मिथिलाकी बागी
जनकपुरका महिलाका लागि समाजमा घुलमिल भएर काम गर्नु त परै जाओस्, घरबाट निस्कन पनि परिवारको स्वीकृति लिनुपर्ने बाध्यता थियो।

घरको माटोका भित्तामा विभिन्न कला बनाउनु मिथिला संस्कृति नै हो, त्यसैलाई कुशलताका साथ पूरा गररिहेकी थिइन्, मञ्जुलाले पनि। त्यतिबेला अस्ट्रेलियन नागरकि क्लेयर बर्कट घुम्दै फिर्दै जनकपुर पुगिछन्। गाउँ घुम्दै गर्दा उनका नजर मञ्जुलाले बनाएका कलामा अडिए। अद्भुत कलाका सर्जकका बारेमा जान्ने उत्सुकता जाग्यो, बर्कटमा। सोधखोज गरनि्। थाहा पाइन्, सबै कला मञ्जुलाले बनाएकी हुन्।
लुकेर बसेको मिथिला कलालाई सतहमा ल्याउने जमर्को गरनि् बर्कटले। त्यसका लागि मञ्जुलालाई चितवनमा तालिमको बन्दोबस्त गरनि्। घरभित्रसमेत घुम्टोमा बस्नुपर्ने महिला चितवन जानु कसरी ? तर, पुरानो जमानाको मान्छे भए पनि ससुरा गजबको पाएकी रहिछन् मञ्जुलाले। ससुराले नै जान हौस्याए। चितवनबाट फर्केपछि भने उनले नसोचेको घटना बेहोर्नुपर्यो। कुरा के रहेछ भने उनले चितवनमा पहिलोपटक हात्ती चढेकी रहिछन्। त्यही कुरा उनको पतिलाई मन परेनछ। भन्छिन्, "अहिलेसम्म मैले हात्ती चढेको छैन, तैँले किन चढिस् ? मभन्दा ठूलो भइस् भन्दै कुटे।"
उनकै नेतृत्वमा ०४६ सालतिरबाट मिथिलाका महिलालाई स्वावलम्बी बनाउने अभियान सुरु भयो। जनकपुर महिला विकास केन्द्र स्थापना भयो, मञ्जुलाकै अध्यक्षतामा। मिथिलाका महिलामा निहित कलालाई मूर्त रूप दिएर त्यसलाई देश-विदेशसम्म फैलाउन थालियो। तर, काम कम चुनौतीपूर्ण थिएन। त्यसका लागि महिलालाई घरघरबाट निस्कने वातावरण तयार पार्नुपथ्र्यो। तिनका परिवारलाई सम्झाउनुपथ्र्यो। अझ त्यसमाथि माइतकी आफ्नै आमा र घरमा पति बाधक बने।
रंग किन्न जाँदासमेत पतिले बेलाबेला कुटेको सम्झिन्छिन् मञ्जुला। कतिसम्म भने सात वर्षसम्म त आफ्नै आमाले समेत बोलीचाली बन्द गरछिन्, इज्जत फाल्दै हिँडी भनेर। गाउँका छोरीचेली बिगार्न लागी भनेर समाजले औँला उठाएकै थियो।
दिन एकैनासका रहेनन्। जनकपुरका महिलाका कामले देश-विदेशमा ख्याति कमाउन थाल्यो। मिथिला कला ब्रान्डका रूपमा स्थापित हुन थाल्यो। सधैँजसो घरभित्र घुम्टोमा लुकेर बस्ने महिलाले पनि आर्थिक उपार्जन गर्न थाले। सकारात्मक प्रभाव परिवारमा मात्र होइन, शिक्षा, स्वास्थ्य, सरसफाइलगायत सामाजिक पक्षमा समेत देखिन थाले। अब त घरपरिवार आफैँले महिलालाई केन्द्रमा पठाउन थाले, तालिमका लागि। अहिलेसम्म केन्द्रबाट सयौँ महिलाले हस्तकलाका तालिम लिएका छन्, समाजमा खुलेर बोल्न सक्ने भएका छन्। बिहान १० बजे महिलाहरू केन्द्र आइपुग्छन्, बेलुकी ५ बजेसम्म रंग र कुचीहरूसँग खेल्छन्, मासिक ६ हजार रुपियाँसम्म कमाउँछन्। कतिले भने तालिमपश्चात् स्वतन्त्र रूपमा मिथिला कलाको काम गररिहेका छन्।
अहिले त तालिम केन्द्रलाई अस्ट्रेलिया, जापान, डेनमार्कलगायत मुलुकको आर्थिक एवं प्राविधिक सहयोग छ। धनुषा जिल्ला घुम्न आउने जोसुकै देशी-विदेशी पर्यटक जनकपुरको कुवा गाउँमा रहेको केन्द्रमा पुगेकै हुन्छन्। पछिल्लो समय आधुनिक घर बनाउने प्रतिस्पर्धाका कारण घरघरमा मिथिला कला पातलिँदै गएको छ। तर, त्यही कलालाई केन्द्रले आफ्ना हस्तकलाका सामग्रीहरूमा जीवन्त राखिरहेको छ। हस्तकलाका सामग्रीको माग विदेशमा निकै छ।
मञ्जुला आफैँ पनि दुईपटक अमेरिका र एकपटक स्पेन पुगिसकिन्। आफू मात्र होइन, पतिलाई पनि सँगसँगै विदेश घुमाइन्। आफ्नै कमाइले खेत जोडेकी छन्। खेतको अन्नले वर्षभरि खान पुग्छ। अहिले त पति पनि मञ्जुलाको ख्यातिबाट फुरुंग छन्। बेलाबेला भलाकुसारी हुँदा मञ्जुला त्यतिबेला मलाई किन कुट्नुभयो भन्दै सोध्दी रहिछन्। पति भन्दा रहेछन्, 'खोइ, यस्ती देवीलाई मैले किन त्यसो गरेँ ? म लज्जित छु।'