संगीत थेरापी
“ ‘सिंगिङ बाउल’ झन्डै १ सय ८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीमा अलिकति विश्वास र दृढता भए निको नहुने कुरै छैन ।”

– शब्द/तस्बिर : रवि मानन्धर
छिँडीभरि साना–ठूला ‘सिंगिङ बाउल’ छरिएका छन् । सँगैको बन्द कोठाभित्रबाट बेला–बेला मधुर गुञ्जन सुनिन्छ । भित्र हेर्दा एक विदेशी महिला शवासनमा लमतन्न परेकी छन् । सँगै रहेका शान्तरत्न शाक्य बेला–बेला हातको ड्रम स्टिकले महिलाको वरिपरि राखिएको बाउलमा हिर्काउँदै ध्वनि निकालिरहेका छन् ।
बौद्ध पुग्नुअघिको साँघुरो बाटो छिचोलेपछि भेटिने ४९ वर्षीय शाक्य यसलाई ‘सिंगिङ बल’ थेरापी भन्छन् । यस्तो उपचारबाट ब्लडप्रेसर, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषत: कान बज्ने रोगमा प्रभावकारी हुन्छ । ४० मिनेटदेखि एक घन्टासम्ममा गरिने यस्तो विधिबाट उपचार लिन नेपाली मात्र नभएर विश्वका कुनाकाप्चाबाट बिरामी आउन थालेका छन् ।
नौ वर्षको उमेरमा शाक्यले बाजेबाट सिकेर उपचार पद्धति थालेको ३५ वर्ष भइसक्यो । भन्छन्, “झन्डै १ सय ८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीमा अलिकति विश्वास र दृढता भए निको नहुने कुरै छैन ।”