३५ वर्षे गुफाबास

- भूपेन्द्र खड्का

सात सालमा खुलेको रेडियो नेपालले जनताको दिनचर्यामा रौनक थप्दै थियो । माणिकरत्नका पिता गौरत्न स्थापित घरमा रेडियो बजाउँथे । दिनको तीन घन्टा (बिहान, दिउँसो र बेलुकी एकेक घन्टा) हुने रेडियो प्रसारण सुन्ने बानी उनलाई पनि लागिसकेको थियो ।

हुर्किंदै गरेको शिशु प्रजातन्त्र र हुर्किंदै गरेको आफ्नो शिशु जीवनमा माणिकरत्न । जुद्धोदय पब्लिक स्कुलमा माणिकरत्न ४ कक्षा पढ्दै थिए । काका सिद्धिरत्न स्थापितले उनलाई रेडियोमा गीत गाउन उकासे । संगीत पेसामा लाग्न घरमा सख्त मनाही थियो । आफूले पनि गाउने लोभ र मोहबाट टाढिन नसकेपछि माणिकरत्नलाई रेडियो नेपाल  पुर्‍याएका थिए, काकाले । तर भइदियो उल्टो, काकाले संगीतलाई निरन्तरता दिन सकेनन्, माणिकरत्न नेपाली संगीतका मणि बनेर निस्के ।

जुद्धोदय पब्लिक स्कुलबाट उनी माध्यमिक तहको पढाइ पूरा गर्न पद्मोदय हाइस्कुल, पुतलीसडक आइपुगे । ५ वर्ष अल इन्डिया रेडियोमा शास्त्रीय संगीतका गुरु ओमकारनाथ ठाकुरको गायन सुनेर उनले आफ्नो जीवनमा संगीतबाहेकको अर्को विकल्प देखिरहेकै थिएनन् । तर परिवार उनलाई संगीतमा नलगाउन उद्धत थियो ।

तस्बिरहरु सौजन्य : सिद्धार्थ लामा


पद्मोदय हाइस्कुलबाट ०१२ मा दोस्रो श्रेणीमा एसएलसी पास गर्दा माणिकरत्नलाई उनको परिवार सफल मेकानिकल इन्जिनियर बनाउन चाहन्थ्यो । पिताले उनलाई पब्लिक साइन्स, हालको अमृत साइन्स कलेजमा आईएस्सी भर्ना गरिदिए । कलेजको पढाइ फिजिक्स, जीवनको लक्ष्य गायक । स्कुल पढ्दा भेटेका प्रेमध्वज प्रधानसँग उनको घनिष्ठता बढ्दै गइरहेको थियो । सिन्धुपाल्चोकको राजनीतिक परिवारबाट काठमाडौँ आइपुगेका प्रेमध्वजसँग माणिकरत्नको हिमचिम प्रगाढ बन्यो । थाहै नपाई यो जोडी, प्रेम–माणिक बनेर निस्कियो । त्यतिबेला भारतमा लक्ष्मीकान्त प्यारेलाल (लक्ष्मीकान्त शान्तराम कुडलकर र प्यारेलाल रामप्रसाद शर्मा) को जोडीले भारतीय सिनेमा संगीतमा धूम मचाइरहेको थियो । रहर र लहडमा प्रेम–माणिकको जोडी जम्यो ।

त्यो जोडीका साथी र साक्षी बन्न आइपुगे, काभ्रे खरेलथोकका किरण खरेल र काठमाडौँ कमलपोखरीका रत्नशमशेर थापा । रत्नशमशेर थापाको शब्द र प्रेम–माणिकको संगीतमा माणिकरत्नले पहिलो गीत रेकर्ड गरे, त्यो खोलाको सङ्लो पानी खाइदिऊँ, खाइदिऊँ लाग्छ, मोहनी लाउने कान्छीलाई लैजाऊँ, लैजाऊँ लाग्छ । गीत हिट भयो । रेडियो नेपालको फर्माइसी कार्यक्रममा धेरै बज्यो, त्यो गीत । जनजनलाई संगीतमा प्रेम–माणिकको युग आएको महसुस भयो ।

