ठूल्दाजु–सान्दाजु सम्बन्ध
विसं २००३ मा एकाघरबाट छुट्टिए पनि कोइराला परिवारलाई राणा शासन हटाउन राजनीतिक रुपमा एक ठाउँ उभिनैपर्ने वातावरण बन्यो ।
राजनीतिक तापले बीपी र मातृकाको सम्बन्ध उतारचढावमय भएको देखिए पनि कोइराला परिवारमा त्यसको छाया परेन । पिताजी कृष्णप्रसादले मातृकालाई ठूलो छोरा र बीपीलाई सानो छोरा भनी बोलाउनुहुन्थ्यो । अहिले पनि कोइराला परिवारका सबै सदस्यले मातृका र बीपीलाई ठूल्दाजु र सान्दाजुका नाममा सम्बोधन गर्छन् ।
बीपीले मातृकालाई ठूलो आदरभाव दर्शाउनुहुन्थ्यो । बीपीले आत्मवृत्तान्तमा मातृकाबारे लेख्नुभएको छ– ‘त्यसबखत ठूल्दाजु मभन्दा अगाडि नै अध्ययनका लागि बिहारको दरभंगा जानुभएको थियो, सन् १९२२ मा । पिताजी कृष्णप्रसादका एक हितैषी मित्र डाक्टर थिए, सप्तरीमा । उनै डाक्टरले ठूल्दाजु (मातृका) लाई अध्ययनमा खर्चको समस्या टरोस् भनेर मासिक भारु १५ पठाउँथे । डाक्टरले मातृकालाई आफ्नै छोरासरह व्यवहार गर्थे । १५ भारुमध्ये मातृकाले बनारसमा अध्ययनरत मलाई (बीपी) ४ भारु मासिक रुपमा पठाइदिनुहुन्थ्यो । ठूल्दाजुले पठाएको त्यही ४ भारुले कलेजको फी तिर्थें । कपी, कक्षा–सामग्री, साबुन इत्यादि किन्न छ्यालब्याल हुन्थ्यो । त्यतिबेला बनारसको गान्धी भण्डारमा गएर रेडिमेड कपडा किन्थेँ । जुन दिन त्यो कपडा फाट्थ्यो, फेरि गान्धी भण्डारमा गएर किन्थेँ । मलाई सुकिलो बस्न मन पर्ने । कलेज बिदाको एक दिन कपडा धुन्थेँ, काशी गंगानदीको घाटमा गएर । घरमा आएपछि बनारसी अगौछा (गम्छा) बेरेर बस्थेँ । एउटा चटाई थियो, त्यसमाथि एउटा च्यादर ओढेर बस्यो, पढ्यो ।’
यसबाट पनि पुष्टि हुन्छ, मातृका–बीपीको पारिवारिक सम्बन्ध । काशी बस्दा सन् १९१० मा माडरबाट गएकी राज्यलक्ष्मी (पिताजी कृष्णप्रसादकी आमा) ले जेजस्तो भए पनि दुई छाक खानाको मेसो जुटाउनुहुन्थ्यो । राज्यलक्ष्मीलाई अर्का छोरा नारायणप्रसादले केही भरथेग गर्नुहुन्थ्यो । त्यो जमाना साह्रै सस्तो थियो, त्यही ४ भारुले बीपीको पठन अगाडि बढ्न सहयोग पुगेथ्यो ।
मातृकाले पिताजी नामक लेखमा भन्नुभएको छ, ‘द्वीपनगरमा कोसीको बाढी पस्न थालेपछि कोइराला परिवार छरिनुपर्यो । कोही काशी, कोही बेतिया, कोही त्यहीँ द्वीपनगर छेउछाउ । भाइ केशव र तारिणीलाई आफ्नै साथमा राखेर पटनाको सदाकत आश्रम ल्याएँ । सदाकत आश्रममा खाना नि:शुल्क पाइन्थ्यो । भाइ बीपीलाई मासिक ४ भारु दिएपछि बाँकी रहेको पैसाले तीन दाजुभाइको पढाइ अगाडि बढाउन सहज भयो । खाना नि:शुल्क पाइने हुँदा केही सहज भयो ।’ त्यो सदाकत आश्रमचाहिँ भारतीय कांग्रेसको पटना इकाइले खोलेको थियो । कृष्णप्रसाद कोइराला सपरिवार विसं १९७४ मा भारत निर्वासित भएको समय थियो ।
