माओवादीका मलिन मिथक
सशस्त्र द्वन्द्वका बेला माओवादी नेताहरूमध्ये सबैभन्दा मिथकीय पात्र थिए, रामबहादुर थापा 'बादल' ।
०५६ सालको अन्त्यतिर थापा उपत्यकाको जिम्मेवारी सम्हाल्न आउँदा माओवादी कार्यकर्ता गंगाबहादुर लामा कम्ता हौसिएनन् । आफ्नो नेताको अद्भुत क्षमताका बारेमा सुनेका लामाको भ्रम ०५९ मा वार्ता प्रक्रियामा आउँदा उनकै 'स्टाफ' रहेर काम गरेपछि बल्ल टुट्यो । "थापा औसत नेता मात्र रहेछन् । उनी कोठाभित्र बसेर योजना बुन्न रुचाउँछन्," लामाको कथन छ, "सबै कार्यकर्तालाई यो प्रचण्डको, त्यो बाबुरामको भन्ने कोणबाट व्यवहार गर्छन् । आफ्नो प्रशंसा गनेर् लाई मात्र च्याप्छन् ।"
खास गरी चारवटा कारणले थापा मिथकीय पात्र बनेको माओवादी नेताहरूको बुझाइ छ । पहिलो, रसियामा एग्रोनोमी (बाली विज्ञान) पढ्न गएका उनी 'क्रान्ति'कै लागि भनेर फर्के र पलपल मृत्युको बाटो रोजे । चाहेका भए उनले त्यहीँ वा यहाँ पनि आरामदायी जीवन बिताउन सक्थे । दोस्रो, बाबु भारतीय सेनाको माथिल्लो तहबाटै सेवानिवृत्त भएको र भाइहरूले पनि लाहुरे भर्ती नै रोजेकाले उनलाई सैन्य रणनीतिकारका रूपमा प्रचारबाजी गरियो ।
तेस्रो, ०५०/५१ मा सशस्त्र द्वन्द्व थाल्ने भन्दै राप्ती क्षेत्रमा 'ग्रामीण वर्गसंघर्ष' (स्थानीय 'शोषक'-'सामन्त'लाई कुटपिट गर्ने, मोसो दल्ने)को नेतृत्व पनि थापाले नै गरे । चौथो, माओवादी नेतामध्ये बाल्यकालदेखिका साथी भएकाले प्रचण्डसँग सीधासीधा आँखा जुधाएर आफ्ना कुरा राख्न सक्ने नेता थापाबाहेक अरू भएनन् ।
सशस्त्र द्वन्द्व थालेको दुई वर्ष पुग्दा नपुग्दै थापा यौन विचलनको अभियोगमा सांस्कृतिक कारबाहीमा परे । ०५३ सालको अन्त्यमा भारतमा बसेको केन्द्रीय समिति बैठकले उनलाई 'लिन प्याओवाद उन्मुख' आक्षेप लगाउँदै साधारण सदस्यबाट समेत निलम्बन गर्यो । ०५६ सालको अन्त्यतिर कारबाही फुकुवा भएपछि थापा उपत्यका विशेष ब्युरोको इन्चार्जको जिम्मेवारीमा राजधानी छिरेका हुन् ।
०३५ सालदेखि सक्रिय राजनीतिमा लागेका उनी ०४२ सालको अन्त्यतिर मोहनविक्रम सिंह र मोहन वैद्यको पार्टी दुई चिरा परेपछि वैद्य नेतृत्वको नेकपा मशालको केन्द्रीय सदस्य भएदेखि नै नीति निर्माण तहमा छन् । सशस्त्र द्वन्द्वअघि र पछि सबै भूगोलको नेतृत्व गर्ने अवसर पाएका माओवादी नेतामा पर्छन् उनी । केन्द्रीय समितिमा पुगेपछि उनले राप्ती क्षेत्रको जिम्मेवारी सम्हालिरहँदा त्यस क्षेत्रमा उनको रूप र बोलीवचनको खुबै तारिफ भयो ।
