आवरण कथा» कांग्रेस : कायाकल्पको पर्खाइ
अहिलेकै नीति, नेतृत्व र संरचना कायम रहेसम्म पुनर्जीवन कठिन
शेरबहादुर देउवा ७१ वर्ष पुगे । उनले हाँकिरहेको पार्टी नेपाली कांग्रेसको उमेर पनि ठ्याक्कै त्यति नै पुग्यो । अर्थात्, देउवा ३१ जेठ २००३ मा जन्मे । कांग्रेस सोही वर्ष १२–१३ माघमा ।
देउवा र कांग्रेसको उमेर मात्र मिल्छ वा अरू कुरा पनि ? जवाफ स्पष्ट छ– ०७४ को आमचुनावपछि दल र देउवाको छवि, हैसियत र साख उस्तै भएको छ । दुई वर्षअघि सभापति चुनिएसँगै उनलाई २४ जेठ ०७४ मा चौथोपटक प्रधानमन्त्री बन्ने मौका मिल्यो । तर, पार्टी सभापति र प्रधानमन्त्रीको हैसियतमा देउवाका विवादास्पद निर्णय र कामले कांग्रेसको छवि ध्वस्त भएको छ ।
चार दशकको सक्रिय राजनीतिले देउवालाई पाको त बनायो तर परिपक्व भने बनाउन सकेन । त्यसैले उनको छवि पदमा हुँदा हमेसा कमजोर बन्दै आएको छ । त्यसको छाया कांग्रेसमा पनि पर्यो । ०७४ को आमचुनावपछि कांग्रेस ‘कोमा’मा पुगेको छ । व्यक्तिको जीवनमा ७१ वर्ष बुढेसकालकै प्रारम्भ हो । तर, राजनीतिक दलले चाहेमा उसका लागि युग अनुसार अद्यावधिक भइरहने सुविधा हुन्छ । विडम्बना † अहिलेसम्मका सबै राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेस ७१ वर्षमा बूढो साबित भएको छ ।
उल्टो नतिजा
कांग्रेस कसरी शृंखलाबद्ध रूपमा कमजोर बन्दै गयो, यो बुझ्न उसले पहिलो आमनिर्वाचन ०१५ र पछिल्लो आमनिर्वाचन ०७४ मा प्राप्त गरेको मत र सिट संख्या तुलना गरे पुग्छ । ०१५ को चुनावमा प्रतिनिधिसभाका कुल १०९ सिटमा कांग्रेसले दुई तिहाइ सिट जितेको थियो । तर, त्यतिबेला कांग्रेस भर्खर १२ वर्षको थियो भने सभापति बीपी कोइराला युवा । कांग्रेसको पहिलो चुनावी जितले बीपी कोइराला दुई तिहाइ बहुमतसहितको पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । त्यसयता कांग्रेसले कहिल्यै पनि दुई तिहाइ बहुमत पाएको छैन । त्यतिखेर ३७.२ प्रतिशत मत पाएको कांग्रेसको त्यो ऐतिहासिक रेकर्ड उल्टिएर अहिले ३२.७८ (०१५ को भन्दा ४.२४ प्रतिशत कम)मा झरेको छ । केन्द्रीय सदस्य गगन थापा भन्छन्, “कांग्रेस विस्तार भएर फैलिनै नसकेकाले यो हविगतमा पुगेको हो । कोमाबाट कांग्रेसलाई निकाल्न आमूल रूपान्तरणको खाँचो छ ।” पढ्नुहोस् > मध्यम वर्गमा हाम्रो भविष्य
०७४ को आमचुनावबाट एमाले अध्यक्ष केपी ओली नेतृत्वमा दुई तिहाइभन्दा बढी बहुमतको वाम सरकार बनेको छ भने कांग्रेसचाहिँ निरीह विपक्षीमा सीमित भएको छ । उसले प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभाका २ सय ७५ सिटमध्ये ६३ सिटमा खुम्चिनु परेको छ । चुनावी मत र प्राप्त सिटका आधारमा मात्र होइन, संघ र प्रदेश सरकारको गठनमै कांग्रेसको स्थान शून्य साबित भएको छ । त्यस्तै देशका मुख्य पदहरू राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षलगायत प्रदेश संसद्का सबै प्रमुख पदहरू कांग्रेसविहीन भएका छन् ।
