अढाई करोडको अडेसो
गण्डकी प्रदेशका मुम पृथ्वीसुब्बाले अढाई करोड मूल्य पर्ने ल्यान्डक्रुजर गाडी किनेर चढेकामा केही मान्छे उनको उछितो काड्नमा लागिपरेका छन् ।
गण्डकी प्रदेशका मुम पृथ्वीसुब्बाले अढाई करोड मूल्य पर्ने ल्यान्डक्रुजर गाडी किनेर चढेकामा केही मान्छे उनको उछितो काड्नमा लागिपरेका छन् । वास्तवमा पुराना, खारिएका, हकी, इमानदार र त्यागी कम्युनिस्ट नेता गुरुङ अरूजस्तो लोभी, सुविधाभोगी र भ्रष्ट नेता होइनन् । उनी एक निष्ठावान कम्युनिस्ट नेता हुन् । उनले आफ्नो अन्तर्वार्तामा पनि भनेका छन्, ‘म सादा जीवन उच्च विचारवाला मानिस हुँ । मलाई यस्ता महँगा गाडीमा अडेसा लाग्ने कुनै रहर छैन । एकदमै अप्ठेरो र बाध्यात्मक परिस्थितिमा, अपमानका घुट्का घुटुघुटु पिउन नसकेर माक्रै ल्यान्डत्रुजर किन्नुपरेको हो ।’
मुमज्यूका अनुसार एक पटक उनी पोखराबाट काठमाडौँ एयरपोर्टमा उत्रिएर बालुवाटार जान खोज्दा संघीय सरकारले पठाएको गाडी गौशाला चोकमा बिग्रिएछ । मुख्यमन्त्री चढेको गाडी बीच बाटोमै बिग्रनुजस्तो अपमानजनक व्यवहार अरू के हुन्थ्यो ! केन्द्रमा बस्ने राष्ट्रपति, प्रधानमन्त्रीहरू हेलिकप्टर चढ्ने, मन्त्रीहरू पनि नयाँनयाँ राम्रा गाडी चढ्ने, मुख्यमन्त्रीलाई चाहिँ कवाडी गाडी पठाउने ? यो अपमानले रन्थनिएर असह्य भई उनी गौशाला चोकमै झन्डै बेहोस भएका बेला कुनै परिचित प्रहरी अधिकारीले सम्हालेर बालुवाटार पुर्याइदिएछन् । यसरी संघीय सरकारले गरेको घोर अपमान खप्न नसकेर उनले ल्यान्डक्रुजर किनेको प्रस्ट पारेका छन् । यसमा उनको कुनै दोष छैन । दोषी संघीय सरकार हो, जसले उनलाई सुविधाभोगी मुख्यमन्त्रीको आरोप खप्न विवश बनायो ।
मुम गुरुङजी संघीय सरकारका कुनै पनि मन्त्रीभन्दा कम हैसियतका नेता होइनन् । उनले केन्द्रको हेपाइमा बस्ने कुरै हुँदैन । थोत्रामोत्रा गाडी चढेर हिँड्ने उनको व्यक्तित्त्व होइन । थोत्रा गाडी चढेर हिँड्दा जनताले ‘पृथ्वीसुब्बा आयो’ भन्छन् । अढाई करोडको ल्यान्डक्रुजरमा हिँड्दा ‘ओहो ! मुख्यमन्त्रीज्यूको सवारी भयो’ भन्न पाउँछन् । जनतालाई गाउँ–गाउँमा सिंहदरबारको अनुभूति दिलाएर संघीयतालाई बलियो बनाउन पनि ल्यान्डक्रुजरले महत्त्वपूर्ण भूमिका खेल्छ । सिंहदरबारमा बस्नेहरूले चढ्ने जत्तिकै महँगा गाडी प्रदेशमा पनि चले भने पो गाउँगाउँमा सिंहदरबार आएको मान्न सकिन्छ ।
अर्को कुरा– त्यो गाडी मुमज्यूले जनताकै सेवामा प्रयोग गर्ने हो । भीरपाखाका हिलो, धूलो र खाल्डाखुल्डीले भरिएका सडकमा सस्तामस्ता गाडीमा हिँड्दा कति कष्ट हुन्थ्यो उनलाई । आफैँ कष्टमा परेका नेताले जनताको कष्ट कसरी निवारण गर्न सक्छ ? अतः जनताको कष्ट निवारणमा अहोरात्र लाग्नुपर्ने मुमज्यूको आरामीको ध्यान दिनु हामी जनताको कर्तव्य हो । यो गाडी चढ्न र ओर्लन सजिलो छ । खाल्डाखुल्डीमा पनि धेरै उफार्दैन । शीतल र सुविधासम्पन्न अढाई करोडको गाडीमा अडेस लागेर जनताको काममा हिँड्दा काम गर्ने जोश–जाँगर पनि भित्रैदेखि उम्लिएर आउला । विकास निर्माणका कामले द्रुत गति लेला । गाडीको मूल्य मात्रै हेरेर हुँदैन, त्यसबाट प्राप्त हुने उपलब्धि पनि हेर्नुपर्छ ।
कुरा यो पनि छ, खासमा यो त्यस्तो महँगो गाडी नै होइन । संसारमा योभन्दा कति महँगा–महँगा गाडी पाइन्छन् । त्यसमा पनि कुनै पत्रकारले अनुसन्धानै नगरी मूल्य तोकिदिएका भरमा मान्छे पछि लागेका छन् । यसको खास मूल्य २ करोड ४८ लाख मात्रै हो, बढाइचढाइ अढाई करोड पुर्याइएको हो । संघीय सरकारको अपमानले रन्थनिएर बल्लतल्ल शान्त भएका मुमज्यूलाई फेरि रिस उठाएर हेलिकप्टर किन्न बाध्य नबनाऊँ । हामी पनि शान्त रहौँ ।
16.12°C












