[स्मरण] प्यालेस्टाइनीद्वारा बन्धक बनाइँदा...
झन्डै एक घन्टापछि साइप्रसको निकोसिया अनि राती २ बजेतिर लिबियाको ट्रिपोलीमा जहाज उतारियो । हामीलाई निद्राले ग्रस्त बनाइसकेको थियो । तर, अपहरणकारीलाई के वास्ता ?
विसं २०३० मा विशेष अधिकृतका रूपमा जाँचबुझ केन्द्रमा काज–सरुवा भएको थिएँ । युनेस्कोले नर्वेमा आयोजना गरेको ‘ म्यान एन्ड बायस्पेयर’ कार्यक्रमका लागि निम्तो पाएँ । राजधानी ओस्लोबाट उत्तरतर्फको लिलेहामरमा पुग्दा हिउँले पूरै ढाकिएको थियो । झन्डै ५० देशका प्रतिनिधि सहभागी सातदिने उक्त गोष्ठी एउटा होटलमा गरिएको थियो । एकैपटक सात दिनपछि हामी होटलबाट बाहिरियौँ । हिउँका कारण हामीलाई होटलबाट सीधै एयरपोर्ट लगियो ।
ओस्लोबाट केएलएम कम्पनीको जहाजमा नेदरल्यान्ड्सको आम्सट्रडम ट्रान्जिट भएर नयाँदिल्ली फर्किंदै थियौँ । जम्मा दुई घन्टा ट्रान्जिट थियो । त्यसैले जहाज कम्पनीका व्यक्तिलाई चार–पाँच घन्टापछि अर्को जहाजमा पठाइदिन अनुरोध गरेँ । चिडियाखानाका जनावरको वैज्ञानिक तरिकाले हेरचाह गर्ने सामग्री लैजाने सर्तमा चार घन्टा होइन, दुई दिन नै बस्ने प्रबन्ध मिलाइदिए, त्यो पनि कम्पनीको खर्चमा ।
दुई दिन त्यहाँ घुमेँ, केही सपिङ गरेँ । त्यसपछि दिल्ली उडेँ । केएलएमको ७४७ बोइङमा रात परेपछि ठूलो पर्दामा चलचित्र देखाउने चलन रहेछ । बेरुतको ट्रान्जिटपछि हामी फिल्म हेर्ने मुडमा थियौँ । फस्र्ट क्लास नजिकैको झ्यालतर्फको सिटमा थिएँ म । ढोकामा टाँगिएको पर्दा ध्वार्र च्यातेर अन्दाजी २० वर्षको एक युवक ग्रिनेड बोकेर बाहिर निस्कियो ।
अपहरणमा परेजस्तो लाग्यो । अनि सोचेँ, अपहरणको अनुभव बटुल्न पाइने भयो । जहाजमा २ सय १० जापानी यात्रुबाहेक अन्य ३७ जना थियौँ । नेपाली म एक्लो । हवाईजहाजको स्पिकरमा पाइलटले ‘दिस इज योअर क्याप्टेन स्पिकिङ...’ भन्न मात्र के पाएको थियो, अर्को अपहरणकारीले माइक लिएर ‘प्यालेस्टाइन अर्गनाइजेसन ...’ भन्दै लामो नाम भट्यायो । उसले ‘नेदरल्यान्ड्स सरकारले इजरायलको पक्षमा लागेर केएलएम कम्पनीका जहाजमार्फत हातहतियार ओसार–पसार गरिरहेको र डच सरकार पनि इजरायलको पक्षमा लागेकाले जहाजलाई अपहरण गर्न बाध्य भएको’ बतायो । टुटे–फुटेको अंग्रेजीमा तुरुन्तै दुवै हात शिरमाथि राख्न धम्की दियो । त्यसपछि ‘सिट बेल्ट’ बाँध्न लगाइयो । सबै उभिएका छौँ, कहाँ सिटबेल्ट बाँध्ने ? त्यो ठाउँ रहेछ, सिरियाको दमास्कस एयरपोर्ट ।
झन्डै एक घन्टापछि साइप्रसको निकोसिया अनि राती २ बजेतिर लिबियाको ट्रिपोलीमा जहाज उतारियो । हामीलाई निद्राले ग्रस्त बनाइसकेको थियो । तर, अपहरणकारीलाई के वास्ता ? यसबेलासम्म एयरपोर्टको धावन मार्गमा लिबियाका शासक कर्णेल गद्दाफीका सेनाका गाडीले अवरोध गरिरहेका थिए । दिउँसो २ बजे एक्कासि रनवेभन्दा विपरीत दिशाबाट जहाज उड्यो ।
