जीवन्त जोडी
दृष्टिविहीनसँगको सफल दाम्पत्य जीवन
इलाम, बरबोटेकी कविता आचार्यले दृष्टिविहीनसँग भागी विवाह गरेको खबरले सिंगो गाउँ महिनौँसम्म अचम्ममा पर्यो । काठमाडौँ, मैतीदेवीकी कल्पना मुनिकारले दृष्टिविहीनसँग प्रेम गरेको कुरा पत्याउन पनि धेरैलाई लामै समय लाग्यो ।
दृष्टिविहीनसँगै घरबार गरेकी सिन्धुपाल्चोक, तिम्बूकी गीता भण्डारीलाई शुभेच्छुकहरूले झटारो हानिरहन्छन्, ‘तेरो जिन्दगी साँच्चै सुखले चल्या छ त ?’
भूगोलको फरक–फरक कुनामा जन्मे/हुर्केका यी तीन महिला पात्रको विशेषता के भने आँखा देख्ने भएर पनि दृष्टिविहीनसँग प्रेम गरे अनि परिवार र समाजको असहमतिका बाबजुद घरजम गर्ने हिम्मत गरे ।
यस्ता प्रतिनिधि उदाहरणले दृष्टिविहीनहरू पनि सक्षम छन् भन्ने मान्यतालाई बल पुर्याएको नेपाल नेत्रहीन संघका पूर्वअध्यक्ष नरबहादुर लिम्बूको विश्लेषण छ । वर्षौंदेखि दृष्टिविहीनको क्षेत्रमा काम गर्दै आएका लिम्बूको अनुभवमा महिलाले दृष्टिविहीन पुरुषसँग प्रेम र विवाह गर्ने गरे पनि दृष्टिविहीन महिलासँग पुरुषले बिहे गरेका उदाहरण भेटिँदैनन् । भेटिहाले पनि कि त त्यस्तो विवाह अनमेल किसिमको छ कि दोस्रो विवाह मात्रै छ । आखिर किन यस्तो हुन्छ त ?
“महिलाहरू प्रेमको मामिलामा भावुक हुन्छन् । अनि, दृष्टीविहीन महिलाले भन्दा पुरुषले धेरै अवसर पाएका हुन्छन्,” लिम्बू सुनाउँछन्, “जसका कारण महिलालाई दृष्टिविहीनसँग प्रेम र बिहे गर्न नहुने संकोच हटाइदिन्छ ।”
त्रिभुवन विश्व विद्यालयमा समाजशास्त्रका सहप्राध्यापक मृगेन्द्रबहादुर कार्की यस्ता प्रतिनिधि उदाहरणले महिलाको हिम्मतलाई उजागर गरेको बताउँछन् । महिला भनेको कन्यादान दिने हो भन्ने परम्परागत मान्यतालाई यस्ता प्रतिनिधि प्रयासले भत्काउने कोसिस गरेको उनको बुझाइ छ । भन्छन्, “दृष्टिविहीनसँगै जीवन विताउँछु भन्ने अठोट महिलाको हिम्मत त हो नै, प्रेमप्रति उनीहरूको अगाध समर्पण पनि हो ।”
फेसबुकबाटै घरबार
इलाम बरबोटेकी कविता आचार्य, २१, को फेसबुकमा एक दिन ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । ख्यालख्यालमै उनले अनुरोध स्वीकारिन् । त्यो अनुरोध थियो, काठमाडौँमा पढ्दै गरेका काँकडभिट्टाका विवेक भट्टराई, २५, को । ०७० को अन्तिमतिर साथी बनेपछि कविता र विवेक फेसबुकको च्याटरुममा छिरेर बिस्तारै घन्टौँ बिताउने भए ।
दुवैसँग च्याटबक्समा साट्ने सुख र उल्लासका कुराभन्दा दु:ख र संघर्षका कथा धेरै थिए । इलाम बजारमा रहेको क्याम्पसमा बिहानी सत्रको पढाइ भ्याउन झन्डै दुई घन्टाको उकालीओराली नगरी कवितालाई सुखै थिएन । पढाइ सकेर घर फर्के पनि उनलाई कामको उत्तिकै चटारो हुन्थ्यो । बाख्रा चराउने, स्याउलापात गर्ने र भातभान्साको सबै काम भ्याउने ।
कविताले नढाँटीकन आफ्ना दु:ख र संघर्षका सबै कुरा विवेकलाई सुनाइन् । विवेकले पनि आफ्नो पढाइ र जागिरका तीतामीठा पोको फुकाए । उनीहरूको कुराकानी च्याटबक्सबाट बाहिर निस्केर मोबाइल फोनसम्म पुग्यो । सम्बन्धले पालुवा हाल्नै लागेका बेला विवेकलाई लाग्यो, सबै कुरा कवितालाई भन्नैपर्छ । त्यो कुराकानीको दुई महिनापछि विवेकले कवितासँग भने, ‘तिमीलाई विश्वास नलाग्ला । म त अन्धो हुँ नि !’