पञ्चायती सरकारले वैशाख ०४३ मा घोषणा गरेको निर्वाचनलाई बिथोल्ने उद्देश्यले नेकपा मशालको वाग्मती ब्युरोले पार्टीका तत्कालीन महासचिव वैद्य, सैन्य आयोग प्रमुख प्रचण्डलगायत नेतालाई समेत जानकारी नदिई १९ चैत ०४२ मा राजधानीका असन, क्षेत्रपाटी, त्रिपुरेश्वर, लगनखेललगायत नौ स्थानका प्रहरी बिटमाथि धावा बोल्यो । त्यस प्रकरणमा पार्टीका दर्जनौँ नेता-कार्यकर्ता समातिएपछि इन्चार्ज देव गुरुङलाई वस्थिापन गरी वाग्मती ब्युरोमा राप्तीबाट उनै थापालाई ल्याइयो । सशस्त्र विद्रोहको 'ट्रायल'स्वरूप गरिएको त्यस प्रकरण 'सेक्टर काण्ड'का रूपमा परिचित छ ।
संयोग के भने सेक्टर काण्ड गलत थियो भनेर वाग्मती ब्युरो सम्हाल्नेबित्तिकै थापा र सैन्य आयोग प्रमुख प्रचण्ड (त्यतिबेला 'विश्वास') सशस्त्र संघर्षको तयारीमा जुटे । प्रचण्ड, थापा र कारबाही गरी अन्यत्रै हुत्याइएका देव गुरुङ मनाङस्थित गणेशमान गुरुङको घर पुगेर दुई थान थ्रीनट थ्री राइफल किनेर फर्किए । यसपछि गोरखाको सिरानचोकमा सैन्य प्रशिक्षणका लागि असोज ०४५ मा प्रचण्ड र थापा एउटा पेस्तोल (लेखराज भट्टले उपलब्ध गराएको), लोला जिलेटिन लिएर जाँदा मुग्लिन पुलमा प्रहरीको चेकिङबाट बालबाल जोगिए ।
थापा माओवादी आन्दोलनभित्र द्वन्द्ववादको सबैभन्दा लामो व्याख्या गर्ने तर आफ्नो जीवन व्यवहारमा कहिल्यै लागू नगर्ने नेता मानिन्छन् । माओवादी नेताहरूको भनाइ के छ भने थापामा जनवादी राजनीतिभन्दा निषेधात्मक केन्द्रीयतावादी चरित्र ज्यादा छ । समस्यालाई सैद्धान्तिक आधारमा नभई प्राविधिक प्रधानता दिएर हल गर्न खोज्छन् ।
प्रत्येक ठाउँमा आफूभन्दा कनिष्ठसँग थापाको अन्तरविरोध पर्ने गरेको छ । जस्तो कि, दोस्रोपटक राप्ती क्षेत्रको जिम्मेवारी सम्हाल्दा उनले रोल्पा र रुकुमलाई जोडेर सिस्ने-जलजला (सिज) अभियान चलाउँदा कृष्णबहादुर महरासँग खटपट पर्यो । रोल्पा घर भएका एक माओवादी नेताका अनुसार ग्रामीण अन्तरविरोधलाई बल प्रयोग नगरी हल गर्नुपर्छ भन्ने मान्यता राख्ने महरालाई हेमन्तप्रकाश ओलीले साथ दिएका थिए । तर, थापा खुट्टा भाँचेर मात्र हल हुने अडान लिन्थे ।
राप्ती क्षेत्रमा थापाले सिज सलाम, सिज मेला, सिज टोपी, सिज विवाहजस्ता शब्दको प्रयोग सुरु त गरे नै, सिज विचारधारा बनाउनुपर्ने योजनासमेत अघि सारे । त्यसपछि थापाको सिको गर्दै पूर्वी कमान्डका यानप्रसाद गौतमले गतिसलाम, गति मेला (सिन्धुलीको गढी र काभ्रेको तिमाललाई जोडेर बनाइएको) अभियान सुरु गरे । यी दुई अभियानका कारण प्रचण्ड एक प्रशिक्षणमा भन्न बाध्य भए, 'तपाईंहरू त सिज र गति सलाम मात्र भन्न थाल्नुभयो । यी दुइटै सलाम मेरा होइनन् । मेरो लाल सलामचाहिँ कता हरायो ?' थापाले सिजमार्फत आफ्नो नेतृत्वमाथि धावा बोल्न खोजेको शंका गरेपछि प्रचण्डले ०५३ को अन्त्यमा कारबाहीको डन्डा बर्साएका थिए ।
