हिमालका सम्राट्
राइनहोल्ड मेसनरलाई सबैभन्दा बढी पिरोलेको कुरा सेल्फी खिचाउने उद्देश्यले गरिने हिमाल आरोहणहरू हुन् ।
अहिलेसम्मकै महान् पर्वतारोही हुन् राइनहोल्ड मेसनर । धेरैले त्यसै मान्छन् । नमान्नुपर्ने कारण पनि छैन । आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल आरोहण गर्ने उनी पहिलो व्यक्ति हुन्, अक्सिजनविनै र अधिकांश एक्लै (अल्पाइन स्वरूपमा) । सन् १९७८ मा पिटर हाबेलरसँग बिनाअक्सिजन पहिलोपटक सगरमाथाको आरोहण गरेपछि मात्र संसारले त्यसो गर्न सम्भव छ भन्ने पत्याएको थियो । त्यसअघि चिकित्सक र वैज्ञानिकले पनि त्यस सम्भावनालाई नकार्दै आएका थिए ।
दुई महिनाअघि उनै मेसनर यो पंक्तिकारसँग गफिन तयार भए । अनि म पुगेँ, उनको गृहनगर उत्तरी इटालीको डोलोमाइट पहाडमा अवस्थित एक घरमा । जहाँ उनी सादगी रूपमा भेटिए, करिब साँझपख । धेरैलेझैँ मैले पनि उनलाई भेट्दा महान् भन्न भ्याएँ । तर मेसनर त्यो पदवी खासै रुचाउँदा रहेनछन्, भने, “मैले कुनै प्रतिस्पर्धा गरेको होइन नि, हामी मानिसले प्रकृतिलाई जित्नै सक्दैनौँ ।”
७२ वर्षे मेसनरले ४२ वर्षे उमेरमै १४ शीर्ष हिमाल नापेका थिए । त्यसयता उनले नचाहे पनि पर्वतारोहण जगत्मा उनको सेलिब्रिटी ‘स्टाटस’ लोभलाग्दो बनेको छ । तर उनी चुचुरो पुग्दैमा वा पर्वतारोहणका प्रमाणपत्रका थाक जम्मा पार्ने सबैलाई आरोहीका दर्जा दिँदैनन् । न त उनी हत्तपत्त सार्वजनिक मञ्चमा भेटिन्छन् । जसकै कारण युरोपका विभिन्न स्थानमा कहिलेकाहीँ उनले दिने प्रवचन नै उनलाई देख्ने र सुन्ने दुर्लभ अवसर बन्न पुग्छन् । उनले आउटसाइड म्यागेजिनसँगको अन्तर्वार्तामा भनेका थिए, ‘हुनसक्छ जीवनका आखिरी क्षण म गुफामा बिताउनेछु, जतिखेर तन्नेरीमाझैँ ममाथि सिर्फ मै राज गर्न सक्नेछु ।’ मेसनरलाई ‘लिजेन्ड’ पनि सायद उनको यही स्वभावले बनायो ।
युरोपेली आल्प्स पर्वत शृंखलामा कुशल आरोहीको परिचय बनाएपछि २५ वर्षको उमेरमा मेसनरले हिमाली पर्वत चढ्न सुरु गरेका थिए । सन् १९७० देखि १९८६ बीचको १६ वर्षमा उनले शीर्ष १४ पर्वत (कुनै दोहोर्याएर समेत) १८ पटक सफल आरोहण गरे । उनका आरोहणहरूबारे भनिन्छ कि कुनै पनि हिमालय पर्वतबाट जिउँदै फर्कने सम्भावना आफैँमा सानो हुन्छ भने १८ पटक संसारकै अग्ला हिमालमा कसैले नगरेका काम गर्दा उनी बाँचेर आउनु अद्भुत उपलब्धि हो ।
तर त्यहीँ मरिएला भन्ने सोचले नै उनलाई झन् माथि र अप्ठेरा काम गर्न प्रेरित गर्दो रहेछ । “मलाई त्यसैमा मजा आउँथ्यो,” उनले भने, “सबैले मैले सफलतापूर्वक १८ पटक अग्ला हिमाल चढेको कुरा मात्रै गर्छन् । तर म तिनै हिमालमा १३ पटक असफल पनि भएको छु, त्यसको कुरा कम गरिन्छ ।”