सुरुमा त कवितालाई विश्वासै लागेन । के झूटो कुरा गर्या होला भन्ठानिन् । विश्वास लागोस् पनि कसरी ? नेत्रहीन हुँ भन्छ तर निरन्तर मोबाइलबाट एसएमएस र फोन गर्छ । फेसबुकमा च्याट गर्छ । तर, विवेकले त्यही कुरा दोहोर्याइरहे, ‘म नेत्रहीन नै हुँ । तिमीलाई पछि ढाँटेजस्तो नहोस् ।’
पछि विवेकले टकिङ सफ्टवेयरको सहायतामा फेसबुक र मोबाइल चलाएको बताएपछि कवितालाई विश्वास गर्न करै लाग्यो । मनमा हो कि होइन कि भन्ने लाग्दालाग्दै उनलाई विवेकको माया लाग्न थालिसकेको थियो । बिस्तारै उनले मन दह्रो पारिन्, देख्ने र नदेख्नेले के फरक पार्छ र ? आखिर ऊ सक्षम छ र मलाई माया पनि गर्छ ।
आफूले प्रेम गर्न खोजेकी केटी कस्ती छे ? उसको अनुहार कस्तो छ ? आँखा कस्ता छन् ? कपाल कस्तो छ ? सौन्दर्यका यावत् ब्यारोमिटर लगाएर विवेकले कहिल्यै कविताको परीक्षा लिएनन् । सुनाउँछन्, “उसका दु:ख र संघर्षबाटै मैले निक्र्यौल गरेँ, यत्तिको केटीसँग मेरो जिन्दगी चल्छ ।”
कविताको भने फरक अनुभूति रह्यो । हात–पाखुरा चल्ने सबल केटीले कोही नपाएर नेत्रहीनको पछि लागेको भन्ने आरोप खेप्नुपर्ला भन्ने चिन्ता उनले गरिनन् । पहिलोपटक आफूले मन पराएको मान्छे नेत्रहीन हो भन्दा पनि आफ्नाबारेमा नढाँटी सुनाएकामा चित्त बुझाइन् ।
खट्टाको अपांगता भएकी आफ्नी एक साथीलाई उनले सबै कुरा बताइन् । ती साथीले ढाडस दिँदै भनिछन्, ‘आँखाले के गर्छ ? मान्छे राम्रो भए भइहाल्यो नि !’ कविताको चित्त ठ्याक्कै बुझ्यो– मलाई माया गर्छ । पढेको छ । आफ्नै खुट्टामा उभिएको छ । माया गर्नेलाई धोका दिन हुँदैन । विवेकभन्दा कवितालाई आफ्नो जीवनसाथी आफँैले छान्नु सजिलो निर्णय थिएन । त्यसमाथि उनी कसैले नपत्याएको बाटो हिँड्दै थिइन् ।
उनीहरूबीच झन्डै दस महिना लामो प्रेम चल्यो । त्यसबीचमा विवेक एकपटक इलामबजार पुगेर कवितालाई भेटे । कविता कस्ती थिइन्, उनले देख्ने कुरै थिएन । तर, मनको आँखाले देखे, उनी आत्मविश्वासी र जस्तोसुकै संघर्ष गर्न पनि सक्ने खालकी लागिन् ।
आफूसँगै गएका साथीलाई विवेकले फोटो खिच्न लगाएर भने, ‘हाम्रो प्रेमको प्रमाण हुन्छ नि त !’ भेटेर फर्केपछि विवेकले आफ्नो साथीलाई सोधे, ‘मेरी प्रेमिका कस्ती छे ?’ साथीले सुनाइदिए, ‘तँभन्दा अलिक होची छे । बाटुलो राम्रो अनुहार छ ।’ विवेकको मन फुरुंग भइहाल्यो ।
