जर्नलका जर्नेल
जर्नल सम्पादन प्रत्यूष वन्तका लागि नशाजस्तो भयो । एक दिन काम छाड्छु भन्यो, अर्को दिन काम भइहाल्छ । हर्क गुरुङले उनलाई कुनै बेला भनेका थिए, ‘अरू जेसुकै काम गर तर जर्नल निकाल्ने काम नगर ।’

नामका अघिल्तिर डाक्टर लेख्ने लेठो गर्दैनन्, प्रत्यूष वन्त, ५१ । बोल्दा पनि आफूलाई डाक्टर फलानो भन्दैनन् । उनका डेढ दर्जनभन्दा ज्यादा पुस्तकमा पनि ‘डा’ उल्लेख छैन ।
अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभानियाबाट २० वर्षअगावै इतिहासमा विद्यावारिधि गरेका प्रत्यूषलाई नामअगाडि प्रा (प्राध्यापक) डा (डाक्टर)’ लेख्नु त तर्साउनुजस्तो लाग्छ । “पीएचडी निश्चय पनि क्वालिफाइड डिग्री हो । तर, अन्तिम सत्य देखिसकेको होइन,” उनी भन्छन्, “प्राज्ञिक कर्म गर्दा त्यो चाहिएला तर सामान्य दिनचर्यामा प्राडाको फुर्को किन लगाउने ?”
त्यसो त सन् १९९६ मा अमेरिकामा पीएचडी सकेर आएपछि प्रत्यूष अनुसन्धानकर्ताका रूपमा काम गर्न पाइन्छ कि भनेर त्रिवि मातहतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) गएका पनि हुन् । त्यहाँका एक हर्ताकर्ताले उनलाई सोधेछन्, ‘तपाईंले जिन्दगीमा गर्न चाहेको कुरा के हो ?’ उनले दिल खोले, ‘म जर्नल सम्पादन गर्न चाहन्छु । रिसर्चको सुविधा भएको पुस्तकालय खोल्न चाहन्छु ।’ जवाफ पाएछन्, ‘त्यस्तो विचार छ भने यहाँ काम गर्न नआउनूस् ।’
विश्वविद्यालयको कर्मकाण्ड बुझेपछि प्रत्यूष दोहोर्याएर सिनास गएनन् । व्यक्तिगत रूपमा उनलाई सिनासमा काम गर्न नपाउनुको कुनै खेद छैन ।
“विश्वविद्यालयका अंग्रेजी, मानवशास्त्र, समाजशास्त्र विभागले बोलाउँदा मैले कुनै लेक्चर, सेमिनार, वर्कसप छुटाएको छैन,” उनी भन्छन्, “तर, इतिहास विभागले भने कहिल्यै बोलाएन । बरू मैले नै त्यहाँका प्राध्यापकहरूसित सहकार्य गरेको छु ।”
पीएचडीपछि प्रत्यूष अमेरिकामा अडिएनन् । त्यहाँ बसेर नेपाल– अनुसन्धान हुन्छ भन्ने ठानेनन् । “विद्यार्थी जीवनमा मैले पुस्तकालय र शिक्षणबाहेकका काम गरिनँ,” उनी सुनाउँछन्, “अमेरिकासँग सामाजिक सम्बन्ध जोडिनै सकेन ।”
काठमाडौँको ठमेलमा जन्मिएका हुन् प्रत्यूष । उनको पुख्र्यौली थलो भने गोरखाको बगुवा हो । तर, उनका लागि त्यो कथा मात्र हो । उनका पुर्खा राम शाहको पालामा गोरखा गएका पाटनका साहू–महाजन रहेछन् । उनका पुर्खा गुणवन्त सिंह भीमसेन थापाका मुलुकी खरिदार–मेजर रहेछन् । नेपाली अड्डाखानामा स्रेस्ता प्रणालीको ढाँचा प्रयोगमा ल्याउने उनै हुन् ।
काठमाडौँ भन्नु मात्र । जिन्दगी पनि रुटिनको, खुराकी पनि रुटिनकै । उनका तीन बहिनी घरमा जम्मा हुँदा ठट्टा गर्छन्, ‘कुनै दिन पाउरोटी–चिया । कुनै दिन चिया–पाउरोटी ।’
