दस अवतारलाई १४ सय डलर
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना समावेश गरेको थिएँ, सन् १९८० मा ।

जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना समावेश गरेको थिएँ, सन् १९८० मा । एसियाली देश सम्मिलित पहिलो कला प्रदर्शनीमा नेपालका तर्फबाट लैनसिंह बाङ्देल, शशिकला तिवारी, कृष्ण प्रधानलगायतको टोली सहभागी थियो ।
महादेशअनुसारका अलग–अलग प्रदर्शनी हुन्थे, फुकुओकामा । जापान सरकारको स्वामित्वको हुँदा म्युजियमले एसियाका करिब २५ देशका कलाकार सम्मिलित गराएर छुट्टै कला प्रदर्शनी गथ्र्यो, दुई– दुई वर्षमा । एसियाली प्रदर्शनीमा नेपालका कलाकृति र कलाकारले पनि सहभागिता जनाउने अवसर पाउँथे ।
नेपाली टोलीको हवाईजहाज, कार्गो, पेन्टिङ, साताव्यापी बसाइ सम्पूर्ण खर्च व्यवस्थापन जापान सरकारले नै गरिदिएको थियो । जापानको प्रदर्शनीमा नेपाली कलाकारका सिर्जना पनि थुप्रै थिए । त्यसमा मेरो दस अवतार छनोटमा परेको हो ।
जापानको प्रवेशबिन्दु रहेछ, फुकुओका । ठाउँको नामबाटै फुकुओका म्युजियम राखिएको रहेछ । उक्त म्युजियममा मेरो सिर्जना दस अवतार पुगेपछि नै नेपाल सेक्सन नाम दिएर अरु नेपाली कलाकारका सिर्जना पनि राखिए ।
जापानको साताव्यापी कला प्रदर्शनीपछि फर्काएर नेपाल ल्याएको दस अवतार एसियाली कला प्रदर्शनीकै क्रममा बंगलादेशको ढाका पुग्यो । सो प्रदर्शनीमा विभिन्न कलाकारको सिर्जना लिएर उत्तम नेपालीलगायतको टोली ढाका गएको थियो, सन् १९८१ मा । ढाका प्रदर्शनीमा सहभागी नभए पनि मेरो दस अवतार सिर्जना पठाइदिएको थिएँ । प्रदर्शनी सकिएपछि मेरो सिर्जना नेपालमै फिर्ता आयो ।
करिब २५ एसियाली मुलुक सम्मिलित उक्त प्रदर्शनीमा जापानको फुकुओका आर्ट म्युजियमका प्रतिनिधिले पनि सहभागिता जनाएका रहेछन् । एसियाली मुलुकमध्ये बढीजसो जापान र बंगलादेशमा कला प्रदर्शनी हुन्थे । बंगलादेशमा त सन् ८० को दशकसम्म कला क्षेत्रले खासै फड्को मारेको थिएन । बंगलादेश सरकारले छात्रवृत्ति दिएर नेपाल पठाएका कैयौँ कलाकारलाई हामीले कला सिर्जनामा पोख्त बनाएका हौँ । नेपाल आएर अध्ययन गरेका तिनै कलाकारका कारण पछिल्लो समय बंगलादेश कला क्षेत्रका लागि उर्वर भूमि बनेको हो ।
बंगलादेशमा सहभागी फुकुओका आर्ट म्युजियम इन्टरनेसनल एक्सचेन्ज सेक्सनका प्रमुख तोसिहिरो मोतोकीले नेपालको प्रतिनिधित्व गरेर ढाका गएका उत्तम नेपालीसँग मेरो कलाबारे प्रशंसा गरेछन् । सन् १९८० मा जापानमा भएको कला प्रदर्शनीमा राखिएको दस अवतारलाई जापानीले मन पराएका रहेछन् ।
मोतोकीले दस अवतार कसरी खरिद गर्न सकिन्छ भनेर उत्तमसँग सोधीखोजी गरे । र, उत्तम नेपालीका साथमा दस अवतार खरिद गर्न आफ्नो हस्ताक्षरयुक्त सम्झौतापत्र मलाई पठाए । फुकुओका म्युजियममा एसियाली देशको आधुनिक कला नभएकाले मेरो सिर्जना खरिद गर्ने इच्छा मोतोकीले राखेका रहेछन् ।
बंगलादेशको कला प्रदर्शनी समापन भएपछि मोतोकीको हस्ताक्षरयुक्त उक्त चिट्ठी नेपाल ल्याएर उत्तमले मलाई सुम्पिए । मोतोकीले पठाएको सम्झौतापत्रमा उल्लिखित बेहोरा हेरेँ । दस अवतार सिर्जना बिक्रीका लागि फुकुओका म्युजियमलाई मञ्जुरी दिएँ । मेरो सिर्जना बिक्रीबापत १४ सय डलर प्राप्त गरेँ । उक्त रकम त्यतिबेला ठूलै मानियो ।
फुकुओकाले नेपालबाट लगेको दस अवतारलाई क्रमसंख्या (एक्युजिसन) नम्बर १५ मा राख्यो । यो श्रेणी विभाजनमा मेरो सिर्जना एसियामा पहिलो र विश्वभरबाट १५ नम्बरमा परेको संकेतचिह्न रहेछ । बंगलादेश प्रदर्शनीको ३ वर्षपछि फुकुओका म्युजियमले सन् १९८३ मा मेरो सिर्जना नेपालबाटै खरिद गरेर जापान पुर्याएको हो ।
नेपाली कलाकारमध्ये सबैभन्दा पहिले अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्री भएको कला सिर्जना फुकुआको म्युजियमले नै किनेको हो । त्यसअघि कुनै पनि नेपाली कलाकारका सिर्जना अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्री भएका थिएनन् ।
नाफाको संयोजनमै दुईचोटि जापानमा कला प्रदर्शनी गर्ने अवसर जुर्यो मलाई । पछिल्लो पटक केदारभक्त माथेमा नेपालका लागि जापानी राजदूत थिए । मेरा सहपाठी भएकै कारण उनको निम्तोमा जापानमा कला प्रदर्शनीको अवसर पाइयो । जापानमा पहिलोपल्ट कला प्रदर्शनीका क्रममा पुग्दा फुकुआको म्युजियम खासै ठूलो थिएन । तर पछिल्लो पटक जाँदा म्युजियमको स्वरुप फेरिएर भव्य बनेको रहेछ । उक्त म्युजियममा विभिन्न देशका कलाकारका सिर्जना राख्न विभागै खडा गरिएछ ।
दुई–दुई वर्षको अन्तरालमा एसियाली मुलुकका कलाकारको सहभागितामा हुने कला प्रदर्शनीले अहिले पनि निरन्तरता पाएकै छ ।
प्रस्तुति : गोकुल अर्याल