मेसनरले नगरेको केही छैन । कुनै पर्वतारोहीले सोच्न सम्म पनि नसकेको तरिकाले उनले हिमाल चढेका छन् । एक्लै पनि सगरमाथा चढे, एकपटकमै दुई–दुई हिमाल आरोहण गरे । सामान्यत: वसन्त ऋतुलाई हिमाल चढ्ने राम्रो मौसम मानिन्छ । यसरी वर्षमा केही महिना मात्रै यी हिमाल चढ्न उपयुक्त हुनाले एक वर्षमा एउटा भन्दा धेरै हिमाल चढ्न गाह्रो छ ।
उनी कसैले नचढेको बाटो पनि हिमाल चढ्थे । कहिले एकै मौसममा एक भन्दा बढी हिमाल चढ्थे । जस्तो : कसैले थाहा नपाएको दक्षिणी मोहोडाबाट उनले मनास्लु चढेका छन् । सगरमाथा, अन्नपूर्ण र अरू हिमालमा पनि उनले साहसी अभियान गरेका थिए ।
“म पाँच वर्षको उमेरदेखि नै बुबासँग आफ्नो घर वरपरका पहाडी भित्ताहरू चढ्न थालिसकेको थिएा,” उनले विगत सम्झिए, “२४ वर्षको हुँदा हिमाल चढ्ने टोलीमा मलाई आमन्त्रण गरियो ।” त्यसो त २० वर्ष नपुग्दै उनी र उनका भाइले कीर्तिमानहरू राख्दै युरोपकै कुशल आरोहीको नाम कमाइसकेका थिए । हिमालय शृंखलामा पहिलोपटक उनले पाकिस्तानका नांगा पर्वत चढे । त्यसबेलासम्म कसैले आरोहण नगरेको विश्वकै अग्लो ‘हिउँ र चट्टानको पर्खाल’ भनिने रूपाल–पट्टीबाट । तर फर्कंदा मौसम बिग्रियो । फलस्वरूप उनले भाइ र आफ् ना खुट्टाका केही औँला गुमाउनुपर्यो । दुघर्टनाको ३५ वर्षपछि मात्र भाइको शव त्यहाँको हिमनदीमा भेटियो । अप्ठेरा ढुंगे पहाडका भित्ताहरू चढ्ने मेसनर औँला गुमेपछि बल्ल अग्ला हिमालतिर लागेका रहेछन् ।
तर उनको स्नेह साना–ठूला सबै चुचुराप्रति उस्तै छ । घर वरपरका पहाड देखाउँदै मेसनर भन्छन्, “मैले यी सबै चढेको छु ।” आफ्नो घरसँगै उनी पदयात्रीहरूले आराम गर्ने र खाजा खाने ‘याक एन्ड यति’ नामको रेस्टुराँ–घर पनि चलाउँछन् । उनी मुस्काए, “काठमाडौँको याक एन्ड यतिकै नाम राखेको छु ।” उनको परिवारले याक पनि पालेको छ । र, रेस्टुराँमा तिनैका चीज र अन्य स्थानीय खानेकुरा पाइन्छ ।
हिजोआज अग्ला हिमाल नचढे पनि उनी कुनै न कुनै साहसिक काम गरिरहन्छन् । उनले सुनाए, “केहीअघि गोबी मरुभूमिभरि यात्रा गरेँ, त्यसअघि अन्टार्कटिका पुगेको थिएँ ।”
जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पुग्ने क्षतिबारे आम चिन्ता हिमाललाई त्यति नजिकबाट चिन्ने मेसनरलाई नहुने कुरै भएन । त्यसैले अहिले उनी एउटा मिसनमा छन् । प्रकृति संरक्षण र हिमालबारे जानकारी दिन उनले आफ्नै नाममा संग्रहालयहरू खोलेका छन् ।