०७२ को भुइँचालोपछि प्युखाबाट सानेपा सरेका माणिक अघिल्लो वर्षदेखि ढोलाहिटीमा जेठा छोराबुहारी र श्रीमतीका साथमा बस्दै आएका छन् । भन्छन्, “जब प्रेमध्वज र मेरो संगीतको जोडी जम्यो, मैले त्यो खोलाको सङ्लो पानीपछि आफूले नगाउने अठोट गरेको थिएँ । किन किन मलाई प्रेमले गाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो ।” यही प्रेम–माणिक र किरण–रत्नको ग्याङका अर्का सदस्य थिए, किलागल काठमाडौँका नारायणगोपाल गुरुवाचार्य । रत्नशमशेर थापासँगै त्रिचन्द्र कलेज पढ्थे । कलेजमा टेबुलको तबला बजाएर तलत महमुद, मुकेश र रफीका गीत खुब गाउँथे तर स्वभावमा असाध्यै लजालु थिए । एक दिन नारायणगोपालको घरमा उनका पिता प्रसिद्ध सितारवादक आशागोपाल गुरुवाचार्यले प्रेम–माणिकलाई भने, ’नारनलाई रेडियोमा भ्वाइस टेस्ट गराउन लैजाओ, नभए यो बिग्रन्छ ।’ प्रेम–माणिकको संगीतमा ०१४ मा नारायणगोपालले रेडियो नेपालबाट स्वर परीक्षा पास गरे ।

०१७ मा नारायणगोपाल भारतको बडौदाबाट २ वर्षे शास्त्रीय संगीतको शिक्षा लिएर फर्किंदा प्रेम–माणिकको जोडीले आधा दर्जन गीत गाइसकेको थियो । त्यो खोलाको संग्लो पानी, मेरो बिटुलो विश्वास, को होला पारि, मसँग कुन जन्मको बदला लिँदै छौ, गोरेटो त्यो गाउँको, घुम्तीमा नआऊ हैजस्ता गीतमा प्रेम–माणिक ०२१ सम्म सांगीतिक जोडीको रुपमा रहे । “आपसी वैमनस्य केही होइन, आ–आफ्नो कामको व्यस्तताले हामी छुट्यौँ,” माणिकरत्न भन्छन् ।

माणिकरत्नका समकालीन सबै दिनभर आ–आफ्नो काम गर्थे । जब साँझ पथ्र्यो, कहिले बागबजारस्थित प्रेमध्वज प्रधानको घर वा मखनटोलको माणिकरत्नको घरमा भेला हुन्थे । त्यो भेलामा रत्नशमशेर थापा, किरण खरेलहरु पनि सँगै हुन्थे । राती ९–१० बजेसम्म हार्मोनियममा संगीतको अभ्यास, ट्युनिङ र गीतिलय मिलाउँथे । भोलिपल्ट त्यसरी नै भेट हुन्थ्यो । माणिकरत्नको घरमा पियानो पनि थियो । फरक खालको स्वाद र अभ्यासका लागि उनीहरु माणिकरत्नको घरमा पनि त्यसरी नै भेला हुन्थे । भेलामा खाइपिई पनि चल्थ्यो । घर फर्किने बेला संगीत गरेका गीतको लय गुनगुनाउँदा बाटो काटेको पत्तो हुँदैनथ्यो ।

