कोइरालालाई सुब्बेनीको बकस
सुब्बेनीले देवर कृष्णप्रसादका श्रीमतीलाई बकसस्वरुप करिब ४/५ सय बिघा जग्गा दिएकी थिइन् ।
नेपाली राजनीतिमा कोइराला परिवार उँचो स्थानमा छ । आर्थिक रुपमा पनि यो वैभवशाली थियो । सगोलमा हुँदै हजुरबा कृष्णप्रसाद कोइरालाले नेपालभरका भन्सारको ठेक्का पाउनुभएको थियो । व्यापार कोलकातासम्म फैलिएको थियो । ठेक्काबाट प्राप्त आम्दानी र करिब ४०/५० मौजाका कारण कोइराला परिवार त्यतिबेलाको ठूलो जमिनदार नै थियो भन्दा हुन्छ । कृष्णप्रसादले दार्जिलिङदेखि सिरहा चन्द्रगन्ज, माडरलगायतको भन्सार ठेक्कामा लिएका थिए । त्यसबेला भन्सारलाई बजारअड्डा भन्थे । तर, केही वर्षपछि ९० हजार रुपैयाँ बक्यौता रह्यो । किनभने, अलगअलग ठाउँमा रहेका मान्छेलाई तोकिएको समयमा रकम बुझाउन ढिलो हुन्थ्यो ।
कृष्णप्रसादले प्रजाको अवस्थाबारे फाटेको लुगा, भोटो र लंगौटी श्री ३ चन्द्रशमशेरकहाँ पठाइदिए । त्यसबाट क्रूद्ध चन्द्रशमशेरले कृष्णप्रसादले समय माग्दामाग्दै ठेक्का सबै तोडिदिए । र, कुमारीचोक (हालको महालेखा) बाट हुलाकमार्फत पक्राउ पुर्जी बडाहाकिम जीतबहादुर केसीकहाँ पठाउन लगाए । तर, जीतबहादुर कृष्णप्रसादका मित्र थिए । उनले त्यो पक्राउ पुर्जी त्यसै दिन दर्ता नगरी कृष्णप्रसादलाई आजै नेपाल छाड्नू भने ।
कृष्णप्रसाद जेठा छोरा साढे सात वर्षका मातृका र करिब ५ वर्षका बीपी कोइरालालाई डोर्याउँदै माडरबाट जयनगर सीमा पार गरे । एकतन्त्रीय राणा शासनको विरोधमा लागेपछि कोइराला परिवारको सबै सम्पत्ति चन्द्रशमशेरको निर्देशनमा भन्सार लागेको थियो । त्यतिबेला भन्सार लाग्नुको अर्थ जफत हुनु थियो । चन्द्रशमशेरले कोइराला परिवारको जायजेथा कब्जा गरेर अरुलाई बाँडिदिए । जुद्धशमशेरको पालामै विसं १९९९ मा कृष्णप्रसाद राणा शासनविरोधी काम गरेको भनी पक्राउ परिसकेका थिए । राणा शासक प्रजातान्त्रिक आन्दोलन दबाउन जुनसुकै हथकण्डा प्रयोगमा ल्याउँथे ।
कुनै सम्पत्ति बाँकी नरहेको कोइराला परिवारले दशक लामो कष्टसाध्य निर्वासन जीवन भारतमा बितायो । भीमशमशेर श्री ३ महाराज भएपछि कृष्णप्रसाद कोइरालाको बक्यौता रकम मिनाहा गरिदिए र नेपाल फर्किन अनुमति दिए । कुनै सम्पत्ति बाँकी नरहेका कृष्णप्रसाद कोइराला दिवंगत दाजु सुब्बा नारायणप्रसाद कोइरालाकी श्रीमती मानकुमारी सुब्बेनीसँग छोराछोरीका साथ बस्न थाले । मानकुमारी सुब्बेनी ६८ वर्ष पुगेपछि काशीवास जान लाग्दा मृत देवर कृष्णप्रसाद कोइरालाका जेठी श्रीमती मोहनकुमारी र कान्छी श्रीमती दिव्याकुमारीका नाममा बकसपत्र गरिदिइन् ।