०१५ को आमचुनावमा नेपाल कम्युनिस्ट पार्टीलाई कांग्रेसले कुल चार सिटमा सीमित गरिदिएको थियो । कांग्रेसकै लोकप्रियताका कारण नेकपाले त्यतिबेला जम्मा ७.२ प्रतिशत मात्र मत हासिल गरेको थियो । अहिलेको स्थिति उल्टो छ । कांग्रेसको कुल मत ३२.७८ प्रतिशत खुम्चिदा एमाले एक्लैको उसको भन्दा बढी ३३.२५ प्रतिशत छ । एमालेको मतमा नेकपा माओवादी केन्द्रको १३.६६ जोड्दा दुई वाम दलको मत नै ४६.९१ प्रतिशत पुग्छ, जुन कांग्रेसको भन्दा १४.१३ ले बढी हो ।
०५१ को मध्यावधि चुनावबाहेक कुनै पनि राष्ट्रिय चुनावमा एमालेभन्दा कांग्रेस कमजोर थिएन । तर, ०७४ को आमचुनावले कांग्रेसको हैसियत एमाले एक्लैको भन्दा आधा कममा झारेको छ । प्रतिनिधिसभामा एमालेका १ सय २१ सांसद छन् भने कांग्रेसका ६३, राष्ट्रिय सभामा एमालेका २७ छन् भने कांग्रेसका १३ । सात प्रदेशसभामा एमालेका २ सय ४२ सभासद् छन् भने कांग्रेस १ सय १३ सीमित भएको छ । विश्लेषक पुरञ्जन आचार्य भन्छन्, “पछिल्लो चुनावबाट कांग्रेस कमजोर बनेको छ । अहिलेको कमजोर कांग्रेस नै अहिलेको नेतृत्वका लागि ठूलो र बोझिलो भएको छ । यो नै अहिलेको विडम्बना हो ।”
कांग्रेसका तीन फड्को
पहिलो फड्को : पार्टी उदय र विस्तार भएको २००३–०१७ को अवधिमा कांग्रेसले १ सय ४ वर्षे जहानियाँ राणा शासन फालेर देशमा प्रजातन्त्र ल्यायो । यस अवधिमा बीपी कोइरालाको नेतृत्व अनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सूत्रले कांग्रेसलाई पहिलो आमचुनावमा दुई तिहाइ मत दिलायो । राजनीतिशास्त्री लोकराज बराल भन्छन्, “बीपीको नीति र नेतृत्व सही भएकाले नै कांग्रेसले नेपाली समाजमा जरा गाडेको हो । तर, पछिल्लो समयमा बीपीको विचार नै कांग्रेसले छाडेको छ ।” पहिलो आमचुनावबाट बीपी प्रधानमन्त्री त चुनिए, त्यसअघि कांग्रेसका मातृकाप्रसाद कोइराला र सुवर्णशमशेर राणाले पनि प्रधानमन्त्रीका रूपमा देशको नेतृत्व गर्ने अवसर पाए । राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना र पहिलो आमचुनाव नै यो अवधिमा कांग्रेसले मारेको पहिलो फड्को हो ।
दोस्रो फड्को : १ पुस ०१७ मा राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि ३० वर्षे निर्दलीय व्यवस्था सुरु भयो । बीपीले प्रजातन्त्रका लागि वामपन्थीहरूसँग सहकार्यको नीति लिएनन्, न त राजासँग नै सम्झौता गरे । तर, बीपीको निधनपछि कांग्रेसको कमान्ड सम्हालेका कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले बीपीको नीतिविपरीत वाममोर्चासँग सहकार्य गरे र ०४६ को जनआन्दोलनको सफल नेतृत्व गरे । यो कांग्रेसले हानेको दोस्रो फड्को थियो । त्यसकै परिणाम हो, ०४७ को संविधान र त्यसले निर्धारण गरेको संवैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्र ।
