कफी गफ, नयाँ सिरप
भन्छन्, “कोरिया यात्राका विषय र पात्रसँगको भेटलाई सम्झनामा राख्न पनि लेख्नैपर्ने थियो । यो पुस्तक कफी गफका पाठकलाई सिरपजस्तै हुनेछ ।”
‘किताब लेख्न सधैँ झक्झक्याइरहने सबै प्रिय पाठकहरुलाई नयाँ वर्ष २०१९ को मेरो कोसेली !’
किताब लेख्न सधैं झक्झक्याइरहने सबै प्रिय पाठकहरूलाई नयाँ वर्ष २०१९ को मेरो कोसेली! केही दिनपछि बजारमा; pic.twitter.com/S0fl8z6Bvk
— narayan wagle (@narayanwagle) December 31, 2018
वर्ष २०१८ को अन्तिम दिन आख्यानकार/पत्रकार नारायण वाग्लेले ‘सरप्राइज’ दिए, फेसबुक/ट्वीटर र इन्स्टाग्राममा । सँगै अपलोड गरिएको थियो, उनको नयाँ पुस्तक कोरियाना: कफी गफको गाता । किताब केही दिनमै सार्वजनिक हुँदै छ । तर उनका निकटस्थले समेत सुइँको पाएनन् । प्रकाशक नेपालयले पनि पाण्डुलिपि बुझाएपछि मात्र पत्तो पाएको रहेछ । रेडमड, थापाथलीमा कफीको चुस्की लिँदै वाग्ले मुस्कुराए, “गुन्गुनाउँदा अरुलाई सुनाउन दकस लाग्छ । गीत पूरै तयार भएपछि मात्र सुनाउँछु । स्वभाव यस्तै छ मेरो ।”
आठ वर्ष भयो, वाग्लेको दोस्रो उपन्यास मयूर टाइम्स सार्वजनिक भएको । उनको लत लागेकालाई नयाँ पुस्तक आउने खबरले उत्साहित बनाउने भइहाल्यो । कारण भने यत्ति मात्र छैन, नाममा झुन्डिएको ‘कफी गफ’ ले धेरैलाई ‘नोस्टाल्जिया’ मा लगेको हो । कुनै समय कान्तिपुरमा वाग्लेको शनिबारे स्तम्भ प्रकाशित हुन्थ्यो, कफी गफ । अनौपचारिक शैलीको लोकप्रिय यो स्तम्भ वाग्लेको ‘ट्रेडमार्क’ नै बन्यो । कतिपयले सोचेछन् पनि, त्यतिबेलै प्रकाशित स्तम्भहरुको संकलन रहेछ, नयाँ पुस्तक । यत्तिमै फुरुंग थिए, उनका पाठक । जबकि, यो पूरापूर ताजा पुस्तक हो तर कफी गफकै शैलीमा लेखिएको । वाग्लेकै शब्दमा, ‘सिर्जनशील गैरआख्यान’ । भन्छन्, “पाठकले यसलाई उपन्यासका रुपमा पढ्न सक्छन्, निबन्धका रुपमा पनि पढ्न सक्छन् । मेरो चाहचाहिँ कफी गफका रुपमा पढून् भन्ने छ ।” यसो भनौँ, कफी गफको पुस्तकाकार रुप हो, कोरियाना ।
वाग्ले आफैँलाई ‘मिस’ हुन्छ, कफी गफ । लेखकको पहिचान र हजारौँ पाठकको प्रेम दिलाएको भएर मात्र होइन, उक्त स्तम्भमा उनको स्वतन्त्र उडान हुन्थ्यो । जस्तो चाहन्थे, त्यस्तै लेख्न सक्थे/पाउँथे । सम्पादन हुन्नथ्यो । अनेक प्रयोग गर्थे । पत्रकार/सम्पादक भएर लेख्दा त्यो स्वछन्दता कहाँ ! तर दु:खमनाउ छैन । पत्रकार नभएको भए कफी गफ लेख्ने खुराक मिल्दैनथ्यो । कफी गफ नलेखेको भए पल्पसा क्याफे सायदै लेखिन्थ्यो । पल्पसा क्याफे नलेखिएको भए न मयूर टाइम्स लेखिन्थ्यो, न त अहिलेको पुस्तक । त्यसो त, कफी गफको प्रभाव वाग्लेको लेखनीमा मात्र सीमित छैन । उपन्यासकार बुद्धिसागरले केही वर्षअगाडि नेपालसँग भनेका थिए, “पल्पसा क्याफे नलेखिएको भए मेरो कर्नाली ब्लुज सायदै जन्मन्थ्यो ।” अहिले बजारमा नाम कमाएका कतिपय पुस्तकमा यही लेखन शैलीको चर्को छाप छ । यी सबैको जननीचाहिँ, कफी गफ ।
