जीवित देवी
आँखाका डिल हुँदै कन्सिरीसम्म तन्काइएको निक्खर कालो गाजल । ललाटभरि पोतिएको रातो टीका, जसको घेरामा देखिने मसिनो पहेँलो रङ । शिरमा सजाइएको कल्की आकारको आभूषण, सुन–चाँदीका टिकिया उनिएको परम्परागत जामा ।
आँखाका डिल हुँदै कन्सिरीसम्म तन्काइएको निक्खर कालो गाजल । ललाटभरि पोतिएको रातो टीका, जसको घेरामा देखिने मसिनो पहेँलो रङ । शिरमा सजाइएको कल्की आकारको आभूषण, सुन–चाँदीका टिकिया उनिएको परम्परागत जामा । इन्द्रजात्राका बेला रथमा राखेर घुमाइने यस्तै कुमारी दर्शनार्थ उपत्यकाका चोक, गल्ली र सडकमा मान्छेको महासागर नै उर्लन्छ । त्यस अवसरमा बज्ने नेवारी बाजा, भैरव, महाकाली अनि लाखे नाच र पूजा–अर्चनाका तमाम विधिले भदौ/असोजको यो शरदीय जात्राले ‘जीवित देवी’प्रतिको उत्सुकता र आकर्षण मात्र होइन, कुमारी परम्परासँग जोडिएका अनेक किस्सा र इतिहासको फेहरिस्त प्रकट गर्छ ।
कुमारी परम्पराको जरो ठ्याक्कै यही हो भन्न नसकिए पनि सांस्कृतिक अध्येता र इतिहासविद्हरू मध्यकालअघि कुनै न कुनै रूपमा कुमारी पूजा कायम रहेको दाबी गर्छन् । जीवित देवी कुमारीको पूजा–अर्चना गर्ने तान्त्रिक परम्परा भने उपत्यकामा सर्वप्रथम बौद्धमार्गीले सुरु गरेको मानिन्छ । लिच्छविकालमा राजा मानदेवको पालामा नै काठमाडौँका विभिन्न स्थानमा टोले कुमारी राख्ने र उनीहरूको पूजाआजा गर्ने चलन थियो । अहिले पनि काठमाडौँका ३२ वटा ज्यापू टोलमा कुमारी पुज्ने चलन छ । त्यसबाहेक साँखु, बुङमती, बनेपा, धुलिखेल, त्रिशूली र पाल्पाका नेवार समुदायमा पनि कुमारी पुजिन्छन् । “कुमारी परम्परा पुरानो तर महत्त्वपूर्ण परम्परा हो,” संस्कृतिविद् तेजेश्वबाबु ग्वंगका शब्दमा, “उहिल्यै टोलको रक्षा र समृद्धिका लागि कुमारी पुज्ने चलन थियो ।”
काठमाडौँ, भक्तपुर र ललितपुरमा छुट्टाछुट्टै कुमारी राख्ने परम्पराका बीच राजा जयप्रकाश मल्लले मूल कुमारी बनाएर पुज्ने चलन चलाए, जुन परम्परा अहिलेसम्म पनि काठमाडौँको हनुमानढोकास्थित कुमारीघरले धानेको छ । शाक्य परिवारबाट ३२ लक्षणको कसीमा छानिएकी राष्ट्रिय कुमारी हनुमानढोका दरबार गद्दी बैठकनजिकै रहेको कुमारीघरमा राखिन्छिन् । कुमारीघरको निर्माण राजा जयप्रकाश मल्लले गरेका हुन् । वास्तुशास्त्रका सबै विधि पूरा गरेर बनाइएको यो घरमा तान्त्रिक पूजाआजा हुन्छ । कुमारीघरको मूलद्वारमा दुईवटा सिंहका मूर्ति छन् र तोरणमा महिषमर्दिनी दुर्गाको मूर्ति राखिएको छ, जसलाई कुमारीकै प्रतीक मानिन्छ ।
संसारमै जीवित देउता मान्ने यो अनौठो र रहस्यमयी परम्परा नेपालमा मात्र छ, जसले नेपाली कलासंस्कृति र परम्पराको विश्वमाझ नयाँ ढंगले पहिचान दिन सक्छ । संस्कृतिपारखी, अध्येता र पर्यटकलाई ‘कुमारी ब्रान्ड’ बारे बुझाउन सकियो भने यसप्रति आकर्षण बढ्दै जान सक्छ । यसै पनि जीवित देवी भनेर कुमारीका बारे धेरै सोधखोज र अनुसन्धान भएका छन् । लामो समयसम्म काठमाडौँ उपत्यकाको संस्कृति र परम्पराबारे गहिरो अध्ययन गरेका विद्वान् मेरी स्लसरले पनि कुमारी परम्परा र यससँग जोडिएको इतिहासले चुम्बकीय रुचि पैदा गर्न सक्ने सम्भावना औँल्याएका छन् ।
स्लसरको खोजीनितीलाई इन्द्रजात्रामा ओइरिने विदेशी पर्यटकको संख्याले पनि पुष्टि गर्छ । उदाहरणका लागि इन्द्रजात्राका सात दिनमा मात्रै झन्डै डेढ लाख विदेशी पर्यटकले जात्रा अवलोकन गरेको रेकर्ड छ, कुमारीघर सञ्चालन समितिसँग । “अझ यसलाई सांस्कृतिक ब्रान्डकै रूपमा प्रचारप्रसार गर्न सकियो भने त गजब नै हुन्छ,” समितिका उपाध्यक्ष राजन महर्जन भन्छन्, “विश्वलाई आकर्षित गर्न कुमारी परम्परा महत्त्वपूर्ण विषय हुन सक्छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...