बाल्यकालमै किताबसित दोस्ती भयो उनको । पिता तीर्थराज वन्तको संकलनमा आमनेपालीका घरमा भन्दा धेरै किताब थिए । त्यो पनि धेरै विषय र धेरै भाषाका । नेपाली, अंग्रेजी, नेवार, बंगाली र हिन्दी भाषाका किताब खोज्न उनी कतै भौँतारिनु परेन । अहिले उनलाई लाग्छ, राम्रा/गतिला कुरा पनि पढिएछ । पिताका मौलिक र अनुवाद गरी २४ पुस्तक प्रकाशित छन् ।
सेन्ट जेभियर्स स्कुलबाट सिनियर क्याम्ब्रिज गरेका प्रत्यूष अमृत साइन्स कलेज (अस्कल)मा फिजिक्स लिएर आईएस्सी पढ्दा इन्जिनियर बन्ने धुनमा थिए । त्यो धुन कता बरालियो कता । अस्कल नजिकै थियो, फुलब्राइट फेलोसिपको अफिस । त्यहाँ नेपाली अफिसरले उनलाई बांगो सुझाव दिए, ‘अमेरिका अप्लाई नगर्नूस् । नेपालमै या इन्डियामा पढे हुन्छ ।’
हुन पनि त्यतिबेला नेपालबाट अमेरिका जाने वर्षको १० जना पनि हुन्थेनन् । अझ उनी त अन्डर ग्य्राजुएट गर्न अमेरिका पुगे । साँच्चै अटेरी निस्किए प्रत्यूष । उनले विन छात्रवृत्ति पाए सन् १९८४ मा ।
म्यासाचुसेट्स, बोस्टन नजिक रहेको ब्रान्डिस युनिभर्सिटीमा इन्जिनियरिङ रहेनछ । अनि, उनले रोजे भौतिकशास्त्र, गणित, अर्थशास्त्र र कम्प्युटरविज्ञान । रमाइलो के भने त्यहाँ उनले पौडी नसिकी धरै पाएनन् । बीएका ३२ कोर्समध्ये एउटा थिए । तर स्नातकोपाधि लिन स्विमिङ टेस्ट पनि पास गर्नैपथ्र्यो ।
फेरि पनि प्रत्यूषले सन् १९८८ मा चार वर्षको अर्काे फेलोसिप पाए । उनले रोजे फिलाडेल्फियास्थित युनिभर्सिटी अफ पेन्सिलभानिया । त्यहाँ उनी कहिल्यै पुगेका थिएनन् । त्यो दक्षिण एसियासम्बन्धी अध्ययन गराउने अमेरिकाको पहिलो विश्वविद्यालय हो भन्ने पनि हेक्का थिएन ।
बेन्जामिन फ्रयाङ्कलिनले २ सय ५० वर्ष पहिले खोलेको त्यो पुरानो विश्वविद्यालयमा उनले जेनतेन एक वर्ष अर्थशास्त्र पढे । “त्यो मेरो जीवनकै झूर वर्ष थियो, मन नलागेका विषयमा १६/१७ घन्टा घोटिनु पर्यो,” उनी सम्झिन्छन्, “फेल भएर भागेको होइन भन्ने पार्न पनि माइक्रो इकोनोमिक्सको टेस्ट दिएँ ।”
अर्थशास्त्री बन्ने धुन सेलाएपछि उनले एक दिन प्रोफेसर आलन हेस्टनलाई भेटेर बिन्ती बिसाए, ‘म इतिहास पढ्न चाहन्छु ।’ उनले समाजशास्त्र/मानवशास्त्रको विकल्प भने रोजेनन् । रिस्की–विद्यार्थीका रूपमा इतिहासमा भर्ती पनि पाइहाले ।
अर्थशास्त्रबाट त भागे । तर, इतिहास पढ्ने सोचेका पनि थिएनन् । केही अनौपचारिक अध्ययनबाहेक प्रत्यूषको इतिहास–‘अफेयर’ छँदै थिएन, बीएमा ‘वल्र्ड हिस्ट्री’को कोर्सबाहेक । उनलाई लाग्छ, जिन्दगीमा प्रस्ट विचार आउन समय लाग्छ । ब्रिटिस औपनिवेशकालीन दक्षिण एसियामा के कस्तो ज्ञान निर्माण भएको थियो भन्ने कुरामा उनको दिलचस्पी थियो । अझ बहादुर सिपाहीको मान्यता कसरी निर्माण भयो भनेर ।
