कराँचीमा टिमुर व्याख्याता
पाकिस्तानको युनिभर्सिटी अफ कराँचीस्थित इन्टरनेसनल सेन्टर फर केमिकल एन्ड बायोलोजिकल साइन्सेजमा पुगेका पाल्पाली शोधकर्ता अच्युत अधिकारी, ३५, टिमुरको महत्त्वका बारेमा आफ्ना विद्यार्थीलाई सुनाइरहेका थिए ।

'स्ट्रक्चरल अग्र्यानिक केमेस्ट्री'मा युनिभर्सिटी अफ कराँचीबाट सन् २०१० मा पीएचडी गरेपछि पनि अच्युतको व्यावहारिक शोध रोकिएको रहेनछ । आफ्नो पढाइसम्बद्ध अवसर र कामका निम्ति उनी काठमाडौँ गए । त्रिभुवन विश्वविद्यालयदेखि विज्ञान प्रविधि प्रतिष्ठान -नास्ट)सम्म पुगेर उनले अवसर खोजी हेरे । कहीँकतै खुट्टो टेक्ने ठाउँ नपाएपछि कराँचीमै फर्किए ।
"युनिभर्सिटीको इन्टरनेसनल सेन्टर फर केमिकल एन्ड बायोलोजिकल साइन्सेजले काममा बोलाएपछि अहिले आफ्नो रुचिको शोध-अनुसन्धानमा लागेको छु," अधिकारीले सुनाए, "सरकारी तहको जागिरे हैसियतमा सहप्राध्यापकका रूपमा विभिन्न देशबाट आएका विद्यार्थीको शोधगुरु हुन पाएको छु ।" उनको झन्डै दुई वषर् को अनुसन्धानपछि पत्तो लागेको 'कम्पाउन्ड टेम्बुलिन'बारे अन्तर्राष्ट्रिय जर्नलमा सामग्री प्रकाशित भएर पुष्टि पाइसकेको छ ।
शोध प्रयोजनमा नेपालबाट ल्याएको टिमुरमा 'टेम्बुलिन' भेटिएपछि त्यसको प्रयोग मुसाको कलेजोमाथि गरिएको र यो अरू औषधी -एलोप्याथिक)भन्दा निकै प्रभावकारी बनेपछि अधिकारीको नाम-काम छाएको छ । "टिमुरमा कुनै टक्सिसिटी छैन, साइड-एफेक्ट छैन," उनी भन्छन्, "यसले डाइबिटिजलाई ठीक गर्ने र पे टको अल्सरलाई समेत ठीक पारेको सफल परीक्षण भएको छ ।" यसअघि अधिकारीले आफ्नो पीएचडी शोधका आधारमा पत्ता लगाएको कम्पाउन्डलाई 'अधिकारीमाइन' नाम दिइएको छ । भविष्यमा कुनै अन्तर्राष्ट्रिय कम्पनीले आफ्नो शोध अनुसार कालाज्वरको औषधी निकालेमा त्यसको नाम 'अधिकारीमाइन' रहनेछ ।
आन्तरिक युद्ध र द्वन्द्वका अनेक चरणमाझ गुजि्ररहेको पाकिस्तानी समाज बाहिरबाट हेर्दा निकम्मा देखिए पनि शोध-अनुसन्धान र शिक्षामा धेरै प्रभावकारी रहेको अधिकारीको बुझाइ छ । "आफ्नै आर्थिक वा राजनीतिक समस्यामाझ डुबिरहेको दक्षिण एसियाली मुलुकले कुनै नयाँ औषधी बनाउन वा उत्पादन गर्न सक्ने स्थिति रहँदैन," उनी भन्छन्, "तर, हाम्रा जडीबुटीमाथि वैज्ञानिक शोध गराएर अन्तर्राष्ट्रिय स्तरको औषधीय मान्यता दिलाउन भने सकिन्छ ।"
नेपालका गाउँघर र मधेस-पहाड सबैतिर सहजै पाइने जडीबुटी अहिले पनि सिन्कीको भाउमा बिक्री भइरहेको स्थिति छ । उनको अबको शोधसूचीमा लोठसल्ला, हलेदो र बेसार छन् । यो सेन्टरबाट ऐँसेलुको जरा, खयरको बोक्रा -ब्युटी-क्रिम) र फाल्सा -एउटा पाकिस्तानी फल) माथि रिसर्च भइरहेको रहेछ ।
'हाम्रा पिता-पुर्खाले आफूलाई परेका बेलामा झारपात र जडीबुटीका बलमा जीउज्यान जोगाउँदै आएका थिए," उनी भन्छन्, "त्यो पुरातन पद्धति साँच्चिकै विज्ञानसम्मत रहेछ । त्यही पुरानो कामकुरालाई वैज्ञानिक पुष्टि दिनमा हामी लागेका छौँ ।"
पाल्पाबाट स्कुले शिक्षा पूरा गरेर त्रिचन्द्र र कीर्तिपुर क्याम्पस हुँदै एमएससी गरेर कराँची पुगेका अधिकारीले नेपालमै अध्ययन-अनुसन्धानको मौका मिल्नासाथ घर र्फकन चाहेको बताए । "आफ्नै प्रकृतिजन्य सम्पदा पहिचानका लागि घर फर्केर केही गर्न मन लागेको छ तर कतै ठाउँ पाइँदैन," अधिकारीले दुखेसो पोखे, "घरभित्रै बसेर अध्यन-अनुसन्धान गर्ने स्थिति नभएरै जीवनकुमार प्रसाइर्ंजस्ता धेरै व्यावहारिक शोधकर्मी बाहिरिएका हुन् ।"
अधिकारीका अनुसार इन्टरनेसनल सेन्टर फर केमिकल एन्ड बायोलोजिकल साइन्सेजमा नेपाली विद्यार्थीका लागि अध्ययन-अनुसन्धानको राम्रो अवसर छ । ६ वा नौ महिनाको शोध-अनुसन्धानका लागि वर्षको पाँच जना नेपालीका लागि निःशुल्क कोटासमेत छुट्याइएको छ । यही कोटामा आउन अरू देशका शोधकर्ताले मासिक एक हजार डलर शुल्क बुझाउनुपर्ने भए पनि नेपालीबाट शुल्क लिइँदैन । "तैपनि, नेपाली शोधकर्तामा रुचि पाइएको छैन," अधिकारी भन्छन्, "यस्तो वैज्ञानिक शोधको परिणाम आउन दसौँ वर्ष लाग्न सक्छ । तैपनि, झिँजो लाग्ने यस्तो अनुसन्धान जगत्मा छिर्नैपर्छ ।"
देवेन्द्र भट्टराई/कराँची