[स्मरण] यसरी जन्मियो आमा समूह
गाउँमा प्राथमिक स्वास्थ्य सेवा सञ्चालनका लागि आमा समूह स्थापना गर्ने सोच बन्यो र उनीहरूमध्येबाट छानिएका एक सदस्यलाई स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा तालिम दिने नीति तथा कार्यक्रम तर्जुमा गरियो ।
विसं २०४४ को एक दिन प्रधानमन्त्री कार्यालयबाट हामी केही सहसचिवहरूलाई बोलावट आयो । सिंहदरबारमा आयोजित त्यस भेटघाट कार्यक्रममा प्रधानमन्त्री मरीचमान सिंहले भन्नुभयो, ‘तपाईंहरूलाई प्रमोसन गरेको छु । अझ राम्रोसँग काम गर्नुहोला ।’ सबैले आ–आफ्नो ठाउँबाट कृतज्ञतास्वरूप धन्यवाद टक्र्यायौँ ।
आधारभूत आवश्यकताको कार्यक्रमप्रति उत्सुक र लालायित रहेकाले योजना आयोगकै जिम्मेवारी आफ्नो काँधमा आइपरेको होला भनेर म पनि ज्यादै खुसी भएँ । मैले कार्यक्रमबारे केही कुरा बोल्न मात्र लागेको थिएँ, प्रधानमन्त्रीले भनिहाल्नुभयो, ‘ विहारीजी † तपाईंलाई मैले स्वास्थ्य मन्त्रालयमा पठाएको छु ।’ प्रधानमन्त्रीको यो वाक्य कानमा ठोक्किँदा मेरो अनुहार अमिलो भयो । त्यतिबेला स्वास्थ्य मन्त्रालयमा सरुवा हुनु भनेको सजायजस्तो मानिन्थ्यो र अपमानित भएको ठानिन्थ्यो । सायद मेरो अनुहार पढेरै हुनुपर्छ, प्रधानमन्त्रीले तत्कालै थप्नुभयो, ‘मुलुकको स्वास्थ्य स्थिति ज्यादै बिग्रिएकाले तपाईंलाई त्यहाँ पठाएको हुँ ।’
यसरी अतिरिक्त सचिवको जिम्मेवारी बोकेर स्वास्थ्य मन्त्रालय पुगेको दुई–तीन महिना त मलाई त्यहाँको वातावरण बुझ्नमै लाग्यो । म स्वास्थ्य मन्त्रालयमा पुग्नु १० वर्षअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ‘सबैका लागि स्वास्थ्य’ भन्ने कार्यक्रममा सरिक भइसकेको थिएँ । मैले त्यो कार्यक्रम सम्झेँ । त्यसपछि सिनियर डाक्टरहरूलाई बोलाएर मुलुकको स्वास्थ्य अवस्थाबारे छलफल गरेँ । त्यतिबेला मुलुकमा ८ सय १६ स्वास्थ्य चौकी थिए र प्रत्येकले चार–पाँचवटा गाउँ पञ्चायतलाई सेवा पुर्याउनुपथ्र्यो । सबैका लागि स्वास्थ्य सेवा पुर्याउन गाउँ–गाउँमा स्वास्थ्य स्वयंसेवकहरूको व्यवस्था गरिएको रहेछ । तर, कर्मचारीका बेहोरासित राम्ररी परिचित रहेकाले उनीहरूको प्रभावकारितालाई गाउँमै गएर ‘चेक–जाँच’ गर्नु आवश्यक ठानेर गाउँमा नियुक्त स्वास्थ्य स्वयंसेवक भेट्न एक युवा डाक्टरलाई लिएर म पूर्वाञ्चल भ्रमणमा निस्किएँ । काठमाडौँबाट सीधै झापा पुगेँ र त्यहाँका स्वास्थ्य चौकी हेरेँ । दिनभरि गाउँका स्वास्थ्य चौकी घुमेर राती अर्को सदरमुकाम जाने व्यवस्था मिलाएर १० दिनमा पूर्वी तराईका आठ जिल्लाको भ्रमण गरेर काठमाडौँ फर्किएँ ।