पहिलोपल्ट आफ्नो दृष्टिविहीन प्रेमीलाई भेटेपछि कवितालाई झन् धेरै माया लागेर आयो । अरूले जेसुकै भनून्, म यही मानिससँग जिन्दगी बिताउँछु भन्ने अठोट गरिन् । पहिलो भेटको केही महिनापछि नै विवेकले कविताका बारेमा आफ्ना बाबुलाई सुनाए र उनैसँग बिहे गर्ने भनिदिए । विवेकका बा काँकडभिट्टाबाट छोराले मन पराएकी केटी भेट्न इलाम पुगे र चित्त बुझाएर फर्किए ।
उता, घरकाले आफ्नो रोजाइमा आपत्ति जनाउने भएपछि कविता भागेरै जाने निष्कर्षमा पुगिन् । विवेकले त्यसको चाँजोपाजो मिलाए र कवितालाई लिन आफ्ना घरका मान्छेलाई इलाम पठाए । त्यो दिन थियो, १३ मंसिर ०७१ । अघिल्लो रातीदेखि नै कविताको मन अशान्त भयो । कसरी लुसुक्क घरबाट भाग्न सकौँला भनेर रातभरि छटपटी भइरह्यो । कविताले सुनाइन्, “अघिल्लो दिन नै कपडा प्याक गरिसकेकी थिएँ । तर, राती त राम्ररी निदै्र परेन ।”
बिहानै क्याम्पस जान्छु भनेर हिँडेकी कविता साँझ विवेकको घर काँकडभिट्टा पुगिन् र फोन गरेर घरमा भन्दिइन्, ‘म आफैँले रोजेको जिन्दगीको बाटो हिँडेँ ।’ भागेर बिहे, त्यो पनि दृष्टिविहीनसँग । कविताको परिवारमा हलचल भयो । विवेक भन्छन्, “ससुराबाले अझै चित्त दुखाउनु भा’छ । त्यही भएर ससुराली जाने ढोका अझै खुल्या छैन ।”
बिहेपछि काठमाडौँ आएर विवेकले दाम्पत्य जीवनलाई अगाडि बढाए । सिइङ ह्यान्ड्स नामको मसाज सेन्टरमा काम गर्ने विवेकले कवितालाई पनि ब्युटी पार्लरको तालिम लिन पठाएका छन् । आफ्नो धेरथोर कमाइले जिन्दगी चलेकै छ । प्रेम र बिहेको संघर्षमा हिँड्दाहिँड्दै स्नातक पहिलो वर्षपछि बिथोलिएको पढाइ कविताले फेरि सुरु गरेकी छन् । विवेक भन्छन्, “मैलेभन्दा धेरै संघर्ष उनले गर्नु पर्या छ ।”
दृष्टिविहीनको जीवनको गति कस्तो हुन्छ ? कसरी हिँड्छन् र कसरी बुझ्छन्, कसरी व्यवहार गर्छन् र काम कसरी गर्छन् ? कविताले बिहेपछि सिक्दै गइन् । उनलाई सुरुसुरुमा विवेक ढुक्कले एक्लै हिँड्दा डर लाग्थ्यो । बिस्तारै दृष्टिहीनको भाषा र संकेत बुझ्दै गइन् ।
कविताको सहयोग र मायाले विवेकको जिन्दगीमा बिस्तारै इन्द्रेणी देखियो । सुनाउँछन्, “सबै अचम्म मान्छन् हाम्रो जोडी देखेर ।”
समाजलाई चुनौती