त्यतिन्जेलसम्ममा डच सरकारले अपहरणकर्ताका माग पूरा गरिसकेको थियो, प्रो–इजरायली नीति लिएको छैन र लिने पनि छैन, साथै केएलएमले इजरालयका हातहतियार ढुवानी गरेको छैन र गर्ने पनि छैन भनेर । सोही कारण अपहरणकर्तालाई सुरक्षित अवतरणको आवश्यकता थियो । दिनको ४ बजेसम्ममा गद्दाफीसँग कुरा नमिलेपछि निर्माणाधीन धावन मार्गबाट एउटा टापु देशमाथि पुगियो । त्यो रहेछ, युरोपको माल्टा ।
माल्टामाथि नौ पटक चक्कर लगाएर जहाज अवतरण गर्यो । प्रधानमन्त्री मिन्टफसितै वार्ता भएको रहेछ । त्यतिबेला माल्टाको एयरपोर्टमा बोइङ अवतरण हुन मुस्किल थियो । त्यसैले उनी चाहन्थे, अन्तै जाऊन् । तर, त्यतिन्जेलसम्म जहाजमा तेल सकिएकाले यात्रुलाई समुद्रमा खसालेर रित्तो जहाज अवतरण गराउने अपहरणकर्ताको प्रस्ताव रहेछ । त्यही क्रममा बेलुकातिर बालबालिकाले ‘लाइफ ज्याकेट’ लगाएका थिए । हामीलाई पनि ज्याकेट प्रयोगबारे एयर होस्टेसहरूले दोहोर्याई–दोहोर्याई जानकारी दिइरहेका थिए । तर, पछि प्रधानमन्त्री मिन्टफले यात्रुसहित अवतरण गर्न अनुमति दिएछन् । र, हामी ठूलो संकटबाट जोगियौँ । ती अपहरणकर्ता त्यहाँ तेल भरेर अन्त कतै जाने दाउमा रहेछन् । त्यसका लागि मिल्टफले सबै यात्रुलाई छाड्नुपर्ने सर्त राखेछन् । त्यसपछि आधा तेल भरेर आधा यात्रु छाड्ने र अरू आधा तेल भरेपछि सबै यात्रु मुक्त गर्ने सहमति भएपछि तेल भर्न थालिएको रहेछ । झन्डै ७० हजार लिटर फ्युल लाग्दो रहेछ । ३५ हजार लिटर तेल भर्दा झन्डै तीन घन्टा लागेको थियो ।
आधा यात्रु मुक्त भए । मेरो नामै आएन । तीन घन्टापछि पुन: तेल भर्न थालियो र बाँकी यात्रुहरू पनि मुक्त हुन थाले । मेरो त नामै आएन । त्यसपछि सँगैको यात्रुलाई सोध्दा थाहा भयो कि अपहरणकर्ताले हिजै सबैको राहदानी लिइसकेका रहेछन् । तर, मेरो राहदानी मसँगै थियो । मैले पनि उक्त राहदानी झिकेर अपहरणकर्तालाई दिन पुगेँ । एकछिन त मसँग रिसाए । केहीबेरपछि म पनि मुक्त भएँ । तर, जहाजले हाम्रो सबै सामान बोकेर अन्तै लग्यो । साँझ केएलएमले दुइटा जहाज माल्टामा उतार्यो । एउटाले जापानी यात्रुलाई बोकेर जापानतिरै लग्यो, अर्कोले हामीलाई लिएर आम्सट्रडम फर्कियो । त्यसको दुई दिनपछि म काठमाडौँ उत्रिएँ ।
काठमाडौँ आएको दुई सातापछि एक दिन केएलएमका काठमाडौँ, दिल्ली र बंगलादेशका प्रतिनिधि आएर मलाई कम्पनीका मालिक ओर्लान्डोको हस्ताक्षरित चिट्ठी दिए । पत्रमा जापानी कानुन अनुसार बन्धकमा परेका यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने भएकाले मलाई पनि उपलब्ध गराइएको उल्लेख थियो । १ हजार १ सय २० डलरको चेक पाएँ । राष्ट्र बैंकबाट चेक साट्दा ११ हजार २ सय रुपियाँ बुझेँ । वास्तवमा ३३ घन्टाको त्यो बन्धक प्रकरणले मेरो बाँकी जीवनमा बहार ल्यायो ।
–प्र स्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...