२००१ माघ १४ मा जुद्धशमशेरको थुनामा पिता कृष्णप्रसादको मृत्यु भयो । त्यसपछि बीपीले २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे ।
२००२ कात्तिक २ मा मानो छुट्टिई २००३ कात्तिक २६ मा मातृकाप्रसाद, विश्वेश्वरप्रसाद, केशवप्रसाद, तारिणीप्रसाद र गिरिजाप्रसाद कोइरालाको अंशबन्डा भएको कागज देखिन्छ । कृष्णप्रसादका दाजु सुब्बा नारायणप्रसाद कोइराला नि:सन्तान थिए । उनकी श्रीमती मानकुमारी सुब्बेनी उपाध्याय पनि सरकारी जागिरे थिइन् । श्रीमान् नारायणप्रसाद कोइरालाको निधनपछि मानकुमारी काशीवास गइन् । काशीवास जाँदा उनले आफ्नो भयभरको श्रीसम्पत्ति कोइराला परिवारलाई सुम्पिइन् । सुब्बेनीले देवर कृष्णप्रसादका श्रीमतीलाई बकसस्वरुप करिब ४/५ सय बिघा जग्गा दिएकी थिइन् ।
कृष्णप्रसादका दुई श्रीमती मोहनकुमारी पिताजी मातृकाकी आमा र दिव्याकुमारी बीपीकी आमाले करिब ५/६ सय बिघा जग्गा बकसमा पाएका हुन् । परिवार छुट्टिएपछि त्यो सम्पत्ति मातृका र बीपी दुवैतिरका दाजुभाइलाई ५/२ भाग गरी भागबन्डा लगाइएको थियो । बीपी, मातृका, केशव, तारिणी, गिरिजाप्रसाद र आमाहरु गरी बकस सम्पत्ति सगोलबाट छुट्टिँदा ७ भाग लगाइएको थियो । छुट्टिएपछि कोइराला परिवारले सुब्बेनीले दिएको सम्पत्ति आ–आफ्ना नाममा दर्ता गराए ।
अझ रोचक किस्सा त के भने सुब्बेनी मानकुमारी नि:सन्तान भएकाले जायजेथा कोइराला परिवारलाई बकस दिँदा कानुनी झमेला उठेको थियो, साक्षी बस्ने सन्दर्भमा । साक्षी बस्दा सहोदर दाजुभाइले सहीछाप लगाउनुपथ्र्यो । तर, सुब्बेनीका कोही पनि दाजुभाइ त्यहाँ थिएनन् । त्यस समस्यालाई पार लगाउन पिताजी मातृका र बीपीले आफ्नो कोइराला थरलाई उपाध्याय बनाउनुपरेको थियो । साक्षीका रुपमा कोइरालाबाट उपाध्याय बनेपछि मानकुमारी सुब्बेनीको बकस सम्पत्तिले बल्ल वैधानिकता पाएको थियो ।
विराटनगरमा रहेको अहिलेको कोइराला निवास पनि उनै सुब्बेनीले काशीवास जाँदा कोइराला परिवारलाई बकसमा दिएकी हुन् । त्यो अद्यापि कमलप्रसाद कोइराला, विजय, नोनापुत्र निरञ्जन र शेखर, तारिणीपुत्र ज्योति र गिरिजापुत्री सुजाता कोइरालाको नाममा छँदैछ । यसरी सुब्बेनीले बकसमा दिएको करिब ४/५ सय बिघा सम्पत्ति मातृका र बीपीतिरका ४ भाइ र आमालाई समेत भागबन्डा गर्दा टुक्राटुक्रा भयो । अहिले कोइराला परिवारभित्रकै केही सदस्यले बकस सम्पत्ति बिक्री गरेर काठमाडौँमा घर बनाएका छन् । केही सय बिघा अहिले पनि दुवैतिरका सन्तानको बकस सम्पत्ति छ ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...