मेसनर पछिल्लोपटक तीन वर्षअघि नेपाल पुगेका थिए । बेला–बेला केही चुनिएका युरोपेली टोलीका गाइड बनेर नेपाल पुगिराख्छन् । भूकम्पपछि सोलुखुम्बुमा एडमन्ड हिलारी फाउन्डेसनका कामलाई उनले सहयोग जुटाएका छन् । यसै महिना आमादब्लम हिमालमा आधारित द होली माउन्टेन भन्ने चलचित्र छायांकनका निम्ति उनी फेरि नेपाल पुग्नेछन् ।
भूकम्पपछि नेपाल सरकारको कमजोर भूमिकाले भने उनमा निराशा भरेको छ । जीवनको लामो समय नेपाली भूगोलमै बिताएका मेसनरलाई नेपाली राजनीतिक बेथितिबारे भ्रमण गर्नेहरुले सुनाउँदा उत्तिकै नमज्जा लाग्दो रहेछ । उनकै अनुभव पनि विगतको तुलनामा निकै फेरिएको छ । भन्छन्, “काठमाडौँ पुग्दा मलाई संसारकै सबैभन्दा भीडभाड र कोलाहलपूर्ण ठाउँमा पुगेजस्तो लाग्छ ।”
उनलाई सबैभन्दा बढी पिरोलेको कुरा त सेल्फी खिचाउने उद्देश्यले गरिने हिमाल आरोहणहरू हुन् । “हिमालको आकर्षण र महत्त्व मर्दै जाने पो हो कि ?,” उनको चिन्ता छ, “मैले एक लाख डलर तिरेर सगरमाथा चढेँ भनेर छाती पिट्न त काम लाग्ला, तर यस्तो वातावरणमा आल्पिनिजम् सम्भव छैन ।”
बाटो बनाउनेदेखि सबै काम शेर्पाले गरेपछि त्यसको सम्मान नै नहुने गरी हुने यस्ता आरोहण चलनप्रति उनको असहमति छ । “मलाई त हिमाल र प्रकृतिको पूजा गर्ने नेपाली चलन नै बढी मनपर्छ,” उनी भन्छन्, “अहिले प्रकृति र मानिसको होइन केवल पैसाको मात्रै प्राधान्य भयो । अरूले बनाइदिएको बाटोमा हिमाल चढ्यो र सेल्फी खिचेर छाती फुलायो ।”
यतिका समय कसैले नगरेका काम गर्दै, कोही नपुगेका उचाइमा एक्लै पुगेका मेसनरलाई नेपालतिरका हिमालले कस्ता प्रभाव पारेका होलान् भन्ने मलाई सधैँ कौतूहल हुन्थ्यो । विनयशील स्वभाव, मीठो बोली र मुस्कान, आँखाको चमक, शरीरको स्फुर्ति र उनको हिमालप्रतिको लगावले यस विषयमा आफैँ बोलिरहेकै थियो ।
तैपनि मैले उनलाई सोध्ने अवसर खेर फालिनँ । “हिमाल चढ्नु भनेको दिमागको काम र मान्छेले के–के गर्नसक्छ भनेर थाहा पाउने एउटा आध्यात्मिक प्रक्रिया हो,” उनले सुनाए, “प्रकृतिको समीपमा रहँदा मानिसलाई आफू कति सानो र असहाय छु भनेर बुझ्ने मौका मिल्छ ।”
मेसनरले एक्लै चढ्ने, कसैले नसोचेको बाटो जाने, सक्दैन भनेको तरिकाले चढ्नेजस्ता अरूले नगरेका काम गरे । केवल हिमाल चढ्नैका निम्ति वा ‘मैले जितेँ’ भन्नैका निम्ति उनले आरोहण गरेका होइनन् । उनको विचारमा जति माथि चढ्यो, उति मानिस सानो हुँदै जान्छ र हिमाल ठूलो हुँदै जान्छ । खासमा मानिस त उत्रै हो र हिमाल पनि उत्रै हो । तर उचाइमा मानिसलाई आफ्नो क्षमता कति थोरै रहेछ भन्ने थाहा हुन्छ । उनले हिमालमा सास लिन गरेको कठिन संघर्षको मूल्य बुझेका छन् । त्यसपछि जति माथि गयो उति गाह्रो हुँदै जान्छ र त्यति नै दूरी चढ्न गर्नुपर्ने थप मेहनत झेलेका छन् । हिमाल आरोही सबैका लागि नियम त्यही हुन् ।