पोखराका विजय गुरुङ जन्मिँदा यो संसार अँध्यारो थियो । वर्षौंसम्म कहिल्यै उज्यालो भएन । प्रहरी पिताका छोरा उनले कीर्तिपुरको ल्याबोरोटरी स्कुलबाट सजिलै एसएलसी गरे । दृष्टिविहीन मैत्री नभएको कक्षाकोठा र पाठ्यक्रमबिनै जेनतेन रत्नराज्य लक्ष्मी क्याम्पसबाट स्नातक सके । यसबीचमा उनको मन किताबमा भन्दा संगीतको सूर र तालतिर एकोहोरिइसकेको थियो । कलेज पढ्दा पढ्दै उनले तीनवटा एल्बम निकाले । त्यतिबेलै ‘कलिन्ड’ ब्यान्ड खोले । गितारका तारमा औँला कुदाए, किबोर्डमा औँला चलाए र सुमधुर संगीतमा आफूलाई हराए ।
आँखाले नदेखे पनि विजय सुमधुर संगीतको तालमा झुम्थे । त्यसैमा रमाउँथे । त्यहीबीचमा उनले कुपन्डोलमा रेकर्डिङ स्टुडियो खोले । उनका सहकर्मी थिए, आफूजस्तै दृष्टिविहीन मैतीदेवीका वीरु कमल श्रेष्ठ । पद्मकन्या क्याम्पसमा पढ्दै गरेकी कल्पना मुनिकार पाटन क्याम्पसमा परीक्षा केन्द्र परेका बेला वीरुको छिमेकीको नाताले विजयको स्टुडियोमा आउँथिन् ।
पहिलोपटक त्यहीँ विजयले सुने कल्पनाको सुमधुर स्वर । कल्पनालाई चिन्ने उनीसँग एउटै सूत्र थियो, आवाज । उनको बेलाबखतको आउजाउले तन्नेरी विजयको मनको तार झंकृत भयो । त्यो प्रेमको ध्वनि थियो भन्ने थाहा पाउन उनलाई केही महिना लाग्यो । बिस्तारै उनीहरू नजिकिँदै गए । कल्पनाको आनीबानी, जीवनशैली, सोच्ने र सहयोगी चरित्र सबैले विजयलाई मोहित तुल्यायो ।
क्याम्पस पढ्दा कल्पनाले सुनेकी थिइन्, माया भन्ने चीज त अन्धो पो हुन्छ । तर, उनलाई के थाहा, उनका प्रेमी नै दृष्टिविहीन थिए । झन्डै एक वर्ष चल्यो प्रेम सम्बन्ध । तीन–चार महिनाको लगातारको संगतपछि विजय निष्कर्षमा पुगे, यही केटीसँग बाँकी जिन्दगी बिताउन सकिन्छ । कल्पनाले पनि विजयमा कुनै कमी देखिनन् । सुनाइन्, “दृष्टिविहीन भए पनि उहाँको मन अरूको भन्दा कम थिएन ।”
अरूजस्तै टाढा टाढा ‘डेटिङ’ जान सम्भव थिएन । तर, विजयलाई पाटनका सबै गल्ली गल्ली थाहा थियो । उनीहरू हात समातेर पाटनका ओसिला गल्लीमा हिँड्थे र प्रेमिल गफमा घन्टौँ बिताउँथे । कल्पना सम्झिन्छिन्, “कृष्णाष्टमीको दिन पाटनको कृष्ण मन्दिर जाँदा पानी परेर हामी लुछुप्पै भिज्यौँ । नजिकैको क्याफेमा छिरेर ओत लाग्यौँ । अहिले पनि पाटन जाँदा त्यही दिन सम्झिन्छु ।” त्यसरी बानेश्वरदेखि जाउलाखेलसम्मका क्याफे चहारेको विजयलाई हिजैजस्तो लाग्छ । मुसुक्क हाँस्दै उनले सुनाए, “बिहेअघिको प्रेम अर्कै हुँदो रै’छ ।”