संगीतमा लागेकामा आफ्नै मातापिता असन्तुष्ट थिए । त्यसैले माणिकरत्नले पिताको मन राखिदिन र घरव्यवहार चलाउन विभिन्न पेसा र व्यवसाय गरे । रोयल नेपाल एअरलाइन्सको स्थापनापछि विमानलाई चाहिने पानी सप्लाई गर्ने काम गरे । यो पेसाबाट भनेजस्तो आम्दानी नभएपछि पिताको सल्लाहमा असन, प्युखामा मोटरको ब्याट्री सप्लाई र सर्भिसिङ गर्ने ’अटो वर्कसप’ खोले । त्यो २ वर्ष चल्यो । यसले पनि घाटाको व्यापार गर्‍यो । त्यसपछि काठमाडौँको नयाँ सडकमा रेस्टुराँ खोले, रोयल क्याफे । करिब ३ वर्ष चलाए । यो पेसाले पनि व्यापारिक नाफाभन्दा घाटा नै गरायो । रेस्टुराँ बन्द गरे ।

०२० पछि राष्ट्रिय नाचघर, जमलमा संगीत शाखामा करिब डेढ दशक जागिर खाए । त्यहीँ संगीतकार चन्द्रराज शर्मालाई भेटे । उनै चन्द्रराजले ०३५ मा बनेको पहिलो नेपाली रंगीन चलचित्र कुमारीमा गीत गाउने मौका दिए । सिनेमाको गायिकी त्यो नै उनको पहिलो र अन्तिम बन्यो । नारायणगोपाल नाचघरका प्रबन्ध निर्देशक बनेर आएपछि उनीसहित तारादेवीलगायतका कलाकारको जागिर खाइदिए, दसैँको मुखमा । त्यसपछि माणिकरत्नका लागि नाचघरको ढोका बन्द भयो ।

उच्च रक्तचापका कारण गाउनै नसक्ने अवस्थामा पुगे एकाएक । नेपालमा उपचार सम्भव नभएपछि मिल्ने साथी कन्हैयाकुमारसँग भारतको भेलोरसम्म पुगे । “उठ्दा लो, बस्दा हाई खालको रक्तचाप भएपछि त्यहाँका डाक्टर पनि छक्क परे । मलाई नमुना बिरामीको रुपमा परीक्षण गर्ने भनेका थिए । तर कुरुवा कोही नभएकाले नेपाल फर्किन बाध्य भएँ,” माणिकरत्न भन्छन् । रक्तचाप उपचारका निम्ति उनी छोराहरुका साथ जर्मनीसम्म पुगे तर पूर्ण रुपमा त्यसको उपचार हुन सकेन । खानपान र घरमा आराम गर्नुबाहेक अर्को कुनै मेडिकल उपचारले उनी निको हुन सकेनन् । ३५ वर्षदेखि सार्वजनिक जीवन र जीवनभन्दा बढी माया गरेको संगीतबाट टाढा छन् उनी ।

छिन्नलता गीत पुरस्कार विशेष सम्मान, नातिकाजी विशेष संगीत सम्मान, रेडियो नेपाल कदर पत्रलगायतका सम्मान र पुरस्कार पाएका उनलाई अघिल्लो साता रेडियो कान्तिपुरले आफ्नो २० औँ वार्षिकोत्सव अवसरमा आयोजित ’नेसनल म्युजिक अवार्ड’ मा १ लाख नगद र ताम्रपत्रसहित ’लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ ।

माणिकरत्नलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया | तस्बिर : महेश प्रधान