सुरु गरौँ, त्यही कफी गफको सुनौलो कथा ।
२०५१–५२ सालको ठमेल ।
वाग्ले यसलाई ‘उबेलाको ठमेल’ भन्न रुचाउँछन् । अहिलेजस्तो कर्कश कोलाहल होइन, संगीतमय । अहिलेजस्तो भीडभाड होइन, शान्त । कंक्रिटले ढाकेको होइन, मौलिकताले भरिएको । मानौँ, सहर होइन, पुस्तकालयको विस्तारित रुप हो । त्यो स्वर्णिम ठमेलमा रोजै पुग्थे, वाग्ले । कफी चिनाउने जस जान्छ, कान्तिपुरका संस्थापक सम्पादक योगेश उपाध्यायलाई । “कालो कफी पिउनकै लागि सम्पादकको कोठामा गइन्थ्यो । कफी तीतो भएपछि मात्र मीठो हुन्छ भन्नेचाहिँ ठमेलमा सिकेँ,” यी कफी गफीले सम्झे । खासमा त्यसभन्दा पहिले उनी ‘कोलाज’ नामक स्तम्भ लेख्थे ।
पत्रकारको मूल दायित्व समाचार । वाग्ले पनि लेख्थे तर निश्चित ढाँचामा बाँधिनैपर्ने । ‘डेडलाइन’ को दबाब सामान्य भइहाल्यो । त्यसमाथि उनी परे फुक्काफाल घुमन्ते । समाचार कक्ष होइन, पहाड र गाउँ चहार्न दिलचस्पी राख्थे । ठाउँपिच्छे फेरिँदै जान्थे– पात्र, घटना, मौसम र विषयहरु । नोटबुकमा टिपेका सबै समाचारमा मात्रै अटाउन सकिन्नथ्यो । कति पात्र र विषयहरु समाचारको परम्परागत मानकभित्र अटाउँदैनथे । वाग्ले सम्झन्छन्, “पत्रकारलाई आफ्नो नोटबुक र त्यसमा टिपेका कुराहरु प्रिय हुन्छन् । ती छुटेका घटना, पात्रले चिमोट्थे । त्यत्तिकै खेर जान दिन मन लागेन ।” वाग्लेले स्वान्त:सुखायका लागि कफी गफ थालेका थिए तर त्यसले पाठकलाई छिट्टै आफ्नो बनायो ।
वाग्लेले यस्तो लेख्न थाले, जस्तो उनले पढ्न पाएका थिएनन् । सरल, सरस । पाठकसँग बसिबियाँलो गर्दै । जुन पात्रका बारेमा लेख्थे, पाठक स्वयंले प्रत्यक्ष भेटेको आभास दिलाउँथे । वाक्य बोझिला होइन, बलिया । अनि त जसले पढ्थे, ती त फिदा हुने भइहाले । उनको नाममा पत्रहरुको ओइरो लाग्न थाल्यो । अफिसमा मात्र होइन, घरमा पनि । मुस्कुराउँछन्, “घरमा चिट्ठीका चाङ देखेर दाजुभाइहरु ठान्थे, मेरो टन्न लभ परिरा’को छ । तर ती व्यक्तिगत पत्रहरु मजस्तो युवा रिपोर्टरलाई दंग पार्ने प्रशस्त खुराक थिए ।” अधिकांश पत्र तन्नेरीका हुन्थे ।
