आवरण कथा» देउवाको सखाप साख
पार्टी र सत्ता गठबन्धन सञ्चालनमा शेरबहादुर देउवाको जोर–जबर्जस्तीले बदनामीको दाग
नेपाली कांग्रेस, डडेलधुराका सभापति हुन्, कर्ण मल्ल । गत वर्ष जिल्ला अधिवेशनबाट उनी सभापति चुनिएका हुन् । कुनै बेला शेरबहादुर देउवासँग अत्यन्तैनिकट रहेका मल्ललाई यस पटक भने देउवा र उनकी श्रीमती आरजु राणा देउवाले जिल्ला सभापति हुन नदिन भरमग्दुर प्रयास गरे । उनको विकल्पका रूपमा देउवा दम्पतीले रघुराज भट्टलाई अघि सारे । देउवा पत्नी आरजुले त यसका लागि साम, दाम, दण्ड, भेदको नीति पनि अपनाइन् । तर, मल्ल निर्वाचित भइछाडे ।
देउवा पत्नीले त्यसपछि मल्लसँग बोलचाल गर्न मात्र छाडेकी छैनन्, जिल्ला कार्य समिति, डडेलधुरालाई बेवास्ता गर्दै कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । कांग्रेस सभापति देउवाको गृह जिल्लाको दारुण घटना हो यो, जहाँबाट सभापति देउवाले पाँच–पाँच पटक निरन्तर संसदीय निर्वाचन जित्दै आएका छन् । अझ रोचक त के छ भने डडेलधुरा जिल्ला कार्य समितिमा देउवा पक्ष नै अल्पमतमा छ ।
जीवनहीन पार्टी
२५ फागुन ०७२, काठमाडौँमा पहिलो पटक कोइराला परिवारको मूलीबिना भएको नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट निर्वाचित भएका देउवाले पार्टी नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । ‘आफू सभापतिमा निर्वाचित भएमा पार्टीलाई जीवन्त बनाउँछु’ भनेर वाचा–बन्धन गरेका देउवाले यो १२ महिनामा न पार्टी पदाधिकारी नियुक्त गर्न सके, न केन्द्रीय समितिलाई पूर्णता दिनै चाहे । यति मात्रै होइन, उनले न त विभाग गठन गर्न सके, न त केन्द्रीय कार्यसम्पादन समिति नै बनाए ।
पार्टीको जुन विधान पालना गरेर सभापतिलगायत केन्द्रीय नेताहरू जसरी स्थापित छन्, अहिले पार्टी नेतृत्वबाटै विधान कुल्चिएको गुनासो कार्यकर्ताले गरेका छन् । जब कि, महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीका सबै तह पूर्ण गरिसक्नुपर्ने पार्टी विधानको धारा ४९ को उपधारा १९ मा उल्लेख छ । विधिको सर्वोच्चता नमान्नेलाई व्यावहारिक रूपमा कसरी लोकतान्त्रिक भन्ने ? यो प्रश्न अहिले देउवाको कानसम्मै पुगेको छ ।
सभापति देउवा अनिर्णयको बन्दी बन्न पुगेका छन् । केन्द्रीय सदस्यहरूलाई परिचालन गर्न रिक्त स्थान परिपूर्ण गरिनुपर्छ । कार्यकालको अन्तिम दिनमा स्थान परिपूर्ण गर्नुको कुनै औचित्य नै हुँदैन । अनेक केन्द्रीय नेताहरू यतिखेर भूमिका नपाएर निष्क्रियजस्ता छन् । तर, सभापति देउवाका लागि यसले कुनै अर्थ राख्दैन ।
