रेशम चौधरी शपथग्रहणको अन्तर्य : एक तीर, दुई सिकार
रेशम चौधरी शपथग्रहणको अन्तर्य
सांसदको शपथग्रहणलगत्तै कारागार बसाइ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र–१ बाट निर्वाचित रेशम चौधरीको जीवनमा यस्तै भयो । डिल्लीबजार कारागारबाट सांसद पदको शपथग्रहण गर्न संसद् सचिवालय लगिएका चौधरी सांसदको लोगोसहित कारागार फर्किए ।
मधेसी दलको समर्थनसहितको सत्तारोहण र त्यसको निरन्तरताका लागि उपयोग भएका चौधरीले १९ पुस ०७५ मा शपथग्रहण गरे, निर्वाचित भएको १३ महिनापछि । यो परिदृश्य प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको भविष्य र राजपाको ‘फेस सेभिङ’ सँग जोडिएको छ । र, यो शपथग्रहणको एउटा तीरले दुइटा सिकार गरिदिएको छ, प्रधानमन्त्री ओली र राजपाका लागि ।
चौधरीको शपथ रोकिँदा राजपा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने दबाबमा थियो, त्यसमा उम्किन पायो । प्रधानमन्त्री ओलीलाई पार्टीभित्र र बाहिरबाट सरकारप्रति बढ्दो आलोचनाका बीच राजपाको समर्थन फिर्ताले बढ्ने थप दबाबबाट मुक्ति मिलेको छ । महासचिव केशव झा चौधरीको शपथग्रहणले सरकार र राजपाबीच बढ्दै गरेको दूरी कम भएको बताउँछन् । “अध्यक्षमण्डलसँग प्रधानमन्त्रीले गरेको प्रतिबद्धताअनुसार ओलीका लागि सजिलो काम चौधरीको शपथग्रहण थियो,” उनी भन्छन्, “त्यसले सरकारको समर्थन फिर्ता रोकिएको छ ।”
१९ पुसमा ०७५ बाट राजपाले संसद् अवरुद्धको तयारी गरेको थियो । चौधरीको शपथग्रहणको वातावरण १० पुसमा प्रधानमन्त्री ओली र राजपा अध्यक्षमण्डलको बैठकले बनायो । एक साताको अल्टिमेटम दिएर फर्किएको राजपालाई फकाउने सबैभन्दा सजिलो उपाय ओलीसँग चौधरीको शपथग्रहण नै थियो ।
थरुहट आन्दोलन हिंसात्मक भएपछि ७ भदौ ०७२ मा टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहितका ८ सुरक्षाकर्मीको ज्यान गयो । त्यही घटनाको योजनाकारका रूपमा प्रचारित चौधरी संघीय संसद्को चुनावमा भारी मतसहित निर्वाचित भए । पहिला शपथग्रहण नहुनुमा प्रधानमन्त्री ओली स्वयं पनि कारक थिए । टीकापुर घटनालाई आतंककारी र आपराधिक रूपमा चित्रण गर्दै ७ भदौ ०७२ मा ओलीले भनेका थिए, “आतंककारी र आपराधिक घटनामा सरकारले डटेर सामना गर्नुपर्छ ।” तत्कालीन एमाले त्यस घटनाको चर्को आलोचक थियो ।
यहीँनेर प्रतिपक्ष कांग्रेसले शपथग्रहणमाथि प्रश्न उठाएको छ । संवैधानिक सर्वोच्चता स्वीकारेपछि प्रधानमन्त्रीको निर्देशनमा अदालतमा मुद्दा विचाराधीन रहेका चौधरीको शपथग्रहण गलत भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । “कार्यपालिका प्रमुखको निर्देशनमा विचाराधीन मुद्दामा रहेको व्यक्तिलाई निर्दोष देखाउन खोज्नु गलत हुन्छ,” शर्माले भने, “प्रतिनिधिसभा सञ्चालन नियमावलीअनुसार स्वत: निलम्बन हुने व्यवस्था पालना भएन, यसले सरकारको नियतमा प्रश्न उठाएको छ ।” सत्ता–राजनीतिको प्रतिकूलता मेटाउन चौधरीलाई उपयोग गरिएको कांग्रेसको जिकिर छ । तर सभामुख कृष्णबहादुर महरा प्रधानमन्त्रीको निर्देशन स्वीकार्नुपर्ने बाध्यता रहेको बताइरहेका छन् ।
