गोल्डमेडलिस्टलाई विदेशीको बात
उत्तम नेपालीहरु बनारस हिन्दु युनिभर्सिटी गए भने हामी बम्बईको जेजे स्कुल अफ आर्ट कलेजमा छात्रवृत्तिमा अध्ययनका लागि छानियौँ ।
भारतीय दूतावासले नेपालमा आर्ट अध्ययनका लागि भारतका तीन कलेजमा ठूलो संख्यामा छात्रवृत्तिको सूचना निकाल्यो, सन् १९६० मा । ठाकुर मैनाली, शशिकला तिवारीहरु गुजरात बडौदास्थित महाराज सयाजीराव गायकवाड विश्वविद्यालय गए । उत्तम नेपालीहरु बनारस हिन्दु युनिभर्सिटी गए भने हामी बम्बईको जेजे स्कुल अफ आर्ट कलेजमा छात्रवृत्तिमा अध्ययनका लागि छानियौँ ।
खासमा म आर्ट अध्ययनका लागि चीन जान इच्छुक थिएँ । तर चीनमा राममान तृषित छानिए । आर्ट विषय पढ्न चीन गएका उनी पछि डाक्टरी पढेर फर्किए । जेजे स्कुलमा विश्वभरका विद्यार्थी आर्ट अध्ययनका लागि आउँथे । विशेषगरी अफ्रिकाबाट धेरै र अरबबाट एक–दुई जना थिए, हाम्रो ब्याचमा । पहिलो ब्याचमा ६० जनाजति विद्यार्थी थियौँ । अन्तिम वर्षसम्म पुग्दा दुई–चार जना घट्थे । जेजे स्कुलमा प्रभाववाद र अतियथार्थवाद विषयमा आर्ट अध्ययन गरेको हुँ । चित्रकला, मूर्तिकलामा परम्परालाई भत्काएर पश्चिमा ढंगबाट पढाइ हुन्थ्यो । आर्टलाई आधुनिक स्वरुपमा ढाल्ने विधि सिकाइन्थ्यो, जसलाई ट्रेडिसनल ब्रेक भनिन्थ्यो ।
त्यतिबेला चन्द्रमान मास्के नेपालको छात्रवृत्ति छनोट समितिका प्रमुख थिए । चन्द्रमान ठूला आर्टिस्ट मात्र नभएर उनीसँग पुरातत्त्व विभागमा डाइरेक्टर र पाटन तथा भक्तपुरको मजिस्ट्रेट भएर काम गरेको विज्ञता थियो । श्रवण समस्याका कारण जेजे स्कुलमा छात्रवृत्तिमा छनोट हुन सकेको थिइनँ । पिताजी चूडाविक्रम शाह राजदरबारमा जागिरे थिए । भारतीयले कान नसुन्नेलाई छात्रवृत्ति दिन नसकिने अड्डी लिए । त्यसपछि पिताजीले राजा महेन्द्रसँग मेरो छोरा छानिएन, पठाइदिनुपर्यो भनेर जोडबल गरे । राजाले मास्केलाई दरबारमै बोलाएर कला पढ्न किन कान चाहियो, हेयरिङगेट लगाएर पढ्छ, यसैलाई पठाऊ भनेर निर्देशन दिएपछि मात्र म छात्रवृत्ति अध्ययनका लागि छनोटमा परेको हुँ ।
टाटा समूहले सञ्चालन गरेको जेजे स्कुल अफ आर्ट विश्वप्रसिद्ध विश्वविद्यालय थियो । विश्वविद्यालयमा करिब १२ जति संकाय थिए । डिप्लोमा इन फाइन आर्ट पढ्ने नेपाली विद्यार्थीमा मसहित कालिदास, केशव दुवाडी, लक्ष्मण श्रेष्ठ, उर्मिला उपाध्याय, कृष्णप्रसाद श्रेष्ठ, पूर्ण खड्का, कृष्ण मानन्धर, इन्द्र प्रधान, वत्सगोपाल वैद्य, राज मानन्धर, सुधा मानन्धर, मदन चित्रकार थियौँ । मदन चित्रकारचाहिँ कमर्सियल आर्ट अध्ययनका लागि छानिएका थिए ।
बम्बईमा प्रकाशित हुने टाइम्स अफ इन्डियाका सम्पादकहरु हाम्रो कलेजमा आएर आर्ट विषयबारे जानकारी लिन्थे । तिनैले उत्कृष्ट विद्यार्थी छान्थे र रोजगारीसमेत दिन्थे । त्यतिबेला टाइम्स अफ इन्डियाले धर्मयुग पनि प्रकाशित गथ्र्यो । सोही हिन्दी साप्ताहिकमा पार्ट टाइम जागिर खाने अवसर पाइयो । त्यहाँ काम गर्दा कलेजमै अध्ययनरत थिएँ । धर्मयुग धेरै वर्ष चलेर पछि बन्द भयो ।
करिब ६ वर्षे डिप्लोमा इन फाइन आर्टमा गोल्डमेडलिस्ट भएँ । त्यसपछि कलेजले १ वर्ष पढाउने अवसर दिँदो रहेछ । तर विदेशीलाई कलेजमा अध्यापन गराउन दिने नियम रहेनछ । त्यसैले दोस्रो भएका श्रीराम बोहरीले अध्यापन गर्ने अवसर पाए । मचाहिँ विदेशी भएकैले पढाउन वञ्चित हुनुपर्यो ।
जेजे स्कुलमा पढेकैले हुनुपर्छ, नेपाल आएपछि पनि मलाई चित्र बनाउने अवसर जुटिरह्यो । बम्बईबाट आएका आर्टसम्बन्धी काम नेपालमै बसेर गरियो । त्यसको पारिश्रमिक पनि किस्ता–किस्ता गरेर आउँथ्यो ।
जेजे स्कुलको पढाइ पूरा गरेपछि काठमाडौँ फर्किएँ, सन् १९६९ मा । त्यतिबेला ललितकला क्याम्पसमा केशव दुवाडी हेडमास्टर थिए । उनकै आग्रहमा ललितकलामा जागिर खाने अवसर मिल्यो । पछि म आफैँ ललितकलाको प्रिन्सिपलसमेत भएँ ।
सन् १९६२–१९६८ सम्म भारतका तीन विश्वविद्यालयमा आर्ट अध्ययन गरेको विद्यार्थीको एउटा पुस्ता नै उत्पादन भयो । यसले नेपालमा कला क्षेत्रको विकासमा उल्लेख्य योगदान दिन सक्यो ।
शाह वरिष्ठ चित्रकार हुन् ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...