समाचारमा नआउने प्रतिक्रिया कफी गफबाट आउन थाल्यो । जताततै चर्चा । उनको बाइलाइनमा समाचार आउँदा पाठक भन्ने गर्थे, ‘कफी गफ लेख्ने नारायण वाग्ले हो ।’ उनको पत्रकारभन्दा आत्मीय र फराकिलो छ, लेखकीय छवि । समाचारमा सूचना हुन्थ्यो, कफी गफमा सुख । भन्छन्, “मान्छे सूचना वा ज्ञानभन्दा आनन्दसँग जोडिएको हुँदो रहेछ । किनभने पत्रमा ‘कफी गफ पढ्न शनिबार–शनिबार कान्तिपुर किन्छु’ भनेर लेखिएको हुन्थ्यो ।” वाग्ले साहित्य पढेर पत्रकारितामा आए, साहित्यको सौन्दर्य समाचारमा मिसाए, कफी गफ अझ ज्यादा । उनको यो जादूयी शैलीमा अर्नेस्ट हेमिङ्वे र भीएस नइपालका कृतिहरुको ठूलो उत्प्रेरणा रहेछ ।
बीसौँ शताब्दीका महान हेमिङ्वे पहिलो विश्वयुद्धमा एम्बुलेन्स चालकका रुपमा प्रत्यक्ष सहभागी थिए । उनको मूल पेसा भने पत्रकारिता थियो । उनले युद्धको रिपोर्टिङ पनि गरे । पछि उपन्यास लेखे, नोबेल पुरस्कार जिते । उनको लेखाइ सरल थियो । छोटा तर बलिष्ठ वाक्य लेख्थे । पुनर्लेखनबाट आर्जन हुने शक्तिमा विश्वास गर्थे । लिड लेख्दा बढीभन्दा बढी सोच्थे । नइपालचाहिँ पत्रकार होइनन् तर रिपोर्ताज शैलीमा लेख्थे । एउटा पुस्तक आख्यान लेख्यो भने अर्को गैरआख्यान लेख्थे । यसो गर्दा, तथ्य र कल्पनाशीलताको सन्तुलन मिल्छ भन्ने सोचाइ थियो उनको । वाग्ले भन्छन्, “मैले यी दुवै लेखक र उनीहरुको लेखन शैलीलाई आदर्श मानेर पछ्याएँ ।” वाग्लेको यही शैली सर्वप्रिय भयो । अर्थात्, हाम्रो साहित्य/पत्रकारितामा पनि सरलताको खडेरी रहेछ ।
नारायण वाग्ले | तस्बिरहरु : रवि मानन्धर
“कोरिया यात्राका विषय र पात्रसँगको भेटलाई सम्झनामा राख्न पनि लेख्नैपर्ने थियो । यो पुस्तक कफी गफका पाठकलाई सिरपजस्तै हुनेछ ।”
वाग्लेले कफी गफ कहिल्यै समाचार कक्षभित्र लेखेनन् । सधैँ समाचारको डेडलाइनको रस्साकस्सीमा लेख्ने माहोल कहाँ ! डेराका चिसा कोठाहरुमा लेख्ने मुड हुन्नथ्यो । न्यानो ठमेलमा पुगेर लेख्न थाल्थे– कफीको चुस्की लिँदै, संगीतमा रमाउँदै, हावासँग बात गर्दै । सुरु–सुरुमा हातले लेख्ने गर्थे । सोचाइ सघन भयो भने पुन: लेखन बढी हुन्नथ्यो । कति कुरा काल्पनिक लेख्थे, कति सत्य । कहिलेकाहीँ सपनामा देखेको कुरा पनि लेख्थे । यो हुनुपर्छ, त्यो हुनुहुन्न भन्ने बन्धन थिएन । खासमा ती सबै समाचारमा नअटाएका रहलपहल घटना र पात्र हुन्थे तर तिनै पाठकहरुमा प्रिय भइदिए ।
