यालय हेर्ने अवसर पनि मिल्यो । युएनभित्र विश्वभरबाट ल्याइएका ठूल्ठूला चित्रसमेत अवलोकन गरियो । अंग्रेजी वर्ष अन्त्यको (१९९४ जनवरी) समय युएनमा आयोजित नेपाल डे र राजा वीरेन्द्रको जन्मोत्सवमा आयोजना गरिने पार्टीमा पनि सरिक हुने अवसर मिल्यो मलाई ।
चित्रकला प्रदर्शनीका क्रममा संसारमै सबैभन्दा अग्ला रुख पाइने स्थल क्यालिफोर्नियाको मिकेन्ली भ्याली आरक्ष भ्रमण अवसर जुटाइदिए, आयोजकले । त्यहाँका केही रुखलाई आधार मानेर मैले पनि केही चित्र उतारेको थिएँ । अमेरिका प्रदर्शनीका क्रममा केही सिर्जना बिके पनि सोचेजस्तो भएन ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...