भलिबलको ग्ल्यामर
एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप २ भदौदेखि सुरु हुँदै छ, जहाँ सात देशले एक सातासम्म प्रतिस्पर्धा गर्दै छन् । नेपालले आयोजना गरेको सबैभन्दा ठूलो भलिबल प्रतियोगिता हो यो ।

एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप २ भदौदेखि सुरु हुँदै छ, जहाँ सात देशले एक सातासम्म प्रतिस्पर्धा गर्दै छन् । नेपालले आयोजना गरेको सबैभन्दा ठूलो भलिबल प्रतियोगिता हो यो । “केही वर्षयता सहरमा भलिबलको क्रेज बढेको छ । कोर्ट वरिपरि दर्शक झुम्मिन थालेका छन् । दर्शकको बाक्लो उपस्थितिले नै खेलौँ–खेलौँ बनाउँछ, हुटिङले राम्रो खेल्न हौसला दिन्छ,” भलिबलका सेलिब्रिटी खेलाडी स्पाइकर मानबहादुर श्रेष्ठ उत्साही सुनिन्छन् । उनी जहाँ खेल्न जान्छन्, त्यहाँ दर्शकबाट घेरिन्छन् । राष्ट्रिय टिमका कप्तान इम रानामगरको अवस्था पनि उस्तै छ । मञ्जु गुरुङ, सिपोरा गुरुङ, सरस्वती चौधरी, प्रतिभा मालीलगायत थुप्रै महिला खेलाडी पनि निकै लोकप्रिय छन् ।
हङकङमा नेपाली समुदायको प्रतियोगितामा लाखौँ खर्च गरेर नेपाली खेलाडीलाई लगेर खेलाइन्छ । मालदिभ्सको घरेलु प्रतियोगितामा नेपाली खेलाडी चम्किरहेका छन् । इम, धनबहादुर भट्ट र हरि थापाले गत वर्ष बंगलादेशमा लिग खेलेका थिए । निरन्तर प्रतियोगिता खेल्ने अवसर पाउँदा राष्ट्रिय टिम पनि बलियो भएको प्रशिक्षक जगदीश भट्ट बताउँछन् ।
यी सबै कथा सात वर्षयताको व्यस्तताले बुनेको हो । किनभने गंगाबहादुर थापा १४ वर्षसम्म नेपाल भलिबल संघको अध्यक्ष छँदा एउटै पनि राष्ट्रिय प्रतियोगिता भएन । उनको स्थान दानबहादुर तामाङले लिएपछि राष्ट्रिय स्तरका प्रतियोगिता वार्षिक दुई दर्जन पुगे । तीन वर्षअघि मनोरन्जन रमण शर्मा अध्यक्ष बनेपछि नेपालले एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप आयोजना गर्दै अन्तर्राष्ट्रिय जगतमै फड्को मार्ने प्रयास गरिरहेको छ ।
डच प्रशिक्षक हान आबङीले अहिले राष्ट्रिय टिम सम्हालेका छन् । अर्का डच म्याट भान वेजेलले दुई वर्षअघि आएर केही महिना सिकाएका थिए । प्रतिभा मालीले नेदरल्यान्ड्स र सरस्वती चौधरीले जापानमा प्रशिक्षण गर्ने अवसर पाएका थिए । पुरुष र महिला दुवै टिमले नियमित रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । त्यसैले मंसिरमा हुने १३ औँ दक्षिण एसियाली खेलकुदमा सफलता हात पार्ने अपेक्षा गरिएको छ ।
नेपालले सन् १९७६ मा पेशावरमा भएको काइदे आजामबाट अन्तर्राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्न थालेको हो । एसियन सेन्ट्रल जोनमा तेस्रो हुनु पुरुष टिमको सबभन्दा ठूलो सफलता हो । सागमा तीनपल्ट कास्यपदक जितेको महिला टिम दक्षिण एसियाली च्याम्पियनसिपमा उपविजेता पनि भयो ।
तराईदेखि हिमालसम्मै खोलानालाका किनारमा पनि खेल्न मिल्छ । सानो ठाउँ, थोरै खर्चमा पनि खेल्न सकिन्छ । सहज पहुँच भएकाले नेपालमा भलिबल लोकप्रिय छ । सरकारले ८ जेठ ०७४ मा राष्ट्रिय खेल घोषणा गरेपछि भलिबल थप आकर्षक बन्यो । त्यसैले गाउँमा मात्रै होइन, सहरमा पनि भलिबल लोकप्रिय छ ।