पार्टीको केन्द्रीय समितिको बैठक कहिले बसेको थियो भन्ने पनि केन्द्रीय सदस्यहरूलाई नै स्मरण छैन । केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीबारे आफूलाई केही बोल्न मन लागे पनि बोल्न नपाएकाले आफ्नो विचार सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रस्तुत गरेको कुरा सभापति देउवामाथि आफैँमा चोटिलो व्यंग्य बन्न पुगेको छ, कांग्रेसजनबीच । कोइरालाले राजदूत नियुक्ति सिफारिस सम्बन्धमा पार्टी नेतृत्वप्रति आलोचनात्मक विचार पस्किएका छन्, सामाजिक सञ्जालमा ।
पार्टीलाई जीवन दिने सन्दर्भमा देउवा कतिसम्म लापरबाह देखिए भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाउन लिखित माग नै गर्नुपर्यो । मौखिक रूपमा बारम्बार आग्रह गर्दा पनि उनको कानमा बतास नलागेको गुनासो गर्दै उनले १४ फागुनमा लिखित रूपमै यस्तो आग्रह गरे । आसन्न तीन तहका निर्वाचन र सरकार सञ्चालनका विषयमा गम्भीर छलफल गर्नुपर्ने कारण जनाउँदै बैठक बोलाउन माग गरियो ।
पौडेलको पत्रको जवाफमा देउवाले केन्द्रीय समितिको बैठक तत्काल नबोलाउने भन्दै अहंकार प्रदर्शन गरे । ‘केन्द्रीय कार्यसमिति र संसदीय दलको एकैचोटि बैठक राख्ने तयारीमा थिएँ, पत्राचार र पेपरबाजी गरेपछि किन भनेकै बेलामा बोलाउने, अब अहिले बैठक बोलाउँदिनँ’ भनेर १५ फागुनमा पौडेलको जवाफ तिक्त शैलीमा फर्काए । देउवाको जवाफको प्रत्युत्तरले पौडेल झन् बिच्किए । उनले भने, ‘यस्तो अभिव्यक्ति प्रजातान्त्रिक चरित्र भएको सभापतिबाट आउनै सक्दैन ।’
पत्रको सवाल–जवाफको यो घटनाले कांग्रेसको आन्तरिक लोकतन्त्र कति कमजोर बनेको छ भन्ने संकेत गर्छ । पार्टी सचिवालयसमेत कति कमजोर छ भने एक वर्ष भयो महाधिवेशन भएको । अहिलेसम्म क्रियाशील सदस्यतापत्र पनि वितरण गरिएको छैन ।
सभापति देउवा पार्टी कामका सिलसिलामा देश दौडाहामा निस्किने गरेका पनि छन् । तर, आफू कस्तो कार्यक्रममा गइरहेको छु र त्यसको कस्तो प्रतिक्रिया आउला भन्ने मतलब पनि गर्दैनन् उनी । जस्तो : माघ र फागुनको मध्यसम्म उनी सरिक भएको कार्यक्रम हेर्दा हुन्छ । कोसीपारि एउटा हेलिकप्टर, बेथान–रामेछापमा दुईवटा हेलिकप्टर र पालुङटार–गोरखामा तीनवटा हेलिकप्टर लिएर देउवा कार्यक्रममा सहभागी भए । विडम्बना के भने हेलिकप्टर लगायतको खर्च स्थानीय बाहुबलीहरूले गरेका थिए । तीन ‘प’ अर्थात् पैसा, पाखुरा र पावरको राजनीतिलाई प्रश्रय दिने आफ्नो पुरानो स्वभाव देउवाले अझै छाडेका छैनन् भन्ने उदाहरण हो यो ।
उनी सभापति भएपछि पार्टीका तीनवटा मात्र आन्तरिक काम सम्पन्न भए । लामो समयदेखि थाती रहेको र अघिल्लो नेतृत्वले गर्न नसकेको भ्रातृसंस्थाहरूको महाधिवेशन गर्ने काम देउवाले आफू सभापति भएको ६ महिनाभित्रै पूरा गरे । त्यसैले नेपाल विद्यार्थी संघ र त्यसपछि नेपाल महिला संघ र नेपाल तरुण दलको महाधिवेशन उनका लागि आफैँमा एक उपलब्धि हुनसक्छ । तर, यो उपलब्धिभित्र पनि विधान छल्ने बेइमानी लुकेको छैन । यद्यपि, यो एउटा लोकतान्त्रिक पार्टीको नियमित काम हो । कुनै बहादुरी होइन । किनभने, यी संगठनका महाधिवेशनमा पनि देउवाले पार्टी सभापतिको भूमिका कम, गुटको नेताका रूपमा काम बढी गरेका थिए । र, तीनवटै संगठनमा आफ्नो गुट नेतृत्वमा आउने देखेपछि मात्र महाधिवेशन गराएका थिए । यही कारण हो, देउवा पार्टी प्रमुख भएर पनि गुटको नेताजस्ता मात्र देखिन्छन् ।
