यसरी जन्मियो स्किब
सामूहिक कलाको विस्तारका लागि स्किब समूह खोलियो, सन् १९७१ मा ।

बम्बईमा कला पढेका थुप्रै साथीहरू थियौँ तर कला संगठन थिएन । व्यक्तिगत रुपमा खर्च जोहो गर्न सकिने अवस्था पनि थिएन । एकल कला प्रदर्शनीको लागत पनि महँगो हुने, निम्तो कार्ड छाप्नुपर्ने, क्याटलग बनाउनुपर्ने, हल बुकिङ गर्नुपर्ने । त्यसैले संगठन निर्माण गरेर सामूहिक रुपमै कला क्षेत्रलाई उँभो लैजाने सम्भावना देख्यौँ । यसो गर्दा खर्च कम लाग्ने, प्रचारप्रसार पनि गर्न सहज हुने ।
सामूहिक कलाको विस्तारका लागि स्किब समूह खोलियो, सन् १९७१ मा । वत्सगोपाल वैद्यजीको घरमा लामो बैठक बस्यौँ । शशि शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्यकै नामको पहिलो अक्षरबाट समूह बन्यो । नारायणबहादुर सिंह र लैनसिंह बाङ्देल त्यसका सल्लाहकार थिए ।
हुन त हामीले संस्था खोल्नुअघि नेपालमा आर्ट क्षेत्रमा क्रियाशील ग्रुप हुँदै नभएका होइनन् । सत्यमोहन जोशी, चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकारलगायत समूह कला क्षेत्रमा क्रियाशील थियो । पाटनमा सत्यमोहनले धेरै पटक कला प्रदर्शन गरे । राजा त्रिभुवनलाई समेत बोलाएर उद्घाटन गराउँथे । तर तिनको गतिविधि क्षणिक मात्र हुन्थ्यो ।
चन्द्रबहादुर मानन्धर, चन्द्रमान मास्के, जीवरत्न श्रेष्ठ, कालिदास श्रेष्ठजस्ता आर्टिस्टको पनि स्क्वायर ग्रुप थियो । तर त्यो ग्रुप निरन्तर रहन सकेन । एक–दुई वर्ष चलेर पछि बन्द भयो ।
योङ आर्टिस्ट ग्रुप र यस्तै अन्य समूह जन्मिए तर दिगो भएनन् । सन् १९७२ को योङ आर्टिस्ट ग्रुपमा पुष्परत्न शाक्य अध्यक्ष, बैकुण्ठमान श्रेष्ठ सचिव, सल्लाहकारमा राष्ट्रिय स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष पदम ठकुराठी थिए । उनले कैयौँपल्ट काठमाडौँ टुँडिखेलमा कला प्रदर्शनी गरेका थिए । स्किब स्थापनापछि पनि थुप्रै आर्टिस्ट समूह जन्मे । स्किब स्थापनाको मुख्य उद्देश्य कला क्षेत्रलाई व्यवस्थित गरेर नेपाल र बाहिरी संसार चिनाउनु थियो ।
स्किब सदस्यको प्रदर्शनीमा आ–आफ्ना छन्दको आधुनिक चित्र समावेश हुन्थे । मेरा चित्रमा विशेषगरी घोडा, वत्सगोपालको गणेश, इन्द्र प्रधानको मोडर्न आर्ट र कृष्ण मानन्धरको हरियो जंगलका परिवेश समेटिन्थे ।
हाम्रो समूहमा सबैभन्दा क्रियाशील थिए, इन्द्र प्रधान । बूढानीलकण्ठ स्कुलका कला मास्टर प्रधान युवराज दीपेन्द्रलाई कला पढाउँथे । नेपालभर कलाका विद्यार्थी छनोट जिम्मा उनैले पाएका थिए । रानी ऐश्वर्यले समेत युवराज दीपेन्द्रले नपढे कान निमोठ्न अह्राएको प्रसंग प्रधान हामीलाई सुनाउँथे ।
सन् १९९५ मा प्रधानको निधन भएपछि स्किब पहिलेजस्तो क्रियाशील हुन सकेन । यसका सदस्यको नियमित प्रदर्शनी रोकिन पुग्यो । स्किबमा आबद्ध सदस्यले ३० वर्षसम्म निरन्तर सामूहिक कला प्रदर्शन गर्न सके ।
स्किबमा आफ्नैपन, आत्मा र रंग बोलून् भन्ने हाम्रो ध्येय थियो । समूहका सदस्यबीच मतमतान्तर भने कहिल्यै भएन । अध्ययनताका नै महाराष्ट्रमा रामकुमार, रजा र सुजा आदि ग्रुपले कला क्षेत्रमा हासिल गरेको उपलब्धि देखेका थियौँ । उनीहरुको प्रेरणाले नै हाम्रो संस्था जन्मिएको हो । स्किबले समूहगत रुपमा काम गरेकैले नेपालको कला क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा पुग्न सकेजस्तो लाग्छ ।
हामीले धेरै पटक राजधानी काठमाडौँसहित पोखरा, विराटनगरलगायत प्रमुख सहरमा सामूहिक कला प्रदर्शनी गर्यौँ । दार्जिलिङसम्म पनि स्किबले आफ्नो उपस्थिति जनायो । उबेला सरकारले कला क्षेत्रलाई प्रमुखता दिएको थियो । कुनै बेला त स्किबको प्रदर्शनी भनेपछि ठूलै चाडजस्तो हुन्थ्यो । दरबारबाट राजारानीले समेत केही दिन प्रदर्शनी ढिला भए सोधखोज गर्थे । गोरखापत्रले त आर्टिस्टबारेका समाचारलाई प्राथमिकता दिएरै छाप्थ्यो ।
गोरखापत्रका सम्पादक नारायणबहादुर सिंह कलापारखी थिए । उनैले नेपाल प्रज्ञाप्रतिष्ठानबाट समसामयिक नेपाली चित्रकलाको इतिहास प्रथम संस्करण प्रकाशन गरेका थिए, ०३३ मा । यो किताबमा त्यतिबेलाका नेपाली आर्टिस्टहरुको जीवनी छापिएको छ । यसैलाई नेपालको कला क्षेत्रको महत्वपूण आधार मानिन्छ ।
स्किबकै कारण नेपालको आधुनिक कला विस्तारले फड्को मार्यो । हामी तीन सदस्यलाई पनि बुढ्यौलीले छोयो । शारीरिक अस्वस्थताका कारण सामूहिक कला प्रदर्शन गर्न सकिने अवस्था रहेन । तर प्रायोजक फेला पर्दा भने स्किबका कला प्रदर्शनीलाई निरन्तरता दिइरहेकै छौँ ।