स्वर सम्राट्को संगत
वि सं २०१६ मा त्रिचन्द्र कलेजमा आईए पढ्दाको समकालीन साथी हो, नारायणगोपाल गुरुवाचार्य । ०१० सालमा एसएलसी पास गरेर त्रिचन्द्र कलेजमा आईएस्सी पढ्दै गर्दा स्वास्थ्य समस्याले गाँजेपछि मेरो पढाइ छुटेको थियो ।
विसं २०१६ मा त्रिचन्द्र कलेजमा आईए पढ्दाको समकालीन साथी हो, नारायणगोपाल गुरुवाचार्य । ०१० सालमा एसएलसी पास गरेर त्रिचन्द्र कलेजमा आईएस्सी पढ्दै गर्दा स्वास्थ्य समस्याले गाँजेपछि मेरो पढाइ छुटेको थियो । त्यसपछि फेरि आईएमा भर्ना भएर पढ्न थाल्दा नारायणगोपालसँग संगत हुन पुग्यो ।
नारायणगोपाल त्रिचन्द्र कलेजमा पढ्दा बेन्चलाई नै तबला मानेर बजाउँथ्यो । त्यसरी बेन्च ठटाएर उसले गाएका मोहम्मद रफीका गीत सुन्दा हामी ज्यादै आनन्दित हुन्थ्यौँ । शिक्षक अनुपस्थित रहेका बेला नारायणगोपाल यसरी नै गीत गाएर विद्यार्थीलाई मनोरञ्जन दिन्थ्यो । यत्तिकैमा कतिखेर ऊसँग दोस्ती बढ्यो, पत्तै भएन ।
केही कुरा नयाँ गर्नुपर्छ भन्ने सोचको व्यक्ति थियो ऊ । छोटो समयमै हामीबीच ज्यादै आत्मीय सम्बन्ध बन्यो । सहपाठीकै कुरा गर्दा नातिकाजी, हिरण्यलाल श्रेष्ठ, दीपक अर्याल पनि सँगसँगै पढ्थे । त्यसबेला म गीत/कविता खुबै लेख्थेँ । नारायणगोपालको संगत नभएको भए सायद म गीतकार कम, कवि ज्यादा भएर निस्किन्थेँ होला ।
हाम्रो ठूलो भारदार खलक हो । मेरा एउटा काका राग गाउँथे, अर्को काका तबला बजाउँथे । मानशमशेर थापा हारमोनियममा गत बजाउँथे । हरेक साँझजसो झन्डै तीन–चार घन्टा हाम्रो घरमा संगीत महफिल जम्थ्यो । म आफैँ पनि ग्रामोफोनमा उत्तिकै गीत सुन्थेँ । त्यसरी हुर्केकाले पनि होला, संगीतप्रति ममा अलग्गै किसिमको लगाव थियो । नारायणगोपालमा पनि त्यस्तै जुनून थियो ।
त्रिचन्द्र कलेजमा सामान्य चिनजान भएपछि हामी कलेज समयमै कहिले भागेर त कहिले छुट्टी मागेर पनि बीचमै हिँडिदिन्थ्यौँ । त्यसरी हिँड्ने क्रममा कहिले उसको घर किलागल पुग्थ्यौँ त कहिले मेरो घर कमलपोखरी । जहाँ गए पनि हामी गीत लेख्न र गाउनमै अभ्यास गरिरहेका हुन्थ्यौँ । त्यसैमा डुबिरहेका हुन्थ्यौँ । पढाइभन्दा हाम्रा लागि त्यो विशेष चीजजस्तो लाग्थ्यो ।
त्रिचन्द्र कलेजमा त्यतिबेला बीसी मल्ल राजनीतिशास्त्र पढाउँथे । एक दिन हामीले उनलाई एउटा कागजको टुक्रामा दुवैको रोल नम्बर लेखेर ‘टाउको दुखेकाले बिदा पाउँm’ भन्यौँ । उनले कक्षामै ‘एकैचोटि दुवै जनाको टाउको दुख्यो !’ भनेर हँसाए । हामी नाजवाफ भयौँ । तर, यति हाँसोमजाकका बाबजुद पनि उनले हामीलाई छुट्टी दिए । मल्ल हामीलाई विशेष माया गर्थे ।
त्यही कलेजमा पढ्दै गर्दा नारायणगोपालले रेडियो नेपालमा स्वर परीक्षा दियो र उत्तीर्ण पनि भयो । त्यसपछि उसले पहिलो गीत कसको गाउला भन्ने कौतूहल धेरैमा थियो । ०१४ मै नेपाल राष्ट्रिय पुस्तकालयद्वारा आयोजित गायन प्रतियोगितामा मैले आफ्नै रचना र संगीतमा गाएको ‘दुनियाँ बैगुनी हुँदामा, बित्यो जिन्दगी रुँदामा...’ गीत प्रथम भई स्वर्णपदक प्राप्त गरेको थिएँ ।