कांग्रेसको ७० वर्षको जीवनकालमा सर्वाधिक आन्तरिक संगठनात्मक अकर्मण्यताले निम्त्याएको चुनौतीको सामना गर्नु त बेग्लै कुरा, आफैँ समस्याको पहाड खडा गर्दै छन् उनी ।
कोइरालाकै शैलीमा
कांग्रेसको १३औँ महाधिवेशनको सन्दर्भमा नेपालले गरेको सर्वेक्षणले गुट–उपगुटका कारण पार्टीको समग्र शक्ति र प्रभावकारितामा कमी आएको/क्षति पुगेको निष्कर्ष कार्यकर्ताको थियो । उनीहरूको चाहना थियो, ‘भागबन्डा र गुट–उपगुटको अन्त्य’ (हेर्नूस्, सर्वेक्षणको सन्देश, ०२३ फागुन ०७२) ।
कुनै बेला कांग्रेसभित्रको कोइराला परिवार अर्थात् संस्थापन पक्षविरुद्घ लड्दै आएका देउवा पौडेललाई पार्टी सभापतिमा पराजित गरेपछि आफैँ संस्थापन बन्न पुगे । संस्थापन पक्षले आफूमाथि अन्याय गरेको बताएपछि कार्यकर्ताले महाधिवेशनमार्फत देउवालाई नै संस्थापनको पगरी गुथाइदिएका थिए । तर, कुनै एक संस्थामा आबद्घ भएपछि सबै त्यसका सदस्य संस्थापन पक्ष नै हुन्छ भन्ने कुरा देउवाले आमकांग्रेसजनलाई बुझाउन सकेनन् । उनलाई हिजो गिरिजाप्रसाददेखि सुुशील कोइरालाजस्तै संस्थापन भनिनमा नै रुचि रह्यो ।
देउवाले कुनै समय पार्टीमा आफ्नो वर्चस्व नरहेको र कोइराला वंशका गिरिजाप्रसादबाट आफूले थिचोमिचो र निरंकुश कार्यशैलीको सिकार बन्नुपरेको आरोप लगाउँदै पार्टी विभाजन गरेका थिए । अहिले पार्टीमा कुनै वंशवाद छैन । तर पनि देउवा नेतृत्व सफल हुन सकेको छैन । त्यसमाथि, सभापतिमा उम्मेदवारी दिने समयमा उनले पार्टीभित्रको गुट–उपगुट समाप्त पार्ने घोषणा गरेका थिए । तर, नेतृत्वमा मौलाएको चरम व्यक्तिवादी सोच अनि सत्तामा जसरी र जुनसुकै मूल्य चुकाएर भए पनि जानुपर्छ भन्ने चिन्तन हाबी भएका कारण पार्टीभित्र गुट–उपगुट झनै झांगिन थालेको छ ।
आफ्नो आदेश पालनकर्तालाई मात्र बूढानीलकण्ठ दरबारमा प्रवेश दिने देउवा आफ्नी श्रीमतीलाई रिझाउन नसक्नेलाई कांग्रेससमेत नमान्ने आभिजात्य प्रवृत्तिले ग्रस्त छन् । उनी कतिसम्म दम्भी भए भने आफ्ना पार्टीका सभापति सुशील कोइरालाको निधनको पहिलो वार्षिकीमा कुनै कार्यक्रम गर्न–गराउनमा समेत रुचि देखाएनन् ।
प्रकाशमान सिंहदेखि मिनेन्द्र रिजालसम्मका १३ नेताले आफूलाई छाड्दा पनि केही फरक नपरेको घमण्ड उनमा छ । जसरी हिजो गिरिजाप्रसाद मण्डलीले कांग्रेस नै गिरिजा र गिरिजा नै कांग्रेस भन्थ्यो, आज त्यही प्रवृत्ति देउवाको दैलोमा सुनिन्छ । त्यो मण्डली देउवालाई नै कांग्रेस र कांग्रेसलाई नै देउवाका रूपमा स्थापित गराउने प्रयत्नमा छ ।