राजपाको राजनीति
प्रतिनिधिसभामा कैलाली–१ बाट ३४ हजार ३ सय ४१ मत ल्याएर निर्वाचित भए, चौधरी । निर्वाचित प्रमाणपत्र नपाएका उनी प्रहरीको मोस्ट वान्टेड सूचीबाट हटेका थिएनन्, जसले गर्दा दिल्लीबाट धनगढीसम्म आउने चाँजोपाँजो मिलेको थिएन । केही समय पहिले डिल्लीबजार कारागारमा चौधरीले भनेका थिए, “सीडीओले निर्वाचित प्रमाणपत्र बुझ्न बोलाए । सोझो थारुको छोरो आएँ, त्यसपछि सांसद भवन होइन, जेल पो पुगेँ ।”
खासमा राजपाले प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्न सर्त नै राखेको थियो– चौधरीको शपथग्रहण र रिहाइ । मधेसी दलको समर्थनसहित दुई तिहाइको सरकार बनाउने आकांक्षा पालेका ओलीले फरक मत राखेनन् । शपथ गराउने अनौपचारिक सहमतिमा टीकापुर घटनाको ३० महिनापछि १४ फागुन ०७४ मा आत्मसमर्पण गरेका थिए चौधरीले । जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि जेल जीवन बिताइरहेका उनले २० फागुन ०७४ मा जिल्ला कारागार कैलालीमा आमरण अनशन सुरु गरे । यो अनशनमा साथ दिए, टीकापुर घटनाका दोषी भन्दै कारागारमा राखिएका अन्य २४ जनाले । चौधरीको १८ दिन लामो आमरण अनशन तोडाउन प्रधानमन्त्री ओलीसँग राजपाले सघन वार्ता गर्यो र सहमति पनि जुटायो ।
त्यही सहमतिअनुसार चौधरीलाई २ चैत ०७४ मा गृहमन्त्री रामबहादुर थापाले जुस खुवाए, वीर अस्पतालको क्याबिन नम्बर २ मा । राजपा नेताहरूको भनाइमा, त्यतिबेला चौधरीलाई शपथग्रहण गराउने तयारी पनि थियो, तर अन्तिम समय सरकार पछि हट्यो ।
राजपाभित्र जब अध्यक्षमण्डलमा महन्थ ठाकुर र राजेन्द्र महतोबीच टकराव सुरु भयो, त्यसको मारमा परे चौधरी । यो प्रसंग जोडिएको थियो, महोत्तरीबाट प्रदेशसभाका लागि निर्वाचित अभिराम शर्मासँग । मधेस आन्दोलनका क्रममा २५ भदौ ०७२ मा महोत्तरीमा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको थियो । त्यही हत्या आरोपमा राजपा नेता शर्मासहित २८ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । त्यसका बाबजुद शर्मालाई महन्थको सिफारिसमा प्रदेश २ को सामाजिक विकास राज्यमन्त्री बनाइयो । लगत्तै १५ साउन ०७५ मा उच्च अदालतले पक्राउको परमादेश जारी गर्यो । त्यसको १३ दिनपछि २८ साउन ०७५ मा शर्माले जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरे र साधारण तारेखमा छुटे ।
त्यही बेला प्रधानमन्त्री ओलीसँग मिलेर ठाकुरले शर्मालाई बचाएको, तर चौधरीको मुद्दामा चासो नदिएको आरोप उनीमाथि महतो पक्षले लगाएको थियो । संयोगले महतो राजपामा अध्यक्षमण्डल नियुक्त भएको समयमै चौधरीको शपथग्रहण भयो ।
हुन त, चौधरीको प्रभाव र राजपाको मजबुत संगठनभन्दा पनि टीकापुर घटनापछि दमनमा परेका थारु समुदायको प्रतिरोधी मत उनको पोल्टामा पर्यो । वारेसनामाबाट उम्मेदवारी दर्ता गराएका उनी निर्वाचनका बेला नेपालमा थिएनन् । श्रीमती रञ्जिता श्रेष्ठको अगुवाइमा प्रोजेक्टरमार्फत गाउँगाउँमा चौधरीको पीडा सुनाइन्थ्यो । त्यही पीडामिश्रित भाषणको सहानुभूति जनमत चौधरीको पक्षमा ह्वात्तै बढ्यो । अझ उनका प्रचारकमाथि सरकारी हस्तक्षेप जनमतका लागि अर्को सहयोगी हतियार बन्यो ।