०४६ को जनआन्दोलनको नेतृत्व गरेको सबैभन्दा बढी लाभ पनि नेपाली कांग्रेसले नै लिएको छ । त्यसयताका २७ वर्षमा बनेका अधिकांश सरकारको नेतृत्व चुनावमा बहुमत पाएको र पहिलो दल बनेको हैसियतमा कांग्रेसले गर्यो । यस अवधिमा कांग्रेसले सबैभन्दा बढी १ सय ८२ महिना अर्थात् १५ वर्ष २ महिना सरकारको नेतृत्व गरेको छ । गिरिजाप्रसाद कोइराला चारपटक प्रधानमन्त्री भएर करिब आठ वर्ष सरकार प्रमुख भए भने उनीपछि चारपटक प्रधानमन्त्री भएर पाँच वर्ष सरकार प्रमुख हुने मौका शेरबहादुर देउवाले पाए । कृष्णप्रसाद भट्टराईले दुईपटकमा करिब दुई वर्ष र सुशील कोइरालाले एकपटकमा एक वर्ष प्रधानमन्त्रीका रूपमा देशको नेतृत्व गरे । यो अरू कारणले होइन, कांग्रेसले देशको राजनीतिमा खेलेको नेतृत्वदायी भूमिका कारणले पाएको अवसर हो ।
०४६ को संयुक्त जनआन्दोलन मात्र होइन, ०६२/०६३ को जनआन्दोलनमा पनि कांग्रेसको उत्तिकै योगदान छ । ०४८ यताका ६ वटा राष्ट्रिय चुनावमा नेपाली कांग्रेसले एक्लै दुईपटक बहुमत, एकपटक पहिलो स्थान र तीनपटक दोस्रो स्थान हासिल गरेको छ । तर, राजनीति र सत्ताको सदाबहार खेलाडी रहँदै आएको कांग्रेस यतिखेर सरकार, सदन र सडक तीनवटै मोर्चामा सर्वाधिक नाजुक मोडमा पुगेको छ ।
तेस्रो फड्को : राजनीति र शासन व्यवस्थामा निर्णायक र नेतृत्वदायी भूमिका खलेको कांग्रेसले मारेको तेस्रो महत्त्वपूर्ण फड्को हो– स्थापनाकालदेखि नै संवैधानिक राजतन्त्रको नीतिमा अडिग रहँदै आएको उसले पार्टी विधानबाट त्यसलाई हटाउने निर्णय गर्नु । यो कांग्रेसको सबैभन्दा ठूलो नीतिगत फड्को हो । ८ भदौ ०६४ मा कांग्रेस र देउवाको कांग्रेस प्रजातान्त्रिकबीच एकता घोषणाकै दिन कांग्रेसले पार्टी विधानबाट संवैधानिक राजतन्त्र हटायो । कांग्रेसको यही कायापलटले त्यसको एक वर्षपछि १५ जेठ ०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्र हटाएर देशलाई गणतन्त्र घोषणा गरेको थियो ।
त्यसयताको राष्ट्रिय राजनीतिमा कांग्रेस सत्ता वा विपक्ष जहाँ बसे पनि उसको उल्लेख्य योगदान छ । जस्तो : ०६४ को पहिलो संविधानसभाले देशलाई चारवटा वाम प्रधानमन्त्री त दियो तर नयाँ संविधान दिन सकेन । ०७० को चुनावमा कांग्रेस पहिलो दल भएर सरकारको नेतृत्वमा पुगेपछि भने कांग्रेसकै नेतृत्वमा ३ असोज ०७२ मा नयाँ संविधान जारी भयो । विश्लेषक आचार्य थप्छन्, “देशको राजनीतिमा हमेसा निर्णायक भूमिकामा रहेको कांग्रेस यतिबेला डिप्रेसनको सिकार भएको छ । कांग्रेसलाई डिप्रेसनबाट मुक्त गर्न युवापुस्ताका कांग्रेसले पुरानो नेतृत्वलाई विस्थापित गर्नुपर्छ । त्यो नै अहिलेको पर्खाइ हो ।”