आजभोलिको पर्वतारोहणका शैलीबारे बढ्तै आलोचना सुनिन्छ । मेरो जिज्ञासा थियो, “उसो भए नेपालमा हिमाल चढ्न बन्द गरिदिए हुन्छ त ?” उनले जवाफ दिए, “त्यो त मैले होइन, नेपालीहरूले नै भन्ने कुरा हो । तर हिमाल चढ्ने उद्योगमा नेपालीलाई भन्दा बाहिरका मान्छेलाई धेरै फाइदा छ जस्तो लाग्छ ।” मेसनरले राम्ररी बुझेका छन्, सगरमाथा चढेको सबै पैसा नेपालका केही मान्छे मात्रको हातमा पुग्छ भन्ने ।
हो, पर्वतारोहणमा लाग्ने धेरै पैसा विदेशमै फर्किन्छ । पदयात्रालाई प्रवद्र्धन गर्ने, नयाँ–नयाँ आकर्षक पहाडी मार्ग बनाउने, सांस्कृतिक र प्राकृतिक सम्पन्नता देखाउने, गाउँले मौलिकता जोगाउने र नेपालीलाई नै फाइदा हुने किसिमले दीगो पर्यटन विकास गर्न आवश्यक ठान्छन् उनी ।
उनी हिजोआज आफ्नो गृहक्षेत्रमा हिमालबारे जानकारी दिने उद्देश्यले आफ्नै नामबाट खुलेका छवटा संग्रहालय व्यवस्थापन गर्छन् । पुराना पहाडी किल्लाहरू किनेर स्थापना गरिएका संग्रहालयमा हिमाल र मानवबीचको सम्बन्ध, हिमाली सभ्यता र आफ्नै गृहक्षेत्रको इतिहासजस्ता विषयवस्तु संगृहीत छन् । नेपालका र तिब्बतका विभिन्न चित्र, मूर्ति र अन्य वस्तु पनि संग्रहालयमा राखिएका छन् ।
हिममानव यति बारे नेपालका हिमाली जनबोलीमा आधारित कथाबारे पनि जानकार छन् मेसनर । उनको विचारमा नेपाल र तिब्बततिरका हिमाली भालु विभिन्न ठाउँमा विभिन्न कथामा यतिको रूपमा आउँछन् । पश्चिमी हिमालयका केही भू–भागमा यति अझै जीवित हुनसक्छ । उनको संग्रहालयमा व्यावसायिक आरोहणको विकृति, हिमालमा हुने गरेको फोहोर र यसबाट बिस्तारै हिमालको मौलिकता विनाश हुँदै गरेको चित्रण छ ।
हिमाल र प्रकृतिबारे उनका विचारले अभियानकै रूप पनि लिएको छ, जसमा कतिपय मानिस सहमत छैनन् । जस्तो, हिमाललाई तिनका स्थानीय नामले नै बोलाउनुपर्ने र तिनको पवित्रताको सम्मान गर्नुपर्ने उनको धारणा छ । यसो नगर्दा थुप्रै भौगोलिक, सांस्कृतिक र राजनीतिक असर पनि परेको छ । प्रकृतिको कोमल सन्तुलनका महत्त्वपूर्ण हिस्सा र विभिन्न प्राचीन सभ्यताका पवित्र धरोहरका रूपमा रहने गरेका हिमालहरू गएको शताब्दीबाट केवल पश्चिमा कल्पनाका व्यापारिक उत्पादनका रूपमा प्रयोग हुँदै छन् । यसैकारण मेसनरको जीवन र उनका सन्देश आउने पुस्ताका लागि पनि प्रेरणादायी हुनसक्छ ।
***
के हो आल्पिनिजम् ?
