पुर्ख्यौली पिङ
खोटाङको रावाबेँसी गाउँपालिका-३ स्थित डाँडागाउँमा दशकौँ पहिलादेखि दसैँ र तिहारमा रोहटे पिङ लगाउने चलन छ ।

खोटाङको रावाबेँसी गाउँपालिका-३ स्थित डाँडागाउँमा दशकौँ पहिलादेखि दसैँ र तिहारमा रोहटे पिङ लगाउने चलन छ । उक्त वडाको अन्य गाउँमा पनि पहिला पिङ लगाइन्थ्यो । कोही युवा विदेश त केही सहर पलायन हुन थालेपछि पिङ लगाउने जनशक्ति कमी हुँदै गयो । तर डाँडागाउँमा पिङ लगाउने चलन हटेन । पाका उमेरकाहरू चाडवाड आउनु महिना दिनअघि पिङ लगाउन जुट्थे । अहिले यो काम युवा पुस्ताको काँधमा सरेको छ ।
उनीहरू पिङ लगाउन पाउँदा दंग छन् । पिङ सबैको भेटघाटको गन्तव्य बन्ने गरेको छ । पिङ लगाएको दिन रातभर सबै जना जाग्राम बसी नाचगान गर्छन् । दसैँमा लगाएको पिङ तिहार सकिएको केही दिनसम्म राखिन्छ । पहिला-पहिला पिङ लगाएपछि युवायुवती दोहोरी गाएर रात छर्लंग पार्थे । स्थानीय अगुवा तारानाथ रिजालका अनुसार पहिला पिङमा दोहोरी गाएर बिहे गर्ने चलनजस्तै बनिसकेको थियो । धेरै जना जोडी बने । अहिले पनि फाट्टफुट्ट रूपमा बिहे हुने गरेका छन् ।