आवरण« मायाको भाषा भौ–भौ
थुप्रै कुकुरलाई आफ्नै घरमा सन्तान जसरी पालिरहेका पशुप्रेमी
मंगलबजारमा खैरो कुकुरमाथि कसैले एसिड प्रहार गर्यो, तीन महिनाअघि । एसिडले कुकुरको ढाडको छाला जलेको थियो । चोभारस्थित एनिमल नेपालले उद्धार गरेर अहिले आफ्नै सेल्टरमा उपचार गरिरहेको छ । दुई साताअगाडि सातदोबाटोमा छातीदेखि फोक्सोसम्म चिरिएको कुकुर फेला पर्यो । यस्तै, डेढ वर्षअघि महँगो प्रजातिको बक्सर कुकुर शरीरमा ट्युमरसहित बालुवाटारमा भेटिएको थियो । कुकुर चाहे विदेशी प्रजाति (ब्रिड) हुन्, चाहे स्थानीय जातका, बारम्बार शोषणको सिकार भइरहेका छन् ।
एसिड मात्र होइन, तातोपानी खन्याएर, पिटेर, गाडीले ठोकेर, विष खुवाएर र किर्ना लागेर मर्नु नेपालका अधिकांश सडकमा छाडिएका कुकुरको नियति हो । काठमाडौँ महानगरपालिकाका अनुसार उपत्यकामा मात्रै करिब ४० हजार कुकुर रहेको अनुमान छ । गाडीले हानेर कुकुर घाइते भएका घटना एनिमल नेपालमा बढी आउने गरेका छन् । मानिस संवेदनशील नहुँदा कुकुर प्रताडित हुने गरेको एनिमल नेपालका पशु प्राविधिक सुशान्त आचार्य बताउँछन् । भन्छन्, “उमेर बढी र रोगग्रस्त भएपछि कुकुरलाई सडकमा बेवारिसे छाडिदिन्छन् । गाडी गुडाउनेले पनि खासै ध्यान दिँदैनन् । दुर्घटनाकै कारण धेरै कुकुर मर्ने गरेका छन् ।”
मायामा परेपछि
जहाँ कुकुरलाई पिटेको, दुःख दिएको मात्र देखिन्छ, त्यहीँ आफ्नै सन्तानसरह पाल्नेको पनि कमी छैन । उन्नत प्रजातिका कुकुर त सबैले पाल्न खोज्छन् तर सडकमा छाडेकालाई छोराछोरीझैँ पाल्नु चानचुने होइन । कुकुरलाई छोराछोरीसरह पाल्नेमा पर्छन्, नासिर खान, ५८ ।
ढल्कुचोकबाट देब्रेतर्फ लागेपछि करिब ५ सय मिटरभित्र ५ तले अग्लो घर छ । त्यही घरको भुइँतलामा बस्छन्, नासिर खान, ७ कुकुरका साथ । घरभाडा र खाना खर्च ६ वर्षदेखि कतारमा रहेका छोराले हेर्छन् भने कुकुरको खानाको जोहो उनैले गर्छन् ।
०७२ को भूकम्पअघि नासिरसँग जम्मा ५ वटा मात्र कुकुर थिए । उनी टोलका अन्य कुकुरसहित दैनिक १९ लाई दुई समय खाना खुवाउँछन् । ३ किलो किमामा आधा किलो चोक्टा मासु मिसाउँछन् । नासिरलाई सेतो भात मन पर्दैन, कुकुरलाई पनि बेसार हालेको भात र मासु मुछेर खुवाउँछन् । उनले कुकुरका लागि ३ वटा फलामे घर बनाएका छन् । घरधनीले केही भन्दैनन् त ? भन्छन् “ वर्ष भयो, कुकुरका कारण मेरो बोलचालै छैन । घरभाडा श्रीमतीले दिन्छिन् । घरभरि केटा मान्छे कोही छैन । घरको संरक्षण गर्ने जिम्मेवारी मैले लिएकाले सरेर जाऊ भन्न सकेका छैनन् ।”
नासिर विपद्मा परेकालाई सहयोग गर्छन्, रेडियोमा जनचासोबारे बोल्छन् । कुकुरलाई दैनिक खुवाउँछन् र घाइते कुकुरको उपचारमा खट्छन् । नासिरको ठूलो झोलामा सदैव कुकुरलाई चाहिने पूरै औषधी हुन्छन् । उनी डाक्टर त होइनन् तर कुकुरलाई चाहिने सामान्य औषधी, मलमपट्टी आफैँ गरिदिन्छन् । सिलाइ पेसाका उनी सिजनमा पर्यटकका लुगा तयार पार्छन् ।
नासिरका बुबा १८ वर्षका हुँदा कोलकाताबाट नेपाल आए । नेपालमै घरजम गरे । नासिर क्षेत्रपाटीमा जन्मिए, जेपी स्कुलमा पढे । ०३८ तिर अफिसबाट घर फर्कंदा उनी कुकुरलाई बिस्कुट, पाउरोटी ल्याएर खुवाउँथे । नासिरलाई यो काम रमाइलो लाग्न थाल्यो । माया बढ्दै गयो, टोले–कुकुरप्रति ।
वरिपरिका मानिस सधैँ गाली मात्रै गर्ने, कुकुर पूजाको दिन मात्रै बाउलाई भन्दा बढी मान्ने । मान्छेको बदलिएको व्यवहार उनलाई मन परेन । सकेजति कुकुरलाई आफैँ पाल्न थाले । उनको काममा पत्नी सुलोचनाले साथ दिइन् । अन्तर्जातीय बिहे गरेका नासिर भन्छन्, “श्रीमतीको साथ नभएको भए यो काम कहाँ गर्न सक्थे र ?”