प्रतिनिधि जिल्लाको भ्रमण गरेर जब काठमाडौँ फर्किएँ, सिंगो मुलुककै स्वास्थ्य अवस्था बीभत्स लाग्यो । लोग्नेमान्छेको तुलनामा स्वास्नीमान्छे र केटाकेटीको स्वास्थ्य अवस्था झन् नाजुक थियो । त्यतिबेला मुलुकमा शिशु मृत्युदर १ हजारमा १ सय ११ र बच्चा जन्माउने क्रममा १ लाखमा ६ सय ७५ जना आमाको मृत्यु भइरहेको तथ्यांक थियो ।
सबैका लागि स्वास्थ्य भन्नुको अर्थ मुख्यत: महिला र बालबालिका लक्षित नै हुनुपर्ने थियो । तर, स्वयंसेवक सबै पुरुष थिए । गाउँका ठालूहरूलाई नै स्वास्थ्य स्वयंसेवकका रूपमा एक दिनको २० रुपियाँ भत्ता उपलब्ध गराएर पाँचदिने तालिम दिइएको थियो । तालिमपछि स्वास्थ्य चौकीको लक्ष्य पूरा भयो । लक्ष्य अनुसार उपलब्धि हासिल भएको दाबी गर्न पाए । तर, तालिमप्राप्त व्यक्ति समुदायप्रति जिम्मेवार छन्/छैनन् भन्नेतर्फ कर्मचारीको ध्यानै गएको थिएन । त्यसपछि स्वास्थ्य मन्त्रालयका वरिष्ठ कर्मचारीलाई भेला गरेँ र समस्या अगाडि राखेर स्वयंसेविका महिला हुनुपर्ने, तिनीहरूको दक्षता राम्रो हुनुपर्ने र जिम्मेवारी स्पष्ट रूपले समुदायमै केन्द्रित हुनुपर्ने बताएँ ।
मदर्स क्लबका नाममा महिला संस्थाहरू फाट्टफुट्ट खुलेका थिए । त्यसमा नेतृत्वदायी भूमिका त्यतिबेला राजा वीरेन्द्रकी काकी प्रिन्सेप शाहले खेलेकी थिइन् । पञ्चायती व्यवस्थाको समयमा संघ–संस्था खोल्नमा केही कडाइ भएकाले त्यही कार्यक्रमलाई आधार मानेर गाउँ–गाउँमा आमा समूहको परिकल्पना गरियो । तर, यसको संस्थागत स्वरूपको परिकल्पना ०३९ को विकेन्द्रीकरण ऐनमा व्यवस्था भएको उपभोक्ता समूहलाई स्थानीय जनताको सशक्तीकरण गर्ने अवधारणामा आधारित गरियो । त्यस अनुरूप नै गाउँमा प्राथमिक स्वास्थ्य सेवा सञ्चालनका लागि आमा समूह स्थापना गर्ने सोच बन्यो र उनीहरूमध्येबाट छानिएका एक सदस्यलाई स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा तालिम दिने नीति तथा कार्यक्रम तर्जुमा गरियो ।
आमाहरूको संगठन गाउँनजिकै हुनुपर्ने भएकाले प्रत्येक वडामा एउटा आमा समूहका हिसाबले त्यतिबेलाका चार हजार गाउँपञ्चायतमा ३६ हजार आमा समूह र त्यति नै संख्यामा स्वास्थ्य स्वयंसेविका नियुक्त गर्दा मुलुकको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार ल्याउन सक्ने विश्वास थियो । तीन वर्षमा मुलुक ढाक्ने लक्ष्यसहित पहिलो वर्ष ०४४–४५ मा मध्यमाञ्चल र मध्यपश्चिम विकास क्षेत्रका २८ जिल्लाबाट कार्यक्रम सुरु गरियो । त्यतिबेला यस्तो ठूलो कार्यक्रमका लागि अर्थ मन्त्रालयलाई गुहारेर आर्थिक स्रोत जुटाउन सम्भव थिएन । तर, स्वास्थ्य मन्त्रालयमा कार्यरत आठ दातृ संस्थालाई दबाब दिई आवश्यक रकम जुटाइयो । यही कार्यक्रमले गर्दा संयुक्त राष्ट्रसंघको स्वास्थ्य सहस्राब्दी लक्ष्य हासिल गर्नेमध्ये नेपाल शीर्षस्थ स्थानमा पुगेको थियो ।
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...