चौथो फड्कोको पर्खाइ
स्थापनाको ७१ वर्षमा कांग्रेसले राजनीतिमा तीनवटा फड्को मारेर त्यसको लाभ लिइसकेको छ । तर, अब चौथो फड्को मारेन भने कांग्रेसले थप क्षति भोग्ने जोखिम छ । त्यसैले देशको सबै निर्णायक परिवर्तनको नेतृत्व गरेको कांग्रेस पुनर्जीवनले कांग्रेसको मात्र होइन, देशको पनि हित हुन्छ । त्यो पुनर्जीवन सहज भने छैन ।
कांग्रेसको बहुलवादी समाज, संसदीय लोकतन्त्र र उदार अर्थनीतिको मान्यता वामपन्थीहरूले बोकिसकेका छन् । त्यस कारण अब कांग्रेसले लोकतन्त्रको जप गरेर मात्र पुग्ने देखिन्न । देशको बदलिँदो स्थितिको नेतृत्व गर्न सक्ने गरी आफूलाई आमूल परिवर्तन कांग्रेसको मौजुदा नीति, नेतृत्व र संगठनात्मक संरचनाबाट सम्भव छैन । राजनीतिशास्त्री देवराज दाहाल भन्छन्, “कांग्रेसमा आमूल परिवर्तन जरुरी छ । देशमा जुन उमेर समूह बढी छ, त्यो नै कांग्रेसको नेतृत्वमा आउनु पर्छ । लोकप्रिय मान्छेलाई नेतृत्व दिने र जनआधारित पार्टी बनाए कांग्रेस बौरिन्छ, यथास्थितिकै नीति, नेतृत्व र संगठनबाट चमत्कार खोजे कांग्रेस कोमामा सकिन्छ ।”
जतिवटा गुट र समूह बनाए पनि अहिलेको कांग्रेसको नेतृत्व दोस्रो पुस्ताकै नेताको वरिपरि घुमेको छ । दुर्भाग्य ! ०४६ यताका यी २७ वर्षमा कांग्रेसका अधिकांश दोस्रो पुस्ताका नेताको सम्पूर्ण सामथ्र्य परीक्षण भइसकेकाले मौजुदा नेतृत्वले कांग्रेसलाई नयाँ विन्दुमा लैजाने होइन, यथास्थितिकै वरिपरि घुमाउने जोखिम छ । राजनीतिशास्त्री बराल भन्छन्, “कांग्रेसले पहिले त आफ्नो जनसंख्या अर्थात् देशमा कांग्रेसी नै बढाउनुपर्छ, पुरानो आकारमा खुम्चिएर नयाँ कांग्रेस बन्दैन । आकार बढाएपछि जनमुखी, जुझारु र योग्यतम नेतृत्व छनोट गर्ने बाटो खुल्छ ।”
गुटैगुट
दुई वर्षअघिको महाधिवेशनले कांग्रेसलाई पुरानै ढर्रामा चलाएको छ । कांग्रेस बदलिँदो परिस्थितिभन्दा कति पछि छ भने उसले महाधिवेशन भएको दुई वर्ष बित्दा पनि आफ्नो पार्टी जीवनलाई चुस्त पार्न सकेको छैन । त्यसको कारण कांग्रेसभित्रको गुटगत राजनीति नै हो । देश संघीयतामा गएको दुई वर्ष भइसक्यो, स्थानीय तह, प्रदेश र संघीय व्यवस्था अनुसार चुनाव भएर सबै तहमा निर्वाचित सरकारसमेत आइसके । तर, कांग्रेस भने पुरानै संरचनामा छ । विधान अनुसार केन्द्रीय समितिले पूर्णता पाएको छैन भने उपसभापति र सह–महामन्त्री पद रिक्त छ । त्यस्तै ४० भन्दा बढी केन्द्रीय विभाग गठन नै गरिएको छैन । सत्ता र पार्टीको आन्तरिक भागबन्डामा गुट नै गुट हाबी भएकाले कांग्रेस एकढिक्का हुन सकेको छैन । त्यसैको यतिबेलाको दुरावस्थाको एउटा चुरो कारण यही हो ।