नासिरजस्तै छिन्, कुपन्डोलकी इन्दु महर्जन, ४८ । भूकम्पले घर भत्किएपछि ग्यारेजमा बस्दै आएकी इन्दुकहाँ २० कुकुर छन्, परिवारका सदस्य भने चार जना । बिहान ७ बजे पसेपछि ११ बजेपछि मात्र भान्साबाट इन्दुले फुर्सद पाउँछिन् । आफ्ना कुकुरलाई दुई समय खाना खुवाउनुका साथै टोले–कुकुरलाई खुवाउन सधैँ दिउँसो युएन पार्क जान्छिन् । उनले प्रतिदिन ५५ कुकुरलाई खाना खुवाउँछिन् ।
इन्दुले धेरै कुकुर पाल्न थालेको १४ वर्ष भयो । कुकुरप्रेमी त उनी बाल्यकालदेखि नै थिइन् । करिब ८ वर्षकी हुँदा थानकोटबाट मामाघर सतुंगल गएकी थिइन् । मामाघर पुगेर केही बेर बसेकी मात्र थिइन्, कुकुरको झगडाको आवाज सुनिन् । अरूले मतलब गरेनन् तर उनी बाहिर निस्किइन् । सम्झिन्छिन्, “घरअगाडि ठूलो भीड थियो । गएर हेर्दा आफ्नै कुकुर पो परेछ । म त खुब रोएँ ।”
टोलका ठूला कुकुरले आएर टोकेपछि घाइते भएको थियो, इन्दुको कुकुर । कुकुरलाई घाउ लाग्दा रोएको भनेर उनलाई सबैले गिज्याए । कुकुरप्रतिको लगावलाई सबैले सामान्य मान्छन् तर मान्छेले कुकुरप्रति देखाएको प्रेममा कोही किन अचम्मित हुन्छन् ?
इन्दुसँग कुकुरप्रेमबारे कति धेरै किस्सा छन् भने पूरै दिन सुनेर बसे पनि सकिँदैनन् । केही समयअघि आफ्नो प्रिय जर्मन सेफर्ड कुकुर अक्सा हराएपछि इन्दु खोज्न हिँडिन् । अक्सा त्यही कुकुरको प्रतिरूप हो, जुन दुइटा कुकुरसँगै जुधेको देखेपछि हृदयघात भएर मर्यो । उसको मृत्युमा अहिलेसम्म पनि परिवार शोकाकुल छ ।
नयाँ अक्सा खोज्न जाँदा इन्दु रातको अँध्यारोमा पर्खालबाट लडिन् । तैपनि चार दिनसम्म कुकुर नभेटिँदा उनको मन कुँडियो । अन्ततः उनका पति रामले नजिकैको ग्यारेजमा काम परेर जाँदा अक्सालाई चिसो भुइँमा सिक्री लगाएर बाँधेको भेटेछन् । भन्छिन्, “मैले त कुकुर चोर भनिदिएँ । त्यस्तो चिसो भुइँमा राख्ने हो त ? त्यो पनि सिक्रीले बाँधेर ।”
कुकुरको मायामा सीमित छैन, इन्दुको जनावरप्रेम । एक दिन फर्पिङमा बिराला बासस्थान नभएर विचल्लीमा परेको थाहा पाएपछि इन्दु र उनका साथी फर्पिङ गए । चार वटा बिराला बोकेर ल्याए । कति साना बच्चा, मायै लाग्ने । भर्खर पाएको बच्चालाई कसरी छाड्नू ?
