पुराना पुस्तकको निजी पुस्तकालय
धुम्बाराहीस्थित दिनेशराज पन्त, ६५, को निवासमा पुग्ने हो भने थरीथरीका पुराना पुस्तक देख्न सकिन्छ।

पुरानो घरसँगै अर्को ठूलो चारतले घर छ, भर्खरै बनेको। नयाँ घरका दुई तला पनि किताबले भरिएका छन्। घरको बाँकी भागमा भाडावाल बस्छन्। भाडाबाट प्राप्त हुने पैसा पन्तले किताब किन्न र ती किताब राख्ने दराज बनाउन खर्चन्छन्। त्यसैले त ३० वटा दराजभरि किताब अटाइनअटाइ छन्। नअटेका चाहिँ भुइँमा असरल्ल छन्।
खासमा नयाँ घर बनाउनु, यसको स्याहार गर्नु सजिलो काम होइन भन्ने पन्तलाई थाहा नभएको पनि होइन। तर, त्यति धेरै किताब जतनसाथ राख्न उनलाई नयाँ घरै चाहियो। अझै दुई तलामा पनि किताब अटेका छैनन्। त्यही भएर उनको सुत्ने खाटको आधाआधीमा पनि किताबै किताब छन्। बैठक कोठामा पनि बग्रेल्ती किताब छन्। किताबी कीरो पन्तले आफूकहाँ भएका सबै पुस्तक एकपटकचाहिँ सरसर्ती भए पनि पढेर भ्याइसकेका छन्।
३० वटामध्ये एउटा दराज खोलेर पन्तले केही थान किताब हातमा लिए। तीमध्ये एउटा थोत्रो हस्तलिखित पुस्तक देखाउँदै पन्तले भने, "यो ज्योतिषसम्बन्धी पुस्तक अद्भुत दर्पण हो, नेपाल भाषामा लेखिएको।" नेपाल संवत् ९७१ अर्थात् झन्डै दुई सय वर्षअघि मुकुटानन्द बज्राचार्यले सारेका रहेछन्। यहाँ भएका मध्ये झन्डै एकचौथाइ किताब यस्तै प्रकृतिका छन्।
करबि १० वर्षअघि दाजुसँग छुट्टिँदा पन्त दाजुभाइले सम्पत्तिभन्दा पहिला किताबको बाँडफाँटमा कुरा मिलाए। पछि दाजुभाइको सल्लाह भयो, हस्तलिखित किताबजति सबै दाजु महेशले लिने र छापा किताब भने दिनेशले राख्ने। उनको पुस्तकालयमा बाबु नयराज पन्त, हजुरबुबा कृष्णदत्त पन्त र बाबुको मामाघरका बराजु लक्ष्मीपति पाण्डेबाट प्राप्त किताब छन्। आफूले संकलन गरेका त हुने भइहाले। त्यसमाथि यिनको खलक नै पढैया। मामाघरतिर पनि उस्तै पढालिखा। यिनका हजुरबा कृष्णदत्त रानीपोखरी पाठशालामा व्याकरण पढाउँथे र व्याकरण तथा तन्त्रका ज्ञाता थिए। पन्त भन्छन्, "त्यही भएर हजुरबाको पालामा संकलन भएका धेरैजसो किताब व्याकरण र तन्त्रका छन्। जस्तो ः पुरुषोत्तममास महात्म्य, कार्तिकमास महात्म्य आदि।" मामाघरका बाजे मूल पुरोहित जनकराज पाण्डेको घरबाट पनि उनले सयौँ किताब प्राप्त गरे। जर्मन सरकारको सहयोगमा सञ्चालित किताबको माइक्रोफिल्मिङ गर्ने परयिोजना अन्तर्गत जनकराजको घरका किताबहरू डिजिटलाइज भएपछि मूल किताब पन्तले नै पाए। जसमध्ये केही किताब नेपाल भाषामा लेखिएका छन् भने केही संस्कृत व्याकरण र धर्मग्रन्थसँग सम्बन्धित छन्।
पन्त निवासमा विसं १९४० पछिका सबै तिथिमितिसहितका पात्रोहरू छन्। त्यसभन्दा अघिको अर्थात् विसं १७४३ देखि विसं १९४० सम्मका हस्तलिखित पात्रोहरू भने उनका दाजुकहाँ छन्। "इतिहासको खोजी गर्ने बेला पुरानो तिथिमिति नभई हुँदैन," पन्त भन्छन्, "त्यसैका आधारमा ऐतिहासिक घटनाहरूको ठ्याक्कै तिथिमिति र घडीपलासमेत निकाल्छु।"
कति छन् त उनको पुस्तकालयमा किताब? उनी आफैँलाई थाहा छैन। भन्छन्, "कति छन् कति !" ३० दराजमध्ये १० दराज किताबचाहिँ उनी आफैँले संकलन गरेका हुन्, बाँकी भने कुलका विभिन्न सदस्यबाट प्राप्त गरेका हुन्। उनीसँग भएका अधिकांश किताबको विषयवस्तु मात्रै होइन, किताब पनि आफैँमा ऐतिहासिक छन्। विसं १९४७ मिति उल्लेख भएको एउटा पुरानो किताब निकाल्दा किताबभन्दा पहिले त्यसको धूलो कोठामा फैलियो। पन्तले बिस्तारै त्यसको पाता पल्टाए र भने, "यो मध्यकौमुदी व्याकरण विसं १९४७ को रै'छ।"
यिनै पुराना किताबको सहारा नलिईकन उनको अध्ययन र अनुसन्धानको काम सुरु हुँदैन। किनभने, उनका अधिकांश अध्ययन इतिहाससँग जोडिएका छन्। पृथ्वीनारायण शाहसँग सम्बन्धित पत्रहरूको संकलन, अनुवाद र व्याख्या गरेर किताब निकाल्ने काममा जुटेका पन्त हिजोआज रोजिन्दा आफ्नो पुस्तकालयको एउटा कुनामा घोत्लिरहेका भेटिन्छन्। यो काम उनले ०४४ सालतिरै सुरु गरेका हुन्। अहिलेसम्म त्यसैमा काम गररिहेका छन्। २३ वटा किताबका लेखक पन्तको भनाइ छ, "बीचका केही वर्ष अरू किताबको काममा लागियो, फेरि अढाई वर्षयता यही किताबकै काममा मग्न छु।"
निजी भए पनि उनको पुस्तकालयबाट चाहिएका किताब पाठकले लैजान सक्छन्। तर, त्यसका निम्ति फिर्ता गर्ने विश्वासचाहिँ दिलाउनैपर्छ। हिसाब गर्ने हो भने जम्माजम्मी डेढ सय किताब उनको पुस्तकालयबाट विभिन्न मान्छेले अध्ययन र अनुसन्धानका लागि भन्दै लगेका छन्। वाल्मीकि क्याम्पसका यी पूर्वप्राध्यापक अनुभव सुनाउँछन्, "तर, मेरो बुबाले हतपती कसैलाई किताब दिनुहुँदैनथ्यो। आफैँकहाँ बसेर पढ्न भने दिनुहुन्थ्यो।" उनीचाहिँ टेलिफोन नम्बर लिएर किताब दिन्छन्। धेरैजसोले फिर्ता गर्छन्, दुई-चार जनाले भने गरेनन्। भन्छन्, "त्यस्तासँग कसको के लाग्छ ?"