कल्पनाले आफू दृष्टिविहीनसँग प्रेममा परेको कुरा पहिले बहिनीलाई सुनाइन् । त्यसपछि मात्रै उनले जात नमिलेको र त्यो पनि दृष्टिविहीनसँग प्रेम विवाह गर्ने निर्णय परिवारका बाँकी सदस्यलाई सुनाउने हिम्मत गरिन् ।
छोरीले दु:ख पाउली भनेर बुबाले मान्दै मानेनन् । आमाले चाहिँ चित्त दुखाएरै छोरीको निर्णय स्वीकारिन् । विजयले पनि आफ्नो परिवारको चित्त बुझाए । मान्छेले अचम्म मान्दा मान्दै, जिब्रो टोक्दा टोक्दै उनीहरूले बालाजुको पुरानो गुह्येश्वरी मन्दिरमा बिहे गरे, ०५९ मा ।
दुई छोरी जन्मेपछि विजय संगीतबाट लामो समय टाढिए । यसै पनि कल्पनाको मायाले उनको जिन्दगीमा सुखको ध्वनि गुन्जिरहेकै थियो । अहिले कुसुन्तीमा प्रि–मन्टेश्वरी स्कुल चलाएर बसेकी छन् कल्पना । अरूले जे भने पनि कल्पनालाई दृष्टिविहीनहरू कमजोर हुन्छन्, तिनलाई धेरै कुरामा आड–भरोसा र सहयोग चाहिन्छ भन्ने ठान्दिनन् । आफ्नै पतिको उदाहरण दिँदै भन्छिन्, “उहाँ हामीभन्दा सक्रिय हुनुहुन्छ । आफ्नो काम आफैँ गर्नुहुन्छ ।”
नेपाल अपांग बालकल्याण संघ नामक गैरसरकारी संस्थाका उपाध्यक्ष रहेका विजय नयाँ म्युजिक भिडियो ल्याउने अन्तिम तयारीमा छन् अहिले । उनको अनुभवमा दृष्टिविहीनबारे समाजको बुझाइ साह्रै कमजोर छ । भन्छन्, “दृष्टिविहीन भएपछि छेउकुनामै थन्किनुपर्छ भनेजस्तो गर्छन् ।”
परिपक्व प्रेम
ठूलठूला घर कस्ता हुन्छन् ? गाडीको आकार कस्तो हुन्छ ? शैलेन्द्र ढकाल अनुमान गर्न सक्छन् । तर, रंगहरू कसरी छुट्टिन्छन् ? सुन्दरताको अर्थ कस्तो हुन्छ ? के भयो भने सुन्दर र के भयो भने कुरूप हुन्छ ? उनी आकार र रंगका आधारमा छुट्याउन सक्दैनन् ।
कीर्तिपुरको ल्याबोरोटोरी स्कुलबाट एसएलसी, नेपाल ल क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह र महेन्द्ररत्न क्याम्पसबाट बीएड गरेका छन् शैलेन्द्रले । २० वर्षदेखि शिक्षण पेसामा रहेका उनको दृष्टिको मात्रा घट्दै गए पनि जिन्दगीसँग बेखुसी छैनन् । साढे दुई वर्षअघि प्रेमविवाह गरेका उनको अनुभव छ, “प्रेम र हेरविचार भएपछि जिन्दगीमा धेरै कुरा फरक पर्दो रै’छ ।”
शान्तिनगरस्थित सिद्धेश्वर माविमा पढ्ने बहिनी भेट्न बारम्बार आउँथिन् सिन्धुपाल्चोक, तिम्बूकी गीता भण्डारी । त्यही बेला उनले देखेकी थिइन्, सुस्तरी, छामछाम–छुमछुम गर्दै हिँड्ने शिक्षक शैलेन्द्रलाई । बैनीलाई पढाउने तिनै शिक्षकसँग पछि उनको नजिकको संगत भयो ।
