जुद्धकलादेखि जेजे स्कुलसम्म
आर्ट विषय रोज्नुको अर्को कारणचाहिँ मेरो श्रवणशक्ति बालक अवस्थादेखि नै कमजोर रह्यो । दस वर्षको उमेरदेखि नै मैले कला सिर्जना थालिसकेको थिएँ ।

हाम्रो परिवारको राजा र राणासँगको सम्बन्ध पुरानै हो । मेरा बाजे सरदार यक्षविक्रम शाह जुद्धशमशेरका सम्धी हुन् भने पिताजी चूडाविक्रम शाहसमेत दरबारमै नोकरी गर्थे । सत्ताधारीसँग नजिकको सम्बन्ध भए पनि साधारण मान्छे जस्तो परिवेशमा हुर्किन्छ, त्यस्तैमा हुर्किएँ । सुरुमा आर्टिस्ट नै बन्छु भन्ने उद्देश्य थिएन । आमा र दाजुभाइको सद्भावका कारण ममा आर्टिस्ट बन्ने लोभ पलायो । ८ भाइमध्ये कान्छो छोरा भएको हुँदा पिताजी चूडाविक्रम शाहबाट पेसा रोजाइमा कुनै अवरोध भएन ।
आर्ट विषय रोज्नुको अर्को कारणचाहिँ मेरो श्रवणशक्ति बालक अवस्थादेखि नै कमजोर रह्यो । दस वर्षको उमेरदेखि नै मैले कला सिर्जना थालिसकेको थिएँ । जुद्धकला पाठशाला (हालको दरबार स्कुल) मा मैले आर्टको अध्ययन अगाडि बढाएँ । एसएलसी पास हुन सजिलोका लागि पनि मैले आर्ट रोजेको हुँ । प्राक्टिकलमा धेरै नम्बर ल्याएर उत्तीर्ण हुन सकिन्थ्यो । गुरु तेजबहादुर चित्रकार र दिलबहादुर चित्रकारले पनि मेरो अध्ययनमा सहयोग गरे ।
मैले आर्ट अध्ययन गरे पनि दाजुहरु राजदरबार, निजामती सेवाका उपल्लो पदमा काम गर्थे । दाजु मोहनविक्रम शाह राजा महेन्द्रका सचिव र मन्त्री भए । दाजु गोवर्द्धनविक्रम शाह परराष्ट्रका जागिरे हुँदै स्वीट्जरल्यान्डका राजदूतसमेत भए । अर्का दाजु नरेन्द्रविक्रम शाह पनि परराष्ट्रमन्त्री बने ।
एसएलसी सकेपछि त्रिचन्द्र कलेज भर्ना भएँ । त्रिचन्द्रमा केदारभक्त माथेमा र म एउटै कक्षामा पढ्थ्यौँ । माथेमा कुपन्डोल बस्ने हुँदा सँगसँगै कलेज जान्थ्यौँ । माथेमा मैलेभन्दा राम्रो चित्र बनाउँथे । म उनका चित्र भनेपछि हुरुक्कै हुन्थेँ । त्रिचन्द्रमा मैले कोर्सको विषयभन्दा बढी चित्र बनाउँथेँ । चित्रप्रतिको मेरो लगाव देखेरै माथेमा र अन्य साथीहरुले विभिन्न म्यागजिन, ब्रस, रङलगायत सामग्री जुटाइदिन्थे । त्यतिबेला माथेमा, यादव खरेलहरु पढाइमा अब्बल थिए ।
विदेशमा सिर्जनाशीलता बढाउँछ भनेर प्राथमिक तहदेखि नै आर्ट विषय अनिवार्य हुन्छ । नेपालमा अहिले पनि आर्ट विषय पढाइ हुने कलेज सानो संख्यामा छन् । त्यतिबेला (सन् १९५०) आर्ट पढाइ हुने स्कुल कतै थिएनन्, दरबार हाइस्कुलमा मात्र आर्ट विषय पढाइ हुन्थ्यो । आर्ट विषयलाई त्यो बेला अछुतसमेत मानिन्थ्यो । शाह, राणा, बाहुन, क्षत्रीजस्ता उच्च जातकाले आर्ट गर्नुलाई अछुत मानिन्थ्यो ।
मैले अन्य विषय लिएर पनि अध्ययन अगाडि बढाउन सक्थेँ किनभने राजदरबारसँग नजिकको सम्बन्ध छँदै थियो । तर आर्टलाई प्राथमिकता दिएँ । आर्ट विषयको पढाइलाई कतिसम्म हेय गरिन्थ्यो भन्ने उदाहरण चन्द्रमान मास्केलाई लिन सकिन्छ । नेवार परिवारका भएकै कारण घरपरिवारलाई ढाँटेर उनी डाक्टरी पढ्न बाहिर गए तर आर्ट विषयको पढाइ पूरा गरेर आए । उनै चन्द्रमान पछि नेपालका नामुद आर्टिस्ट बने ।
उबेला अहिलजस्तो आर्टलाई खासै महत्त्व दिइँदैनथ्यो । त्यो अवस्था म आफैँले पनि भोगेँ । साथीभाइमध्ये पनि विशेषगरी अशेष मल्ल ‘तपाईं त पृथ्वीनारायणको तबेला हेर्ने अथवा अकबर वादशाहको तबेला हेर्ने सइसजस्तो हुनुहुन्छ नि’ भनेर जिस्काउँथे । पछि मेरै समकक्षी साथीभाइमा आर्टप्रतिको लगाव बढ्दै गयो । तिनले मेरो सिर्जना कर्मलाई उत्प्रेरणा दिन थाले । अध्ययन गर्दै र सिक्दै जाने क्रममा ममा आर्टिस्ट बन्ने सपनाले मूर्त रुप लिँदै गयो ।
त्रिचन्द्रमा पढाइ चलिरहेको थियो । त्यो बेला जसरी हुन्छ, छात्रवृत्ति पाएर विदेश पढ्न जाऊँ भन्ने चलन बढ्तै थियो । त्यही समय नेपालस्थित भारतीय दूतावासले छात्रवृत्तिसहितको आर्ट विषय अध्ययनका लागि सूचना निकाल्यो, सन् १९६२ मा । छात्रवृत्तिमा बम्बईको जेजे स्कुल अफ आर्टमा छात्रवृत्ति अध्ययन गर्ने अवसर जुटेसँगै मेरा सिर्जनाले फस्टाउने मौका पाएका हुन् ।
शाह वरिष्ठ चित्रकार हुन् ।
प्रस्तुति : गोकुल अर्याल