पार्टीको सम्पूर्ण निर्णय प्रक्रियालाई आफ्नो मुठ्ठीमा लिने र आफ्ना विरोधीहरूलाई बेवास्ता गर्ने कोइरालाहरूकै प्रवृत्ति देउवामा पनि छ । जसरी गिरिजाप्रसादले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको बेवास्ता गरे, त्यही शैलीमा उनले पार्टीका इतर पक्षलाई बेवास्ता गर्ने शैली अपनाएका छन् ।
कित्ताकाट गर्ने देउवाको यही शैलीमाथि प्रश्न उठेको छ अहिले । र, त्यसरी प्रश्न उठाउनेले पनि देउवाकै कित्ताकाट शैली अपनाएको छ । उदाहरणका लागि जिल्लाका पार्टी सभापतिसँग समन्वय नगरी कोही मन्त्री वा केन्द्रीय नेता जिल्ला जान्छ भने उसलाई कुनै सहयोग नगर्ने निर्णय काभ्रे कांग्रेसले गरिसकेको छ । आफ्नो गुटको कार्यक्रममा मात्र जाने, आफ्नो पक्षकासँग मात्र भेटघाट गर्ने, आफूखुसी पार्टी जिम्मेवारी दिने प्रवृत्तिलाई निरुत्साहित गर्ने लहर काभ्रेबाट प्रारम्भ भएको छ ।
विचारको खडेरी
नेपालको सर्वेक्षणमा कांग्रेस कार्यकर्ताले पार्टीको राजनीतिक पहिचान बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादसँग जोडेका थिए । कांग्रेसले आफ्नो राजनीतिक पहिचान त्यही हो वा परिवर्तन भयो भन्ने कुरा महाधिवेशन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि स्पष्ट गर्न सकेको छैन । हिजोको नेतृत्व चाहे गिरिजाप्रसाद हुन् वा सुशील, ले समेत पार्टीभित्र विचार–विमर्शको संस्कृति जसरी भित्रिन दिएका थिएनन्, त्यही शैलीलाई देउवाले पनि दोहोर्याएका छन् । यसको अर्थ हो, राजनीतिशास्त्रमा स्नातकोत्तर देउवा यस्ता कुरामा गम्भीर छैनन् । उनलाई पार्टीपंक्तिले लोकतन्त्र र समाजवादको सनातनी विचार र व्याख्याले अब कांग्रेसको अगाडिको बाटो तय हुँदैन भनेर सम्झाउने जाँगर कांग्रेस निकट बुद्घिजीवीहरूलाई पनि छैन ।
कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठान अहिले अस्तित्वमा छ कि छैन भन्ने पनि कांग्रेसजनलाई नै थाहा छैन । जब कि, यसले गत संविधानसभा निर्वाचनमा कांग्रेसलाई एक नम्बर दल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । अब तीनवटा निर्वाचन सम्मुख रहेको अवस्थामा पार्टीको नीति, कार्यक्रम र विचार के हुने भन्नेमा प्रतिष्ठानले काम गर्न सक्थ्यो । तर, देउवालाई सायद त्यसप्रति विश्वास छैन । पैसा र शक्तिकै बलमा निर्वाचन जितिन्छ भन्नेमै उनी बढी विश्वास गर्छन् ।
नेतृत्व भनेको व्यक्तिप्रधान हुन्छ । व्यक्ति कमजोर भए नेतृत्व पनि कमजोर हुन्छ । कमजोर नेतृत्वले पार्टीलाई विचार पनि दिन सक्दैन । देउवाको हकमा पनि यही लागू हुन्छ । संवादहीनता र लेखपढको अभाव भएका देउवाको दोष भनेकै मात्र सत्ताकेन्द्रित राजनीति हो । तर, कांग्रेसलगायत सबैजसो पार्टीमा जसले आफूप्रति आश्रित भीडको जमात बढाउन सक्छ, उही नेता हुन्छ भन्ने मन्त्र सिरानी हालेर सुत्ने देउवाको यो चरित्र ठ्याक्कै गिरिजाप्रसादसँग मेल खान्छ ।
