थ्री म्यान शोमा देवानन्द
बलिउड नायक देवानन्द राजदरबारसँग पनि नजिक थिए । यिनलाई काठमाडौँ आएको समय खाना खुवाउनेसमेत गर्थ्याे, दरबारले ।

ललितकलामा आर्ट मास्टर भएकै बेला ४ भदौ ०२५ मा पहिलोपल्ट एकल चित्रकला प्रदर्शनी गरेँ । काठमाडौँ नक्सालको नाफा ग्यालरी सीता भवनमा ६ दिनसम्म चलेको उक्त प्रदर्शनी उद्घाटन तत्कालीन बडामहारानी रत्नराज्यलक्ष्मी शाहबाट भएको थियो । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानअन्तर्गत नेपाल ललितकला संस्था (नाफा) को भव्य भवन थियो, त्यसबेला । मैले रेखाचित्रलाई नै मूल विषयवस्तु बनाएको थिएँ ।
राजदरबारले कला क्षेत्रलाई विशेष महफ्व दिन्थ्यो । त्यतिबेला युवराज वीरेन्द्र नै नाफाका अध्यक्ष थिए । हामी सदस्य थियौँ । राजा वीरेन्द्रले आयोजना गर्ने प्रत्येक बैठकमा सहभागी हुन्थेँ । कला प्रदर्शनी अवलोकन गर्न राजदरबारका सदस्यसमेत बेलाबेला आउँथे । स्वदेशीभन्दा बढी विदेशी तथा राजदूतसमेत चित्रकला प्रदर्शनीमा चासो राख्थे । त्यो बेला नाफाको वार्षिक बजेट ४० हजार रुपैयाँजति हुन्थ्यो । तर सीमित बजेट भए पनि नेपालमै सबैभन्दा राम्रो पौवा बनाउने सिद्धिमुनि, तेजबहादुर, जोगमान शाक्यजस्ता दिग्गज कलाकारलाई फेलोसिप दिएर राखिएको थियो ।
कला प्रदर्शनी गर्न राजदरबारले नै समिति बनाइदिन्थ्यो । सदस्य पनि उसैले चुन्थ्यो । नेपालीको सहभागिता बढाउन त्यतिबेला राजदरबारले महिला संगठनलाई परिचालित गथ्र्यो । कविशिरोमणि लेखनाथ पौड्यालकी छोरी पुण्यप्रभा ढुंगाना महिला संगठनकी अध्यक्ष थिइन् । उनैले राजदरबारबाट बडामहारानी, युवराज, युवराज्ञी, नजिकका सबैलाई निम्तो बाँडेपछि कला अवलोकन तथा उद्घाटनमा मुख्य अतिथि भएर आउँथे । शंकर लामिछाने, ईश्वरवल्लभ, मदनमणि दीक्षितलगायतले प्रदर्शनी अवलोकन गरेका थिए ।
पहिलो कला प्रदर्शनीको २ वर्षपछि नाफा ग्यालरीमै थ्री म्यान शो नाम दिएर तीन जनाको संयुक्त कला प्रदर्शनी गरियो, ०२७ मा । तीन जनामध्ये म, युवराज वीरेन्द्रका कला मास्टर विजय थापा र मनुजबाबु मिश्रका सिर्जना प्रदर्शनीमा राखेका थियौँ । प्रदर्शनीमा आ–आफ्नो मन परेका सिर्जना समावेश हुन्थे । यो वा त्यो भन्ने हुँदैनथ्यो । संयुक्त प्रदर्शनीमा मैलेचाहिँ रेखाचित्रलाई समावेश गरेको थिएँ । तीनै जनाको सिर्जना थिममा थिएन ।
युवराजका कला मास्टर थापा नाफामा कोषाध्यक्ष थिए । दरबारसँग यिनको हिमचिम बढ्तै थियो । बलिउड नायक देवानन्द राजदरबारसँग पनि नजिक थिए । यिनलाई काठमाडौँ आएको समय खाना खुवाउनेसमेत गथ्र्यो, दरबारले ।
त्यतिबेला हिन्दी चलचित्र हरे रामा हरे कृष्णाको सुटिङका लागि नायक देवानन्दसहितको टोली काठमाडौँ आएको थियो । काठमाडौँका विभिन्न स्थानमा फिल्मको सुटिङ चल्दै थियो । फिल्ममा नायक, लेखन, निर्माता र निर्देशन देवानन्दकै थियो । सुटिङ टोली काठमाडौँको सोल्टी होटलमा बसेको थियो ।
हामी तीनै जनाले देवानन्दबाट थ्री म्यान शो उद्घाटन गराउने सोच बनायौँ । त्यसको चाँजोपाँजो मिलाउने जिम्मा थापालाई नै दियौँ । थापाले पोट्रेट बनाउँथे । उनैले सोल्टी होटल पुगेर देवानन्दलाई मौखिक निम्तो दिए । र, नाफामै पुगेर संयुक्त कला प्रदर्शनी उद्घाटन गरे ।
संयुक्त कला प्रदर्शनी नायक देवानन्दसहित नायिका जिनत अमान, मुमताज, प्रेम चोपडा, राजेन्द्रनाथलगायतले अवलोकन गरेका थिए । प्रदर्शनी उद्घाटन र अवलोकन गरे पनि देवानन्दसहित आएको टोलीले हाम्रा कुनै सिर्जना खरिद गरेन । यो के सिर्जना हो भनेर सोधेथे, देवानन्दले । तीनै जनाको सिर्जनाबारे जानकारी मात्र लिएर फर्किए ।
प्रदर्शनी १० दिनसम्म चलायौँ । तर देवानन्दलाई मुख्य अतिथि बनाएको भन्दै ठूलै विरोध भयो । वरिष्ठ कलाकार भएर पनि देवानन्दलाई उद्घाटन गराएको भन्दै रमेश विकलले हाम्रो उछित्तो काडे । पहिलो थ्री म्यान शो उद्घाटन गरेपछि नेपालमा सुटिङ सिध्याएर देवानन्द बम्बई फर्किए । वीरेन्द्रको राज्याभिषेकमा देवानन्दलाई भीआईपीका रुपमा दरबारले निम्तो गरेको थियो । देवानन्द बेलाबेला काठमाडौँ आउजाउ गरे पनि मसँग भेट भएन । हाम्रो त लाइनै अर्कै ।
प्रस्तुति : गोकुल अर्याल