उनले पढेको महेन्द्रमाला पाठ्यक्रममा ती बहादुर गोर्खाबारे कुनै जानकारी थिएन । बलभद्र कुँवर, अमरसिंह थापाका वीरगाथा मात्र थिए । उनले त्यही बहादुरीको राजनीति नै छाने पीएचडी शोधका लागि ।
प्रजातन्त्र पुन:बहालीपछि उनी छुट्टीमा नेपाल आए । यसो ठगठाग गरेर भए पनि अमेरिकी पीएचडी लिइहाल्ने नसोचेका होइनन् उनले । तर, उनले त्यसो गर्न सकेनन् । त्यसैले न्युयोर्क–बेस्ड सोसल साइन्स रिसर्च काउन्सिलको सहयोगमा अनुसन्धानका लागि बेलायत गए ।
ब्रिटिस लाइब्रेरीमा पाँच हप्ता नेपालसम्बन्धी अध्ययन गर्दा नेपालको फोटोग्राफी इतिहास पनि पहिल्याए प्रत्यूषले । क्ल्यारेन्स टेलरले सन् १८६३ मा नेपाल आएर जंगबहादुर राणाको परिवारको पहिलो फोटो खिचेको तथ्य उनले पुर्नपुष्टि गरे ।
उनको पीएचडी अनुसन्धान नेपाल, भारत र बेलायतमा भयो । भारतको नेसनल अर्काइभ्स अफ इन्डियामा आठ महिना बिताए, बाँकी नेपालमै । त्यसमा इमेलको योगदान उनलाई अविस्मरणीय लाग्छ । “सन् १९९३ को डिसेम्बरमा मैले इमेल एकाउन्ट खोलेँ,” उनी सुनाउँछन्, “सुत्ने बेला डकुमेन्ट मगाउँथेँ, बिहान उठ्दा आइसकेको हुन्थ्यो ।”
यसबीचमा मन्डला बुक प्वाइन्टमा माधव महर्जनले ठट्टैठट्टामा प्रत्यूषलाई भने, ‘रत्न पुस्तक भण्डारबाट कैलाश जर्नल निस्केको छैन । अर्को निकाल्ने हो ?’ लहडमै उनले स्टडिज् इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास) सम्पादन गर्न थालेको २० वर्ष भइसक्यो । यसका ४० अंक निस्किसकेका छन् । यसका संस्थापक सम्पादक भने चार जना थिए, मार्क लिक्टी, मेरी डेसेन, लाजिमा वन्त भट्ट र उनी । लाजिमा प्रत्यूषकै पीएचडीधारी बहिनी हुन् । अहिले यस जर्नलका ६ जना सम्पादक नेपाल, भारत, जापान र अमेरिकामा छन् ।
सम्पादकका रूपमा प्रत्यूषका प्रोटोकल कडा नै छन् । वरिष्ठ प्राज्ञहरूका अनुसन्धानमूलक लेख पनि छाप्न अयोग्य भनी फिर्ता गरिदिन्छन् । यसरी अस्वीकार गरेका र पुनर्लेखनका लागि पठाएका उदाहरण थुप्रै छन् ।
“यहाँ त सिजनल (चैते) थेसिस, खेताला थेसिस पनि चल्तीमा छन्, त्यस्ता थेसिस कसरी छाप्ने ?” जर्नल सम्पादनलाई गधाको काम मान्ने उनी भन्छन्, “कहिलेकाहीँ लेख नपाएर जर्नल ढिलो भएको छ ।”
नेपालको सन्दर्भमा सबभन्दा छोटो आयु र अनियमित चीज भनेकै जर्नल हो । कतिपयको दोस्रो अंक निस्कन १५ वर्ष लाग्छ भने कतिपय दुई अंक एकै दिन निस्कन्छन् । अझ कतिपय जर्नल त विश्वविद्यालयले सेवा आयोग खोलेपछि बौरिन्छन् ।
जर्नल सम्पादन उनका लागि नशाजस्तो भयो । एक दिन काम छाड्छु भन्यो, अर्को दिन काम भइहाल्छ । हर्क गुरुङले उनलाई कुनै बेला भनेका थिए, ‘अरू जेसुकै काम गर तर जर्नल निकाल्ने काम नगर ।’ गुरुङसँग द हिमालयन रिभ्यु जर्नल निकालेको कटु–अनुभव जो थियो । “प्राज्ञिक कार्यका सन्दर्भमा सबैले भन्ने कुरा हो, नेपालमा पैसा छैन,” उनी भन्छन्, “हो, नेपालमा पैसा छैन तर पैसा छैन मात्र भनिरहनु प्राज्ञिक कर्मबाट भाग्नु पनि हो ।”