कारबाही फुकुवा भएर उपत्यका विशेष ब्युरो इन्चार्ज बनेर आएपछि पनि थापाको आफूभन्दा कनिष्ठ मुमाराम खनाल र रवीन्द्र श्रेष्ठसँग अन्तरविरोध पर्यो । १७ चैत ०६० मा भारतको सिलगुडीमा मोहन वैद्यको गिरफ्तारीपछि प्रचण्डले उनलाई पूर्वी कमान्डको मोर्चा सम्हाल्न पठाए । त्यहाँ पनि उनको प्रभु साह, जयकृष्ण गोइत, कुमार पौडेललगायत नेतासँग झगडा चर्कियो । कतिसम्म भने सोलु र रामेछापको सिमानामा पर्ने गुम्देलमा भएको पूर्वी कमान्ड स्तरीय एउटा बैठकमा उनले साहमाथि कारबाही नै गरे ।
गोइतसँग पनि थापाको त्यस्तै टक्कर पर्यो । गोइतलाई उनी र हितमान शाक्य मिलेर पार्टीबाटै निष्कासित गरे । पछि गोइतले मधेसमा छुट्टै सशस्त्र समूह गठन गरे । उनीहरूको अन्तरसंघर्षबारे जानकार एक माओवादी नेता भन्छन्, "थापाले गोइतलाई राजनीतिक रूपमा निषेध गर्ने प्रयत्न नगरेका हुन्थे भने उनी माओवादीबाट बाहिरिने थिएनन् ।" शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डले तिनै गोइतलाई 'मधेसका एक राजनीतिक नेता' भनिदिए ।
उनी अन्तरविरोधलाई भित्रदेखि हल गर्नुभन्दा प्रचण्डसँग बदला लिनुपर्यो भने भट्टराई-वैद्यसँग र भट्टराई-वैद्यसँग बदला लिनुपरेमा प्रचण्डसँग मिल्न पुग्छन् । घटनाक्रमले पनि त्यही देखाउँछ । जस्तो : ०६१ को सुरुमा भारतको मैसुरमा माओवादी केन्द्रीय समिति बैठकमा सर्वसत्तावाद प्रमुख कि अराजकतावाद भन्ने विवाद भयो । प्रचण्डले अराजकतावाद प्रमुख भन्दै बाबुराम भट्टराईलाई लक्षित गर्न खोजे भने भट्टराईले सर्वसत्तावाद प्रमुख भन्दै प्रचण्डलाई । त्यस बैठकमा थापाले भट्टराईलाई साथ दिए । त्यहाँ समाधान निकाल्न नसकेपछि रुकुमको फुन्टीबाङ बैठक हुँदा थापा प्रचण्डतिर ढल्कन पुगे । परिणाम, १८ माघ ०६१ मा लाबाङमा बसेको पोलिटब्युरो बैठकले भट्टराईमाथि कारबाही गर्यो । मंसिर ०६५ मा भक्तपुरको खरीपाटीमा भएको राष्ट्रिय भेलामा चाहिँ थापा प्रचण्ड र वैद्य दुवै समूहमा खुलेनन् । उनी जता खुलेका हुन्थे, उतै बहुमत हुन्थ्यो । दुवैतर्फको बहुमत नभएपछि मिलीजुली प्रतिवेदन पारित भयो । नेकपा माओवादीका एक के न्द्रीय सदस्य भन्छन्, "घटनाक्रमले के पुष्टि गर्छ भने थापाको आफ्नो राजनीतिक विचार छैन । आफूलाई जताबाट फाइदा हुन्छ, त्यसलाई समर्थन गर्छन् ।"