मुलुकको सबैभन्दा पुरानो दल कांग्रेसको इतिहास जति लामो र संघर्षपूर्ण छ, वर्तमान शिथिल छ । ००७, ०४६ र ०६२/०६३ को जनआन्दोलनमा अग्रणी भूमिका खेलेको यो पार्टी अहिले स्पष्ट विचार र कार्यक्रमविहीन भएको छ । पूरै दिशाहीन छ । त्यही भएर होला, कांग्रेस विचार र योजनाविहीनहरूको जमात समेत हुँदै गइरहेको छ, जो उग्र वामपन्थीसँग पनि सत्ता साझेदारी गर्छ र घोर दक्षिणपन्थीसँग पनि । वास्तवमा यो उदेकलाग्दो छ ।
यहाँनिर एउटा स्मरणयोग्य सन्दर्भ छ । १० वर्षसम्म हिंसात्मक आन्दोलनको नेतृत्व गरेका र पहिलो पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ १५ पुस ०६५ मा सुन्दरीजलस्थित बीपी कोइराला संग्रहालय पुगे । त्यहाँ उनले बीपीको कोट सुमसुम्याए र निकैबेर भावुक पनि भए । के एकपटक देउवा पनि त्यहाँ पुग्लान् र बीपीको कोटलाई एक नजर दिएर हालसम्म पार्टी र सरकारमा रहेर आफूले गरेका कामको मूल्यांकन गर्लान् ?
सत्तामा बलजफ्ती र मनपरी
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालालाई १५ फागुनमा शेरबहादुर देउवाको फोन आयो । देउवाले भने, ‘रामचन्द्र पौडेलले दु:ख दियो, तिमीले सघाउनु पर्यो । कोइरालाले जवाफ दिए, ‘तपाईं जथाभावी निर्णय गर्दै हिँड्नुहुन्छ, मैले के सघाउने ?’ उनको आशय राजदूत नियुक्ति प्रकरणलाई लिएर थियो । विशेष गरी विवादित म्यानपावर व्यवसायी आशा लामालाई राजदूत बनाइएकाबारे उनको गुनासो थियो । उताबाट देउवा बोले, ‘जिपछिरिङ लामाले नाम दियो, मलाई थाहा भएन । त्यो नाम फिर्ता गर्छु, तिमीले एउटा काम गर्दिनुपर्यो ।’ ‘के काम ?’ कोइरालाले सोधे । देउवाको जवाफ आयो, ‘प्रहरी महानिरीक्षक जयबहादुर चन्दलाई नै बनाउने हो । सुशीला कार्की (प्रधानन्यायाधीश)सँग मेरो राम्रो छैन, मैले बीबीसीमा सुशीलाको आलोचना गरेर अन्तर्वार्ता दिएको छु । दुर्गा सुवेदी (प्रधानन्यायाधीशका पति)सँग प्रदीप गिरीको कुरा गराउनुपर्यो । जसरी हुन्छ, चन्दको पक्षमा फैसला गराउनुपर्यो ।’
सत्तारूढ कांग्रेस सभापति देउवाको कोइरालासँगको यो कुराकानी नै पर्याप्त छ, सत्ता गठबन्धनमा कांग्रेसको प्रस्तुति कस्तो छ भनेर पुष्टि गर्न ।
१९ साउन ०७३ मा देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनसँग गरेको तीनबुँदे सम्झौता कांग्रेस–माओवादी सहकार्यको आधारविन्दु थियो । एमालेसँगको गठबन्धन तोडेको नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भयो । भनिन्छ, सत्ता गाजलको कोठाजस्तै हो, जहाँबाट फिर्ता हुँदा दागरहित हुनुपर्छ । तर, विडम्बना † कांग्रेसका धेरै मन्त्रीदेखि सत्ताका अनौपचारिक सञ्चालक स्वयं पार्टी सभापति देउवा नै दागरहित हुन सकेनन् । अझ यसमा छुट्नै नसक्ने नाम देउवा पत्नी आरजु राणाको पनि हो ।