समाजको एउटा हिस्सा बनिसकेको छ, कुकुर । चाहे मानिसले घरमै पालून् या सडकमा छाडून् । गाउँमा घरको सुरक्षा गर्न कुकुर पाल्छन् । सहरमा मनोरन्जन र सोखका लागि पनि कुकुर पाल्ने चलन छ । कतिपय एक्ला मानिस साथी र सुरक्षाका लागि कुकुर पाल्ने गर्छन् ।
अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनअनुसार कुकुर पाल्ने मान्छेमा मुटु रोग, हृदयाघात, डिप्रेसन र तनावको सम्भावना कम हुन्छ । हुन पनि अफिसबाट थाकेर आउँदा घरको गेट खोल्नासाथ कुकुर उफ्रीउफ्री मान्छेको काँध चढ्न खोज्छ । मायाले लुटुपुटु गरी मानिसलाई चाट्ने गर्छ । खाना ल्याउँदा पुच्छर नचाउँछ । कुकुरसँगको यस्तो पल कसलाई मन पर्दैन होला ? अझ कोही नचिनेको आए, भुकिदिन्छ– भौ भौ... ।
कमलादी मन्दिर प्रवेशद्वार अगाडि ठूलो साइनबोर्डमा लेखिएको छ– ‘गणेश पनि जनावर, हनुमान पनि जनावर, कुकुर पनि भैरव नै हो तर कुकुरलाई चाहिँ किन अपहेलना ? म सडक–कुकुर ।’ उक्त बोर्ड कुकुरप्रेमी आमा उपनामले चिनिने ज्ञानु देउलाले बनाएकी थिइन् ।
ज्ञानु ०७२ मा बितेपछि कुकुरको स्याहार उनकै छोरा धर्म देउला, ३७, ले गरे । अहिले धर्मसँग २१ कुकुर छन् । राष्ट्रिय खेलकुद परिषद्मा स्विमिङ ट्रेनरका रूपमा कार्यरत धर्मसँग आफ्नो कुनै सम्पत्ति छैन । सेतो मच्छिन्द्रनाथका पालेसमेत रहेका उनी त्यही मन्दिरको गुठीको घरमा बस्छन् । भन्छन्, “सुरक्षा सबैलाई चाहिएको छ तर सुरक्षा दिने कुकुरलाई व्यवस्थित गरी राखौँ भन्दा कोही अघि सर्दैनन् । उल्टो निक्लेर जा भन्छन् ।”
कुकुरका लागि केही गर्न चाहन्छन्, धर्म । तर सोचेजस्तो गर्न सकेका छैनन् । धर्मको जस्तै भोगाइ छ, बालकुमारीका भक्त महर्जनको । सडक–कुकुरको उद्धार एवं उपचार गराउने भक्त मानिसले सडकमा कुकुरलाई घृणा गरेको देख्दा मन दुखाउँछन् । सडक दुर्घटनामा परेका कुकुरको उपचारका लागि दौडिने भक्त गैरसरकारी संस्थाको द्वैध चरित्रबाट निराश छन् । भन्छन्, “कति संस्थाहरू विदेशीका लागि तुरुन्त काम गर्छन् । हामीले बिरामी कुकुर लैजाँदा सामान्य पट्टी मात्र गरेर फर्काउँछन् ।”
पाटनको एउटा कुकुर मरेको नराम्रो अनुभूति छ, भक्तसँग । कुकुरको टाउकोमा प्वाल परेको थियो । अप्रेसन गर्नुपर्थ्यो । “हामीले खबर गर्दा संस्था मानेन । पछि विदेशीले भनेपछि तुरुन्तै उपचार त गर्यो तर ढिलो भएकाले कुकुर मर्यो,” उनी दिक्क मान्छन् ।
काकाकुल कुकुर
अहिले गर्मीको समय छ । सहरका ठाउँ–ठाउँमा पानीको जार र जग राखेको भेटिन्छ । तिर्खा लाग्दा मान्छेले मागेर पानी पिउन सक्छ तर जनावरले सक्दैन । अधिकांश ठाउँमा कुकुर या अन्य जनावरका लागि पिउने पानी राखिदिने चलन शून्यजस्तै छ । आफैँले पाले भने राख्छन्, नत्र ठन्डाराम ।
रजनी व्यञ्जनकार घरमा पालेका कुकुरका साथ