साउनको त्रयोदशी (गठे मंगलको अघिल्लो दिन) काठमाडौँको मखन टोलमा विसं १९९४ मा जन्मेका हुन् माणिकरत्न । गौरत्न र कयोमैजुका माइला छोरा उनी संगीतमा परिवारबाट एक्ला बीउ हुन् । दाइ केशरत्नले गीतमा रुचि नै राखेनन् । भाइ जीवरत्नले सोखको रुपमा केही गीत गाए पनि व्यावसायिक गायक बन्न सकेनन् । ०१५ मा असनकी ज्ञानदेवीसँग विवाहबन्धनमा बाँधिएका उनका दुई छोरी अन्जली र बिन्द्रा तथा दुई छोरा सुशील र अनिल छन् । छोरीहरुलाई संगीतमा खासै रुचि नै भएन किनभने परिवारमा त्यतिबेला त्यस्तो माहोल बन्न सकेन । उनका छोराहरुले भने गीत गाउने प्रयास नगरेका होइनन् । तर संगीत क्षेत्र व्यावसायिक बन्न नसकेका कारण उनीहरु बुबाजस्तै संगीतमा होमिन सकेनन् । सोखको रुपमा भने उनीहरुले गीत गाए । कान्छा छोरा अनिल जर्मनीमा छन् । अंग्रेजी गीत रेकर्ड पनि गरेका छन् । जेठा छोरा सुशीलले आफ्नै संगीतमा केही गीत रेकर्ड गरेका छन् तर उनलाई पनि संगीतमा उतिसाह्रो मोह छैन ।

संगीतका उनी ठूला लती थिए । गीतको अभ्यास गर्न पाए खानपिउन बिर्सने । सार्वजनिक जीवनमा लजालु स्वभावका थिए । व्यापारमा घाटा हुनु यही स्वभाव पनि कारक थियो । कसैले केही मागे उनी नाइँ भन्न सक्दैनथे । मदिरा सेवन पनि गजबकै थियो । उनकी छोरी भन्छिन्, “बुबा रक्सी पिएपछि महिनौँ दिन लगातार पिउनुहुन्थ्यो, छाडेपछि महिनौँ खानुहुन्नथ्यो ।” मदिरा सेवनमा मिल्ने उनका साथी थिए, कन्हैयाकुमार ।

माणिकरत्नले करिब ३ दर्जन गीत गाए । अरुलाई जस्तै उनलाई पनि आफ्ना गीत सबै उस्तै प्यारा लाग्छन् । तर पनि मनको कसीमा राखेर आफैँले छनोट गर्दा पहिलोमा नआऊ जून कोठामा रात मसँग लाडिन (शब्द रत्नशमशेर थापा, संगीत नातिकाजी), दोस्रोमा मनमा माया, तनमा माया (शब्द किरण खरेल, संगीत चन्द्रराज शर्मा, शिवशंकर, चलचित्र कुमारी) र तेस्रोमा त्यो खोलाको संग्लो पानी (शब्द रत्नशमशेर थापा, संगीत प्रेम–माणिक) राख्छन् । यौवनकालमा मोहम्मद रफी, तलत महमुद, हेमन्त कुमार, पंकज मल्लिकका गीतका फ्यान उनी रफीको ओ दुनियाँकी रखावाले गीत सबैभन्दा बढी गाएको स्मरण गर्छन् ।

सेतुराम श्रेष्ठले विसं १९६३ मा कोलकातामा रेकर्ड गरेको मोतीराम भट्टको गजल यता हेर्यो यतै मेरो नजरमा राम प्यारा छन बाट नेपाली संगीतको इतिहास सुरु भएको मानिन्छ । त्यसलाई आधार मान्ने हो भने नेपाली आधुनिक सुगम संगीत सवा सय वर्ष पनि पुगिसकेको छैन ।

यो इतिहासको कालखण्डमा ००७ अघि भारतीय संगीतबाट हुबहु प्रभावित संगीतले राणा र राजाहरुको दरबार ओगटे पनि प्रजातन्त्रको उदयसँगै स्थापित रेडियो नेपालले संगीतलाई आम जनता र संगीतका पारखीको बनाइदियो । सेतुराम, मास्टर रत्नदास प्रकाश, मित्रसेन, मेलवादेवी, रानुदेवी अधिकारी, हरिप्रसाद रिमालसँगै हुर्किएको नेपाली संगीतका एक नक्षत्र हुन्, माणिकरत्न ।

तस्बिर : महेश प्रधान

प्रकाशित: माघ १६, २०७५

ट्याग: संगीत
×