विधिको शासनमा विश्वास गर्ने भनिएको कांग्रेसका सभापति देउवा पार्टीमा जसरी सरकारमा पनि विधिगत प्रक्रिया मिचेर अघि बढिरहेका छन् । यसको ताजा उदाहरण प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण नै हो । प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्ति दिलाउन आफ्नै सहयात्री तथा गृहमन्त्री विमलेन्द्र निधिसँग सम्बन्ध बिग्रने हदसम्म पनि पुगे देउवा । पहिलो वरीयतामा रहेका नवराज सिलवाललाई छाडेर तेस्रो वरीयतामा रहेका चन्दलाई प्रहरी प्रमुख बनाउन देउवाले जसरी बलजफ्ती गरे, जस्तो नांगो नाच देखाए, त्यसले उनलाई त बदनाम गर्यो नै, कांग्रेस पार्टीको बचेखुचेको साख पनि समाप्त गरिदियो । महानिरीक्षक नियुक्तिको विवाद अदालतको कठघरासम्मै पुग्यो । अदालतले चन्दलाई नियुक्ति नदिन अन्तरिम आदेश नै दियो, मन्त्रिपरिषद्ले नियुक्ति गरेकै दिन । यो देउवाको जबर्जस्ती–मनपरी गर्ने शैलीप्रति अदालतको दह्रो झापड थियो । त्यो झापडले देउवा रन्थनिए कि रन्थनिएनन् तर गाउँ–गाउँमा जनतासँग साक्षात्कार गर्नुपर्ने उनका कार्यकर्ताचाहिँ यसरी रन्थनिएका छन् कि अझै सम्हालिन सकेका छैनन् ।
प्रजातन्त्र स्थापनाका लागि पञ्चायतकालमा नौ वर्ष जेल बसेका देउवा राजदूत प्रकरणमा पनि उस्तै गरी फसे । विवादास्पद म्यानपावर व्यवसायी आशा लामालाई कांग्रेसका तर्फबाट संयुक्त अरब इमिरेट्स (यूएई)का लागि राजदूत प्रस्ताव गरे, देउवानिकट परराष्ट्रमन्त्री प्रकाशशरण महतले । तर, लामाको नाम कांग्रेसभित्र मात्र होइन, आमवृत्तमै व्यापक आलोचित भयो । अन्तत: २० फागुनमा उनको नाम फिर्ता लिनुपर्यो ।
कांग्रेसभित्र योग्य व्यक्ति नभएर लामाको नाम सिफारिस गरिएको थियो वा आर्थिक प्रलोभनमा परेर ? यसको जवाफ स्वयं परराष्ट्रमन्त्री महतले पनि दिन सकेनन् । किनभने, जवाफ सभापति देउवाले मात्र दिन सक्थे तर दिएनन् वा दिन चाहेनन् । यो प्रकरणमा देउवाले जुन तहको बदनामी भोगे, त्यो वर्णन गरिसाध्य छैन । सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय एक प्रतिष्ठित चिकित्सकले लेखेका कुराबाटै पनि त्यो बदनामीको अनुमान लगाउन सकिन्छ । ती चिकित्सकले लेखेका छन्, ‘बैना फिर्ता हुन्छ कि हुन्न होला भनेर धेरैले जिज्ञासा व्यक्त गर्दै छन् ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जापानजस्तो महत्त्वपूर्ण मुलुकको राजदूतको कोटा दिएकामा पनि आलोचित भएका छन्, देउवा । स्मरणीय छ, जापानको राजदूतमा उनकी सासू, आरजुकी आमा प्रतिभा राणाको नाम सिफारिस भएको छ । यहाँनिर प्रश्न के छ भने प्रतिभा राणाबाहेक अरू कोही हुन्थ्यो भने के जापानको राजदूत राप्रपाको भागमा पथ्र्यो ?
