मिसन मूर्तिकला
परम्परागत मूर्तिकलामा चन्द्रश्याम डंगोल, ३६, को ज्ञान न त पुख्र्यौली हो, न कहीँबाट औपचारकि रूपमै लिएका हुन्।

एकपटक बाराको जंगलमा प्रतिष्ठापनका लागि तपस्वी रामबहादुर बमजनले १८ फिटको बुद्धको मूर्ति अर्डर दिएछन्। तर, काम साढे दुई महिनाभित्रै सिध्याउनुपर्ने। मूर्तिकारहरू उसै त व्यस्त मानिन्छन्, त्यसमाथि यति थोरै समयमा त्यति जटिल कामको जिम्मा कसले लिने ? अघि सरे चन्द्रश्याम। १०-१२ जना कालिगढ साथ लिएर दिनकै १२ घन्टाभन्दा बढी खटे उनी। नभन्दै तीन महिनामै त्यति ठूलो मूर्ति तयार भयो। 'तीन महिनामा सक्न गाह्रै छ' भन्दै सुरुमा खिसीटिउरी गर्नेहरू पनि हेरेको हेर्यै भए। उनको क्षमता बुझेरै होला, काठमाडौँको जलविनायकको मञ्जुश्री पार्कका लागि ३३ फिटको मञ्जुश्रीको मूर्ति बनाउने जिम्मा पनि उनैले पाएका छन्। काम कति संवेदनशील भने ढुंगा मात्र २५ देखि ३० लाखको लाग्ने रहेछ, मूर्तिका लागि। अबको दुई-तीन वर्षभित्र मूर्ति बनाइसक्ने उनको अठोट छ।
सबैभन्दा महत्त्वपूर्ण काम के भने उनी परम्परागत मूर्तिकलाका माध्यमले नेपाललाई चीनसँग जोड्न लागिपरेका छन्। चार वर्षभन्दा बढी समय उनले चीनका कलाप्रेमीमाझ नेपाली परम्परागत मूर्तिकलाका बारे बुझाउन खर्चिसकेका छन्। चीनकै सुजउ आर्ट एन्ड डिजाइन टेक्नोलोजी इन्स्टिच्युटमा एकल प्रदर्शनीसमेत गरसिकेका छन्। चन्द्रश्यामको खोकना स्टोन कार्भिङबाट मात्रै वाषिर्क ३० लाखजतिको मूर्तिकला चीन जाने रहेछ। उनकै भनाइमा चीनमा नेपाली परम्परागत मूर्तिकलाको माग धेरै छ। अझ अरनिकोसँगको सम्बन्धका कारण चिनियाँहरू नेपाली कलाकारलाई निकै सम्मानका साथ हेर्दा रहेछन्। चन्द्रश्याम सुनाउँछन्, "हामीलाई त अरनिकोले मूर्तिकला सिकाएका हुन्, तपाईंहरू त अरनिकोकै अवतार हो भन्दै सम्मान दर्साउँछन्।"
चीनमा नेपाली मूर्तिकलाको बजार विस्तारमा मात्र होइन, त्यहाँ नेपाली कलाकारलाई काम गर्ने वातावरण बनाउनसमेत उनी मिहिनेत गररिहेका छन्। जुन लक्ष्यका साथ उनले चिनियाँ कलाप्रेमीमाझ काम र सम्बन्ध विस्तार गररिहेका छन्, त्यसले अहिले गति लिएको छ। भन्छन्, "अबको पाँच वर्षभित्र दुई-तीन सय नेपाली कलाकार कम्तीमा पनि मासिक ५० देखि ७० हजार रुपियाँ कमाउने गरी चीनमा काम गररिहेका हुनेछन्।" उसो त उनी बेलाबेला चीनका कलाकारहरूलाई नेपाली परम्परागत मूर्तिकलाका विषयमा कक्षा पनि लिँदा रहेछन्। बेइजिङ युनिभर्सिटीमा पढाउन प्रस्तावसमेत आएको रहेछ उनलाई। भन्छन्, "समय मिलाउन सकिएको छैन, नेपाल र चीनलाई जोड्ने महत्त्वाकांक्षी योजनाले मूर्त रूप लिएपछि पढाउने विषयमा सोच्नेछु।"
परम्परागत मूर्तिकलालाई औपचारकि शिक्षाका रूपमा अहिलेसम्म स्थान नदिइएकाले पनि कला र कलाकार दुवै पिल्सिनुपरेको उनी ठान्छन्। मूर्तिकलाका स्नातकोत्तर चन्द्रश्याम पाठ्यक्रममा नेपाली परम्परागत कलाका विषयमा उल्लेख भए पनि पढाउने शिक्षक नै नभेटिने दुःखलाग्दो अवस्था रहेको सुनाउँछन्। लाजिम्पाटको सिर्जना कलेज अफ फाइन आट्र्सका शिक्षक चन्द्रश्याम स्नातकदेखि नै परम्परागत मूर्तिकलाका विषयमा पढाइनुपर्छ भनेर लागिपरेका छन्। तर, स्नातक प्रथम वर्ष र दोस्रो वर्षका पाठ्यक्रम बनाएर बुझाएको वर्षदिनभन्दा बढी भए पनि कक्षा सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले कुनै चासो नदेखाएको उनको गुनासो छ।
मूर्तिकलाबाट चन्द्रश्यामले पैसा त कमाएकै छन्, त्यसभन्दा बढी आत्मसन्तुष्टि पाएका छन्। मूर्तिकलाकै कमाइले काठमाडौँको भैँसेपाटीमा घर जोडेका छन्। खान-लगाउन र परविारको भविष्यको चिन्ता पनि छैन। तर, परम्परागत नेपाली मूर्तिकलाको भविष्यप्रति भने उनी निकै चिन्तित देखिन्छन्। भन्छन्, "लगनका साथ समय लगाएर अग्रजहरूबाट सिक्नेभन्दा पनि सतही काम गरेर छिटोछिटो पैसा कमाउने ध्याउन्न पछिल्लो पुस्तामा देखिन्छ। यस्तै अवस्था रहे यसको भविष्य कसरी सुनिश्चित होला ?"