चारपुस्ते फोटो एल्बम
भारतीय नारीहरूको बदलिँदो जीवनशैली, शिक्षा, सम्बन्ध, प्रेम अनि श्रद्धाबारे उनीहरूको धारणा जान्नका लागि बिफोर वी भिजिट द गडेस (उपन्यास) निकै उपयुक्त छ ।
आफ्नी छोरीको पढाइ निरन्तर गर्न हातमा मिठाईको थाल बोकेर ढाड कुप्र्याउँदै गाउँका जमिनदारका घर पुगेर बिन्ती बिसाउने दुर्गा । आमाले यति दु:ख गरेर पढाउँदा पढाउँदै जमिनदारको छोरासँग प्रेममा परेर जिन्दगीको बाटो नै भुलेकी छोरी सावित्री । सावित्रीले खोलेको ‘दुर्गा मिठाई’को साँघुरो घेरामा अट्न नसकेर क्याम्पसलाई लात मारेर प्रेमीसँगै अमेरिका पुगेकी नातिनी बेला । अनि, त्यही नातिनीले जन्म दिएकी पनातिनी तारा, जो दुव्र्यसन र चरम निराशाका पर्खाल नाघेर फेरि पठनपाठनलाई निरन्तरता दिने अठोट गर्छे ।
बिफोर वी भिजिट द गडेस (देवीलाई भेट्नुअघि) यिनै चार महिलाहरूको कथा हो । क्रमबद्ध कथाभन्दा पनि छ्यासमिस गरी यसै हुलिएका पारिवारिक तस्बिर हरूको एल्बमजस्तो छ यो कृति । प्रत्येक पात्रलाई पाठकले झलक्क देख्छन्, उसको जिन्दगीका केही वर्ष सँगै हिँड्छन्, उसका बानी–बेहोरा बुझ्छन् । उसको जीवनमा प्रभाव पारेका घटना र मान्छेबारे पनि जानकारी लिन्छन् । तर, उसको पूरै बेलिबिस्तार जान्ने मन हुँदाहुँदै दिवाकरुनीले अचानक अर्कै पात्र र परिवेशको चित्रण गरिदिन्छिन् । कथा सुरु हुँदा पाठकको साक्षात्कार कोलकातानजिकको गाउँमा एक्लो जीवन बिताइरहेकी सावित्रीसँग हुन्छ । लगत्तै लेखकले पाठकलाई वर्षौंअघि कष्टपूर्ण जीवन भोगेकी उसकी आमासँग भेटाउन लग्छिन् । फेरि अर्को भागमा अमेरिकाका दुई राज्यमा आ–आफ्नै समस्याको भारी बोकेका उनका छोरी र नातिनीसँग चिनापर्ची हुन्छ ।
लगभग डेढ दर्जन कृति प्रकाशित गरिसकेकी दिवाकरुनीका महिला पात्र सधैँ सशक्त हुने गर्छन्, प्राय: कथाले नारीकै जीवनचक्रभित्र पर्ने अनेक कुरा बोकेका हुन्छन् । उनीहरूका माध्यमबाट लेखकले सम्बन्ध, विवाह, महिला शिक्षा र अधिकार अनि व्यक्तिगत इच्छाजस्ता विषयको अनुसन्धान नै गर्ने गर्छिन् । कुनै भाषण नछाँटीकन र गह्रुँगा वा आक्रोशयुक्त शब्दहरूको प्रयोग नगरी उनको यो उपन्यासले पनि एउटा सन्देश प्रस्टै पारेको छ : महिलाको जीवनमा शिक्षा र आत्मनिर्भरताको निर्विकल्प आवश्यकता । झट्ट सुन्दा साधारण लागे पनि उनको शिल्पले हरेक पाठकलाई यो विषयमा गम्भीर भएर सोच्न बाध्य बनाउनेछ । विभिन्न कारणले पढाइ छुटेका, आफ्नो खुट्टामा उभिन खोजेर पनि नसकिरहेका र यसैका कारण समस्या खेप्नुपरेका दिदीबहिनीले यसलाई आफ्नै कथा मान्नेछन् । अझ यस्ता चुनौती सहेर पनि पढाइ र कामलाई छोड्दै नछोडेका ज्याद्रा महिलालाई यो उपन्यासले बेग्लै ऊर्जा र स्फूर्ति दिन्छ ।
