पौरखी पूर्वलाहुरे
करिब १५ वर्ष कोरिया बसे छ्यामबहादुर । त्यस अवधिमा उनले पाँच वर्ष लगातार बंगुर फार्ममा काम गरे । फार्ममा तीन हजार बंगुर थिए । यहाँ भेडाबाख्राको बथान देखेका उनले बंगुर पनि एकैचोटि धेरै पाल्न सकिने रहेछ भन्ने थाहा पाए । आफ्नै देशमा गएर केही गरौं भन्ने भावना पलायो ।
.jpg&w=900&height=601)
चार वर्ष भारतीय सेनामा बिताएर घर बिदामा आएपछि स्याङ्जा, ओरस्टेका छ्यामबहादुर थापामगर पल्टनमा फर्किएनन् । ‘कोरिया क्रेज’ले उनी ०४८ सालमा दक्षिण कोरिया पुगे ।
करिब १५ वर्ष कोरिया बसे छ्यामबहादुर । त्यस अवधिमा उनले पाँच वर्ष लगातार बंगुर फार्ममा काम गरे । फार्ममा तीन हजार बंगुर थिए । यहाँ भेडाबाख्राको बथान देखेका उनले बंगुर पनि एकैचोटि धेरै पाल्न सकिने रहेछ भन्ने थाहा पाए । आफ्नै देशमा गएर केही गराँै भन्ने भावना पलायो ।
त्यसरी ठूला सपना बोकेर विदेश बस्ने युवाको अवस्था उनले के देखे भने रोजगारका लागि विदेश गयो । दु:खसुख गरेर पैसा कमायो । आधाआधी खान बस्नमै सकिन्छ । बचेखुचेको घर परिवारलाई पठायो । घर फर्कने बेलामा नयाँ सुटकेस डोरीले बाँधेर ल्यायो । दुई–चार दिन चुरीफुरी देखायो अनि त पुरानै दैनिकीमा ।
सुरुमा पैसा कमाउनमा तल्लीन उनले पछि भने बंगुरपालनको प्राविधिक पक्षसहित अन्य सीप पनि सिक्न थाले । तालिम पनि लिए । ०६२ मा नेपाल फर्केर पोखरा लाइभस्टक प्रालि बंगुर फार्मको नामबाट दुई पाठापाठी पालेर व्यवसाय सुरु गरे ।
छँदाखाँदाको भारतीय सेनाको जागिर छाडेको र लामो समय विदेश बसेर फर्केर आएपछि बंगुर फार्म खोल्दा उनलाई गाउँलेले सुरुमा दुखिया पेसामा लागेको भन्थे । परिवारजन र आफन्तबाट समेत कुनै सहयोग पाएनन् । तर, अहिले केहीलाई रोजगारी दिएर राम्रो आम्दानी गर्न थालेपछि सबैतिरबाट प्रशंसा मिल्न थालेको छ । भन्छन्, “विदेशमा काम मात्रै गरेर पैसा कमाउने हैन । केही सीप सिकेर यहाँ आएर व्यवसायमा लाग्नुपर्छ ।”
लेखनाथको रिठेपानीस्थित उनको फार्ममा १ सय ८० व्याउने माउसहित १ हजार ८ सय बंगुर छन् । १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । देश/विदेशबाट समेत फार्म हेर्न दैनिकजसो आउने गर्छन् । अहिलेसम्म तीन करोड लगानी भएको र अझै डेढ करोड थप्न सुरु भएको उनले बताए ।
१३ रोपनी क्षेत्रफलमा फार्म छ । २० रोपनी भाडाको जग्गामा तरकारी खेती पनि गरेका छन् । लेन्डरेस, योर्कसायर ड्युरोक र हेमसायर जातका बंगुर पालेका उनले तिनको संख्या दुई हजार पुर्याउने योजनामा छन् । फार्म नेपालकै ठूलो हो ।
पाठापाठी र मासुका लागि तयार बंगुर बेच्छन् । सबै बंगुर पोखरामै खपत हुन्छ । ‘खोरेतमुक्त नेपाल’ घोषणा गरेमा मासु निर्यात गर्न सकिने उनी बताउँछन् । सुनाउँछन्, “मासु गुणस्तर भए पनि प्याकेजिङमा समस्या छ । बाहिरबाट आउनेभन्दा सस्तोमा पनि मासु दिन सकिन्छ ।”
उनी बंगुरको दाना आफैँ बनाउँछन् र बेच्छन् । भर्खरै जन्मेका बच्चा र माउ, अलि हुर्केका पाठापाठी, ब्याउने माउ, भालेलाई अलग अलग खोरमा राखिएको छ । जन्मेलगत्तै आइरन, जुका, स्वाइनफ्लु, खोरेत र टेमवर्मजस्ता रोग तथा कीराविरुद्ध औषधोपचार गरी बंगुरलाई पूर्ण स्वस्थ बनाइन्छ ।
उनले केही समयअघि मात्रै १ लाख रुपियाँ राशिको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार पाए । पुरस्कारले आफूलाई थप इच्छाशक्ति जगाएको उनले बताए । भन्छन्, “किसानलाई कसले पो वास्ता गर्ला र भन्ने लाग्थ्यो । तर, वास्ता हुँदोरहेछ । पेसालाई निरन्तरता दिएर थप लगानी गर्ने हौसला मिलेको छ ।”
कास्कीमा साना–ठूला ५० जति बंगुरपालक किसान छन् । पोखरामा दैनिक १ हजार ५ सय किलो बंगुरको मासु खपत हुन्छ ।
हालसम्म गाईभैँसीमा मात्रै हुँदै आएको कृत्रिम गर्भाधान बंगुरमा पनि गर्ने योजना सुरु गरेका छन् उनले । यसका लागि ५० लाख रुपियाँ लगानी थपिनेछ । यसमा सामर्थ सिप्रेड नामक संस्थाले सहयोग गर्ने भएको छ । विदेशबाट सिमेन (वीर्य) ल्याएर उत्पादन बढाउने उनको योजना हो ।
यसै गरी, अत्याधुनिक वधशाला बनाउन निर्माणको काम थालिसकेका छन् । घनले हानेर र भाला रोपेर मारिएको बंगुरको मासु गुणस्तरीय नहुने भएकाले थाहै नपाई मार्ने योजना हो । यसका लागि चीन र नेपालबाट केही मेसिन ल्याइसकेका छन् । यसमा झन्डै एक करोड रुपियाँ लगानी थपिने उनले बताए । प्याकेजिङ गरी बजारमा पठाउने अनि आफ्नो फार्मलाई तालिम तथा अध्ययन केन्द्रका रूपमा विकास गर्ने उनको योजना छ ।
कास्की जिल्ला पशु सेवा कार्यालयका प्रमुख राकेश प्रजापतिले पूर्ण व्यावसायिक फार्म उदाहरणीय रहेको बताए । भन्छन्, “मिहिनेत र लगानी गर्न सके मुलुकभित्रै हुन्छ भन्ने यो एउटा गतिलो सन्देश यसले दिएको छ ।”
तस्बिर : लालप्रसाद शर्मा