विसं २००३ मा एकाघरबाट छुट्टिए पनि कोइराला परिवारलाई राणा शासन हटाउन राजनीतिक रुपमा एक ठाउँ उभिनैपर्ने वातावरण बन्यो । विराटनगरको जुट मिल आन्दोलनका क्रममा बीपी, तारिणी, गिरिजा, भान्जा मनमोहन अधिकारी पक्राउ परे । यो घटना २४ मार्च सन् १९४७ तिरको हो । साधारण सदस्यसमेत नरहेका मातृकामाथि एक्कासि नेपाली राष्ट्रिय कांग्रेसको कार्यवाहक सभापति पदको जिम्मेवारी आइलाग्यो । बीपी पक्राउ परेको त्यो समय दाजु विमल ११ र म ९ वर्षका मात्र थियौँ । बीपी समातिएको अर्को दिन आमा मञ्जु, सानोआमा (बीपीकी आमा), फुपू नलिनी दिदी, इन्दिरा दिदी र कालिदासकी विधवा बुहारी कामिनी विराटनगर जुटमिलमा विरोधस्वरुप धर्ना बस्दा पक्राउ पर्नुभयो । उहाँहरुलाई धनकुटा जेल चलान गरियो । यसप्रकार उहाँहरु नेपालको पहिलो महिला राजबन्दी हुनुभयो ।
निर्वासनका बेला भारत जोगबनीका लक्ष्मीचन्द सेठियाको गद्दी र गोल (घरभित्रको ठूलो कम्पाउन्ड) मा हाम्रो परिवार बस्थ्यो । त्यतिबेला आमा मञ्जु गर्भवती हुनुहुन्थ्यो । आमालाई विराटनगर फर्काउन बाबा मातृकालाई नेपाली राष्ट्रिय कांग्रेसका महामन्त्री बालचन्द्र शर्माले जोडबल गर्नुभयो । शर्माले भन्नुभयो– ‘तपाईंका पार्टी सभापति बीपी र अन्य नेतालाई नेपाल सरकारले पक्राउ गरेको छ । तर, हाम्राबीच बीपीका ठूल्दाजु मातृका कोइराला हुनुहुन्छ । मैले मातृकालाई नेपाली राष्ट्रिय कांग्रेस र राणाविरोधी आन्दोलन गर्न कार्यवाहक सभापति हुन प्रस्ताव गर्छु ।’
त्यस समय नेपाली कांग्रेसका प्रचारमन्त्री (त्यतिबेला प्रधानमन्त्री भन्ने चलन थियो) गोपालप्रसाद भट्टराईले तुरुन्तै समर्थन गर्नुभयो । यसरी राजनीतिमा लाग्ने इच्छा नहुँदानहुँदै पनि मातृकाले पार्टी सभापति पदको जिम्मा लिनुपर्यो । राणा प्रधानमन्त्री पद्मशमशेरका भाइ मोरङका बडाहाकिम रामशमशेरले मातृकालाई सरकारी पद सुब्बामा नियुक्त गरे, सन् १९४७ मा । हिमाल अवलोकनमा आएको अमेरिकी टोलीको नेतृत्व गर्ने अवसर दिइयो । कोइराला परिवारभित्रकै सदस्य भए पनि राजनीतिमा चासो नराख्ने मातृका नेपाली कांग्रेसका प्रथम सभापति र २००७ को क्रान्तिका सर्वोच्च कमाण्डर हुन पुग्नुभयो ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...