मस्कोमा नेपाली कलाको प्रचार
तत्कालीन सोभियत संघको निम्तोमा मस्को पुगेको ८ कलाकारको टोलीले तीन महिनासम्म स्टेट म्युजियम अफ ओरियन्टल आर्टमा कला प्रदर्शनी गर्यो, सन् १९७६ को १८ जुलाईदेखि सेप्टेम्बरसम्म ।

तत्कालीन सोभियत संघको निम्तोमा मस्को पुगेको ८ कलाकारको टोलीले तीन महिनासम्म स्टेट म्युजियम अफ ओरियन्टल आर्टमा कला प्रदर्शनी गर्यो, सन् १९७६ को १८ जुलाईदेखि सेप्टेम्बरसम्म । नेपाल–सोभियत संघ दौत्य सम्बन्धको बीसौँ वर्ष अवसर पारेर नेपाली कलाकारलाई मस्कोमा कला प्रदर्शनी गर्ने अवसर मिलेको थियो । मस्कोमा हाम्रा सिर्जना त भइहाले, अन्य नेपाली कलाकर्मीका सिर्जनासमेत लगेका थियौँ ।
‘रसिया एक्जिबिसन’ नाम दिइएको प्रदर्शनीमा विजय थापा, उत्तम नेपाली, शंकरराज जोशी, अमर चित्रकार, मणिरत्न शाक्य, मनुजबाबु मिश्र, चन्द्रमान डंगोल र म थियौँ । मिश्र, डंगोल, नेपालीलगायतको टोली मभन्दा एक–डेढ महिनाअघि नै मस्को पुगिसकेको थियो, कला प्रदर्शनीकै लागि । नाफाका संरक्षकसमेत रहेका राजा वीरेन्द्रकै पहलमा मलाई मस्को जाने अवसर मिलेको थियो ।
रसिया एक्जिबिसनमा हामीले मोर्डन आर्ट मात्र नभई परम्परागत चित्र लगेका थियौँ । प्रदर्शनीमा आठ वटा दाँत भएकी भगवती, बुद्धिष्ट आइकोनीग्राफी, मञ्जुश्रीलगायत ४० भन्दा बढी कलाकृति थिए । अमर चित्रकारले युरोपेली सांस्कृतिक सभ्यता झल्काउने र राजारानीका चित्र राखेका थिए । विजय थापाले क्याटेस्ट्रोफी खरानी रङको सूर्य खण्डहर भएको मान्छेको छायाचित्र समावेश गरेका थिए । शान्ति विषयक प्यागोडा शैलीको बुद्ध, फूल फुलेको रुख, ढुकुर, साधारण मुद्राअंकित प्रेमीहरुको चित्रले मन्त्रमुग्ध भएका कला शंकरराज सिंहको थियो । मणिरत्न शाक्यको धुम्बाराही देवीको चित्र थियो । प्राकृतिक रङमा प्राचीन मिथक समावेश गरिएका चित्र मेरा थिए ।
मस्कोमा हामीले विश्वप्रसिद्ध लेनिनगार्ड, बाकुल म्युजियम भ्रमण गर्यौँ । लेनिनगार्ड म्युजियम अहिले पनि संसार प्रसिद्ध छ । संसारकै सबैभन्दा ठूलो म्युजियम पेरिसको लुभ्र हो भने मस्कोको हर्मिताजलाई दोस्रो मानिन्छ । मस्को प्रदर्शनपछि त्यसबाट प्रभावित भएर मनुजबाबु मिश्रले आफ्नो कुटीलाई हर्मिताज नामकरण गरेका हुन् ।
हर्मिताज म्युजियममा नेपाली कलाकार टोलीले रेम्ब्रान्डलगायत विश्वविख्यात कलाकारको सिर्जना नजिकबाट अवलोकन गर्ने मौका पायौँ । नेपाली टोलीको सम्पूर्ण खर्च सोभियत संघ सरकारले बेहोरेको थियो । त्यहाँ बस्दा हामीलाई २४ सै घन्टा एक जना गाइडसमेत उपलब्ध गराइएको थियो । उनले मस्कोमा रसियन कलाकारको घर, स्टुडियो र विभिन्न स्थानका म्युजियम घुमाए ।
प्रदर्शनीकै बेला हर्मिताज म्युजियमको इन्डियन सेक्सनमा संस्कृतका विद्वान् राहुल सांस्कृत्यायनको मूर्ति बनाउने अवसर नेपाली कलाकार रत्नकाजी शाक्यलाई मिलेको थियो । सोभियत संघका लागि तत्कालीन भारतीय राजदूत भगवान सहायले यस्तो अवसर जुटाइदिएका थिए । राहुलको मूर्ति बनाएपछि शाक्यको कलाले विश्वभर चर्चा पायो । भारतीय राजदूतले शाक्यलाई बिनाखर्च भारतभरका विभिन्न म्युजियम घुम्ने अवसरसमेत दिलाइदिए ।
दाजु गोवद्र्धनविक्रम शाह उबेला मस्कोस्थित नेपाली दूतावासमा फस्ट सेक्रेटरी थिए । मलाई उनको पनि भरथेग रह्यो । प्रदर्शनी करिब ३ महिना चल्यो । मस्कोमा कला प्रदर्शनी गर्न गएका नेपाली कलाकारका सिर्जना सोभियत सरकारले विभिन्न म्युजियममा राखिदियो ।
सोभियत संघका कलाकार पनि नेपाल आए । त्यतिबेला विख्यात कला सर्जक मिस्टर बटले पोर्टेट तथा सूर्यविक्रम ज्ञवालीको मूर्तिचित्रसमेत बनाएका थिए । उनीसँग हामीले पनि सिक्ने अवसर पायौँ । मस्कोबाट फर्केर आएपछि त्यहाँको कला प्रदर्शनीबारे राजा वीरेन्द्रले के–कसो भयो भनेर सोधपुछ गरे, हामीसँग ।
सोभियत संघमा कलाको विकास उबेलै भएको थियो । नेपालमा जस्तो कला प्रदर्शनीका लागि पैसावालको ढोका चहार्नुपर्ने बाध्यता त्यहाँ रहेनछ । सोभियत कलाकारका पोर्टेट, मूर्तिचित्र, रेखाचित्र राज्यले नै खरिद गरेर त्यहाँका म्युजियममा प्रदर्शनी र बिक्री गरिदिँदो रहेछ ।
नेपाली कलाकारको प्रदर्शनीलाई मस्कोबाट निस्कने सोभियत संघको मातृभाषा इस्ट स्लाभिक र अंग्रेजी पत्रिकाहरुले कभरेज गरे, कैयौँपल्ट । मस्को न्युजले त ‘नेपाल कलर’ शीर्षक दिएर प्रदर्शनी अवधिभर नेपाली कलाकार र कला सिर्जनाबारे पहिलो पृष्ठमै समाचार प्रकाशित गरेको थियो ।
नेपालको कला प्रदर्शनी अवलोकनका लागि कुनै दिन त स्टेट म्युजियममा भीडै लाग्थ्यो । सोभियत संघको छात्रवृत्तिमा मस्कोको पेट्रिक लुमुम्बा युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीसमेत हाम्रो प्रदर्शनीमा आए । हाम्रो कला प्रदर्शनीलाई सोभियत संघका लागि तत्कालीन नेपाली राजदूत जगदीशशमशेर जबराले व्यवस्थापन गरे । सोभियत संघ टुक्रिएसँगै नेपाली कलाकारको प्रदर्शनीले निरन्तरता पाउन सकेन ।
प्रस्तुति : गोकुल अर्याल