प्रहरी महानिरीक्षक र राजदूतहरूको नियुक्ति सिफारिस तत्काल सतहमा आएका विषय मात्र हुन् । यसअघि मन्त्रिपरिषद्को नियुक्ति र विस्तारमा देउवाको स्वार्थ जोडिएकै हो । अरू खालका नियुक्ति र सरुवा–बढुवामा समेत बूढानीलकण्ठको विशेष चासो रहने कुरा कसैबाट छिपेको छैन । बूढानीलकण्ठको सत्तावृत्तले हरेक नियुक्ति र सरुवा–बढुवामा शुभ–लाभ प्राप्त गरिरहेको विषय पनि अब गुपचुप छैन ।
वास्तवमा वर्तमान सत्ता गठबन्धनको नेतृत्व, रूपमा पुष्पकमल दाहालले गरिरहेका भए पनि सारमा यसका सञ्चालक कांग्रेसका सभापति देउवा नै हुन् । प्रहरी महानिरीक्षक र राजदूत नियुक्तिको सिफारिस यस्ता प्रकरण हुन्, जसले मुलुकको प्रमुख कार्यकारीलाई पर्दापछाडिबाट देउवाले नै चलाइरहेको पुष्टि गर्छ । संसदीय व्यवस्थामा प्रधानमन्त्रीभन्दा शक्तिशाली कार्यकारी अरू कोही हुँदैन । तर, देउवाले त्यसभन्दा आफू शक्तिशाली रहेको प्रमाणित गरिदिएका छन् । यसले कांग्रेस स्वयंले वकालत गर्ने संसदीय व्यवस्था र शक्तिशाली प्रधानमन्त्रीको परिकल्पना गर्ने लोकतान्त्रिक प्रणालीकै धज्जी उडाइरहेको छ ।
पार्टी सभापति देउवाको शैलीका कारण कांग्रेस कसरी चुक्दै गएको छ भन्ने अर्को उदाहरण हो, लोकमानसिंह कार्की प्रकरण । एमाले र माओवादीले दर्ता गरेको कार्कीविरुद्धको महाभियोगमा कांग्रेस मौन बसिदियो । सभापति देउवाको निर्देशनकै कारण कांग्रेस सांसदहरू लोकमान प्रकरणमा किंकर्तव्यविमूढ देखिए । महाभियोग प्रस्तावको पक्षमा कांग्रेसले स्पष्ट निर्णय दिन सकेको भए यो विषय संसद्बाटै किनारा लाग्ने थियो । तर, कांग्रेसले महत्त्वपूर्ण अवसर गुमाउन पुग्यो ।
यस्ता अनगिन्ती प्रकरण छन्, जसबाट कांग्रेसलाई बदनामीबाहेक केही प्राप्त भएको छैन । अझ विदेश मामिला सम्बन्धमा कांग्रेसले चीनलाई रुष्ट बनाउने कामसमेत गर्यो । यसमा देउवा नै सहायक भइदिए । उनी गत कात्तिकमा गोवामा दलाई लामाका प्रतिनिधि लोब्साङ सांगेसँग एउटै मञ्चमा देखिए । यस कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवा सरहकै नेताको मान्यतासाथ निर्वासित तिब्बती सरकारका ‘सिक्योङ’ (प्रधानमन्त्रीसरह) नै उपस्थित थिए (हेर्नूस्, नेपाल, चीन चिढ्याउने कदम, १२ मंसिर) । त्यसले उत्तरी छिमेकी चीनलाई चिढ्याएन मात्र, उसले आपत्ति नै जनायो । तर, देउवाले त्यो प्रकरणमा ‘कार्यक्रममा दलाई लामाका प्रतिनिधि पनि थिए भन्नेबारे आफूलाई थाहा नभएको’ भन्दै ढाँट कुरा गरे । जब कि, कार्यक्रममा उपस्थित हुने अतिथिहरूको नाम र तस्बिरसमेतको ब्रोसर छापेर आयोजक संस्था इन्डिया फाउन्डेसनले पहिल्यै वितरण गरिसकेको थियो ।
०४८ मा गृहमन्त्री भएका देउवा ०५२, ०५८ र ०६१ म गरी तीनपटक प्रधानमन्त्री भए । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शक्ति हातमा लिएपछि सत्ताबाट बाहिर परेका उनी आगामी जेठमा सिंहदरबारको शक्ति फेरि प्राप्त गर्ने अर्जुनदृष्टिमा छन् । तर, चौथो पटकको सत्तारोहण उनका लागि सोचेजस्तो सहज भने छैन ।