क्याम्पस पढ्न काठमाडौँ आएकै वर्ष झनै अनौठो संयोग पर्यो । समाजशास्त्रको विद्यार्थीले गर्नुपर्ने प्रशिक्षार्थी कामदारका रूपमा उनी एउटा गैरसरकारी संस्थामा पुगिन् । त्यही संस्थामा शैलेन्द्र पनि आबद्ध रहेछन् । त्यही समय उनलाई गीताको आनीबानी र व्यवहार जान्ने मौका जुर्यो । मनमनै मन पराए पनि ।
यद्यपि, शैलेन्द्रसँग विवाहका आफ्नै मान्यता थिए । आफूजस्तै अपांगता भएका साथीको वैवाहिक जिन्दगीमा समस्या देखिएकाले गीतालाई प्रस्ताव गर्नैै सकेनन् । किनभने, उनलाई लाग्थ्यो, बिहे जिन्दगीभर चल्ने यात्रा हो, फेरि नेत्रहीनको जीवन अरूको जस्तो सरल छैन । डेढ वर्षको अनौपचारिक संगतपछि शैलेन्द्रले एक दिन हिम्मत गरेरै भने, ‘हामी सँगै जिन्दगी जिउन सक्छौँ ?’
शैलेन्द्रलाई गीताको अनुहारको रंग थाहा छैन । आँखाको भाका थाहा छैन । तर, उनी गीता हिँडेको परैबाट थाहा पाउछँन्, पाइतालाको चालले । सास फेरेकोबाटै थाहा पाउँछन् । “हामी दृष्टिविहीनले सुन्दरताभन्दा व्यवहार हेर्छौं,” शैलेन्द्रले दार्शनिक भएजसरी सुनाए, “जिन्दगीलाई अघि बढाउन सुन्दरता मानक हुँदै होइन ।”
जसरी शैलेन्द्र परिपक्व थिए, गीताले पनि उस्तै परिपक्व निर्णय गरिन् । सुनाउँछिन्, “दिल बसेपछि सबै कुरा गौण हुँदा रै’छन् । किन यस्तो केटासँग बिहे गर्यो भन्ने प्रश्न मैले सुन्दै सुनिनँ ।” आँखा नदेख्नेसँग जिन्दगी जिउन सकिँदैन भन्ने गीताको मनमा एकरत्ति पनि थिएन । भन्न त उनलाई धेरैले भनेका पनि थिए । भन्छिन्, “अरूले जे भने पनि मैले सुन्दै सुनिनँ । किनभने, उहाँ असल हुनुहुन्छ र सक्षम हुनुहुन्छ भन्ने मैले नजिकबाटै देखिसकेको थिएँ ।” बानेश्वरको खरिबोटमा टेलरिङ सेन्टर चलाएर बसेकी गीता मानिसहरूको अनगिन्ती प्रश्नलाई हाँसेरै टारिदिन्छिन् ।
एक वर्षको प्रेमको बाटो हुँदै विवाहको फराकिलो राजमार्गमा हिँड्न पाएकामा शैलेन्द्र र गीता खुसी छन् । शैलेन्द्र झनै खुसी छन् । किनभने, गाउँमा बस्ने भएर पनि गीताका बाले दृष्टिविहीनलाई आफ्नी छोरीको हात सुम्पिन कत्ति धक मानेनन् । शैलेन्द्र भन्छन्, “सबै मान्छे त्यस्तो बुझ्ने कहाँ हुन्छन् र ?”
तस्बिरहरू : लक्ष्मीप्रसाद ङाखुसी
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...