यस्तो सामान्य विषयवस्तुलाई ध्यानमा राखेर चार महिलाको उदाहरण दिँदै यसलाई सटीक र कलात्मक तरिकाले पुष्टि गर्ने दिवाकरुनीको जाँगर र कलालाई मान्नैपर्छ । यही पुष्टि गर्ने क्रममा उनले पात्रहरूका जीवनका केही पललाई मात्र छानीछानी प्रस्तुत गरेर यो उपन्यासमा अलि नौलो प्रयोग गरेकी छन् । अरू बेला हरेक पात्रको जन्मदेखि मृत्युसम्मको प्रत्येक क्षणको साक्षी बसिदिने लेखकले यसमा भने चारै पात्रका जीवनका एक–एक धर्का मात्र कोरेर चतुर्भुजझैँ बनाएकी छन् । यी धर्कालाई जोड्ने, मिलाउने र तिनको अर्थ खोज्ने काम पाठककै हुन्छ । घटनाक्रमलाई मिलाएर बुझ्न र एकपछि अर्को गर्दै अर्थ निकाल्न अलि बेर लाग्छ, त्यसैले यो कृति पढ्न पनि धैर्य चाहिन्छ । क्रमबद्ध रूपमा आदि, मध्य र अन्त्य खोज्ने पाठकलाई यो प्रयोग रुचिकर नलाग्न सक्छ । त्यस्तै एकत्रित कथा नभएर चुस्सचुस्स पात्र र घटना परिचयमा मात्र सन्तुष्ट नहुने पाठकका लागि पनि यो होइन ।
दिवाकरुनीको लेखनीका छापहरू पहिला कृतिहरूमा झैँ यो उपन्यासमा पनि प्रशस्त छ । उनको शैली मन पराउने पाठकका लागि उनको मीठो भाषा, विस्तृत र मन छुने वर्णनहरू र कथामा बेलाबेला आश्चर्यचकित पार्ने मोडहरू परिचित नै लाग्नेछन् । प्राय: समकालीन समाजका पात्रहरूसँगसँगै उनीहरूको इतिहास र रहस्यहरूसमेत खोतलेर पाठकसामु उदांगो पार्न मन पराउने उपन्यासकारले यस कृतिमा पनि आफ्ना चार पात्रका साथमा ५० दशकको यात्रा गरेकी छन् । थोरै मात्रामा स्वैरकल्पना, आश्चर्यजनक घटना र अलि फरक पात्रहरू यो उपन्यासमा पनि दोहोरिएका तत्त्व हुन् । उनका धेरै नियमित पाठकका लागि यो आनन्ददायी र प्रत्याशित भए पनि एकै खाले कथानकहरू बारम्बार नजुधून् भनेर ध्यान पुर्याउनुपर्ने देखिन्छ । अझ पात्रका नामहरू र उनीहरूको जीवनावस्था र प्रेमकथा पनि उस्तै उस्तै हुन थालेपछि पाठकले नयाँ पुस्तक किनिरहनुपर्ने आवश्यकता नै हुँदैन ।
तर, रचनाकारले कथामा नवीनता ल्याउने प्रयास पनि गरेकी छन् । सूचनाप्रविधिका नयाँ माध्यमलाई आवश्यकता अनुसार पात्रहरूको पहुँचमा ल्याएर होस् वा अहिलेका केटाकेटीको चालचलनबारे सटीक व्याख्या गरेर, उनले आफ्नो कृतिलाई समयसापेक्ष बनाउँदै लगेकी छन् । अझ चाखलाग्दो त पहिले नारी–पुरुष सम्बन्धमा मात्र सीमित उनका कृति अहिले फराकिलो हुँदै गएर समलंैगिक सम्बन्धहरूलाई पनि समावेश गर्न र विभिन्न कोणबाट नियाल्न थालेका छन् । समाज र प्रेमलाई एउटै नजरबाट मात्र हेर्ने पाठकका लागि पनि यो नौलो स्वाद र सोच्ने नयाँ कोण बन्न सक्छ ।
भारतीय नारीहरूको बदलिँदो जीवनशैली, शिक्षा, सम्बन्ध, प्रेम अनि श्रद्धाबारे उनीहरूको धारणा जान्नका लागि यो उपन्यास निकै उपयुक्त छ । तर, दिवाकरुनीले एउटा शाश्वत् सत्य पनि सुस्तरी पाठकको मनसम्म पुर्याउन सफल भएकी छन्, युग जति बदलियोस्, शिक्षित र आत्मनिर्भर भए मात्र महिलाको जीवन सहज हुन्छ । सावित्रीले लेखेका यिनै शब्द उपन्यासका हरेक पात्रका मन र कर्ममा गुञ्जिरहन्छन्, ‘नातिनी, सत्य यही हो : तिमी अशिक्षित भए मान्छेहरूले तिमीलाई हेप्छन् । तिमीले जिन्दगी गुजार्न धनी मान्छेले फालेको टुक्राको सहारा लिनुपर्छ । यस्ता महिलाले कसरी परिवारको कीर्ति फैलाउन सक्छन् ?’
बिफोर वी भिजिट द गडेस
लेखक : चित्रा बनर्जी दिवाकरुनी
प्रकाशक : सिमोन एन्ड सुस्तर
पृष्ठ : २१०
मूल्य : ८०० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...