च्यासलकी रजनी व्यञ्जनकार, ३६, लाई मान्छेको अविवेकीपन मन पर्दैन । रजनीले केही समय अगाडिको घटना सुनाउँदै भनिन्, “वर्ल्ड ट्रेड सेन्टर अगाडि कुकुर निन्याउरो परेर बसिरहेको थियो । भोक लाग्यो होला भनेर बिस्कुट दिँदा खाएन । अनि बोतलमा पानी किनेँ । पानी खुवाउने भाँडा माग्दा पनि पसलेले दिएनन् । त्यही पानीको बोतल काटेर पिउने भाँडो बनाएँ । कुकुर धेरै तिर्खाएको रहेछ, पूरै पानी पियो ।”
रजनीसँग घरमा शेरु, वीरु, बडी, ह्यापीसहित ८ कुकुर बस्छन् । करिब १२ वर्षदेखि उनी बाटोका घाइते, कमजोर कुकुरलाई घरमा ल्याइरहेकी छिन् । खाना र उपचारसहित मोटो र राम्रो बनाएर अरू कुकुरप्रेमीलाई पाल्न फेसबुकमा आग्रह गर्छिन् । रजनीले यसैगरी ५५ कुकुर पशुप्रेमीलाई सुम्पिसकेकी छन् ।
कुकुरका लागि झैझगडा
नासिरले कुकुरकै लागि पटक–पटक झगडा गरेका छन् । करिब दुई वर्षअघि अप्रेसन गरेर भर्खर ल्याएको कुकुरलाई नासिर बाहिर पेटीमा भात खुवाउँदै थिए । अप्रेसन गरेको कुकुरलाई कसैले लात्ताले हानेपछि उनलाई रिस उठ्यो । बिहे भोजबाट फर्किरहेको समूहसँग भनाभन भयो । र, स्थिति हात हालाहालसम्म पुग्यो । कुकुर भुक्न थालेपछि त्यो समूह आत्तिएर भाग्यो । एकछिनपछि भीडसहित मानिस लिएर झगडा गर्न आयो । भन्छन्, “धन्न, स्थानीय नेता आएर कुरा मिलाए ।”
कुकुरका लागि इन्दुले पनि पटक–पटक झगडा गरेको बताउँछिन् । पानी परेका बेला कुकुर पसल अगाडि सुतिरहेको थियो, एक महिलाले लठ्ठीले हानिन् । ती महिलाले पहिले पनि यस्तो गरेकाले उनी कराइन्, “तपाईंकै खुट्टा भाँच्नुपर्यो कि क्या हो, कति पिटेको ?”
यति धेरै सास्ती पाए पनि इन्दु, नासिर, धर्म, भक्तहरू कुकुरलाई आफ्नै सन्तानजस्तै हेरचाह गर्छन् । कुकुरकै कारण छरछिमेकीसँग झगडा गरिरहन्छन् । आखिर यो कुकुरमोह किन ? नासिर भन्छन्, “लतजस्तै भइसक्यो कुकुरप्रतिको माया । अब मरेपछि मात्र छुट्ला ।” यदि नासिरले भनेजस्तै जनावरप्रेम लत हो भने यस्तो बानी सबैलाई सधैँ लागोस् ।
गीतदेखि पेजसम्म
कुकुरलाई माया गर्नेमा नेपाली पनि कम छैनन् । गायक प्रवीण वज्राचार्यले २ वर्षअघि ‘हे मानव फिट हाचिको’ (एडप्टेड स्ट्रिट डग) बारे गीत गाए । मान्छेले कुकुरप्रति गर्ने दुर्व्यवहार हटाउन र चेतना फैलाउन गीत गाएको प्रवीण बताउँछन् । भिडियोमा देखेको कुकुरलाई उनले ३ महिना तालिम दिएर म्युजिक भिडियोमा खेलाएका थिए ।
प्रवीणका अनुसार पहिलेभन्दा अहिले सडकका कुकुरप्रति राम्रो व्यवहार गरे पनि समग्रमा अवस्था नाजुक छ । भन्छन्, “यो सब एनजीओको देखाउने दाँत भएको छ । कुकुरको अवस्था राम्रो भएको बताउने एनजीओ नै हुन् । यदि राम्रो भएको भए अहिलेसम्म फुटपाथमा एउटै कुकुर नहुनुपर्ने ।”
अधिकांश कुकुरप्रेमी ब्रिड कुकुर मन पराउँछन् भन्ने विश्वास छ । प्रवीण त्यसलाई नकार्छन् । ब्रिड गैरसरकारी संस्थाले भन्ने गरेर हो । भन्छन्, “नत्र कुकुरको माया लाग्नेलाई ब्रिड होस् कि ननब्रिड, के मतलब !”