कफी गफको लोकप्रियता चुलिँदो थियो । अर्कातिर, कान्तिपुरमा उनी नेतृत्वदायी भूमिकामा उक्लदै थिए । पहिलेजस्तो डुल्न पाएनन् । नहिँड्दा न पात्रसँग साक्षात्कार हुने, न त घटनासँग । कल्पनाशीलतामा ह्रास हुन थाल्यो । यसको मारमा पर्यो, कफी गफ । वाग्ले भन्छन्, “कफी गफका लागि लेख्न, पढ्न, हिँड्न, घुम्न समय चाहिन्थ्यो तर नेतृत्वदायी भूमिकाले थिचिदै गएँ । बल गरेर समाचार लेख्न सक्थेँ तर कफी गफ होइन ।” अलिपछि पीपलबोट डटकम नयाँ स्तम्भ लेख्न थाले । वाग्ले सकार्छन्, “समाचार सम्पादक भएपछि राजनीति बुझ्छु भन्ने स्वाङ पार्न पीपलबोट डटकम सुरु गरेँ ।” यो स्तम्भले उस्तो निरन्तरता भने पाएन ।
कान्तिपुरमा सम्पादक भएपछि प्रकाशित पल्पसा क्याफेले वाग्लेलाई मदन पुरस्कार दिलायो । त्यसअघि नै उनी ‘सेलिब्रिटी’ भइसकेका थिए । आज पनि सदावहार बिक्री हुने पुस्तकमा पर्छ यो । पाँच वर्षपछि मयूर टाइम्स लेखे, कफी गफकै विरासत पछ्याएर । पल्पसा क्याफे सुपरहिट भएपछि पाठक र प्रकाशन गृहको ‘नयाँ चाहियो’ भन्ने दबाब झेल्न नसकेर लेखेका थिए । उनकै भनाइमा, मयूर टाइम्सबाट पिटाइ खाए । भन्छन्, “लेखकको रुपमा मभित्रको अहं र पाठकको अपेक्षाको तालमेल मिलेन । त्यसैले पाठकको पिटाइ स्वाभाविक थियो ।” यसपछिका वर्षहरुमा पनि पत्रकारितामा सक्रिय रहे । कान्तिपुरपछि नागरिकको सम्पादकीय नेतृत्व छाडेपछिका वर्षहरुमा सेतोपाटी डिजिटल पत्रिकामा कफी गफ चलाइहेरे तर निरन्तरता दिन सकेनन् । दुई उपन्यासका खेस्रा गरे तर पूर्णता पाएका छैनन् । सिर्जनशील लेखनबाट टाढा रहनै नसक्ने यी लेखक पोहोर साल पछिल्लोपल्ट दक्षिण कोरिया पुगेका थिए, लेखन शिविरमा भाग लिन । त्यही बेला उनको मानसपटलमा जन्म भयो, कोरियाना । उनी त्यसअघि पाँच खेप कोरिया पुगेका थिए ।
वाग्लेका अनुसार यसमा सबै कोरियाकै विषय छन्, नेपालको प्रतिध्वनिचाहिँ हुन्छ । रातबिरात लेखेको पुस्तक हो यो । सुत्ने बेला छोरीलाई कथा सुनाउँथे । त्यही बेला समानान्तर रुपमा कोरियाका कथाहरु पनि सोच्थे । छोरी सुत्थिन्, उनी ल्यापटपमा औँलाहरु दौडाउँथे । कारण यत्ति हो, यो नलेख्दा विषय र पात्रले उनलाई औडाहा बनाउँथे, सताउँथे । लेखिसकेपछि एक चरणको सन्तुष्टि मिलेको छ, मन शान्त भएको छ । यसमा विषय र पात्र छन् तर घटना छैनन् । भन्छन्, “कोरिया यात्राका विषय र पात्रसँगको भेटलाई सम्झनामा राख्न पनि लेख्नैपर्ने थियो । यो पुस्तक कफी गफका पाठकलाई सिरपजस्तै हुनेछ ।”
जसरी पाठकहरु वाग्लेको पुस्तक पढ्न आतुर छन्, उसैगरी उनी पाठकको प्रतिक्रिया लिन । तर आफ्ना भावनाको निकास लेखन नै हो भन्नेमा अविचलित छन् सर्वदा । चाहे पल्पसा क्याफेको जस्तै ताली मिलोस् वा मयूर टाइम्सको जस्तै गाली ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...