विवादास्पद छवि
चौधरी खासमा राजनीतिकभन्दा बढ्ता लेखक, सञ्चारकर्मी र खेलाडीका रूपमा परिचित छन् । कराँतेमा ‘थ्री डन’ गरेका उनले व्यवसायकै क्रममा टीकापुरमा फूलबारी एफएम सञ्चालन गरे । त्यो एफएममा टीकापुर घटनापछि अखण्ड सुदूरपश्चिम पक्षधरले आगजनी गरिदिए । एफएममा १ करोड ७४ लाख रुपैयाँ क्षति भएको दाबी चौधरीको छ ।
चौधरी कम्युनिस्टदेखि दरबार हुँदै क्षेत्रीय राजनीतिसम्म पुगे । एमालेसँग राजनीतिक पृष्ठभूमि जोडिए पनि १८ असोज ०५९ पछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्पर्क बढाए । चौधरीले प्रधानमन्त्रीका लागि लामो लाइन बसेरै पूर्वराजा ज्ञानेन्द्रसमक्ष आवेदन दिए । ज्ञानेन्द्रले प्रधानमन्त्री बनाउँछन् भन्ने विश्वासमा भन्दा पनि दरबारसँग सम्बन्ध विस्तारका लागि आवेदन थियो चौधरीको ।
जनआन्दोलनपछि कैलालीमा सक्रिय चौधरीले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिए । उनमा विकसित राजनीतिक लगावले थरुहट आन्दोलनतिर जोडेको थियो । यही बीचमा चौधरीको सम्बन्ध भारतीय दूतावाससम्म पुग्यो । त्यही सम्बन्धकै कारण तत्कालीन भारतीय राजदूत राकेश सुद कैलाली पुगेका थिए, जति बेला थारु महिलालाई सुदको गोडा धुन लगाएको भन्दै चौधरी विवादमा तानिए । थरुहट आन्दोलनका क्रममा ७–८ भदौ ०७२ को टीकापुर घटनासम्म आइपुग्दा चौधरी विवादमा फसिसकेका थिए । यही क्रममा उनले १ असोज ०७३ मा आफूलाई मात्र नभई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत विवादमा ताने ।
३० भदौदेखि २ असोजसम्म भारत भ्रमणमा थिए, प्रधानमन्त्री दाहाल । १ असोज साँझ भारतीय व्यवसायीले दाहाललाई रात्रिभोज दिए, दिल्लीको होटल ताज प्यालेसमा । संयोगले त्यही होटल र कार्यक्रममा प्रधानमन्त्री दाहाल र चौधरीले आमनेसामने कुराकानी गरे, जति बेला नेपाल प्रहरीले उनलाई ‘मोस्ट वान्टेड’ को सूचीमा राखिसकेको थियो । उनी भदौ ०७२ देखि नै दिल्लीको सुरक्षित शरणमा थिए । चौधरीले त्यतिबेला दाहाललाई ‘आफू निर्दोष भएको’ दाबी गर्नसमेत भ्याए ।
त्यो भेटमा दाहाल–रेशमका पछाडि ढाका टोपी लगाएर बसेका थिए, भ्रमण टोलीका सदस्य तथा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसद योगेन्द्र चौधरी । यो घटनापछि पनि चौधरीको चर्चा कम भएन । ४ मंसिर ०७० को दोस्रो संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने कुरै थिएन । टीकापुर घटनाको दोषबाट जोगिने तथा राष्ट्रिय राजनीतिलाई प्रभावित पार्ने गतिलो मौका पनि थियो, त्यो उम्मेदवारी ।
निर्वाचनको सम्मुखमा राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको प्रस्तावमा उम्मेदवार हुन सफल भए । राजपाले चौधरीलाई उम्मेदवार बनाएर टीकापुर घटनापछि पहाडी समुदाय र सरकारप्रतिको प्रतिरोधी मत तान्ने अवसर मात्र ठानेको थिएन, पश्चिम नेपालमा पार्टीको दर्बिलो उपस्थिति गराउने रणनीति पनि थियो । यद्यपि, चौधरी स्वयं थारु समुदायमा गतिलो प्रभाव भएका नेता थिएनन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...