[प्रकाशकीय] गौरवमय दुई दशक
हामीले दुई दशकअघि नेपालको प्रकाशन थाल्दै गर्दा देश एउटा छटपटीमा थियो । शान्तिको कामना, न्यायको खोजी अनि सामाजिक परिवर्तनप्रतिको छटपटी ।
हामीले दुई दशकअघि नेपालको प्रकाशन थाल्दै गर्दा देश एउटा छटपटीमा थियो । शान्तिको कामना, न्यायको खोजी अनि सामाजिक परिवर्तनप्रतिको छटपटी । सूचनाको पहुँच अहिलेजस्तो सहज भइसकेको थिएन । पब्लिकेसन्सका दुई दैनिक कान्तिपुर र द काठमान्डु पोस्ट, कान्तिपुर एफएम नागरिकको सुसूचित हुन पाउने हकका लागि सेवारत थिए । विचार, विश्लेषण र राष्ट्रिय एजेन्डा निर्माणका लागि अझै गहिरो मन्थनका स्पेस बाँकी थियो । खोजमूलक स्टोरी पढ्ने पाठकको चाहना पूर्ति गर्न अर्को प्रकाशन पनि आवश्यक छ भन्ने लाग्यो । नेपाल पाक्षिक यसरी जन्मेको थियो ।
पहिलो अंकदेखि नै हामीलाई तपाईंहरूको असाध्यै उत्साहजनक स्वीकृति मिल्यो । हाम्रो सम्पादकीय समूह र सहकर्मीहरूले राजधानी, ठूला सहर मात्रै नभई दूरदराजका बस्तीको भावनालाई छुने गरी आफ्ना प्रस्तुति फैलाउँदै लगे । ५० को दशकमा भएका माओवादी द्वन्द्व, शाही संहारलगायत उथलपुथल अनि सत्ताराजनीतिका छिनाझपटी र भ्रष्टाचारका पोल खोल्ने नेपालको प्रयास रह्यो ।
बदलिँदो समयसँगै पाठकको रुचिमा आएको विविधतालाई आत्मसात् गर्दै हामीले पाक्षिक प्रकाशनलाई साप्ताहिक न्युज म्यागजिनको स्वरूप दिलायौँ । आज छापाका साथै अनलाइन संस्करण, इपेपर डाउनलोड गरी पढ्ने पाठकको बढ्दो संख्या, फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सन्जालबाट हामीसम्म आइपुग्ने फलोअरको संख्या दिनानुदिन बढ्दो छ । जुनसुकै माध्यमबाट नेपाल ब्राउज गर्ने संसारैभरिका भ्युअर अन्ततः हाम्रै पाठक हुन् ।
समसामयिक विषयमा रिपोर्टिङ गर्दै गर्दा हाम्रो टिमले देशलाई भविष्यमुखी दिशाबोध गराउने मन्थन छुटाएन । यो क्रम आजपर्यन्त छ, जारी रहनेछ । लोकतान्त्रिक अधिकार र सूचनाको अधिकारका लागि पटक–पटक मूल्य चुकाउनसमेत पछि नपरेको संस्था हो कान्तिपुर पब्लिकेसन्स । नागरिक हक खल्बल्याउने गरी विभिन्न किसिमका ऐनकानुन ल्याउने प्रयास यसबीचमा भए, अझै भइरहेका छन् । स्वतन्त्र अभिव्यक्तिको दायरा खुम्च्याउने गरी जोकसैले क्रियाकलाप गरे पनि त्यसको विरोध गर्नु स्वतन्त्र प्रेसको दायित्व हुन्छ । त्यो दायित्व हामी विगतझैँ बिनाहिच्किचाहट पूरा गर्नेछौँ । तपाईंलाई थाहै छ, यो लोकतान्त्रिक परिवर्तनका लागि हाम्रो पनि पसिना परेको छ ।
यस्तै प्रयासहरूको पर्दाफास गर्ने गरी रिपोर्टिङ गर्ने हुँदा केही महिनाअघि हाम्रो म्यागजिन जलाउने प्रयाससमेत गरियो । यस्ता घटनाबाट हामी विचलित हुँदैनौँ । फरक मतमा स्वतन्त्रता फुल्छ । हामी स्वस्थ आलोचनालाई खुला हृदयका साथ सुन्छौँ । सकभर गल्ती नगर्ने, गल्ती देखिए विनम्रतापूर्वक सच्याउनु हाम्रो कर्तव्य हो । तर विरोधका नाममा कुनै पनि खाले अराजकता हामी मात्रै होइन, कसैलाई पनि मान्य हुनुहुँदैन । पत्रिका जलाउँदैमा प्रश्न जल्दैन ।
हामी यसै अंकदेखि २० वर्ष छुँदै छौँ । नेपाललाई निरन्तर सुझाव, हौसला दिने पाठक, लेखक, विज्ञापनदाता, शुभेच्छुकप्रति हार्दिक शुभकामना ! यो सुखद घडीमा हामी विगत वर्षहरूमा होस्टेहैँसे गरेका सहकर्मीलाई समेत सस्नेह स्मरण गर्न चाहन्छौँ ।
कैलाश सिरोहिया
अध्यक्ष तथा प्रबन्ध निर्देशक
कान्तिपुर पब्लिकेसन्स प्रालि
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...