प्रत्यूष पटकपटक भीएस नयपालको कथन सम्झन्छन्– ‘स्मल पिपल, बिग टक ।’ विद्वान्हरू ठूलठूला गुड्डी मात्र हाँक्ने । क्रान्ति या आमूल परिवर्तन घटीका कुरा नगर्ने भएकाले प्राज्ञिक कर्मले निरन्तरता नपाएको उनको धारणा छ ।
जर्नल या अरू नाममा गाँसिने ‘अन्तर्राष्ट्रिय स्तर’लाई उनी मिथ मान्छन् । बरू, त्यसलाई ‘अन्तर्राष्ट्रिय स्तरहरू’ भनेर सच्याउँछन् । यी इतिहासकारलाई आधुनिक नेपालको अठारौँ/उन्नाइसौँ शताब्दीको इतिहासका निम्ति महेशचन्द्र रेग्मी र फादर लुडविग स्टलिर, ००७ सालको क्रान्तिवरिपरिको इतिहासमा राजेश गौतम, भवेश्वर पँगेनी र सुरेन्द्र केसीप्रति विश्वास लाग्छ ।
प्रत्यूष वन्त भन्नेबित्तिकै मार्टिन चौतारीको नाम जोडिइहाल्छ । उनी यसको जन्म तीनपटक भएको मान्छन्, सन् १९९१, १९९५ र २००२ मा । जलविद्युत् इन्जिनियर विकास पाण्डेको अफिसमा वातावरणविज्ञ भूषण तुलाधर, पत्रकार मनिषा अर्यालहरू भएर थालेको कोठे विकास–बहसको निरन्तरता हो, चौतारी । घोप्टेभीर विमान दुर्घटनामा ज्यान गुमाएका नर्वेजियन मूलका तर नेपालमा हुर्किएका राजनीति–इतिहासप्रेमी मार्टिन हफ्टनको नाममा रह्यो यो प्राज्ञिक अनुसन्धानमुखी संस्था ।
इन्जिनियर विकास अध्ययनका लागि अमेरिका गएपछि यसलाई अघि बढाउने अघोषित जिम्मेवारी पाए प्रत्यूषले । मञ्जुश्री थापा, रत्नसंसार श्रेष्ठ, जगन्नाथ अधिकारी, भास्कर गौतम, विकास पाण्डे, सेरा तामाङ र प्रत्यूष मिलेर यसलाई गैरसरकारी संस्थाका रूपमा दर्ता गरेको १४ वर्ष भइसक्यो । दुई कार्यकाल अध्यक्ष रहेका प्रत्यूष अहिले शोधनिर्देशक छन् ।
गैरसरकारी भन्ने सुन्नेबित्तिकै ‘साम्राज्यवादी एजेन्ट’ तक्मा भिराउन आतुर नेपाली ‘प्रगतिशील’ जमातबारे उनलाई राम्ररी जानकारी छ । “नेपालको गैरसरकारी संस्था (एनजीओ)सम्बन्धी कानुनै २०३४ तिरको छ,” उनी भन्छन्, “स्कुल बनाउने पनि एनजीओ, चकलेट बाँड्ने पनि एनजीओ, इन्जेक्सन दिने पनि एनजीओ, प्राज्ञिक काम गर्ने पनि एनजीओ ।”
प्राज्ञिक एनजीओ भनेको ‘नलेज इन्टरप्राइज’ हो । “नेपालमा कार्यरत विदेशी संस्था या नेपालमा उपस्थिति नभएका विदेशी फाउन्डेसनले हामीलाई अनुसन्धान कार्यमा संस्थागत रूपमा सघाएका छन्,” उनी भन्छन्, “सबै एनजीओ उस्तै पनि होइनन्, उसै गरी बदनाम पनि छैनन् ।”
मार्टिन चौतारीको पुस्तकालयमा अहिले २० हजार पुस्तक छन् । त्यसको एक चौथाइ मिडियाका पुस्तकले ओगटेको छ । चौतारीमार्फत ९० पुस्तक, सयौँ छलफल, मिडिया विमर्श, बहस आदि थुप्रै समूहगत काम भएको उनको भनाइ छ ।