स्वार्थ समूह र भागबन्डाकै लोभले गर्दा कांग्रेसको १३औँ महाधिवेशनपछि पार्टीभित्र गुट–उपगुट अझै बढ्दै गयो । त्यसअघि दुई गुटको अन्तरकलहमा विभक्त कांग्रेस यतिबेला तीन गुट र एउटा उपगुटको किचलोमा छ । गुटकै स्वार्थका कारण चुनावी पराजयको निष्पक्ष समीक्षा होइन, एउटा गुटले अर्कालाई चुनावी पराजयको दोष थोपर्न र त्यसबाट फेरि एउटा वा अर्को गुटले शक्ति आर्जन गर्ने रणनीति अपनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको समूह चुनावी हारको सबै दोष सभापति देउवालाई थोपर्न उद्यत छ भने देउवा त्यसको प्रतिरक्षा गर्न । यसले कांग्रेसलाई सग्लो होइन, गुट–उपगुटको महासंघजस्तो बनाएको छ । सभापति देउवा स्वयं सबैको नेता हुन सकेका छैनन् । उनको गुटभित्र पनि खुमबहादुर खड्काको नयाँ उपगुट छ । चुनावी हारको मुख्य कारण नै देउवालाई मान्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल अलग गुट चलाउँदै आएका छन् भने १३औँ महाधिवेशनमा जन्मिएको कृष्ण सिटौलाको गुट पनि निष्क्रिय छैन ।
चुनावी पराजयपछि आफैँतिर फर्केर वस्तुनिष्ठ समीक्षामा जुट्नुको साटो कांग्रेसका सबै गुट आपसी कहलमा अल्झिएका छन् । यी सबै गुटलाई विश्लेषक आचार्यचाहिँ तीनवटा नामले पुर्काछन् । पहिलो : फाइल बढुवावाला कांग्रेस, जो संघर्ष गरेर नेतृत्वमा पुगेर बूढो भइसकेको छ । देउवा पौडेललगायतका नेता यो कोटिमा पर्छन् । दोस्रो : छातावाल कांग्रेस । बाउबाजेको नाम भजाएर राजनीति गर्दै आएकाहरू छातावाल कांग्रेसमा पर्छन् । उनका अनुसार प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला आदि छातावालको कोटिमा पर्छन् ।
यी दुवैथरीको नेतृत्वको परीक्षण भइसकेका कारण कोमामा पुगेको कांग्रेसलाई जगाउने क्षमता फाइल बढुवावाल र छातावाल दुवैसँग छैन । तेस्रोथरी हुन् सडकवादी कांग्रेस । सत्ता, सदन र सडक तीनवटै क्षेत्रमा सशक्त प्रस्तुत दिन सक्ने कांग्रेस सडकवादीमा पर्छन् । तर, कांग्रेसको नेतृत्वमा यिनको निर्णायक हैसियत छैन, प्रभावचाहिँ देशव्यापी छ । विश्लेषक आचार्य भन्छन्, “फाइल बढुवावाला र छातावालाका लागि अहिलेकै कांग्रेस सम्हाली नसक्नु र ठूलो भएको छ । सडकवादी ऊर्जाशील युवा कांग्रेसलाई अहिलेको कांग्रेस सानो र साँघुरो भएको छ । त्यसैले ऊर्जाशीलले अबको कांग्रेस हाँक्नुपर्छ र फैलाउनु पर्छ । अबको पर्खाइ त्यसैको हो ।”
देउवा पनि कारक