शंकै छैन, कुकुर इमानदार जनावर हो । मान्छेका हूलमा पनि आनन्दले बस्न सक्नु कुकुरको अर्को विशेषता हो । प्रवीणका अनुसार कुकुरले बाँच्नका लागि गरेको संघर्षबाट मान्छेले पाठ सिक्नुपर्छ ।
कुकुरलाई माया गर्नुपर्छ भन्ने सोचाइ राख्छन्, विवेकरत्न शाक्य, २० । यसका लागि उनले साथीसँग मिलेर डग लभर नेपाल फेसबुक पेज नै बनाएका छन् । थोरै समयमै पेजले २.७ के लाइक पाएको छ । पेजको प्रयोग अधिकांश कुकुर हराएको सूचना राख्न र पाएको खबर दिन उपयोग भएको छ । साथै, फुटपाथमा छाडिएका कुकुरलाई पाल्न फेसबुक पोस्ट सेयर गर्ने गरेका छन् । विवेक भन्छन्, “सडकका कुकुरलाई पाल्न लगाउनु ठूलो चुनौती हो ।”
कुकुरको पनि नेता
मान्छेजस्तै कुकुरको स्वभाव पनि भिन्नभिन्न हुन्छ । कोही मासु मात्र मन पराउँछन् भने कोही मासु–भात । कुकुरको पहिलो महिला प्रशिक्षक सुस्मिता रञ्जित प्रजातिअनुसार कुकुरको स्वभाव फरक हुने बताउँछिन् । उनका अनुसार जर्मन सेफर्ड कुकुर आफ्नो मालिकप्रति बढी नै इमानदार हुन्छ, पूरै परिवारलाई सुरक्षा दिन खोज्छ भने फ्रेन्च मास्टिफ डग एक जनाले भनेको मात्र टेर्छ ।
सडकका कुकुर प्रायः मायालु हुने सुस्मिताको अनुभव छ । भन्छिन्, “माया गर्नेबित्तिकै लोलोपोतो भई काखमा आउँछन् । कुनै भने रिसाउने खाले हुन्छन् । खानुपर्दा नजिक आउने नत्र घुरेर बस्ने, रिसाउने हुन्छन् ।” प्रायः कुकुरको समूह नेता हुने गर्छ । त्यही नेता कुकुरले पूरै समूहलाई नियन्त्रणमा राख्छ ।
बैंककमा कुकुर प्रशिक्षण तालिम लिएकी सुस्मिताले विदेशमा सडक–कुकुर देखिनन् । त्यहाँ कुकुरलाई आफ्नो सन्तान जसरी पालिन्छ । सुनाउँछिन्, “म दुबई पनि घुमेँ । तर दुवै ठाउँका सडकमा कुकुर थिएनन् । त्यहाँ फुटपाथका कुकुरलाई स्थानीयले लिइहाल्छन् । हरेक कुकुरमा माइक्रो चिप हालिएको हुन्छ । केही भयो भने त्यसलाई नै जीपीएबाट ट्र्याक गरी समात्छन् ।”
सुस्मिताले कुकुरलाई रङ लगाउने, कपाल काट्ने, नङ काट्नुका साथै दिसा–पिसाब गर्न, खाना खान, नमस्ते गर्न पनि सिकाउँछिन् । अहिलेसम्म उनले ५० भन्दा बढी कुकुरलाई तालिम दिइसकेकी छन् । कुनै कुकुरले ३० दिनमै सिकिसक्छन् भने कुनैले ३ महिनै लगाउँछन् ।
आवरण : आश्रित कुकुरसँग रैना व्यञ्जनकार, कुपन्डोल, तस्बिरहरू : रवि मानन्धर
साथमा यो पनि पढ्नुहोस् :तेस्रो पुस्तासँग रमाउँदै
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...