प्रचण्ड नेतृत्वको सरकार ढल्नुमा थापाको मुख्य भूमिका देख्नेहरू धेरै छन्, माओवादी पंक्तिभित्र । खासमा रुकमांगद कटवालसँग रक्षामन्त्रीका हैसियतमा थापाको टक्कर लम्बिँदै जाँदा प्रचण्डले सरकार नै छाड्नुपर्यो । बाबुराम भट्टराईलाई सरकारको नेतृत्व गर्न नदिन गोपाल किराँतीलगायत केही नेताले थापालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावसमेत गरे । त्यसलाई वैद्यले पनि समर्थन गरे । लहैलहैमै सही, प्रधानमन्त्रीमा प्रस्तावित थापा यतिबेला सानो पार्टीका नेतामा खुम्चिन बाध्य छन् । त्यसमाथि उनको थाप्लोमा पार्टी विभाजनको दोष थोपरिएको छ । "अहिले पनि नेत्रविक्रम चन्दलाई देखाइदिन मात्र प्रचण्डसँग एकता गर्नुपर्छ भनेर लागेका हुन्," थापासँग ०४० सालदेखि संगत गरेका एक नेता भन्छन्, "खासमा उनीसँग फस्ट म्यान भएर संगठन चलाउन सक्ने ल्याकत छैन । त्यसैले प्रचण्ड, भट्टराई, वैद्य पटक-पटक चर्चामा आउँदा र उनलाई अरूले नै चर्चामा ल्याइदिँदा पनि ओझेल परेका छन् ।"
हुन पनि एमाओवादीमा हुँदा होस् वा त्यसपछि माओवादीमा पनि, थापा संगठन विभाग प्रमुख तथा महासचिव छन् । तर, उनले आफ्नो क्षमता देखाउन सकेका छैनन् । "ग्रामीण वर्ग संघर्षका बेला राम्रो भूमिका निर्वाह गरेकाले अहिलेसम्म थापाले त्यसैका आडमा राजनीति गरिरहेका छन्," एमाओवादीका एक पोलिटब्युरो सदस्य भन्छन्, "खुला राजनीति र सञ्चार माध्यममा आउन नरुचाउनु, सानो समूहलाई समाएर कोठे राजनीति गर्नु उनको मुख्य विशेषता हो ।"
ग्रामीण वर्गसंघर्ष र सशस्त्र द्वन्द्वका एकाध योजनामा बाहेक थापाले फौजी योजना निर्माण र नेतृत्व गरेका छैनन् । मौन बस्न रुचाउने थापाको चरित्रका कारण उनलाई रणनीतिकार ठान्ने पंक्ति भने छ । तर, उनले एउटा पनि सैन्य लेख लेखेका छैनन् । र, आन्तरिक पंक्तिमा आफू सैन्य रणनीतिकार भएको दाबी पनि गरेका छैनन् ।
पछिल्लो समय चन्दले फरक पार्टी गठन गरेपछि थापा एमाओवादीसँग तत्काल एकता गर्नुपर्ने पक्षमा छन् । उनलाई प्रवक्तासमेत रहेकी पोलिटब्युरो सदस्य पम्फा भुसाल, पोलिटब्युरो सदस्य हितमान शाक्य, केन्द्रीय सदस्य महेश्वर दाहाल, सूर्य सुवेदीलगायतले साथ दिएका छन् । मोहन वैद्य भने तत्कालै एकता गर्न हतारिएका छैनन् । थापा पूर्वको आधार इलाकामा रहँदा सोलुखुम्बुका तत्कालीन माओवादी इन्चार्ज राजेन्द्र बस्नेत भन्छन्, "थापा आफैँ पार्टीको नेतृत्व गर्न सक्ने नेता होइनन् । अरूले दिएका योजना कार्यान्वयन गराउन सक्ने हैसियत मात्र राख्छन् ।"
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...