एकपटक गृहमन्त्री र चारपटक प्रधानमन्त्री भएका कांग्रेस सभापति हमेसा विवाद र आलोचनाको सिकार भए । उनको कार्यशैली र विवादास्पद काम नै देउवाको साख गिर्नुका कारण हुन् । राजाको प्रत्यक्ष शासनमा प्रधानमन्त्री भएको अनि कांग्रेस विभाजन गरेर प्रजातान्त्रिक कांग्रेस बनाएको आदि कारणले देउवा झन्डै १२ वर्ष सत्ताबाहिर परे । तर, दुई वर्षअघि कांग्रेसको महाधिवेशनबाट पार्टी सभापति चुनिएका देउवा चौथोपटक प्रधानमन्त्री त बने तर आफ्नो र कांग्रेसको छवि सुधार गर्न भने असफल रहे ।
विवादास्पद व्यक्तिलाई कांग्रेसको कोटाबाट राजदूत बनाउने, प्रहरीमा तेस्रो वरीयताका एआईजी जयबहादुर चन्दलाई आईजी बनाउने कदमले देउवालाई मात्र बदनाम गरेन, कांग्रेसकै छवि ध्वस्त भयो । त्यसो त तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा देउवा र नेपाली कांग्रेस दुवै मौन बसे । तर, लोकमानलाई एउटै न्यायिक फैसलाबाट पदमुक्त गर्ने प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने देउवाको निर्णय सार्वजनिक निन्दाको विषय बन्यो । स्थानीय, संघ र प्रदेशसभाको चुनावकै सेरोफेरोका यी गतिविधिले कांग्रेसलाई गम्भीर क्षति भएको छ ।
देउवाले चौथोपटक प्रधानमन्त्री हुँदा इतिहासकै ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएर पुराना रेकर्ड नै तोडे भने स्थानीय चुनावमा भरतपुरको मेयरमा माओवादीकी रेणु दाहाललाई समर्थन गरे । यिनै शृंखलाबद्ध गल्तीले कांग्रेसलाई स्थानीय, संघ तथा प्रदेशको चुनावमा सर्मनाक हारको सिकार बनाएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाकै खराब नेतृत्वका कारण कांग्रेस बर्बाद भएको भन्दै १३ फागुन ०७४ मा देउवालाई लेखेको पत्रमा भनेका छन्, ‘तपाईंको नेतृत्वमा न पार्टी चल्यो, न सरकार । पार्टी अहिलेसम्म अपूरोको अपूरै, एउटा पनि प्रशिक्षण, एउटा पनि संगठनात्मक गतिविधि हुन सकेन ।’
हुन पनि १० र २१ मंसिर ०७४ मा सम्पन्न संघ र प्रदेशसभाको चुनावपछि भएका तीनवटा कार्यसमितिका बैठकमा चुनावी पराजयको समीक्षाको विषयले प्रवेश नै पाएन । ९ चैत ०७४ मा डाकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी पराजयको समीक्षा हुन्छ वा आरोप/प्रत्यारोपमा समय खेर जान्छ ? सन्देहरहित छैन । यदि पराजयको सही समीक्षा भयो भने पनि कांग्रेसको हितभन्दा गुट–उपगुटको हितमा केन्द्रित हुने खतरा छ । किनभने, कांग्रेसको नाजुक स्थितिलाई बदल्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत विभिन्न गुट–उपगुटबीचको आरोप–प्रत्यारोप होइन, सही बाटोको खाँचो छ । तर, दुर्भाग्य ! मौजुदा नीति, रणनीति तथा संगठनात्मक संरचनामा त्यस्तो बाटो पहिल्याउने सामथ्र्य छैन । राजनीतिशास्त्री बराल थप्छन्, “कांग्रेसलाई पुनर्जीवन दिन अहिलेको नीति, नेतृत्व र संगठनले सक्दैन । कांग्रेस जोगाउन ठूलो फड्कोको खाँचो छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...