आरजुको चकचकी
मुलुकभित्रको शक्ति केन्द्रमा अहिले पनि १ सय ४ वर्ष शासन गरेको राणा परिवार र २ सय ४० वर्ष शासन गरेको शाह परिवारको प्रभुत्व समाप्त भइसकेको छैन । यो त्यस्तो शक्ति हो, जसले अरू शक्तिलाई अझै पनि खेलाइरहेको छ । यही शक्तिको सहयोगका कारण शेरबहादुर देउवाले आफूलाई चुनौती दिएको बुझाइ कुनै बेला गिरिजाप्रसाद कोइरालाको थियो । ०५९ मा देउवाको नेतृत्वमा भएको कांग्रेस विभाजनलाई कोइरालाले यसरी नै हेरेका थिए ।
आरजु राणासँग विवाहपछि स्वाभाविक रूपमा आफूलाई मात्र राष्ट्रवादी र यो देश आफ्नो बिर्ता मान्ने संभ्रान्त वर्गसँग नजिकिन पुगे, देउवा । उनीसँगको दाम्पत्य जीवन प्रारम्भसँगै देउवाले नेपालभित्रको एउटा यस्तो नेपाल देखे, जसको प्रतिनिधित्व त्यतिबेला राजदरबारले गथ्र्यो । संभ्रान्त वर्गसँग उठबस हुन थालेपछि उनी नेपाली राजनीतिमा प्रभावशाली भूमिका खेल्ने संभ्रान्त वर्गको प्रिय ज्वाइँ बने । यसैले उनीमाथि प्रधानमन्त्री पदमा टिकिरहन मोहनशमशेरको बिर्के टोपी लगाएको शाही कांग्रेसको आरोप पनि लाग्यो । बिर्सन नहुने कुरा के हो भने राजा महेन्द्रकी रानी रत्न शाह र देउवाकी श्रीमती आरजु भाइ–भाइका छोरी हुन् ।
देउवा शक्तिमा पुगेपछि आरजुको भूमिका एनजीओकर्मीका रूपमा मात्र सीमित रहेन । अझ पछिल्लो वर्ष देउवा पार्टी सभापति पनि हुनु र कांग्रेस सरकारमा पुग्नुले उनको दुवै हातमा लड्डु पर्यो । तर, त्यही विन्दुबाट कांग्रेसभित्रै देउवाका परिवार तथा नातेदारबाट सहनै नसकिने हदसम्मको हस्तक्षेप हुँदै आएको झीनो आवाज निस्कन थाल्यो । दीपक खड्कालाई खानेपानी तथा सरसफाइ राज्यमन्त्री बनाउनेदेखि प्रहरी महानिरीक्षक पदमा भएको जगहँसाइ, विवादित आशा लामा मात्र होइन, कतारका लागि राजदूत प्रस्तावित रमेश कोइरालाको नियुक्तिलाई पनि आरजुसँगै जोडेर हेरिन्छ । आफूलाई देउवा निकट बताउनेहरू पनि आफूभन्दा भित्री घेरामा देउवाका ससुराली खलक रहेको अनौपचारिक कुराकानीमा स्वीकार्छन् । यो लगभग ‘ओपन सेक्रेट’ हो कि आरजुका भाइ भूषण राणा र ठूलो बुबाका छोराहरू प्रदीप राणा तथा प्रमोद राणाले आकर्षक नियुक्तिदेखि सरुवा–बढुवा र व्यापारिक डिलहरूमा रुचि राख्छन् । राणाहरूको यो समूहका लागि आर्थिक मुहानको खोज गर्नेदेखि प्रारम्भिक कुराकानी अघि बढाउने काममा तारा सापकोटा सक्रिय छन् ।
संविधानसभाको आठवर्षे कार्यकालमा कुनै प्रभावी भूमिका निर्वाह गर्न नसके पनि महासमिति सदस्य तथा समानुपातिक सभासद् आरजु र लन्डनमा राजनीतिशास्त्र पढिरहेका छोरा जयवीर दुवैलाई कांग्रेस राजनीतिमा आफ्नो उत्तराधिकारी बनाउनबाट देउवालाई रोक्न कांग्रेसमा आगामी दिनमा ठूलै महाभारत हुने निश्चित छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...