मोटामोटी रूपमा हिमाल चढ्ने दुई तरिका छन् । एउटा ‘ एक्सपिडिसन’ त अर्को ‘आल्पिनिजम्’ । गएको शताब्दीको पछिल्लो समयतिर युरोपेली आल्प्समा आल्पिनिजम् तरिका सुरु भए पनि हिमालय पर्वतका कठिन परिस्थितिमा भने एक्सपिडिसन तरिका नै चलिरहेको थियो । एक्सपिडिसन तरिका अन्तर्गत ठाउँ ठाउँमा क्याम्पहरू बनाइन्छन् । र, प्रशस्त बन्दोबस्ती गरिन्छ । धेरै मानिसको टोली हुने हुँदा सबै किसिमका सामानको व्यवस्था गरिन्छ र डोरीहरूको प्रयोग गरेर पहिले बाटो बनाउँदै लामो समय लगाएर आरोहण गरिन्छ ।
आल्पिनिजम् भने बेस क्याम्पभन्दा माथिको आरोहण चुस्त र हलुका तरिकाले गरिनुपर्ने अवधारणाबाट जन्मिएको हो । भरियाको सहयोगविना जसले आरोहण गर्ने हो, उसले आफ्नै क्षमताको बलमा चाहिने सामान मात्रै बोकेर थोरै समयमा चुचुरो पुगेर फर्किने यो तरिकाको चरित्र हो । यसका समर्थकहरूका अनुसार यो तरिकाले प्रकृतिलाई थोरै भार पर्ने र केवल मानव क्षमताको प्रयोग भएको हुँदा पर्वतसम्बन्धी रोमाञ्च पनि जीवित रहन्छ । यो तरिकाले हिमालय पर्वतहरू चढ्ने सुरुका व्यक्ति मध्ये राइनहोल्ड मेसनर पर्छन् ।
हिमाल हाम्रो वैभव
विश्वका सबैभन्दा अग्ला हिमाल शृंखलाको अधिकांश हिस्सा नेपालमा पर्छ । चीन, भारत र पाकिस्तानसम्म फैलिएको हिमालय भनेर चिनिने यस शृंखला करिब दुई हजार चार सय किलोमिटर लामो छ, जसमध्ये करिब आठ सय किलोमिटर नेपालमा पर्दछ । यस्तै, युरोपका अग्ला हिमालको शृंखलालाई आल्प्स भनिन्छ, जुन फ्रान्स, इटली, स्वीजरल्यान्ड, जर्मनी, अस्ट्रिया र स्लोभेनियासम्म फैलिएको छ । हिमाली पर्वतका बेस क्याम्पहरू पाँच हजार मिटर वा सोभन्दा माथि हुन्छन् भने आल्प्सको सबैभन्दा अग्लो हिमाल नै चार हजार आठ सय नौ मिटरको छ ।
अर्थात्, जुन उचाइमा युरोपेली आल्प्स सकिन्छन्, त्यहाँबाट हिमाली पर्वतारोहण सुरु हुन्छ । हुन त समुद्री सतहबाट ननापेर बेसक्याम्पबाट चुचुरो पुग्ने उचाइ मात्र नाप्दा दुवै महादेशका हिमाल चढ्न उक्लिनुपर्ने उचाइ उत्ति नै पर्न जान्छ । तर समुद्री सतहबाट जति माथि गयो, उति हावामा अक्सिजनको मात्रा पातलिँदै जाने हुँदा श्वास फेर्न मुश्किल र चुचुरोमा धेरै बेर बाँच्नै कठिन हुन्छ । मौसम खराब भइरहने हुँदा त्यति माथि पुगेर समयमै तल ओर्लिने काम योजना गरेजस्तो हुँदैन । त्यसैले हिमालय पर्वत सफलतापूर्वक चढ्ने र फर्किने कामलाई मानिसको क्षमताकै परीक्षणका रूपमा लिइन्छ ।
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...