जीवनमा थुप्रै बांगाटिंगा बाटो हिँडेका प्रत्यूषले गफका निम्ति द काठमान्डू पोस्टमा स्तम्भ लेखे । रेडियो सगरमाथामा १९ महिना ‘डबली’ बहस चलाए । अनुसन्धानकर्ताको जीवन एकरसीय हुन्छ भन्ने थाहा पाएर उनले रेडियोमा ध्यान दिएका रहेछन् । मार्टिन चौतारीमा रेडियोको बहस अनि मार्टिन चौतारीको बहस रेडियोमा गर्दा डबल ट्राफिक पनि भयो । १९ वर्षसम्म पनि त्यो कार्यक्रमको सिग्नेचर ट्युन उही छ ।
नेपाली प्रगतिशील लेखन तथा कलाक्षेत्र पुँजीवादीहरूलाई सबैथरीका पगरी लगाइदिन अति च्याम्पियन भएको पनि उनले त्यसैबेला थाहा पाए । भन्छन्, “मिडियाले दिन सक्ने पहुँचबारे सोच्दै नसोची पुँजीवादी मिडियाबारे १२ पाना खण्डन गर्न सक्ने नेपाली प्रगतिशील झुन्ड, रेडियो कार्यक्रममा १२ मिनेटको प्रोगाममा आउन अग्रसर भएनन् ।”
लामो दूरीका प्राज्ञिक कर्म रुचाउने प्रत्यूष म्याराथनमा रुचि राख्छन् । उनको पहिलो लेख पनि म्याराथनबारे नै थियो द राइजिङ नेपालमा, १९८६ मा । उनी आफैँलाई चाहिँ ४५ मिनेट पैदल हिँड्दा पनि खुबै गरेजस्तो लाग्छ ।
उनका काका रघुराज वन्त पनि ओलम्पियन रहेछन् । सन् १९८० को मास्को ओलम्पिकमा दौडेका काकाका धावक साथी वैकुण्ठ मानन्धर, जितबहादुर केसी आदिलाई उनले बच्चैमा चिनेका हुन् । उनीहरू प्रत्यूषको घरमा आउनुको कारण भने जिमखाना रहेछ, बडी बिल्डिङ र वेट लिफ्टिङका लागि ।
आफूलाई सांस्कृतिक इतिहासकार भन्न रुचाउने प्रत्यूष साथीहरूबाट नमागेको सल्लाह पाइरहन्छन्, ‘ कामभन्दा टाढाको सोख राख, अल्जाइमर लाग्ला ।’ उनलाई पनि लाग्छ– मनमाफिक पैदल हिँडूँ, संगीतको सरोवरमा डुबुल्की मारूँ । गार्डेनिङमा व्यस्त रहूँ । तर, स्थिति कस्तो छ भने आफ्नै बगैँचाका अधिकांश बोटबिरुवाको नाम उनलाई आउँदैन । उनलाई थाहा छ, त्यो रुचि नभएरै नआएको हो । “म पेन्टिङ र म्युजिकमा जिरै छु । म बहुप्रतिभाशाली पनि छैन,” उनी भन्छन्, “आर्किटेक्ट भएर कविता किताब निकाल्नु, प्राध्यापन छाडेर राजदूतको दौडमा लाग्नु जरुरी पनि ठान्दिनँ ।”
गफ गरेर, गफ सुनेर, गफ लेखेर, गफ पढेर उनको सारा समय बित्यो । “सामान्य अर्थमा केही काम नभएको, आफ्नो मात्र नभएर अरूको समेत समय बर्बाद गर्नेहरूलाई गफाडी भन्छन्,” उनी भन्छन्, “तर, लोकतन्त्रको मर्म पनि गफै गर्नु हो । संविधान र कानुन लोकतन्त्रका वैधानिक डकुमेन्ट हुन् । यसलाई जीवित बनाउने गफ गरेरै हो ।”
उनको विचारमा गफ लोकतान्त्रिक समाज निर्माणका लागि सक्रिय अभ्यास हो । कोठे बहस अब डिजिटल बहस भइसकेको छ । चिया पसल, चौतारी, फोन, इमेल या ट्वीटरको गफको महत्त्व उनी कम देख्दैनन् । उनी आबद्ध संस्था मार्टिन चौतारीको चिनारी भनेकै ‘स्पिकर्स कर्नर’ बनेको छ । जीवनमा गजबै गफ गरेँ भन्ने लाग्दैन उनलाई । तर, ‘नोटिस’ गर्न मिल्ने गफ थुप्रै भएका छन् । “हामी आफ्नो कमजोरी चुहिएला कि भनेर दुई भित्तातिर फर्केर प्राज्ञिक कर्म गरिरहेका छौँ,” उनको निष्कर्ष छ, “यस्तो ढ्याके पाराले लोकतन्त्र समृद्ध हुँदैन ।”