यो सबै पृष्ठभूमि नारायणगोपाललाई थाहा नहुने कुरै भएन । सायद त्यही कारण हुनुपर्छ, उसले मलाई भन्यो, ‘लोकलयमा आधारित एउटा यस्तो गीत रचना गरि दे, जुन श्रुतिमधुर र कर्णप्रिय होस् । त्यही गीत गाएर औपचारिक रूपमा म गायनयात्रामा प्रवेश गर्न चाहन्छु ।’ हिन्दी गीतको एकछत्र राज र प्रभुत्व रहेको त्यसबेला नेपाली गीत रचना गर्ने विरलै थिए । मानिसहरूमा हिन्दीजत्तिकै नेपाली गीत पनि लोकप्रिय हुन सक्छ भन्ने विश्वास नै थिएन । हिन्दी गीतको स्तरमा आधुनिक नेपाली गीतको स्तर उकास्न र नेपाली गीतको महत्त्व बुझाउन निकै गाह्रो थियो । यही परिस्थितिमा म गीत लेखन र ऊ संगीत तथा गायनमा हाम फाल्ने निर्णय गरेर नेपाली संगीत यात्रामा निस्किएका थियौँ ।
त्यतिबेला म भर्खर २० वर्षमा पाइला टेक्दै थिएँ । धेरै सोचविचार गरेँ र गीत लेखेँ, ‘गाजलु आँखा मोहनी रूप हँसिलो मुहार...।’ नारायणगोपाललाई यो गीत खुबै मन पर्यो । उसले आफ्नै संगीतमा मेरो त्यो गीत पहिलोपटक रेडियो नेपालबाट गायो । स्वर परीक्षा उत्तीर्ण गरेपछि सर्वप्रथम उसले गाएको गीत त्यही थियो र मेरो प्रथम प्रसारित गीत पनि त्यही ।
त्यो गीतले उसलाई मात्र होइन, मलाई पनि एउटा उचाइमा पुर्याइदियो । यसपछि नारायणगोपाल र मेरो सम्बन्ध झन् नजिक भयो । विसं ०१८ मा नारायणगोपालले पहिलोपटक ६ वटा गीत गाउने अफर पायो, इन्द्रेणी रेकर्डबाट । उसले मसँग सल्लाह गर्यो, ‘म ६ वटै तेरा गीत गाउँछु ।’
मैले रातदिन केही नभनी गीत लेखेँ : ‘ आँखाको भाका आँखैले...’, ‘स्वर्गकी रानी मायाकी खानी...’, ‘कुञ्जमा गुञ्जियो स्वर कोयलीको ...’, ‘भो भो नसोध अब केही मलाई...’, ‘मधुमास यो दिलको बाग...’ र ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो ...।’ दुईवटा तारादेवीसँग युगल गायो भने अरू उसले एकल गायो । तर, ‘मधुमास यो दिलको बाग..’ ‘स्याम्पल’ गीत रेडियो नेपालको स्टुडियोमा बसेर सुनिरहँदा डिस्क एक्कासि भुइँमा खसेर फुटेपछि नारायणगोपाल आफैँ दार्जीलिङ गएर रेडियोकी रानी भनेर चिनिने दिलमाया खातीलाई लिएर कलकत्ता पुग्यो र मेरै ‘विछोडको पीडा नसकी खप्न दसैँको बेलामा..’ बोलको गीत युगल गाएको थियो ।
यी गीत पनि ज्यादै लोकप्रिय भए । यीमध्ये कुनै पनि गीत पहिल्यै धुनमा रचिएको थिएन । गीत तयार भएपछि मात्र नारायणगोपालले संगीत भरेर गाएको हो । ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो...’ बोलको गीत श्रोताको फर्माइसका आधारमा तीन वर्ष लगातार पुरस्कृत भयो ।
नारायणगोपाललाई स्वर सम्राट् बनाउन धेरैको योगदान छ । तीमध्ये सुरुका दिनमा उसले गाएका मेरा यी गीतको पनि कम योगदान छैन ।
(थापा प्रसिद्ध गीतकार हुन् ।)
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...