महाभारतको झल्को
खप्तडको बाइसपाटनमा भएको घोडादौडले महाभारतमा वर्णित योद्धा र अश्वदौड सम्झाउँथ्यो । त्यसो त, यो हरेक वर्ष हुने प्रतियोगिता हो ।

ठूलो हरियो पाटन । बुर्कुर्सी मार्दै कुदिरहेका बलिष्ठ घोडामा योद्धाजस्ता तन्नेरीहरु । लाग्थ्यो, महाभारतमा वर्णन गरिएको कुरुक्षेत्र यही हो । खप्तडको बाइसपाटनमा भएको घोडादौडले महाभारतमा वर्णित योद्धा र अश्वदौड सम्झाउँथ्यो । त्यसो त, यो हरेक वर्ष हुने प्रतियोगिता हो । बझाङ, बाजुरा, डोटी र अछामको साझा धार्मिक एवं पर्यटकीय संगमस्थल खप्तडमा बर्सेनि १० जेठमा गंगादशहरा मेला लाग्छ । त्यसैको अघिल्लो दिन यहाँ घोडादौड प्रतियोगिता हुन्छ ।
बलिष्ठ र बाक्लो यालसहितको श्वेत अश्वले सबैलाई उछिन्यो, जसमा सवार थिए– बझाङ छान्नाका सहिल रावल । यस वर्षका लागि रावल प्रथम भए भने बझाङकै खम्सेर नेपाली र बाजुराका जगत रावलले दोस्रो र तेस्रो स्थान हासिल गरे ।
खप्तड क्षेत्रमा परम्पराकै रुपमा बर्सेनि घोडादौड प्रतियोगिता आयोजना गरिँदै आएको छ । छिमेकीदेखि टाढाटाढाका जिल्लाबाट घोडा दौड हेर्न ठूलो संख्यामा दर्शक खप्तड पुग्ने गर्छन् । घोडाको टापको आवाज, दर्शकको हुटिङ र अश्वदौडमा उडिरहेको धूलोले खप्तडको विशाल पाटन दुन्दुभि बजाइरहेको युद्धभूमिझैँ प्रतीत हुन्छ ।