[सम्पादकीय] जनता मार्न खोज्ने विकासको डोजर
विवाद समाधान गर्नु साटो फरक विचार राख्नेहरूमाथि नै स्काभेटर लगाउने जुन हर्कत त्यहाँ देखियो, यसले सोच्नैपर्ने बनाएको छ– हामी कस्तो विकास गर्न खोजिरहेका छौँ ?
![[सम्पादकीय] जनता मार्न खोज्ने विकासको डोजर [सम्पादकीय] जनता मार्न खोज्ने विकासको डोजर](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/Nepal-Editorial-27102019014838.jpg&w=900&height=601)
कात्तिक पहिलो साता बैतडीको दशरथचन्द नगरपालिकामा जे भयो, त्यो विकासका नाममा कसरी सर्वसाधारणको आवाज बन्द गरिन्छ भन्ने झल्को मात्र हो । विकास निर्माणका क्रममा स्थानीयबीच फरक मत आउनु र त्यसमा विवाद देखिनु सामान्य हो । तर विवाद समाधान गर्नु साटो फरक विचार राख्नेहरूमाथि नै स्काभेटर लगाउने जुन हर्कत त्यहाँ देखियो, यसले सोच्नैपर्ने बनाएको छ– हामी कस्तो विकास गर्न खोजिरहेका छौँ ?
बाटो खन्न अवरोध गर्न खोज्नेहरूको माग ठूलो थिएन । उनीहरूको भनाइ थियो, ‘केही समय दिनुस्, अहिले सडक नखन्नुस् ।’ तर बाटो बनाउने हतारोमा रहेको निर्माण समिति पर्खिने पक्षमा देखिएन । र, जे भयो– त्यो सबैलाई थाहा छ । नगरपालिकाको वडा–९ ग्वाल्लेक, अयरखालीमा स्काभेटरले हान्दा घाइते स्थानीय गौरा जोशी अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेकी छन् । धन्न ! मानिससँग स्मार्ट फोन छ र उक्त बर्बर घटनाको भिडियो खिचे र सोसल मिडियामा राखे, जसले पूरै देशलाई सिरिंग बनायो । नभए यस्ता कति घटनाबारे देश बेखबर रहँदो हो ?
विकास निर्माण गर्नुपर्छ भन्नेमा सन्देह रहेन । मानिसको जीवन समृद्ध बनाउन सडक, पुलपुलेसा सबै थोक बनाउनुपर्छ । तर जसका निम्ति विकास गर्न खोजिएको हो, उसैमाथि जबर्जस्ती स्काभेटर चलाएर कस्तो विकास थोपरिरहेका छौँ हामी ? अब घोत्लिनुपर्ने समय आएको छ । बिनायोजना जबर्जस्ती थोपरिएको विकासले केही मानिसको धन्दा त चल्ला तर आम नागरिकको जीवन सहज हुने गरी दिगो विकास गर्न सक्दैन । यस खाले निर्माणले एकातिर प्राकृतिक विनाश त गर्छ नै, अर्कोतर्फ सर्वसाधारणमा झन् असन्तुष्टि र निराशा बढाउँछ ।
फरक मतको सम्मान गरेर र चित्त बुझ्ने गरी सम्बोधन भए मात्र लोकतन्त्र उन्नत बन्न सक्छ । तर बैतडी घटनामा सर्वसाधारणको कुनै हैसियत नै नभएजस्तो व्यवहार देखियो । उनीहरूका आवाजको कुनै अर्थ नभएजस्तो गरी बर्बर व्यवहार भयो ।
नेपाल म्यागजिनले गत साता गरेको ‘राउन्ड टेबल’ मा पनि वक्ताहरूको एक मत थियो, ‘राजनीति सबै खालका अपराधको केन्द्रबिन्दु बन्यो ।’ बैतडीको डोजरकाण्डमा पनि सत्तारुढ नेकपाकै स्थानीय नेताहरू जोडिएको खुलेको छ । स्थानीय नेताहरूसँग ठेकेदारको अन्तरसम्बन्ध नयाँ कुरा होइन । तर स्थानीयमाथि यो स्तरमा गरिएको बर्बर दमनले कसरी यो ‘नेक्सस’ विकासका नाममा नागरिकविरोधी हर्कत गर्न पनि हिचकिचाउँदैन भन्ने देखाएको छ ।
विकासका नाममा प्राकृतिक स्रोत–साधन दोहन गरी सीमित व्यक्तिलाई धनी बनाउने धन्दा तब मात्र अन्त्य हुन सक्छ, जब हामी स्थानीय आवश्यकता के–के हुन् भनेर थाहा पाउँछौँ । त्यो काम हरेक स्थानीय तहको हो । विडम्बना, नागरिकको लामो संघर्षपछि गाउँ पुगेका यी ‘सिंहदरबार’ मा पनि माथि भनेजस्तै दोहन धन्दा गर्नेहरूकै बोलवाला छ । विकासका नाममा आफ्नो गाउँठाउँ आसपास के भइरहेको छ भन्नेमा चाहिँ नागरिक सचेत हुनैपर्ने भएको छ । यति मात्र हुन सक्यो भने पनि नागरिकले आफ्नो आवश्यकताविपरीत केही भए प्रश्न उठाउन सक्नेछन् ।